कौडीको मूल्यमा

  • नामले औद्योगिक क्षेत्र तर गैरउत्पादनमूलक व्यवसायीलाई निकै सस्तोमा घरजग्गा भाडामा

- माधव बस्नेत

मध्याह्न पौने २ बजे, १० जेठ । बालाजु औद्योगिक क्षेत्रको मूलद्वारबाट ना६च ६५०६ नम्बरको ठूलो कन्टेनर भित्र पस्ने तयारीमा छ । तर, बेपत्ता धूवाँ फालेर पनि बीचैमा अड्किएको उक्त कन्टेनरका कारण औद्योगिक क्षेत्रबाहिर–भित्र गर्न खोजिरहेका सवारी साधन जाममा छन् । मूलद्वारबाट भित्र छिरेपछि देखिन्छ– औद्योगिक क्षेत्रको अस्तव्यस्तताको हद । 

दुई दिनअघि ८ जेठ बिहान ११ बजे पनि औद्योगिक क्षेत्र यस्तै अस्तव्यस्त थियो । औद्योगिक क्षेत्र हो/होइन ? सुनसान छ । उद्योग–कार्यालय सञ्चालन, गोदाम व्यवस्थापन गर्ने घर निकै पुराना र जीर्ण छन् । मुलुककै पहिलो र दोस्रो ठूलो बालाजु औद्योगिक क्षेत्रको शब्द–तस्बिर यस्तै छ । 

राजधानीको पश्चिमी कुनामा रहेको बालाजु औद्योगिक क्षेत्र विसं ०१९ देखि सञ्चालनमा छ । मुलुकभित्रकै कच्चा पदार्थ, पुँजी र श्रमशक्ति परिचालन गरी आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्ने उद्देश्यले अमेरिकी सरकारको सहयोगमा पहिलोपटक यो औद्योगिक क्षेत्र सञ्चालनमा ल्याइएको थियो । ०१९ देखि सञ्चालनमा आए पनि ५ फागुन ०१६ मै तत्कालीन राजा महेन्द्रले यस औद्योगिक क्षेत्रको शिलान्यास गरेका थिए । अनि, औपचारिक उद्घाटन पनि उनै महेन्द्रले २० जेठ ०२० मा गरे । यसै मितिलाई औपचारिक मानेर बालाजु औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले आउँदो २० जेठमा ५४औँ वार्षिकोत्सव मनाउने तयारी गरिरहेको छ । ६ सय ७० रोपनी क्षेत्रफलमा फैलिएको बालाजु औद्योगिक क्षेत्र हेटौँडा औद्योगिक क्षेत्रपछिको दोस्रो ठूलो औद्योगिक क्षेत्र पनि हो । तर, यो क्रमश: ओरालोमा छ । 
यो औद्योगिक क्षेत्रमा कोकाकोला उत्पादन गर्ने बोटलर्स नेपाल लिमिटेडबाहेक कुनै पनि बहुराष्ट्रिय कम्पनी छैनन् । बरू, गाडी तथा मोटरसाइकल आयातकर्ता कम्पनीका मर्मत सम्भार गर्ने वर्कसपहरू छन्, यहाँ । जस्तो: निसान गाडीको गुराँस इन्जिनियरिङ, कियाको कन्टिनेन्टल सर्भिसेस, महिन्द्रा, बालाजु अटो वक्र्स, ज्योति समूहको स्याकार कम्पनी, भक्सवागनको पूजा इन्टरनेसनलका आधा दर्जनभन्दा बढी वर्कसप अत्यन्तै सस्तो भाडादर अर्थात् प्रतिरोपनी वार्षिक १६ हजार ५ सय रुपियाँमा चलिरहेका छन् । यिनको स्थानमा बहुराष्ट्रिय कम्पनी वा ठूला उद्योग सञ्चालन हुन्थे भने औद्योगिक क्षेत्रले ठूलै प्रतिष्ठा र नाफा हासिल गर्न सक्थ्यो । हुन त ०१६ मै स्थापना भएको बालाजु यन्त्रशाला, ०२१ देखि सञ्चालनमा आएको नेबिको बिस्कुट, काठमाडौँ दुग्ध वितरण आयोजना, नेपाल ग्यास (हाल समृद्धि)जस्ता केही उद्योगले मात्र बालाजु औद्योगिक क्षेत्रको इज्जत धानिरहेका छन् । 

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड सञ्चालन विभागका वरिष्ठ अधिकृत गोपाल भण्डारीका अनुसार यस क्षेत्रभित्र ठूला उद्योगभन्दा साना र मझौला उद्योग नै धेरै छन् । जसले गर्दा अपेक्षित लाभ प्राप्त गर्न सकिएको छैन । औद्योगिक क्षेत्र सञ्चालन तथा व्यवस्थापन नियमावली र निर्देशिकामा कस्ता उद्योगलाई ‘स्पेस’ दिने, कस्तालाई नदिने भन्ने मापदण्ड उल्लेख नभएकाले ठूलादेखि सानासम्म सबैलाई सञ्चालन अनुमति नदिइएको भण्डारी बताउँछन् । भन्छन्, “ठूला उद्योगहरूको तुलनामा वर्कसपहरूबाट औद्योगिक क्षेत्रलाई आम्दानी निकै कम छ ।” बालाजु औद्योगीक क्षेत्रका व्यवस्थापक राजेन्द्रप्रसाद कँडेलका अनुसार सवारी साधन मर्मत–सम्भार गर्ने वर्कसपलाई औद्योगिक क्षेत्रभित्रको जग्गा भाडामा दिँदा अपेक्षित लाभ लिन नसकिएकैले यस्ता कम्पनीहरूलाई ०७१ देखि घरजग्गा दिइएको छैन । 

औद्योगिक क्षेत्रभित्र उद्योगहरूलाई खास गरी चार समूहमा विभाजन गरिन्छ– घरेलु, साना, मझौला र ठूला उद्योग । यी चारमध्ये कसलाई स्थान दिने, कसलाई नदिने भन्ने कुनै मापदण्ड छैन । त्यसैले बहुराष्ट्रिय कम्पनीदेखि गैरउत्पादनमूलक साना उद्योगहरूले समेत एकसाथ सँगै स्थान पाइरहेका छन् । व्यवस्थापक कँडेलका शब्दमा साना उद्योगको तुलनामा ठूला उद्योगहरूबाट धेरै फाइदा छ । किनभने, ठूला उद्योगले बिजुली–पानी धेरै खपत गर्छन् । उत्पादनमूलक यस्ता ठूला उद्योगबाट वार्षिक भाडा पनि बढी नै लिने कानुनी व्यवस्था छ । जस्तो : उत्पादनमूलक उद्योगहरूले वार्षिक प्रतिरोपनी एक लाख रुपियाँ भाडा तिर्छन् । औद्योगिक क्षेत्रले ६ सय ७० रोपनी जमिनमध्ये उत्पादनमूलक ठूला उद्योगहरूलाई १ सय ४५ रोपनी क्षेत्रफल मात्रा भाडामा दिन सकेको छ । यसबाट बुझ्न सकिन्छ, औद्योगिक क्षेत्रभित्रको धेरै जमिन कौडीका भाउमा भाडामा छ । 
गैरउत्पादनमूलकमध्ये कोल्ड स्टोर (शीत भण्डार), बिक्री तथा प्रदर्शनी कक्षका लागि भाडामा लिन चाहनेले वार्षिक प्रतिरोपनी ४० हजार रुपियाँ मात्र बुझाए हुन्छ । अझ अटोमोबाइल, गाडी–मोटरसाइकल मर्मत गर्ने वर्कसपहरूले भने वार्षिक प्रतिरोपनी १६ हजार ५ सय रुपियाँ मात्र बुझाउने सम्झौता गरे हुने रहेछ । यसरी अति सस्तोमा पाइने भएकैले गाडी/मोटरसाइकल आयातकर्ताहरू वर्कसप सञ्चालनका लागि मरिहत्ते गर्छन् । त्यसैले नेपालमा बिक्री हुने धेरैजसो गाडी, मोटरसाइकलका बिक्रेताहरूको मुख्य मर्मत–सम्भार केन्द्र बालाजु औद्योगिक क्षेत्रभित्र नै छ । 
वर्कसप सञ्चालकहरूले वार्षिक १६ हजार ५ सयमा पाउने सुविधालाई मासिकमा बदल्दा प्रतिमहिना करिब १ हजार ४ सय रुपियाँ मात्र हुन्छ । औद्योगिक क्षेत्रबाहिरको निजी जग्गा भाडामा लिएर यसरी नै वर्कसप सञ्चालन गर्ने हो भने प्रतिरोपनी न्यूनतम ६० हजारदेखि डेढ लाख रुपियाँसम्म तिर्नुपर्छ । “हामीले एकदमै कम आम्दानी पाइरहेका छौँ । उद्योगको प्रवद्र्धन गर्नुपर्छ भन्ने मान्यताले औद्योगिक क्षेत्र सञ्चालनमा ल्याइएको हो,” व्यवस्थापक कँडेल भन्छन्, “वर्कसप सञ्चालकहरूलाई वार्षिक १६ हजारमा जग्गा भाडामा दिएर संस्थाका लागि केही फाइदा छैन ।” 

एकातिर बालाजु औद्योगिक क्षेत्रको जग्गा कौडीको मूल्यमा भाडामा छ । अर्कातिर यही न्यून आम्दानीले अन्यत्रका साना औद्योगिक क्षेत्रलाई पनि पाल्नुपर्छ । मुलुकभर बालाजुबाहेक पाटन, हेटौँडा, धरान, नेपालगन्ज, पोखरा, बुटवल, भक्तपुर, वीरेन्द्रनगर, धनकुटा र गजेन्द्रनारायण सिंह गरी १० वटा औद्योगिक क्षेत्र छन् । बुटवल, वीरेन्द्रनगर, धनकुटा, राजविराजको अवस्था झनै दयनीय छ । त्यसैले राजधानीमा रहेको बालाजु औद्योगिक क्षेत्रबाट भएको आम्दानी यी नाजुक औद्योगिक क्षेत्रलाई टिकाउनका लागि रकमान्तर गरिन्छ । 

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष तथा महाप्रबन्धक मन्त्रिपरिषद्ले नियुक्त गर्छ । कहिलेकाहीँ मन्त्रीस्तरीय निर्णयबाट पनि यस्तो नियुक्ति हुन्छ । अध्यक्ष तथा महाप्रबन्धक मातहतको समितिले सम्पूर्ण औद्योगिक क्षेत्रहरूको नेतृत्व गर्छ । र, यसको प्रधान कार्यालय बालाजु औद्योगिक क्षेत्रभित्रै छ । बालाजु औद्योगिक क्षेत्रको स्तरोन्नति, संरक्षण, सुपरिवेक्षण गर्ने दायित्व पनि अध्यक्ष तथा महाप्रबन्धक नेतृत्वमा रहेका कर्मचारीहरूको हो । बालाजु औद्योगिक क्षेत्रको व्यवस्थापनमा सात जना अधिकृतस्तरका सहित ३५ जना कर्मचारी कार्यरत छन् । तर, दु:खद के भने राजनीतिक अस्थिरताका कारण अध्यक्ष तथा महाप्रबन्धक अदलीबदली भइरहन्छन् । त्यसैले छोटो समयका लागि नियुक्ति पाएका अध्यक्ष तथा महाप्रबन्धकले औद्योगिक क्षेत्रमा नयाँ–नयाँ र ठूला उद्योग भित्र्याउने विषय प्राथमिकतामै पार्दैनन् । बरू, आफू अनुकूल र फाइदा दिनेहरूलाई नै भाडा दिलाउने खेलमा लाग्छन् । कारण हो, यहाँको भाडा निकै सस्तो छ । 

बालाजु औद्योगिक क्षेत्रभित्र रहेका भवनहरूको समेत मर्मत–सम्भार हुन सकेको छैन । कतिपय भवन सरसफाइ–रंगरोगन नगरेकाले झ्याउ उम्रिसकेका र पुराना भएर पानी चुहिने भएका छन् । व्यवस्थापक कँडेल भन्छन्, “औद्योगिक क्षेत्रलाई उकास्ने गरी दीर्घकालीन योजना बनाएर सञ्चालन नगर्ने हो भने कुनै दिन बन्द गर्नुपर्ने हुन सक्छ ।” 

प्रकाशित: जेष्ठ १९, २०७४