सुस्त स्टार्टअप

  • सरकारी अज्ञानता र उदासीनताका कारण नवउद्यमीहरूलाई नेपालमा अवसरको अभाव

- सुरेशराज न्यौपाने

भारतको राजधानी नयाँ दिल्लीको वसन्तकुञ्जस्थित व्यापारिक मल डीएलएफको चौथो तलामा छ, पान पसल–बनारस । पान पसल भन्नासाथ साँघुरो र एउटा कुनामा रहेको पसलको तस्बिर अगाडि आउँछ । तर, दिल्लीका अविनाश ठकुरालले सुरु गरेको बनारसले त्यो परम्परागत धारणालाई गलत साबित गर्छ । झट्ट हेर्दा पान पसल भनेर पत्याउन गाह्रो पर्छ, जहाँ तीन दर्जनभन्दा बढी स्वादका पानसहितको सजावट छ ।

सिर्जनशील र नवीन सोचलाई व्यवहारमा उतार्ने हो भने सामान्य व्यवसाय पनि यो हदसम्मको आकर्षक बन्न सक्छ भन्ने गतिलो उदाहरण बनेको छ, यो ‘स्टार्टअप’ अर्थात् नवउद्यम । 

कफी पारखीका लागि स्टार बक्स, कोस्टा कफीजस्ता दर्जनौँ अन्तर्राष्ट्रिय ब्रान्ड छन्, नयाँ दिल्लीमा । तर, चिया पारखीका लागि भने त्यस्ता गन्तव्य थिएनन् । तर, नितिन सलुजा र राघव बर्माले चार वर्षअघि सुरु गरेको चायोज ब्रान्डले चिया पारखीको तिर्सना मेटाइरहेको छ । माटोको भाँडो कुल्हडमा दिइने स्वादिलो चियादेखि रेस्टुराँको सजावटले पनि ग्राहकको ध्यान तानिरहेको छ । छोटो समयमै चायोजका २५ वटा ‘आउटलेट’ भइसकेका छन् । चायोजले छोटो समयमा पाएको सफलताका कारण यो नवउद्यममा पुँजी लगाउन लगानीकर्ताहरूमाझ तँछाडमछाड छ ।  

रितेश अग्रवाल, १७, ले स्थापना गरेको बजेट होटल ओयो रुम्सको सञ्जालमा अहिले भारतका दुई सयभन्दा बढी सहरका सात हजारभन्दा बढी होटल र ७० हजार कोठा आबद्ध छन् । कलेजको पढाइ बीचैमा छाडेर आफ्नै व्यवसाय थालेका अग्रवाल सन् २०१३ को ‘द थिल फेलोसिप’बाट पुरस्कृतसमेत भइसकेका छन् । कलेज छाडेपछि अग्रवालले ओराभेल स्टेज प्रालि सुरु गरेका थिए, त्यही पछि गएर ओयोमा रूपान्तरित भयो । होटल क्षेत्रमा चर्चित ब्रान्ड बन्न सफल ओयो रुम्सले होटलको स्वामित्व ग्रहणदेखि पूर्वाधारहरूलाई एउटा निश्चित स्तरमा विकास गरेर सञ्चालन पनि गर्छ ।

होटल र टुर प्याकेजसम्बन्धी सबै कारोबार मोबाइल एप्समार्फत हुन्छ । ओयो एप्सबाट पाँच सकेन्डभित्रै होटल खोज्न र बुकिङ गर्न सकिन्छ । 

बनारस, चायोज र ओयो रुम्स त केही उदाहरण मात्र हुन् । पछिल्ला केही वर्षमा भारतमा यस्ता नवउद्यमहरूको बाढी नै आएको छ, जसमा अतिशय नवीनता र सिर्जनशीलता देखिन्छ । यस्ता नवउद्यमहरूको संख्यामा उल्लेख्य वृद्धि हुनुमा भारत सरकारले लिएको अग्रसरता र नीतिको सकारात्मक भूमिका प्रमुख हो । नरेन्द्र मोदी नेतृत्वको वर्तमान सरकारले त तीन वर्षअघि ‘स्टार्टअप इन्डिया स्ट्यान्ड अप इन्डिया’ अभियान नै थालेको छ । यो कार्यक्रमलाई सफल बनाउन भारत सरकारले साना उद्योग विकास बैंकले व्यवस्थापन गर्ने गरी स्टार्टअपहरू लक्षित १० हजार करोड भारतीय रुपियाँको कोष खडा गरेको थियो । सन् २०१६ मा मात्रै भारतीय स्टार्टअपहरूले मात्रै चार अर्ब डलरभन्दा बढीको लगानी आकर्षित गरेका थिए । यसअघि सन् २००५ देखि २०१५ को अवधिमा स्टार्टअपहरूमाथि १ हजार १ सय १७ अर्ब भारु बराबरको लगानी भएको थियो । 

दक्षिणी छिमेकमा नवउद्यम र उद्यमीहरूले एकपछि अर्को सफलता पाइरहेका बेला नेपालमा भने अझै पनि यससम्बन्धी प्रस्ट नीति नै बन्न सकेको छैन । उल्टो भारतीय कम्पनीहरूले नै नेपाली बजारमा पाइला राख्न सुुरु गरेका छन् । स्थापनाको चार वर्षको अवधिमै मलेसियामा समेत सफलतापूर्वक आफ्नो व्यवसाय विस्तार गरिसकेको ओयो रुम्सले नेपाललाई आफ्नो दोस्रो अन्तर्राष्ट्रिय गन्तव्य बनाएको छ । काठमाडौँको ज्ञानेश्वरस्थित होटल प्रिन्स प्लाजासँग साझेदारी गर्दै ओयो नेपाली होटल क्षेत्रमा प्रवेश गरेको छ । आफ्नो सञ्जाल विस्तारको औपचारिक कार्यक्रममा सहभागी हुन प्रमुख कार्यकारी अधिकृत अग्रवाल स्वयं काठमाडौँ आएका थिए । 

नेपालमा चार वर्षअघि नै घोषणा गरिएको स्टार्टअप फन्डलाई कार्यान्वयनमा ल्याउनुको साटो वर्षैपिच्छे नयाँ नाम दिने काम मात्र भएको छ । आर्थिक वर्ष ०७१/७२ मा घोषणा गरिएको स्टार्टअप फन्डको रकम ५० करोड रुपियाँबाट गत आर्थिक वर्षमा स्टार्टअप च्यालेन्ज फन्ड नाम दिएर बजेट एक अर्ब रुपियाँ पुर्‍याइयो । तर, अहिलेसम्म पनि त्यसको कार्यविधि बनाउन सकेको छैन । उल्टो उद्योग, अर्थ र युवा मन्त्रालयबीच कोष सञ्चालन कसले गर्ने भन्नेमै मतभेद छ । पछिल्लो समय राष्ट्रिय युवा परिषद्ले समेत त्यो कोषमाथि आफ्नो दाबी प्रस्तुत गरेको उद्योग मन्त्रालयका एक अधिकारी बताउँछन् ।

उद्योग मन्त्री नवीन्द्रराज जोशीले स्टार्टअपका सम्बन्धमा केही पहल नलिएका होइनन् । उनकै अध्यक्षतामा स्टार्टअप समिति पनि गठित छ । उक्त समितिले नवउद्यमसम्बन्धी नीतिको मस्यौदा तयार पारेर मन्त्रालयलाई बुझाइसकेको छ । र, यही समितिले आगामी महिना काठमाडौँमा नेसनल स्टार्टअप समिट गर्ने तयारी पनि गरिरहेको थियो । उद्योग मन्त्रालयद्वारा गठित स्टार्टअप समितिका सदस्य मनीष झा नेपालमा सबैभन्दा पहिले स्टार्टअपसम्बन्धी बुझाइमा असंगति रहेको र त्यसलाई हटाउन उक्त सम्मेलनले भूमिका खेल्ने बताउँछन् । भारतमा चार वर्ष पुरानो उद्योग नवउद्यमको सूचीमै पर्दैन । त्यसै गरी कर्मचारीहरूको संख्या २५ भन्दा बढी पनि हुनुहुँदैन । तर, सरकारको प्रस्ट नीति नभएका कारण हामीकहाँ भने आफूखुसी नवउद्यम दाबी गर्ने गरिएको झाको भनाइ छ । 

अन्त:प्रेरणाका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत नीरज खनालको अनुभवमा नेपालमा नवउद्यमको अपेक्षित ढंगले विकास नहुनुको प्रमुख कारण पर्याप्त पुँजी नहुनु नै हो ।  सरकारले घोषणा गरेको स्टार्टअप फन्ड परिचालन गरिएको भए बजारमा पैसा आउँथ्यो र नेपाली युवा उद्यमीहरूले फड्को मार्न सक्थे । खनाल भन्छन्, “नयाँ उद्यमीहरूका लागि त्यो रकमको ठूलो महत्त्व छ । कागजमा चाहिँ कहिले ५० करोड र कहिले एक अर्ब भन्ने तर व्यवहारमा लागू नगर्ने प्रवृत्ति छ ।” 

एफ वान सफ्ट इन्टरनेसनलका अध्यक्ष विश्वास ढकाल भने उद्यमशीलताको माहौल बनाउन सरकारको नेतृत्वमा त्यससम्बन्धी सुझबुझ हुनैपर्ने बताउँछन् । भन्छन्, “कमी त्यसैको छ, राजनीतिक र प्रशासनिक दुवैमा यससम्बन्धी चेतना छैन ।” विदेशिएका युवाहरूलाई स्वदेश फर्काउने कुरा त गरिन्छ तर यसका लागि देशभित्रै नयाँनयाँ उद्योग–व्यवसाय खुले मात्र सम्भव हुन्छ भन्नेतर्फ भने ध्यान नपुगेको ढकालको तर्क छ । 

सरकारी उदासीनताका बाबजुद निजी क्षेत्रकै अग्रसरतामा सीमित भए पनि कृषि, होटल, रेस्टुराँ व्यवसायमा नवीन अवधारणा र सोच सतहमा आएका छन् । सरकारी उदासीनताका बाबजुद पनि केही संस्थाहरूले नवउद्यमका लागि आवश्यक पर्ने वातावरण निर्माण गर्न एम एन्ड एस नेक्स्ट, बिरुवा भेन्चर्स, डोल्मा फन्ड, वान टू वाच, अन्त:प्रेरणा र बीओटूजस्ता डेढ दर्जन संस्था सक्रिय छन् । सरकारी नीतिको प्रभावकारी कार्यान्वयनले मात्र वैदेशिक रोजगारीमा गएकाहरूलाई स्वदेश फर्काएर रोजगारको अवसर दिलाउने सार्वजनिक घोषणा सही प्रमाणित हुने थियो । एफवान सफ्टका अध्यक्ष ढकाल भन्छन्, “देशभित्र त्यस्ता कार्यक्रम लागू गर्न आवश्यक जनशक्ति भेटिँदैन भने विदेशबाट समेत ल्याउनुपर्‍यो । नत्र कागजमै सीमित हुने यस्ता ठूला कार्यक्रम घोषणा गर्नुको कुनै अर्थ छैन ।”

पुनको आफ्नै पहल

सरकारले दुई वर्षअघि बजेटमार्फत घोषणा गरेको स्टार्टअप च्यालेन्ज फन्ड कार्यान्वयनमा ल्याउन प्रविधि अभियन्ता महावीर पुनले धेरै पटक सिंहदरबार चक्कर लगाए । मन्त्री, सचिव, सम्बन्धित कर्मचारीलाई त्यो फन्डको महत्त्व बुझाए । तर, पुनको केही लागेन । अन्तत: हार खाएर देशभित्रै युवा उद्यमशीलताको विकास र प्रवद्र्धनका लागि राष्ट्रिय आविष्कार केन्द्र स्थापना गर्ने योजना बुनेका छन् । त्यही केन्द्र स्थापनाका लागि रकम जुटाउन सामाजिक सञ्जालमार्फत विश्वभरका नेपालीहरूलाई आह्वान गरेका थिए ।

त्यसबाट पनि उल्लेख्य मात्रामा रकम जुटेको थियो । पछिल्लो समय रकम जुटाउनैका लागि भनेर उनले आफूले पाएका राष्ट्रिय/अन्तर्राष्ट्रिय पदक बिक्रीमा राखेका छन् । केन्द्र खोल्नका लागि करिब ५० करोड रुपियाँ आवश्यक पर्ने त्यो रकमलाई १० मेगावाटको जलविद्युत् आयोजनामा लगानी गर्ने, त्यसबाट उत्पादित बिजुली बेचेर आएको रकमलाई आविष्कार केन्द्रमा लगानी गर्ने पुनको योजना छ । केही समयअघि एउटा सिमेन्ट र पछि चाउचाउको विज्ञापनसमेत खेलेका पुनले उक्त विज्ञापन खेल्नुको उद्देश्य पनि व्यक्तिगत लाभका लागि भन्दा पनि केन्द्रकै लागि रकम उठाउनु रहेको प्रस्टीकरण दिएका छन् । 

प्रकाशित: जेष्ठ १८, २०७४