बालगाडी

- भास्वर ओझा

हुनेखानेका घरमा बालबालिकाका लागि खेलौनाको खात नै हुन्छ । बामे सर्दै हुन्छन्, घरैमा साइकल आइपुग्छ । चिडिखानामा केके हुन्छन्, ती सबका आकृति घरमै आइपुग्छन् । तर, समाजमा अहिले पनि यस्ता वर्ग छन्, जो विद्यालय जान पाएका त छैनन् नै, अभिभावक दिनभर काममा जोतिइरहेका बेला ती यसरी नै खेल्छन् । यो तस्बिर राजधानी सहर काठमाडौँ, सिनामंगलको हो ।

कुनै घरले यो सुटकेसलाई काम नलाग्ने भनेर फ्याँक्यो होला अनि यही सुटकेस यी नानीका लागि भइदियो खेलौना–सवारी । यही गुडाएर दिदीले ड्राइभर अनि बहिनीले यात्री हुनुको मज्जा लिए । अहिले यी कलिली नानी आमाको गर्भमा झैँ गुडुल्की परेर बसेकी छन्, कुनै बेला यही सुटकेस कालोधनले भरिभराउ पनि भयो होला अथवा खाडीको पासपोर्टले पनि भरियो होला । गरिबका लागि सुटकेसमा राख्नलाई न धन हुन्छ, न पासपोर्ट नै, धनीका लागि काम नलाग्ने भएपछि यही पनि हुँदो रहेछ, सवारी...। 
 

प्रकाशित: जेष्ठ १८, २०७४