[संस्मरण] एक स्वैरकल्पना

"म खङ्ग्रङ्ग भएँ । उनीबारे अरू सोध्ने मलाई आँट भएन । खालि सोचिरहेँ– के उनी मेरै कारणले बहुलाउन पुगेका हुन् ? के त्यही कारणले उनी आफ्नो विक्षिप्त अनुहार लिएर मेरो सपनामा आइराख्ने गरेका हुन् ?"

- अजित बराल

स्वैरकाल्पनिक सपना

बुबाको एउटा स्वैरकाल्पनिक चित्र छ, पेन एन्ड इन्कले कोरिएको । त्यस चित्रमा खण्डहरजस्तो लाग्ने ठाउँबीच उभिएकी छन्, एक महिला । बाँसजस्ती अग्ली । अनि, निगालोझैँ पातली । उनको एक हातमा भोकले रोइरहेको बच्चा छ, अर्को हातमा माग्ने थाल । 

त्यस चित्रमा महिलाको ठाउँमा ऊजस्तै अग्लो तर छियाछिया परेको अनुहार भएको पुरुष राखिदिने हो भने ठ्याक्कै त्यस्तै चित्र बन्छ, जसलाई मैले सपनामा देख्न थालेको थिएँ । 

बुबाले बनाएको जस्तो लाग्ने चित्रबाट त्यो विक्षिप्त अनुहार भएको मान्छे किन बारम्बार मेरो सपनामा आइपुग्थ्यो, त्यो बुझ्न मैले सकेको थिइनँ । तर, त्यसको कारण आफसेआफ उद्घाटित भयो जब...। 

अति यथार्थवादी घटना 

ढोकाछेउकै झ्यालतिरको सिटमा म बसिरहेको थिएँ, बस कहिले छुट्ला भनेर घडी हेर्दै । फूलको रस लिन गएका माहुरीहरू एकएक गर्दै चाकामा फर्केझैँ यात्रीहरू भरिँदै थिए, बसमा । एक जना युवा आफ्नो हातको टिकट हेर्दै बस चढे र भने, “एक बी यही होइन ?”  

मैले हो–को संकेतमा मुन्टो हल्लाएँ । 

उनले आफ्नो सानो ब्याकप्याक माथि सामान राख्ने ठाउँमा राखे र फेरि मलाई सोधे, “वान बी झ्यालतिरको सिट हो कि यतातिरको हो ?” 

“वान ए होला झ्यालतिरको सिट । मैले विन्डो सिट दिनूस् भनेर टिकट काटेको हो,” मैले भनेँ । 

उनी केही नभनीकन मेरो दाहिने सिटमा आई बसे । 

बस नजिकैको फुटफाथमा बेच्नका लागि बिस्कुनजसरी किताब बिछ्याइएका थिए । यस फुटपाथे पुस्तक पसलसँगै अर्को पसल थियो, चियाको । त्यही चिया पसलअगाडि मुडामा बसेर एउटा ठिटा ओठले चिया खाइरहेका थिए, आँखाले चिया बेच्नेलाई । उनले छिनछिनमा चिया पसल्नीलाई केही भनिरहेका थिए । उनको स्वर नसुने पनि भावभंगिमा हेर्दा लाग्थ्यो, उनी पसल्नीसँग छिल्लिँदै थिए । 

म रमाइलो मानरे ठिटालाई हेर्दै थिएँ, जिन्सको पाइन्ट, भड्किलो स्पोर्ट्स जुत्ता र टाटेपाटे टिसर्ट लगाएका एक मान्छे हातमा पाना हल्लाउँदै आइपुगे । उनलाई देख्नेबित्तिकै छिल्लिँदै गरेका ठिटाले चिया सिनित्त पारे र पसल्नीलाई केही भन्दै बसको स्टेरिङ समात्न आइपुगे । र, इन्जिन स्टार्ट गरेर तीन–चार पटक हर्न बजाए ।  

टाटेपाटे टिसर्ट बसमा उक्लिए र हातको पाना हेर्दै सिटमा बसेका यात्रीहरू गन्न थाले । सायद सबै यात्री आइसकेका थिए, उनले क्याबिन ढोकामा तीन पटक ढ्यापढ्याप हाने, बस हिँडाउने संकेत गर्दै । टिँटीँ र ट्वाँट्वाँ गर्दै बस बालाजु, कलंकी, नैकाप पार गरेर नागढुंगा आइपुग्यो । त्यतिबेरसम्म न म मेरो छेउको सिट–साथीसँग बोलेँ, न उनी नै मसँग बोले । तर, नागढुंगाबाट बस ओरालो लागेपछि मेरो सिट–साथीको बोली फुट्न थाल्यो । र, उनले मेरो, (पहाड) घर, पढाइ, काम आदिबारे सोधे । मैले पनि विनम्रतासाथ कुराकानीलाई निरन्तर दिइराखेँ । मझैँ उनी पनि त्रिचन्द्र क्याम्पसमा समाजशास्त्रमा स्नातकोत्तर गर्दै रहेछन् । कुरा गर्नका लागि हामीसँग झनै धेरै विषय भए । अनि, कुरा गर्दागर्दै हामी सिट–साथीबाट मिल्ने साथीझैँ हुन पुग्यौँ ।  

गुरुजीले बस यति वेगमा चलाइरहेका थिए कि लाग्थ्यो– उनले बस होइन, ग्रान्ड प्रिमा फरारी चलाइरहेका छन् । मुटु कमजोर भएकाले मन कमाइकमाई व्यंग्य गर्दै थिए, ‘ए भाइ ! हामी जाने घर हो, स्वर्ग होइन ! त्यति हतार पनि गर्नु पर्दैन ।’

बस जति वेगमा चलाए पनि बाटो भने त्यही अनुपातमा छोटिएको थिएन । कन्डक्टर नै बस साहूजी थिए, सायद । अलिकति भए पनि पैसा आउँछ भनेर ठाउँठाउँमा रोक्दै यात्री टिपिरहेका थिए, सिला टिपेझैँ । बस रोकिएको रोकिएै गरेको देखेर यात्रीहरू कन्डक्टरसँग कराउँदै थिए, ‘ एक्सप्रेस भन्ने अनि गौँडैपिच्छै रोक्न पाइन्छ ?’

कन्डक्टर भन्दै थिए, ‘के गर्नू ? हाम्रो कामै यात्रीलाई सुविधा दिने हो । फेरि सोच्नूस् त, हजुरहरू यहाँ सिटमा नभएर तल सडकमा बसलाई हात दिँदै बसिरहनुभएको र यस्तै बसहरू सरर्र आउँदै तपाईंहरूलाई नदेखेझैँ गरी गएका भए हजुरहरूले के सोच्नुहुन्थ्यो ?’

बस १ बजे छुटेको थियो । त्यसमाथि ठाउँठाउँमा यात्री चढाउन–ओराल्नका लागि बस रोकिएकाले दमौली आइपुग्दा पश्चिमी क्षितिज रातो, पहेँलो, सुन्तला, बैजनी रङले पोतिएको क्यानभासझैँ भइसकेको थियो । 
सायद कन्डक्टरको घर दमौली थियो, उनी त्यहीँ झरे, गुरुजीलाई केके सल्लाह दिएर । बस अघि बढ्यो । 

क्याबिन पछाडिको सिटमा दुई जना महिला सिटमै निदाइरहेका थिए । उनीहरूको पछाडि एक जना मानिस टाउको झ्यालमा टेको लगाएर सुतिरहेको थियो । उसको छेउको मानिस भने अगाडि बाटोतिर हेरिरहेको थियो, ढल्किएर । 

दमौलीबाट हिँडेको १५/२० मिनेट भएको हुँदो हो, हाम्रो र पोखराबाट आइरहेको बसका बीचका भाग एक्कासि ठोक्किन पुगे । त्यो ठोक्काइको असरले झ्यालका सिसा फुटे र तिनका स–साना टुक्रा आफूतिर वेगले आइरहेका देखेँ । एकछिन त म बुलबुले पानीभित्र तैरिरहेको छुझैँ लाग्यो । 
बस लरखराउँदै सानो ढिस्कोमा जोतिन पुग्यो । अनि, बसभित्र रुवाबासी सुनिन थाल्यो । यताउति हेरेँ । देखेँ, ड्राइभरको साइडमा बस्ने यात्रीहरू बढी घाइते भएका रहेछन् । बस उनीहरूकै साइडमा ठोक्किएकाले झ्यालको सिसाले उनीहरूलाई नै बढी असर पारेको थियो । तीमध्ये सबैभन्दा बढी असर झ्यालमा आफ्नो टाउको अड्याएर सुत्नेलाई परेको रहेछ, उनको मुख सिसाका टुक्राले छियाछिया पारेको थियो । उनको अनुहार हेर्दा लाग्थ्यो, त्यो उनको अनुहार होइन, चिकन रोस्ट बनाउनका लागि मासुको भित्रसम्म मरमसला पसोस् भनेर छड्केछड्के काटेर राखिएको मासुको टुक्रा हो ।

मलाई केही भएको रहेनछ, सिवाय सिसाका ससाना टुक्राले अनुहारमा बनाएका ससाना घाउबाहेक ।

म हक्कानिँदै ड्राइभरको ढोकाबाट हाम्फालेर बीच सडकमा पुगेँ । 
अर्को बस अलि पर गएर कल्भर्टमाथि तेर्सिएर सुतेको रहेछ । त्यस बसका झ्यालहरूबाट पनि यात्री सडकमा ओर्लंदै थिए ।  

पोखराबाट आएको बसका यात्रीलाई सामान्य चोटपटक लागेको रहेछ । तर, हाम्रो बसका केही यात्री भने गम्भीर घाइते भएका थिए । तीमध्ये सबैभन्दा गम्भीर घाइते मुख छियाछिया भएका व्यक्ति थिए । उनी अचेत पनि थिए । बसबाट निकालेपछि उनैलाई सबैभन्दा पहिला अस्पताल लैजाने सल्लाह भयो । 

अँध्यारो भइसकेको थियो । एउटा जीप आयो । त्यसलाई रोकेर यात्रीहरूले अचेत घाइतेलाई पोखरा पुर्‍याइदिन अनुरोध गरे । जीपका मानिसले हुन्छ त भने तर घाइतेलाई जीपको पछिल्लो भागमा भुइँमा सुताएर लैजाने सर्तमा । गाडीको साह्रो भुइँमा सुताएर लैजाने, त्यो पनि गम्भीर घाइतेलाई । घाइतेलाई कति गाह्रो होला भनेर कसैले सोच्नै भ्याएन । 

घाइतेलाई जीपको पछि राखियो तर कसको हेरचाहमा उनलाई लैजाने ? कोही घाइतेसँगै जान तम्सिरहेका थिएनन् । 

मेरो सिट–साथीले भने, “तपाईं पनि जाने हो भने म गइदिन्छु ।” 

घाइतेलाई सहयोग गर्ने कुरा, मैले नाइँ भन्न सकिनँ । भनेँ, “हुन्छ तर मेरो ब्याग बसको डिक्कीमा छ ।” 

उनले ‘झिकम् न त !’ भने । ब्याग लिएर हामी दुवै जीपमा चढ्यौँ । पछि बस्ने सिट थिएन । त्यसैले हामी कुप्रिएर बस्यौँ– उनी घाइतेको दाहिनेपट्टि, म देब्रेपट्टि । जीप गुड् यो, जोल्टिङ खाँदै, घाइतेलाई उफार्दै । घाइते कहिलेकाहीँ होसमा आउँथे र पीडादायी आवाज निकालेर कन्थे अनि फेरि अचेत हुन्थे । लाग्थ्यो, दुर्घटनामा नगएको उसको प्राण जीपमा जानेछ ।  

३०–४० मिनेटको कष्टकर यात्रापछि हामी गण्डकी अस्पताल पुग्यौँ र तरुन्तै घाइतेलाई इमर्जेन्सीमा लग्यौँ । डाक्टरहरू आएर हत्त न पत्त घाइतेलाई उपचार गर्लान् भनेको त एउटी नर्स आएर पहिला पुलिस रिपोर्ट बनाउनूस् भनिन् । पुलिस रिपोर्ट बनाएर ल्यायौँ । अब त उपचार गरिहाल्छन् कि भन्यो, डाक्टरहरू ल्याङल्याङ गरिरहे । सोचेँ, घाइतेको आफन्त भएको भए ममा के बित्थ्यो होला !
 
धेरैपछि घाइतेलाई अपरेसन थिएटरमा लगियो । 

अर्की नर्स आएर ‘बस दुर्घटनाको घाइतेलाई ल्याउने को हो ?’ भनेर सोधिन् । हामीले ‘हामी हौँ’ भन्यौँ । उनले घाइतेको उपचारका लागि चाहिने औषधिको लिस्ट अगाडि बढाउँदै भनिन्, ‘यी औषधिहरू तुरुन्त लिएर आउनूस् !’  
मैले ‘हामीले त घाइतेलाई लिएर आएर सहयोग गरेका हौँ, हामी घाइतेको कोही पर्दैनौँ’ भनेँ । 

‘घाइतेलाई ल्याउनेले नै उपचार खर्च जुटाउनु पर्छ,’ उनले झर्किंदै भनिन् ।
घाइतेका साथमा रहेको पैसाले औषधि किन्दै गरौँ भने रिपोर्ट बनाउने पुलिसले उनको पर्समा पैसा नभएको जानकारी दिएका थिए । कस्तो अचम्म ! बाग्लुङको मान्छेले के बसको टिकट काट्ने पैसा मात्र लिएर हिँडेका होलान् र ? उनी बिखर्ची थिए भने पोखराबाट बाग्लुङ कसरी जाने सोचेका थिए होलान् ? कि उनको पर्सको पैसा पुलिसले उडाइदिएका थिए ?

घाइतेको परिवार, नातागोतालाई सम्पर्क गरौँ भने उनीहरूबारे केही खुल्न सकेको थिएन । 

हामी बिलखबन्दमा पर्‍यौँ । ‘यस्ता घाइतेहरूलाई उपचार गर्ने व्यवस्था अस्पतालमा होला नि ?’ मैले भनेँ । 

‘हुन्न । यस्ता घाइतेहरू कति आउँछन्, आउँछन्,’ नर्स फेरि फन्किइन् ।
घाइते उपचार खोज्दै जीवन र मरणको दोसाँधमा बेहोस थिए, नर्ससँग सवालजवाफ गर्दै बस्न मन लागेन । मैले नर्सको हातबाट औषधिको पुर्जा लिएँ । नर्स अपरेसन थिएटरभित्र छिरिन् ।

मसँगै आएको साथीले एक्कासि हतारो देखाउन थाल्यो, “म त टाढा जानुपर्छ, लागेँ है ।” 

घाइतेको उपचारका लागि खर्च गर्ने कुरा आएको थियो, सायद त्यही कारण उनी पन्छिन खोज्दै थिए कि ! 

मैले हुन्छ भनेर मुन्टो हल्लाएँ । मैले त्यसभन्दा अरू नै के गर्न सक्थेँ र ! 
साथी सिट–साथी भएर घरतर्फ लागे, म औषधि बिक्री कक्षतिर । किन्नुपर्ने स्लाइनलगायत ६–सातवटा औषधि थिए । जम्मा १ हजार २ सय रुपियाँजति लाग्यो । फर्केर ती औषधि नर्सलाई दिएँ । उनी औषधि लिएर अपरेसन थिएटरभित्र पसिन् । 

एकछिनपछि बाहिर निक्लेर नर्सले औषधिको अर्को लिस्ट मेराअगाडि तेर्साइन् । मैले फेरि याचनापूर्ण स्वरमा भनेँ, “म घाइतेको कोही पर्दिनँ, कतिन्जेल म उनका लागि औषधि किन्दै बसौँ यहाँ ?”

उनी केही बोलिनन् । 

घर फर्किरहेको विद्यार्थी, मेरो साथमा पैसा पनि कति थियो र ! अरू एक–दुई हजार थियो कि ? त्यो पनि सकिएपछि के गर्ने ? मनले भन्यो हिँड् भाइ ! 
म अस्पतालबाट लुसुक्क बाहिरिएँ, कुनै अपराधीझैँ । 

त्यसपछि घाइतेका लागि औषधि कसैले किनिदियो कि किनिदिएन, उनको उपचार भयो कि भएन, उनी मरे कि बाँचे– मलाई थाहा भएन । तर, म पछिसम्म पछुताइरहेँ । 

पटाक्षेप

... म संयोगले चेपारो पारेर बोल्ने उही साहू कन्डक्टरको बस चढ्न पुगेँ, त्यो दुर्घटनाको ठ्याक्कै एक वर्षपछि । मैले उनलाई त्यसबारे सम्झाउँदै सोधेँ, ‘त्यो पोखरा अस्पतालमा लगेको मान्छेलाई के भो ?’ 

उनले भने, ‘त्यसले त डुबायो नि हामीलाई । पाटनको मानसिक अस्पतालमा धाउँदाधाउँदा हामी हत्तु भएका छौँ ।’

म खङ्ग्रङ्ग भएँ । उनीबारे अरू सोध्ने मलाई आँट भएन । खालि सोचिरहेँ– के उनी मेरै कारणले बहुलाउन पुगेका हुन् ? के त्यही कारणले उनी आफ्नो विक्षिप्त अनुहार लिएर मेरो सपनामा आइराख्ने गरेका हुन् ? 

प्रकाशित: जेष्ठ १९, २०७४