खाँचो मानवीकरणको, दबदबा देवत्वकरण र दानवीकरणको

  • असललाई खराब र खराबलाई असल भन्नुको कारण हामीसँग आलोचनात्मक दृष्टिको अभाव हुनु हो । समाजलाई जीवन्त बनाउन आलोचनात्मक चेतयुक्त नागरिक जरुरी हुन्छ ।

- प्रा चैतन्य मिश्र

मानवमा केही गुण र केही दोष हुन्छन् । मानवभन्दा पर दुई किसिमको परिकल्पना हुन्छ– देवता र दानव । यी दुवै काल्पनिक हुन् । वास्तविक चाहिँ मानव मात्र हो, जो गुण–दोषको मिश्रणसहितको हुन्छ । देवतालाई गुण नै गुणले भरिएको ठानेर मानिसलाई पनि देवत्वकरण गरिन्छ । किनभने, देवतामा कुनै अवगुण नै हुँदैन भन्ने मान्यता छ । समाजले एउटै व्यक्तिलाई देवता र दानवचाहिँ मान्दैन । 

समाज पेचिलो रूपमा विभाजित भएका बेला देउता र दानव बनाउने प्रक्रिया बढी हुन्छ । द्वन्द्वको समय मानिस दुई धु्रवमा विभाजित हुन्छ, त्यो बेला देवत्वकरण र दैत्यकरण वा दानवीकरण सघन रूपमा हुन्छ । देवत्करण गरिएको मानिस विशिष्ट र आममानिसभन्दा फरक मानिन्छ । यस्तोमा मानवीय पक्षलाई सम्झिएको हुँदैन । हुन पनि देव र दानव, मानवभन्दा बिलकुल फरक हुन् । त्यसैले समाज पनि देवत्वकरण गरिएको पक्षसँग नजिक हुन्छ, दानवीकरण गरिएकोसँग टाढा ।

दानवीकरणको अर्थ
दानवीकरणका विभिन्न आधार र स्रोत छन्, वर्गीय, जातीय, लैंगिक, धार्मिक आदि । जस्तो : कसैलाई बोक्सी बनाइनु दानवीकरणको एउटा दृष्टान्त हो । किनभने, बोक्सीसँग दानवसरह नै व्यवहार हुन्छ । मलमूत्र ख्वाउने, कुटपिट गर्ने र गाउँ निकाला गर्ने काम मानवीय होइन, दानवीय हो । बोक्सी बनाउने वर्गीय आधार पनि छ । जस्तो : कमजोर, वृद्ध अवस्था, असहाय, विधवा र गरिब महिलालाई बोक्सीका नाममा सताइन्छ । त्यति मात्र होइन, जातीय आधारमा पनि तल्लो जातकी महिलालाई बोक्सी भनिएको हुन्छ । दलितमाथिको भेदभाव र अत्याचार पनि जातका आधारमा गरिएको दानवीकरण हो । आफू ठूलो जाति हुँ भन्नु, छुवाछूत र उचनिचको व्यवहार गर्नु मध्यम स्तरको दानवीकरण हो । मानवीकरणमा अस्पृश्यता, मान्छेलाई छुन हुने र नहुने भन्ने हुँदैन । लैंगिक पक्षबाट कुनै महिलालाई बलात्कारका बेला मानव ठानिँदैन, यौनका लागि मात्र योग्य मानिएको हुन्छ ।

महिलालाई मानवबाट च्यूत गरेर बलात्कारको कुकर्म गरिएको हुन्छ । यो झन् खतरनाक हो ।
रोग र महामारीका आधारमा पनि मानवको दानवीकरण भइरहेको छ । महारोग लागेको मानिसलाई गाउँ–समाजबाट निकाला गर्ने, हेरचाह र उपचार नगर्ने अनि बेवास्ता गर्ने समाज संसारका धेरै देशमा छन् । अफ्रिकामा इबोला भाइरसको महामारीका बेला यस्तै राक्षसी प्रवृत्तिको सिकार भए निरीह बिरामी । खासमा आफूलाई अब्बल र राम्रो मानव वा देउता बनाउन अरूलाई दानवीकरण गरिने हो । 

धार्मिक आधारमा पनि मानवको दानवीकरण भइरहेका छन् । एउटा धर्मले अर्को धर्मलाई निच देखाउने अभ्यास यसको उदाहरण हो । इसाइ धर्म मान्नेका लागि अरू धर्म मान्ने दानवसरह हुन् । अरू धर्म मान्नेलाई साँच्चै मानव बनाउन इसाइकरण गरिनु जरुरी हुन्छ, उनीहरूको दृष्टिकोणमा । जसरी हिन्दु धर्ममा ब्रतवन्ध गरेपछि मात्र पूर्ण वयस्क मानव हुने प्रवृत्ति छ, अरू धर्ममा पनि यस्ता संस्कार छन् । नेपालका हिन्दुहरूले फिरंगीलाई गर्ने भेदभाव होस् वा इस्लाम धर्मले अरू धर्मलाई धर्म नै नठान्ने प्रवृत्ति, सबै दानवीकरणकै नमुना हुन् । मुसलमानले हिन्दुलाई मार्ने, घृणा गर्ने या हिन्दुले मुसलमानलाई, यी प्रवृत्ति पनि धार्मिक दानवीकरण नै हुन् । कम वा बढीको कुरा मात्र हो, हरेक धर्मले अर्को धर्मलाई होच्याएर दानवीकरण गर्ने प्रयास गरेकै छन् । 

संसारभरिको प्रवृत्ति हेर्दा दानवीकरण त्यस्तो बेला गरिन्छ, जुन बेला एउटा देश अर्कोसँग लडिरहेको हुन्छ । शत्रु देशलाई दानवको देश बनाएपछि त्यहाँका जनतामाथि आक्रमण गर्न सजिलो हुन्छ । युद्धमा जे गरे पनि जायज हुन्छ भन्नु नै मानवलाई दानव ठान्नु हो । शत्रु देशका नागरिकलाई दानव भनेपछि जाइलाग्न सहज हुने भएकाले अहिले इराक र सिरियाका नागरिकलाई दानव बनाएर मानवीय पक्ष समाप्त पारिएको छ । 

देश–देशबीचमा मात्र होइन, दानवीकरण एउटै देशभित्र पनि हुन्छ । आन्तरिक रूपमा ठूलो द्वन्द्वमा फसेका बेला झन् बढी दानवीकरण हुन्छ । उदाहरणका लागि, हामीकहाँ माओवादी ‘जनयुद्ध’का बेला मानिसलाई ज्यादै दानवीकरण गरियो । एकथरीले अर्कोथरीलाई दानव बनाएर अत्याचार गरे, त्यो पराकाष्ठामै पुग्यो । एकले अर्कोलाई सामन्त, दलाल, सुराकी, जनविरोधी आदि आरोप लगाएर दानवीकरण गरे, हत्या गरे । प्रहरी र सेनाले पनि माओवादीलाई आतंककारी भनेर दानव बनाए, ज्यान लिए । यी दुई स्थितिमा मानवीकरण कतै देखिएन, दानवीकरण मात्र प्रकट भयो ।

यो हो, देवत्वकरण
दानवीकरणको ठीक विपरीत अवस्था हो, देवत्वकरण । यसका पनि विभिन्न आधार छन्, जातीय, धार्मिक, वर्गीय, राजनीतिक आदि आदि । हामी नेपाललाई मातृभूमि भनेर देवत्वकरण गर्छौं । देशभक्तिका कारण हाम्रा नेताले अरू देशलाई नराम्रो गरे पनि हामी नेताप्रति नै नतमस्तक हुन्छौँ, उसका गल्तीलाई माफ गर्छौं । किनभने, नेताले मातृभूमिका लागि नै त्यस्तो काम गरेको हो भन्ने ठानिन्छ । बाबुआमालाई पनि हामीले देवत्वकरण गरेका हुन्छाँै र तिनका गल्तीमा हामी चुप बस्छाँै । कुल, वंश र पितृ त झन् सबैका लागि गौरवका स्रोत, देउतासरह नै भइगए । त्यसैले हामी फलाना कुल वा वंशका हौँ भनेर आफूलाई देवत्व प्राप्त भएको सम्प्रदाय ठान्छौँ । 

राजनीतिक र दलीय देवत्वकरण झन् चर्को छ । चुनावका बेला आफ्नो दलको नेतालाई अरू बेलामा भन्दा बढी पूजा गर्ने, उसले गरेका गल्ती अनदेखा गर्ने र आलोचना वा टिप्पणी नगर्ने प्रवृत्ति छ । आन्तरिक द्वन्द्वको बेलामा त हामीले केही नेतालाई रहस्यको पात्र नै बनायौँ । जस्तो : प्रचण्डलाई कुनै बेग्लै ग्रहका प्राणी र चमत्कारै गर्न सक्ने व्यक्ति ठानियो । विभिन्न कालखण्डमा भीमसेन थापा, राजा त्रिभुवन र महेन्द्र, बीपी कोइराला, मदन भण्डारी, गणेशमान सिंहको चरम देवत्वकरण भयो । त्यही भएर लामो समयसम्म यिनलाई नेपालीले रहस्यमयी जीव मानिरहनुपर्ने स्थिति छ । यता, माओवादीहरूका लागि प्रचण्ड देवता नै थिए । रहस्य, गोपनीयता, भूमिगत जीवन आदिले अरू नेताभन्दा बढी उनको देवत्वकरण भयो । भूमिगत जीवन तोडेर सार्वजनिक जीवनमा आएपछि विगतका अद्भुत प्रचण्ड सामान्य मानिसजस्ता लाग्न थालेका छन्, पुष्पकमल दाहाल भएका छन् । उनको देवत्वकरणको क्षयीकरण भएको छ । प्रचण्डको हकमा मात्र होइन, सबै नेताका हकमा यही कुरा लागू हुन्छ । किनभने, देवत्वकरण वा दानवीकरण स्थायी हुँदैन । जब आममानिसले देवत्वकरण भएको व्यक्तिबारे विस्तृत जानकारी पाउँछ र उसलाई आममानिससरह ठान्छ, त्यही क्षण देवत्वकरण सकिन्छ । 

नेपाली राजाहरूको देवत्वकरण झन् रोचक छ । राजालाई विष्णुको अवतार मानेर पूजा गर्ने, साक्षात देवतै मानिन्थ्यो । पृथ्वीनारायण शाहलाई अहिले एकथरीले देवत्वकरण र अर्कोथरीले दानवीकरण गरेका छन् । उनको वंश भएपछि राजा हुने परम्परामा पनि देवत्वकरणकै अंश थियो । राजा, नेता मात्र होइन, अभिनेता र गायक–गायिका पनि एकथरी उमेर समूहका लागि देउतासरह हुन्छन् । सिनेमाका हिरो, हिरोइन हुन् वा खेलाडी सबैको देवत्वकरण गर्छ, एउटा समूहले । त्यति मात्र होइन, नेपालमा अलि बढी नै देवत्वकरण भएको छ, सहिदहरूको पनि । तसर्थ, के कति सहिद भए र को सहिद हुन् भन्ने पहिचान गर्न नै कठिन छ । 

सारमा, समाज गहिरो र तिखो रूपमा विभाजित भएका बेला विभिन्न आधारमा देवत्वकरण र दानवीकरण प्रखर हुन्छ । समाजमा देवत्वकरण र दानवीकरण हमेसा भइरहन्छ र ठूलो हिस्साले यसलाई मलजल पनि गर्छ । सामान्य अवस्थामा समेत यो मान्छे राम्रो, त्यो नराम्रो भन्नु नै पनि देवत्वकरणको प्रारम्भिक रूप हो । तर, समाज परिवर्तनको ठूलो धार अघि बढेका बेला मान्छेको जीवन संकटमय बन्छ, भविष्य अनिश्चित हुन्छ र के हुन्छ भन्नेमा हामी ढुक्क हुन सक्दैनौँ । त्यस्तो बेला हामी देवता र दानव सिर्जना गर्नतिर लाग्छौँ । अनि, देवताले राम्रो गरी देलान् भनेर हामी पछि लाग्छौँ र दानवबाट टाढा हुन खोज्छाँै । यो काम हामी सबैले जानेर वा नजानेर गरिरहेका हुन्छौँ । 

चाहिएको छ, मानवीकरण
देवत्वकरण र दानवीकरण दुवै समाजका लागि घातक छन् । यसले मानिसलाई आलोचनात्मक दृष्टिकोणबाट विमुख बनाउँछ, अन्धभक्त वा अन्धविरोधी बनाउँछ । देवत्वकरण र दानवीकरणले मानिस कि कसैको पूजा गर्न उद्यत हुन्छ कि त कसैलाई ढुंगा हान्न तयार हुन्छ । सोचेर, बुझेर, बुद्धि–विवेक लगाएर कसैको लेखाजोखा गर्ने होइन, भावनात्मक रूपमा कसैलाई देव र दानव बनाउन तयार हुनु नै देवत्वकरण र दानवीकरणका खराबी हुन् । कसै कसैले समाजमा कोही न कोही आस्थाको धरोहर चाहिन्छ भन्छन् । त्यस्तो धरोहरले नेपाल के हो भनेर दुनियाँलाई बुझाउन सकोस् र त्यो व्यक्ति नेपालको पर्यायवाची बन्न सकोस् भन्ने त्यस्ता व्यक्तिको चाहमा मानवलाई देवत्वकरण गरिन्छ । पृथ्वीनारायण शाह, बीपी कोइराला, मदन भण्डारी आदिलाई यस्तै गर्न खोजिएको हो । राजा महेन्द्रका बेलामा धेरै मानिस तटस्थ थिए, कोही भक्त थिए भने कोही कांग्रेस र कम्युनिस्ट थिए । धेरैले महेन्द्रलाई गन्दैनथे । तर, सारा सञ्चारमाध्यम र राजनीतिले महेन्द्रको देवत्वकरण गरेको थियो । त्यसले समाजलाई राजा महेन्द्र महान् नै हुन् कि त भन्ने परेको थियो ।

अहिलेको जमानामा समाज अघि बढ्नका लागि हरेक नागरिक सचेत हुन जरुरी छ । नागरिक सचेत हुने भनेको आलोचनात्मक र वस्तुनिष्ठ हुने हो । दूधको दूध र पानीको पानी छुट्याउने सक्ने नागरिकको खाँचो छ समाजलाई । देवत्वकरण वा दैत्यकरणले हामीलाई सही र गलत वा दूध र पानीको भिन्नता छुट्याउन दिँदैन । हामीमध्ये केहीले दूधलाई पानी देख्छौँ अनि पानीलाई दूध । दृष्टिकोण नै अधुरो हुन्छ, देवत्वकरण र दानवीकरणले । 

असललाई खराब र खराबलाई असल भन्नुको कारण हामीसँग आलोचनात्मक दृष्टिको अभाव हुनु हो । समाजलाई जीवन्त बनाउन आलोचनात्मक चेतयुक्त नागरिक जरुरी हुन्छ । तर, त्यस्तो नागरिक समूह (क्रिटिकल मास) तयार नै हुन दिँदैन, देवत्वकरण र दानवीकरणले । ‘क्रिटिकल मास’ तयार नभएपछि आलोचनात्मक लेखाजोखा सम्भव हुने कुरै भएन । माओवादी ‘जनयुद्ध’का बेला पत्रकारले निर्भीक रूपमा लेख्न, बोल्न नपाउने अवस्था थियो । त्यो देवत्वकरण र दानवीकरणको उत्कर्ष विन्दु थियो । हामी अनुसन्धान गर्नेहरूलाई पनि त्यो बेला कठिन थियो । मानिस बोल्न नै तयार हुन्थेनन्, कुनै जिज्ञासा राख्दा त्यसको जवाफ नै आउँदैनथ्यो । आफूले बोलेको कसैले सुन्छ कि भन्ने ठानेर मनमा कुनै विषयको विवेचना गरे पनि त्यो अभिव्यक्त गर्ने आँट धेरैमा थिएन । दूधको दूध र पानीको पानी छुट्याउँदा आफैँलाई क्षति हुने भयले गर्दा त्यस्तो भएको हो । यस्तोमा क्रिटिकल मासको परिकल्पना निरर्थक हुने नै भयो । 

सचेत, आलोचनात्मक चेत भएको नागरिकले कसैले केही गर्‍यो भने उसले किन त्यसो गर्‍यो भनेर सतत् बुझ्न कोसिस गर्नुपर्छ । महेन्द्र, बीपी, गणेशमान, मदन भण्डारी र प्रचण्डले गरेका कामलाई उनीहरूकै दृष्टिबाट बुझ्न खोज्नुपर्छ, ‘हो–हो’ र ‘रे–रे’मा होइन, सम्पूर्णतामा बुझ्नुपर्छ । जहिले पनि अर्को व्यक्तिलाई मूल्यांकन गर्दा आफ्नोबाट मात्र होइन, उसैको दृष्टिबाट पनि हेर्नुपर्छ । आफ्नो आँखाले मात्र हेर्दा आफू गलत पनि हुन सकिन्छ । त्यसकारण अरूको आँखाले पनि हेर्दा पूर्ण चित्र देखिन्छ । यो अन्धभक्त वा अन्धविरोधीले होइन, आलोचनात्मक चेत भएको नागरिकले मात्र गर्न सक्छ । हाम्रो देश र समाजलाई चाहिएको आलोचनात्मक नागरिकको समूह हो । अन्धभक्त र अन्धविरोधी होइन । 
हामीलाई चाहिएको कसैलाई दानवीकरण र देवत्वकरण गर्ने जमात होइन कि सचेत र आलोचनाप्रधान समाज हो । समग्रमा, देश र समाज दुवैका लागि देवत्वकरण र दानवीकरण दुवै खतरनाक हुन्, जसले समाज र नागरिक दुवैलाई आलोचनात्मक हुनबाट वञ्चित गर्छ । हाम्रो देश र समाज लामो समयदेखि नै देवत्वकरण र दानवीकरणको सिकार भएको छ । संसारका अरू देश पनि यसबाट पीडित छन् । तर, तिनमा हाम्रोमा जति दानवीकरण र देवत्वकरण छैन । अन्धभक्त नभएपछि, दैत्यकरण र देवत्वकरण नभएपछि स्वत: मानवीकरणको ढोका खुल्छ । देवता र राक्षसको काल्पनिक संसारबाट बाहिर आउनेबित्तिकै मानवीय संसार भेटिन्छ ।

पछिल्लो समयमा पहाडी र मधेसी समुदायबीच पनि देवत्वकरण र दानवीकरणकै द्वन्द्व चलेको छ । सामाजिक सञ्जाल हेर्‍यो वा सामाजिक कार्यकर्ताका भनाइ सुन्यो भने (आमपहाडी समुदाय र आममधेसी समुदायबाहेक) पहाडी समुदाय खराब हुन्, मधेसी समुदाय खराब हुन् भनेर दानवीकरण गरिएको छ । एउटाले एकथरी भन्छ, अर्कोले अर्कोथरी । तर, नागरिक जति बढी सचेत हुन्छन्, दानवीकरण र देवत्वकरण दुवै कम हुँदै जान्छ र एउटा विन्दुमा शून्यमै झर्छ । किनभने, सबै मधेसी र सबै पहाडी गलत होइनन् भन्ने बुझेपछि दानवीकरण स्वत: घट्छ । दुई वर्षअघिसम्म जनजाति र बाहुनबीच पनि एकअर्काबीच दानवीकरण गर्ने प्रतिस्पर्धा नै थियो, अहिले केही मत्थर भएको छ । यो कलह मत्थर हुनुको कारण ‘एक्टिभिज्म’ मत्थर भएको हो । दोस्रो, भारतको नाकाबन्दीले पनि हामीभित्रको साम्प्रदायिक र जातीय विभाजनलाई गौण बनाइदियो । मुख्य शत्रु त अरू नै रहेछ भन्ने धेरैलाई थाहा भयो । सकारात्मक विभेद नीतिले पनि केही नतिजा दिएको छ र भविष्यमा पनि दिनेछ भन्ने आशा पलाएकाले विगतको तिक्तता कम भएको हो । केही समययता पहाडी र मधेसीबीचको विभाजन पनि कम भएको छ । 

दानवीकरण र देवत्वकरण समाजमा घट्छ वा बढ्छ भन्ने कुरा परिवर्तन कति तीव्र गतिमा हुन्छ, त्यसमै निर्भर गर्छ । राम्रो परिवर्तन भए पनि त्यो सबै समुदायलाई एक ठाउँमा ल्याउने खाले छ वा समाजलाई विभाजित गर्ने खालको छ, त्यसमा नै दानवीकरण र देवत्वकरण निर्भर रहन्छ । पहाडी समुदायलाई एकातिर अनि मधेसीलाई अर्कोतिर राख्ने काम भयो भने त्यसले नेपाली समाजमा देवत्वकरण र दानवीकरण दुवैलाई बढाउँछ । धनीलाई एकातिर अनि गरिबलाई अर्कातिर राखियो भने पनि फेरि दानवीकरण र देवत्वकरण बढ्छ । दलितलाई एकातिर अनि बाँकीलाई अर्कातिर राखियो भने पनि त्यसले दानवी तथा दैत्यकरण नै बढाउँछ । धेरैलाई जोडेर एकै ठाउँमा राख्न सकियो भने देवत्वकरण र दानवीकरण कम हुन्छ । तीव्र परिवर्तनका दौरान कसैलाई काखा र कसैलाई पाखा गरियो भने एउटाले अर्कोलाई दानव ठान्ने प्रवृत्ति मौलाउँछ । आफ्नो समूहको आफैँ देवता बन्ने दौड सुरु हुन्छ । त्यसैले परिवर्तन र समृद्धिले सबैलाई जोडेर बीचमा ल्याउनु हो, एउटालाई समाजको एक कुनामा अनि अर्कोलाई अर्को छेउमा पुर्‍याउने होइन । 

नेपालमा अब परिवर्तन दौडिन्छ । यसै पनि पहिलाभन्दा अहिले परिवर्तनको गति छिटो भएको छ र हुन्छ । अब भविष्यमा झन् छिटो हुन्छ । भारत, नेपाल र चीन पुँजीवादको केन्द्र बन्न लागेको हुनाले यो क्षेत्रको विकास विश्वका अरू देशको भन्दा धेरै छिटो हुन्छ । संसारको ठूलो अर्थतन्त्र भएका हाम्रा दक्षिण र उत्तरी छिमेकीको कारण पनि हाम्रो प्रगति दु्रत गतिमा हुन्छ । त्यसले नेपालीको जीवनमा ठूलो परिवर्तन ल्याउनेछ । तैपनि, त्यो परिवर्तन हाम्रो जीवनलाई सघाउने खालेचाहिँ हुनैपर्छ । त्यसले जनतालाई विभाजित गर्नु भएन । नागरिकलाई दुई छेउमा पुर्‍याउनु भएन, एकै ठाउँमा राख्न सक्नुपर्‍यो । अमेरिकाजस्तो एक प्रतिशत मानिससँग अथाह पैसा अनि बाँकीसँग केही नहुने जस्तो असमानता हुनु भएन । त्यही कारण अहिले त्यहाँ मध्यम वर्ग नै छैन । जापानमा मध्यम वर्ग बढी छ र स्थिर छ । स्वीडेन, फिनल्यान्डमा पनि अमेरिकामा जस्तो असमानताको खाडल छैन । अमेरिकी र युरोपेली समाजमा भन्दा थप हाम्रो समाजमा जातपात छ, त्यसको असमानता छ, साम्प्रदायिक असमानता छ । पहाडी र मधेसीबीच पनि केही असमानता छ । 

त्यसैले आसन्न परिवर्तनलाई कसरी व्यवस्थापन गर्ने भन्नेमा नै नेपाली समाजमा देवत्वकरण र दानवीकरणको घटबढ निर्भर हुन्छ । यो परिवर्तनमा हामी ज्यादै विभाजित नहुने अर्थात् यता र उता नहुने भयौँ भने देवत्वकरण र दैत्यकरण न्यून भएर मानवीकरण मौलाउँछ । हामीलाई चाहिएको पनि मानवीकरण नै हो, दानवीकरण र देवत्वकरण किमार्थ होइन । यदि हामी कसैलाई देवता बनाउने अनि कसैलाई दैत्य बनाउन लागिरहने हो भने हामीले महाभूल गर्ने छौँ । 

प्रकाशित: जेष्ठ २२, २०७४