[स्मरण] मोइन शाह नभइदिएको भए...

- डा गौरीशंकरलाल दास

वि सं २०३० सम्म पनि मुलुकको स्वास्थ्य अवस्था निकै नाजुक र कहालीलाग्दो थियो । स्वास्थ्य मन्त्रालयमा प्रमुख योजना अधिकृत भएर काम गर्दा मैले त्यस्तै अनुभव गरेँ । 

मुलुकमा सरकारी र निजी अस्पतालको संख्या ६२ थियो । एमबीबीएस र विशेषज्ञ डाक्टर त औँलामा गन्न सकिने संख्यामा थिए । डाक्टरको दरबन्दी ४ सय ५९ रहे पनि उपलब्ध डाक्टर संख्या जम्मा ३ सय ११ थियो । तिनमा पनि धेरैजसो डाक्टर विदेशी थिए । विदेशीमा बंगलादेशीको बाहुल्य थियो । 

८ पास र एसएलसी पास भएको जनशक्ति क्रमश: अहेब र हेल्थ असिस्टेन्टको तालिम लिएर जनरल फिजिसियनको काम गथ्र्यो । तर, त्यस्तो जनशक्ति उत्पादन गर्ने हैसियत पनि हामीकहाँ थिएन । सरकारले तोकेको दरबन्दीको आधा संख्यामा पनि अहेब र हेल्थ असिस्टेन्ट पाउन मुस्किल थियो । करिब साढे तीन सय हेल्थ पोस्टले सम्पूर्ण मुलुकवासीलाई स्वास्थ्य सेवा पुर्‍याउनुपर्ने बाध्यता थियो । यस्तो अवस्थामा सरकारले मुलुकभित्रै सरकारी तवरमा चिकित्साशास्त्र अध्ययन संस्थान (शिक्षण अस्पताल) सञ्चालन गरी स्वदेशी डाक्टर उत्पादन गर्ने महत्त्वाकांक्षी योजना अघि सार्‍यो ।

तत्कालीन शिक्षा सचिव मनमोहनलाल सिंह, स्वास्थ्य विभागका महानिर्देशक दिनेशानन्द वैद्य, वीर अस्पतालका प्रसिद्ध सर्जन मोइन शाहलगायतको टोली बनाएर सरकारले चिकित्साशास्त्र अध्ययन संस्थान स्थापनासम्बन्धी अध्ययन गर्न नयाँदिल्ली पठायो । उक्त टोलीको अध्ययन–भ्रमणपश्चात् नै हामीकहाँ सरकारी तवरमा पहिलोपटक चिकित्साशास्त्र अध्ययन संस्थान सञ्चालनमा आएको हो । सुरुमा वीर अस्पतालमा कार्यालय खोलेर कार्य प्रारम्भ गरिएको उक्त संस्थान पछि जापानी सहयोगमा निर्मित महाराजगन्जस्थित भवनमा सरेको थियो । 

शिक्षण अस्पताल, महाराजगन्जको स्थापनापूर्व मुलुकमा चिकित्सा शिक्षा त के, विज्ञान विषयमा आईएस्सी उत्तीर्ण गर्ने विद्यार्थीको संख्या पनि नगन्य थियो । विज्ञान पढ्ने व्यक्ति या त उच्च घरानिया हुन्थे, या मुलुकबाहिर गएर पढ्न सक्ने क्षमता राख्नेहरू । मुलुकको पहिलो चिकित्सा अध्ययन संस्थान महाराजगन्जका संस्थापक प्रिन्सिपल पनि मोइन शाह नै भए । हेल्थ असिस्टेन्टबाट पनि डाक्टर हुन पाइने परम्परा उनैले बसालेका थिए । उनको भिजन राम्रो थियो । ‘हेल्थ एजुकेसन इन नेप्लिज कन्टेक्स्ट’ शीर्षक दूरदर्शी योजना पनि उनैले ल्याएका थिए । जिल्ला–जिल्लामा खटिएर जनरल

फिजिसियनको काम गर्न सक्ने जनशक्ति उत्पादन गर्ने उनको लक्ष्य थियो ।फिजिसियनका अतिरिक्त शल्यचिकित्सा र प्रसूति आदि सेवा त्यतिबेला गाउँगाउँमा ज्यादै खड्किने पक्ष थिए । यी सुविधा दिन दक्ष हेल्थ असिस्टेन्ट उत्पादन गरेर पूरा गर्न सकिने उनको योजनामा थियो । 

मोइन शाहले नै शिक्षण अस्पतालमा अहेबका अतिरिक्त हेल्थ असिस्टेन्ट कोर्सको पनि सुरुआत गरे । यसप्रति सबैको आकर्षण थियो । त्यस बेलासम्म नेपालमा एमबीबीएसको पढाइ सुरु भएकै थिएन । आवश्यकताबमोजिम देशभरि डाक्टर पुर्‍याउन नसकिने भएकाले हेल्थ असिस्टेन्ट कोर्स (सर्टिफिकेट इन जनरल मेडिसिन) पढाउने नीति अनुसार कोर्स डिजाइन गरियो । त्यो पढिसकपछि गाउँगाउँमा पठाएर सेवा गराउने र यसरी काम गरेकालाई प्राथमिकता दिएर एमबीबीएस पढ्ने बाटो खोलिदिने व्यवस्था उनैले सुरु गरेका थिए । त्यसअघि सामान्य चिकित्सा (एचए) अध्ययन गरेकाले मात्र त्यो सुविधा पाउँथे ।

विदेशी मित्रराष्ट्रहरूले उपलब्ध गराएका एमबीबीएसका कोटामा मुलुकमै हेल्थ असिस्टेन्ट पढेका विद्यार्थीलाई विशेष प्राथमिकता दिई पढ्न पठाउने र मुलुकमै पनि त्यस किसिमको शिक्षा दिने व्यवस्था भयो । यसपछि मुलुकको स्वास्थ्य सेवामा क्रान्ति नै आएको थियो । यही आकर्षणले गर्दा एसएलसीमा प्रथम श्रेणी र विशिष्ट श्रेणीमा उत्तीर्ण भएकाहरू पनि हेल्थ असिस्टेन्ट पढ्न तँछाडमछाड गर्न थालेका थिए । 

मोइन शाह बरोबर मसँग शिक्षण अस्पतालका लागि चाहिने जनशक्तिका बारेमा सल्लाह गर्थे । त्यतिबेला सीधै चिकित्साशास्त्र पढ्ने कति नै हुन्थे र ? तसर्थ, उनकै सल्लाहमा अन्य विषय पढेका विद्यार्थी पनि चिकित्साशास्त्र पढ्न इच्छुक छन् भने तिनीहरूका लागि एक वर्ष विज्ञान पढाएर चिकित्साशास्त्र अध्ययनतर्फ अभिप्रेरित गर्ने व्यवस्था पनि मिलाइयो । वीर अस्पतालनजिकै रहेको सिभिल मेडिकल स्कुलले उत्पादन गर्ने कम्पाउन्डरलाई पनि विभिन्न तालिम दिएर दक्ष बनाउने सोचका परिकल्पनाकार पनि उनै शाह थिए । हेल्थ असिस्टेन्ट पढेर नामी डाक्टर बनेका उदाहरण मुलुकमा धेरै छन् । तीमध्ये डा भगवान कोइराला उल्लेखनीय नाम हो ।

मोइन शाहले हेल्थ असिस्टेन्टबाट पनि डाक्टरी पढ्न पाउने परिपाटीको सुरुआत नगरिदिएको भए अहिलेका धेरै डाक्टर यस अवसरबाटै वञ्चित हुने थिए । तसर्थ, नेपालको स्वास्थ्य क्षेत्रमा मोइन शाह बिर्सिनै नहुने नाम हो भन्ने लाग्छ ।

- प्रस्तुति : ईश्वरी ज्ञवाली

प्रकाशित: जेष्ठ १९, २०७४