साम्यवादको सपना

नेता आत्मसंघर्ष, अन्तरसंघर्ष र वर्गसंघर्षमा खारिएर मात्र जन्मिन्छ । उसले सबै नेता, कार्यकर्ता र जनताको आत्मसम्मानको परिवेश बनाउाछ । र, वर्गीय मुक्तिलाई सबैभन्दा माथि राख्छ ।

- गुणराज लोहनी

सचेततापूर्वक साम्यवाद स्थापनाको सपना बोकेको ठ्याक्कै २७ वर्ष भएछ । यो सपना म एक्लैले देखेको थिइनँ, मेरी जीवनसहयात्री थिइन् उर्मिला भट्टराई । हामी दुईबीच प्रेम चलिरहेको थियो । उनी एक सम्पन्न परिवारकी छोरी थिइन्, म गरिब परिवारको । म कलेज पढ्दै थिएँँ । उनी भर्खर एसएलसी दिएकी थिइन् । तर पनि हाम्रो उमेर दुई वर्ष मात्र फरक थियो । त्यस समयमा म पञ्चायतविरुद्ध सुरु भएको आन्दोलनमा सहभागी भइसकेको थिएँ । मलाई तीन जना शिक्षक र एक जना मजदुरले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (मशाल)को पार्टी सदस्यता दिएका थिए । यो विसं ०४५ को सन्दर्भ हो ।
१४ वैशाख ०४७ मा उर्मिला र मेरो बिहे भयो । म एउटा निजी विद्यालयमा पढाउँथेँ । आफ्नै मामा नाता पर्नेकहाँ । उनी नेपाली कांग्रेसका स्थानीय तहका चर्चित नेता नै थिए । पञ्चायतविरुद्धको आन्दोलनमा सँगै लागियो । तर, बहुदल आउने बित्तिकै उनले मलाई मशालको राजनीति गरेको भन्दै विद्यालयबाट निकालिदिए । त्यसपछि म चितवनको नारायणी माध्यमिक विद्यालय (हालको नारायणी नमुना उच्च माध्यमिक विद्यालय, भरतपुर)मा पढाउन थालेँ ।

चितवन पुगेपछि मेरो भेट र सम्पर्क पुष्पकमल दाहाल ‘प्रचण्ड’, मोहन वैद्य ‘किरण’ र रामबहादुर थापा ‘बादल’सँग भयो । त्यस समयमा पेरुमा गोन्जालोको नेतृत्वमा जनयुद्ध चलिरहेको थियो । नेपालमा हामी ‘नयाँ जनवादी क्रान्ति–जिन्दावाद †’ को नारा लगाउँथ्यौँ । निरकुंश पञ्चायती व्यवस्थाको अन्त्य भएको थियो । पुन:स्थाापित संसदीय व्यवस्थाले पनि जनतामा सन्तोष र उत्साह दिन सकेको थिएन । संसदीय व्यवस्थाको विकल्पमा सबैलाई ‘क्षमता अनुसारको काम, आवश्यकता अनुसारको माम’सहितको जनवाद, समाजवाद हुँदै वर्गविहीन, राज्यविहीन, शोषण, दमन र उत्पीडनमुक्त, समतामूलक समाज निर्माण हुन सक्छ भन्ने विश्वास बढिरहेको थियो । मूल रूपमा प्रचण्ड, किरण र बादलका प्रशिक्षण एवं वक्तव्यले हामी युवाहरूलाई प्रेरित गरिरहेको थियो । त्यसका साथै माक्र्सवादी साहित्य मूल रूपमा कम्युनिस्ट घोषणापत्र, राज्य र क्रान्ति, पुँजी अनि माक्र्स, लेनिन र माओको जीवनी अध्ययनले एउटा युवामा क्रान्तिकारी चेत दिनुका साथै रुमानी सपनामा डुबाउन थालेको थियो ।

एक छोरा र एक छोरीसहितको परिवार थियो हाम्रो । यसै बीचमा जनयुद्धको सुरुआत भयो । मैले देख्ने गरेको सपना नयाँ जनवादी क्रान्तिको सुरुआत थियो, त्यो । छोरा अंकित ६ वर्षका थिए, छोरी अनुज्ञा पाँच वर्षकी मात्र । यही अवस्थामा उर्मिला र मैले पुरानो समाजबाट विद्रोह गरेर नयाँ समाज निर्माणको अभियानमा लामबद्ध हुने निर्णय गर्‍यौँ । पूर्णकालीन हुने निर्णय गर्नुअघि हामीले लामो छलफल गरेका थियौँ ।

मसँगै पूर्णकालीन हुनका लागि उर्मिलाले पनि अति नै जिद्दी गरिरहेकी थिइन् । उनले केही वर्ष साना बालबच्चाको हेरचाह गरिदिए हुने थियो भन्ने चाहना मेरो थियो । हामीलाई बच्चाबच्ची साना छन् भन्ने चिन्ता त थियो । तर, त्यो चिन्तालाई पचाउनु परेको थियो । त्यस समयसम्म ठूलठूला नेताका श्रीमती घर छाड्न तयार थिएनन् । व्यक्तिगत सुरक्षाका कारणले केहीले भर्खर घर छाड्न थालेका थिए । तर, उर्मिला मसँगै पूर्णकालीन हुनका लागि दबाब दिइरहेकी थिइन् । त्यसैले हामी दुवैले पूर्णकालीन हुने निर्णय गर्‍यौँ र जिल्ला पार्टीमा प्रस्ताव राख्यौँ । त्यो समयमा म पार्टी जिल्ला सदस्य भइसकेको थिएँ, उर्मिला एरिया सदस्य । तर, हामीलाई पार्टी इन्चार्ज र सेक्रेटरीले पूर्णकालीनका लागि अनुमति दिएनन् । उनीहरूले खुला भएर बौद्धिक तप्का, कानुन व्यवसायी, व्यापारी र मानव अधिकारवादीलाई परिचालन गर्नुपर्ने तर्क गरे । तर, खास कारण त्यो रहेनछ । पढेलेखेको बुद्धिजीवी, राम्रो कमाइ, राम्रो शारीरिक बनावट, सोखिन र उच्च परिवारको जस्तो रहेको, क्रान्तिमा टिक्न सक्दैन, भाग्छ वा आत्मसमर्पण गर्छ भन्ने अनुमान गरेर पूर्णकालीन नबनाउने निर्णयजस्तै गरेका रहेछन् । हाम्रो जिद्दीका कारण उनीहरू पूर्णकालीन गराउन बाध्य भए ।

पूर्णकालीन हुनेबित्तिकै मलाई सेनाको राजनीतिक आयुक्तको जिम्मा दिए । त्यसको लगत्तै तालिममा पठाए । पछि थाहा भयो, सैन्य अनुशासन र कडा तालिमपछि यो भाग्छ भन्ने रहेछ । तर, उनीहरूले विचार र राजनीतिक रूपमा स्पष्ट भएको र सर्वहारावर्गको पूर्ण मुक्ति अभियानमा सामेल भएको एउटा मान्छे सबै खाले दु:खकष्ट सहन तयार रहन्छ भन्ने बुझेनन् । त्यसैले हिजोका खाँटी क्रान्तिकारीहरू अहिले पद, पैसा, प्रतिष्ठा र परिवारका पछाडि लागेका छन् । यसैबीच उर्मिलाले सहादत प्राप्त गरिन् । उर्मिलाको सहादतपछि मलाई जेनी माक्र्सले भनेको यो उक्ति सधँैजसो याद आइराख्छ, ‘प्रेमले उत्साहित बनाउँछ, त्याग, बलिदान र समर्पणले स्पातिलो पार्छ ।’

हामीलाई थाहा थियो, विश्वकै उत्कृष्ट सेनासहित दिग्विजयको अभियानमा हिँडेको र हिटलरी फासीवादलाई हराएको सोभियत संघले स्टालिनको मृत्युपश्चात् पुँजीवादीहरूसँग नलडीकन हार्नुपरेको थियो । चीनमा २८ वर्ष लगातार जनयुद्ध लडेर नयाँ जनवाद हुँदै स्थापना भएको समाजवादी सत्ता माओको मृत्युपश्चात् सर्वहारावर्गको हातबाट बुर्जुवाको हातमा पुगेको थियो । टर्कीमा कम्युनिस्ट पार्टीका पाँच जना महासचिवको हत्या भइसकेको थियो । वसन्त गर्जनका नामले परिचित भारतको नक्सलवाडी आन्दोलन चारु मजुमदारको हत्यासँगै सेलाएको थियो । पेरुमा पनि गोन्जालोको गिरफ्तारीसँगै जनयुद्धले ठूलो धक्का खाएको थियो । यी परिघटनाबाट पाठ सिक्न जरुरी थियो ।

क्रान्तिका लागि सही विचार, त्यस अनुसारको संगठन र त्यो संगठनको नेतृत्व गर्ने योग्यता, क्षमता, दक्षता भएको एउटा प्रमुख व्यक्ति चाहिन्छ । त्यस्तो व्यक्तिमा हुनुपर्ने विशेषता हामीले प्रचण्ड, किरण र बादलहरूमा देखेका थियौँ । उर्मिला र मेराबीचमा छलफल हुन्थ्यो कि हामी जनयुद्धमा सामेल हुँदै गर्दा जनवादी क्रान्ति सफल हुन सक्छ, क्रान्ति सफल भयो भने हाम्रो भूमिका के हुन्छ ?

मेरो बाल्यकाल र विद्यार्थी जीवन असाध्यै अभावपूर्ण रह्यो । अर्काको काम गरेर यहाँसम्म कि मजदुरी गरेर मैले विद्यालय शिक्षा प्राप्त गरेको थिएँ । उर्मिला सुखमा हुर्किएकी थिइन् । तर, चितवन प्रवेशसँगै बिस्तारै हाम्रा दु:खका दिन गएका थिए । माध्यमिक तहमा अंग्रेजी, गणित र विज्ञान पढाउने भएकाले प्रशस्त ट्युसन आउँथ्यो । खाली समयमा पेन्टिङ गरिन्थ्यो । एक छोरा, एक छोरी, एउटी बहिनी अनि हामी दुई जना । उर्मिला पनि बोर्डिङमा पढाउन थालेकी थिइन् । हातमुख जोड्न समस्या थिएन । पूर्णकालीन हुँदै गर्दा हामीले अभाव भोग्नुपरेको थिएन । आफ्नो अभाव परिपूर्ति गर्नुभन्दा पनि वर्गीय मुक्ति गरेर श्रमजीवीको सबै खाले अभाव र असमानता हटाउनु थियो । हाम्रो होइन । त्यसैले जनवादी सत्ता स्थापनापश्चात् हामी दुवै जना जनकम्युनमा गएर बच्चा पढाउने, पेन्टिङ गर्ने, लेख्ने, छलफल आदि गथ्र्यौं । पद, प्रतिष्ठा र राज्यको सुविधा कहिल्यै नलिने प्रतिबद्धता गरेका थियौँ ।
क्रान्ति भनेको पुरानो राज्यसत्ताविरुद्ध लडेर नयाँ राज्यसत्ता स्थापना गर्ने हो ।

क्रान्ति अवधिमा नेतृत्व त्यसमा पनि मुख्य नेतृत्वले सबैभन्दा बढी जोखिम लिएको हुन्छ । त्यसैले नेतृत्वलाई लिएर जहिले पनि चारवटा सम्भावना रहिरहेको हुन्छ– मुख्य नेतृत्वले सबै जोखिम मोलेर क्रान्ति सफल पार्दै सबै खाले शोषण, दमन र उत्पीडनबाट जनता र राष्ट्रलाई मुक्त गर्ने । जनयुद्ध सुरु हुँदै गर्दा यही अपेक्षा गरिएको थियो । यस्तो नहुन पनि सक्छ । मुख्य नेतृत्व दुस्मनको कब्जामा पर्न वा मारिन पनि सक्छ । त्यस अवस्थामा अर्को सक्षम नेताले कमान्ड सम्हाल्नेछ । तर, जनयुद्धमा मुख्य नेतृत्वमाथि त्यस्तो दुर्भाग्यपूर्ण अवस्था आएन । विश्व कम्युनिस्ट आन्दोलनको अर्को विरासत पनि बनेको थियो, संशोधनवादी हुने वा गद्दारी गरेर आन्दोलन नै तुहाइदिने, प्राप्त भएको सत्ता पनि गुमाउने । सन् ’८० को दशकबाट भएको यही थियो । यदि यस्तो भयो भने के गर्ने ?

हामीसँग विकल्प थिए– सुधारवादी, संशोधनवादी वा गद्दारी गर्नेविरुद्ध प्रतिरोध गर्ने, उसको भण्डाफोर गर्ने र पार्टीभित्र सबैभन्दा क्रान्तिकारी नेतालाई सहयोग गर्ने र उसको नेतृत्वमा अघि बढ्ने । त्यदि त्यस्तो भएन भने आवश्यक परेमा आफँैले नेतृत्व गर्ने । तर, क्रान्तिबाट नभाग्ने, पुरानो समाजमा नफर्कने क्रान्तिकारी माक्र्सवादी भइरहने प्रतिबद्धता हामी दुईले लिएका थियौँ ।

यसबीचमा नेपाली राजनीतिमा निकै उथलपुथल भयो । राजतन्त्रको अन्त्य भयो । गणतन्त्र आयो । जनवाद आएन । प्रचण्ड प्रचण्ड रहेनन् । उनले क्रान्ति छाडिदिए । कम्युनिस्ट नेताबाट उनी सम्भ्रान्त वर्गमा परिणत हुन पुगे । तर, अहिले पनि माओवादीको ‘प्याटेन्ट राइट’का रूपमा ट्रेड मार्क प्रयोग गरिरहेका छन् । बाबुराम भट्टराईले त माक्र्सवाद नै परित्याग गरे । त्यही भएर हामीले प्रचण्ड र बाबुरामलाई छाडिदियौँ । त्यसपछि मोहन वैद्यसँग लाग्यौँ । उनले शास्त्रीय माक्र्सवादको व्याख्या त गरे तर माक्र्सवादको सही प्रयोग गर्ने हिम्मत गरेनन् । त्यसैले हामीले उनलाई पनि छाडिदियौँ ।
१० वर्षको जनयुद्ध र विगतका कम्युनिस्ट आन्दोलनबाट नेता र नेतृत्वको स्तरीयताको पहिचान भइरहेका छन् । विश्वका सफल साम्यवादी आन्दोलनहरू र त्यसका नेताहरूको राजनीतिक, वैचारिक, सांगठनिक क्षमताका साथै त्याग, बलिदान, समर्पण र जोखिमसँग खेल्न सक्नेले मात्र क्रान्तिलाई अगाडि बढाउन सकेको छ ।

विश्व साम्यवादी आन्दोलनमा मैले तीन जना नेतालाई आदर्श मानेँ– माक्र्स, लेनिन र माओ । यिनका समान विशेषता जीवन, व्यवहार र सिद्धान्तका बीचमा समुचित तालमेल राख्ने, आफ्नो वर्गका लागि जस्तोसुकै किसिमको जोखिम मोल्ने, प्रकृतिविरुद्ध जुध्ने, फरक धारमा हिँड्ने, व्यक्तिगत स्वार्थ त्याग्ने, त्याग, बलिदान र समर्पणमा रमाउने र सिद्धान्त एवं व्यवहारका बीचमा खाडल हुन नदिने, अध्ययनलाई शीर्ष स्थानमा राख्ने गुण थिए । यस्तो गुणले मात्र साम्यवादी आन्दोलनको नेतृत्व गर्न सकेको छ, देश र जनतालाई मुक्त गर्न सकेको छ ।

रूपमा जति नै क्रान्तिकारिता देखाए पनि बमको आवाजले तर्सिने, आफूमाथि क्रान्ति मडारिन थाल्यो भने अब क्रान्ति सम्भव छैन भन्दै छेरभालु हुने आत्मसमर्पणसम्म गर्न पुग्ने ढोंगी नेता त बन्न सक्छन् । तर, कालान्तरमा उनीहरूको असली नियत उदांगो हुन पुग्छ । ती इतिहासका पानामा पनि सीमित हुन योग्य हुँदैनन् । रोल्पामा बस्दा खारामा पड्किएको बमको आवाजले कायल भएका नेताहरूले वर्गघात गर्न पुगे, राष्ट्रघात र जनघात गर्नाको परिणाम पनि यही हो । यति मात्र होइन, माक्र्सवादका अक्षरहरूलाई वेदका ऋचाका रूपमा कण्ठ गर्ने, व्यक्तिगत रूपमा अत्यन्तै सरल जीवनशैली अपनाउने, आफूलाई तिलस्मी देखाउन खोज्ने तर जोखिम मोल्न तयार नहुने नेपाली कम्युनिस्ट आन्दोलनका नेताहरूको चरित्र बन्ने गरेको छ ।

नेता आत्मसंघर्ष, अन्तरसंघर्ष र वर्गसंघर्षमा खारिएर मात्र जन्मिन्छ । उसले सबै नेता, कार्यकर्ता र जनताको आत्मसम्मानको परिवेश बनाउँछ । र, वर्गीय मुक्तिलाई सबैभन्दा माथि राख्छ । हामी दुईले अपेक्षा गरेको नेतृत्व यस्तै थियो । हाम्रै जीवनकालमा मोहन वैद्य, प्रचण्ड, फेरि मोहन वैद्य हुँदै विप्लवसम्म पुग्दा म एक्लै भएको छु । तर, उर्मिलाको मात्र नभएर मुक्तिकामी जनताको अपेक्षा पूरा गर्न अहिले पनि दृढ प्रतिबद्ध छु ।

प्रकाशित: जेष्ठ १६, २०७४