कहाँ छन् गिर्वाणी–सुरंगना ?

  • तत्कालीन अधिराजकुमारी श्रुतिका छोरीहरू सार्वजनिक जीवनबाट धेरै टाढा

- सीताराम बराल

जब नारायणहिटी दरबारको बिलियार्ड हलमा युवराज दीपेन्द्रले गोली चलाउन सुरु गरे, कुमार गोरखशमशेर राणाको आँखा सबैभन्दा पहिले राजा वीरेन्द्रमाथि पर्‍यो । हलको पश्चिमी कुना हुँदै कुमार गोरख राजाछेउ पुगे । जब उनले राजा वीरेन्द्रको शरीरबाट रगत बगिरहेको देखे, ‘गोली लाग्यो, गोली लाग्यो’ भन्दै चिच्याउन थाले । गोली चलाउने युवराज दीपेन्द्र हलको ढोकानिर पुगिसकेका थिए । तर, तिनै दीपेन्द्र फर्केर फेरि गोली बर्षाउन थाले । दोस्रो पटक दागिएको गोली पूर्वअधिराजकुमार धीरेन्द्र, कुमार खड्गविक्रम शाह र गोरखशमशेरलाई लाग्यो । 

बाबुलाई गोली लागेको देखेपछि अधिराजकुमारी श्रुति पनि राजा वीरेन्द्र भएतिर अघि बढ्दै थिइन् । सम्भवत: त्यतिबेलासम्म श्रुतिलाई आफ्ना पति गोरखलाई पनि गोली लागेको छ भन्ने कुरा जानकारी थिएन । जब श्रुति वीरेन्द्रको नजिक पुगिन्, गोरख ‘बाबा, मलाई पनि गोली लागेको छ’ भन्दै कराए । घाइते गोरखलाई श्रुतिले काखमा राखेकी के थिइन्, फेरि गोलीको पर्रा छुट्न थाल्यो । तेस्रो पटक गोली चलाउँदै बिलियार्ड हलबाट बाहिरिए, दीपेन्द्र । यसपटक प्रहार गरिएको गोली पति गोरखलाई काखमा लिएर बसिरहेकी श्रुतिलाई पनि लाग्यो । त्यो गोलीले श्रुतिको घटनास्थलमै निधन भयो, गोरख काखैमा रहेका बेला । 

१६ वर्षअघिको दरबार हत्याकाण्डमा बाँचेका गोरखसँग धर्मपत्नी श्रुतिको सबैभन्दा महत्त्वपूर्ण चिनो केही छन् भने श्रुतिको कोखबाट जन्मेका दुई छोरी गिर्वाणी र सुरंगना राणा छन् । १९ जेठ ०५८ को दरबार हत्याकाण्डमा हजुरबा–हजुरआमा, मामा र आमासमेत गुमाएका यी दुई नानीहरू त्यसयता चाहिँ गुमनामप्राय: छन् । उनीहरू सञ्चारमाध्यमबाट बिलकुलै टाढा छन् । सामाजिक–सार्वजनिक कार्यक्रममा विरलै देखिन्छन् । उनीहरू यति धेरै अलगावमा छन् कि, गोरखका निकट पारिवारिक सदस्य पनि गिर्वाणी र सुरंगनाबारे बताउन असमर्थ छन् । दरबार हत्याकाण्डका बेला भर्खर तीन वर्ष पार गरेकी श्रुति–गोरखकी जेठी छोरी गिर्वाणी यतिबेला १९ वर्ष पुगिसकेकी छन् भने सिर्फ सात महिनाकी सुरंगनाचाहिँ १६ वर्ष पार गरिसकेकी छन् । 

कहाँ छन् ? 
राजा वीरेन्द्रका चिकित्सक समेत रहेका डा खगेन्द्रबहादुर श्रेष्ठले ०६९ जेठमा काठमाडौँमा फोटो प्रदर्शनी आयोजना गरे । प्रदर्शनीमा राजा वीरेन्द्र र शाही परिवारसँग सम्बन्धित तस्बिर थिए । डा श्रेष्ठको निम्तो स्वीकार गर्दै श्रुतिको चिनोका रूपमा रहेका दुई छोरीका साथ गोरख बबरमहलस्थित नेपाल आर्ट काउन्सिल पुगे । आमा श्रुतिसहित दरबार हत्याकाण्डमा ज्यान गुमाएका शाही परिवारका अन्य सदस्यको तस्बिर देखेपछि गिर्वाणी भावुक बनिन्, आँसु झारिन् । उनले आँसु झार्दै गरेको तस्बिर भाइरल भयो ।

आफूले समेत देख्न नपाएका श्रुतिका तस्बिरहरू देखेपछि भावुक त गोरख पनि बने । तर, अभिभावकीय दायित्वका कारण आँसु खसालिरहेका छोरीका अघिल्तिर रूने छुट उनलाई थिएन । आँसु दबाउँदै प्रदर्शनी हलबाट बाहिरिए, गोरख । त्यसयता गिर्वाणी र सुरंगना सार्वजनिक रूपमा देखिएको भनेको अघिल्लो साल १९ जेठमा नारायणहिटी दरबारअगाडि आयोजना गरिएको कार्यक्रममा हो, जुन दरबार हत्याकाण्डमा ज्यान गुमाएका शाही परिवारका सदस्यहरूको सम्झनामा गरिएको थियो ।

केही पारिवारिक जमघटमा बाहेक त्यसयता उनीहरू कुनै सार्वजनिक रूपमा देखिएका छैनन् । जबकि, पूर्वशाही परिवारका प्रौढदेखि किशोर र बाल उमेरका सदस्यहरूसमेत सार्वजनिक कार्यक्रम र सामाजिक सञ्जालहरूमा देखिरहन्छन्, भेटिइरहन्छन् । शाही परिवारका अन्य सदस्य जस्तै गिर्वाणी–सुरंगना सार्वजनिक कार्यक्रममा नदेखिनुको एउटा कारण हो, केही वर्षयता उनीहरू काठमाडौँमा नहुनु । दुवै जना अहिले छिमेकी मुलुक भारतमा अध्ययनरत छन् । त्यो पनि भिन्न–भिन्न सहरमा । 

दिदी गिर्वाणी बैङ्लोरस्थित एक कलेजमा स्नातक अध्ययनरत छिन् भने बहिनी सुरंगनाचाहिँ उत्तराञ्चलको देहरादुनस्थित वेलह्याम गल्र्स स्कुलमा प्लस टू पढ्दै छिन् । अघिल्लो वर्षसम्म दिदी गिर्वाणी पनि वेलह्याम गल्र्स स्कुलमा नै अध्ययनरत थिइन् । त्यहाँ गृह विज्ञानमा कक्षा–१२ सकेपछि उनी थप अध्ययनका लागि बैङ्लोर पुगेकी हुन् । गोरखशमशेरकी बहिनी अन्नपूर्ण राणा भन्छिन्, “मैले पनि गिर्वाणी बैङ्लोरमा स्नातक र सुरंगना देहरादुनमा पढ्दै छन् भन्ने मात्र सुनेकी छु । त्यसबाहेक थप जानकारी छैन ।”

गिर्वाणी–सुरंगना जब लगनखेलस्थित सेन्ट मेरिज स्कुलबाट दुई वर्षको अन्तरालमा कक्षा–४ पास भए, गोरखले दुवैलाई क्रमैसँग देहरादुनस्थित त्यही गल्र्स स्कुलमा भर्ना गरिदिएका थिए । ८० वर्षअघि सन् १९३६ मा स्थापना भएको त्यो स्कुल देहरादुनको सर्कुलर रोडस्थित डलनवाला भन्ने ठाउँमा छ । 

उनीहरूलाई पढ्नका लागि किन नेपालबाट भारत लगियो त ? आफ्नो नाम उल्लेख नगरिदिने आग्रहका साथ गोरखका एक निकट नातेदार भन्छन्, “दरबार हत्याकाण्ड र श्रुतिको निधनसम्बन्धी प्रसंगलाई गोरख बिर्सन चाहन्छन् । त्यसैले, छोरीलाई प्रेसले नभेट्टाओस् र त्यो प्रसंग सुन्नु नपरोस् भनेर नै उनीहरूलाई भारत लगिएको हो ।” 

मन जितेका चेलीहरू 
बिहेको पाँच वर्ष नबित्दै गोरखका काखमा दुई नाबालक छाडेर श्रुति धर्तीबाट बिदा भइन्– आफ्ना आमा–बाबु र दाजु–भाइका साथ । राजा त्रिभुवनको पालादेखि नै जुद्धशमशेर परिवारसँग वैवाहिक सम्बन्ध जोडेको राजपरिवार खासमा चन्द्रशमशेरको परिवारलाई उति मन पराउँदैनथ्यो । त्यही कारण दरबारले युवराज दीपेन्द्रलाई देवयानी राणासँग बिहेको स्वीकृति दिएको थिएन, जो श्री ३ चन्द्रका पनाति पशुपतिशमशेर राणाकी छोरी थिइन् । खासमा १९ जेठ ०५८ मा त्यो बीभत्स घटना हुनुको कारण पनि यही थियो । दरबार र चन्द्रशमशेरको परिवारबीच चिसो सम्बन्धका बाबजुद अधिराजकुमारी श्रुतिको बिहे चन्द्र परिवारका गोरखसँग गरिदिन राजपरिवार राजी भएको थियो । 

श्रुति गुमाएको सात वर्षपछि गोरखले बैतडीकी दीप्ती चन्दसँग बिहे गरे, २१ मंसिर ०६५ मा । दीप्ती नाताले पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका भाइ कृष्णबहादुर चन्दकी छोरी हुन् । दीप्ती तर्फबाट पनि गोरखकी एक छोरी छन्, सुरवी । 

बाबु गोरखले गरेको दोस्रो बिहेलाई गिर्वाणी–सुरंगनाले कसरी लिएका छन् ? तर, माया र ममतामा कुनै भेदभाव नगरेर आफूहरूमाथिका प्रश्नको उत्तर गोरख र दीप्तीले दिइसकेका छन् । जहाँसम्म गिर्वाणी–सुरंगनामाथि उठेको प्रश्न हो, त्यसको जवाफ गोरख–दीप्तीको बिहेकै दिन दिएका रहेछन् । नाम बताउन नचाहने गोरखकी एक नातेदार भन्छिन्, “बिहेको भोलिपल्ट २२ मंसिर (०६५) मा दाम राख्ने कार्यक्रम थियो । त्यो कार्यक्रमको तस्बिर हाँसीखुसीका साथ गिर्वाणी र सुरंगनाले नै खिचे । त्यस्तै हार्दिक व्यवहार त्यसयता उनीहरूले देखाइरहेका छन् ।”

साना नानीहरूका लागि आमा जत्तिको प्यारी हुन्छिन्, त्यत्तिकै प्यारा हुन्छन् मामाहरू पनि । दुर्भाग्य † दरबार हत्याकाण्डमा उनीहरूले आमा मात्र गुमाएनन्, मामा पनि गुमाए, हजुरआमा (मावलीतर्फ) पनि गुमाए । मामाघरको यो रिक्तता पूर्वराजा ज्ञानेन्द्रले पूरा गरिदिएका छन् । पूर्वराजाका सहयोगी सागर तिमिल्सिना भन्छन्, “अहिले पनि नेपाल आएका बेला दुवै नानीहरू निर्मल निवास आइपुग्छन् । पूर्वराजपरिवारले गिर्वाणी–सुरंगनालाई अन्य नातिनातिनासरहकै माया दिइरहेको छ ।” 

जब कलेज–स्कुल छुट्टी हुन्छ, काठमाडौँ आइपुग्नासाथ हुर्रिएर उनीहरू पुग्ने ठाउँ हो, नारायणहिटी दरबार परिसरभित्रै रहेको महेन्द्र मञ्जिल, जहाँ झन्डै ९० पुग्न लागेकी पूर्वमुमा बडामहारानी रत्न शाह आफ्नो जीवनको उत्तराद्र्ध बिताउँदै छिन् । स्रोतका भनाइमा, काठमाडौँमा रहँदा प्रत्येक दिनजस्तो उनीहरू महेन्द्र मञ्जिल पुग्छन्, दिनभर पूर्वमुमा बडामहारानीसँग रहन्छन् र बेलुकीपख ठमेलस्थित केशर महलनजिकै रहेको आफ्नो निवास फर्कन्छन् । यसबाहेक उनीहरू कतै सार्वजनिक हुँदैनन् । 

प्रकाशित: जेष्ठ २२, २०७४