करण कथन

  • यो आत्मकथा उनी निर्देशित फिल्मजस्तै छ, व्यावसायिक, मनोरञ्जनात्मक, रोनाधोना अनि मसलेदार । तर, फिल्ममा जस्तै पुस्तकमा पनि कलात्मकता न्यून छ ।

- गोकर्ण गौतम

करण जौहरका फिल्म सबैलाई मन नपर्न सक्छ । तर, उनको बहुआयामिक व्यक्तित्वसामु नतमस्तक नहुने सायदै कोही होलान् । निर्देशकदेखि कलाकार, निर्माता, वितरक, लेखक, टेलिभिजन प्रस्तोता अनि रियालिटी सोका निर्णायक पनि हुन् । र, ती सबै क्षेत्रमा व्यावसायिक रूपमा त्यत्तिकै सफल छन्, अभिनयबाहेक । बलिउडमा ‘वान म्यान आर्मी’ नै उनको ‘ब्रान्ड’ हो ।

आफ्नो यौनिकता, अन्य फिल्मकर्मीसँगको लफडा अनि बेलाबेलाका विवादित अभिव्यक्तिका कारण मूलधारका मिडिया र सामाजिक सञ्जालमा छाइरहन्छन् । कहिले चर्को आलोचना खेप्नुपर्छ, त कहिले  सहानुभूति । जे होस्, सदाबहार ‘टक अफ द टाउन’ हुन् करण । त्यसैले उनको भित्री कथा र भावनाबारे जोकोही (माया र घृणा गर्ने दुवै)लाई चासो र खोजी हुने भइहाल्यो । सायद यही प्यास पूरा गर्न र आफ्नो ख्याति अझ फराकिलो बनाउन करण आत्मकथा लिएर आइपुगेका छन्, एन अनसुटेबल ब्वाइ ।

अक्सर आत्मकथामा एकोहोरो आत्मप्रकाशको भण्डार हुन्छ । करणले नाममा मात्र होइन, लेखाइमै पनि बीचको बाटो अपनाएका छन् । अर्थात्, किताबमा उनले आफ्ना सफलता मात्र होइन, आफूले खाएको ठक्कर र कमजोरी पनि पोखेका छन् । आफ्नो विगत र वर्तमानसँगै यौनको मामलामा साँघुरो सामाजिक सोचमाथि कटाक्ष गरेका छन् । सोही कारण पुस्तक कुनै अमुक व्यक्तिको नालीबेलीमा सीमित छैन । समाज र सम्बन्धका अनेक आयामको आभास हुन्छ, पुस्तक पढ्दा ।

पत्रकार पुनम सक्सेनासँगको सहकार्यमा करणले लेखेको यो पुस्तक १५ खण्डमा विभक्त छ । बाल्यकाल, किशोरावस्था, बलिउड प्रवेश, धर्मा प्रोडक्सनको सफलताको सिँढीदेखि आजको बलिउडसम्मको फेहरिस्त पस्केका छन् । तर, पुस्तकमा शाहरुख खान र काजोलसँगको सम्बन्धका नयाँ अन्त:कथा आमपाठकका लागि रुचिकर हुन्छ । त्यो भन्दा महत्त्वपूर्णचाहिँ आफ्नो यौनिकताबारे मौन रहँदै आएका उनी पुस्तकमा केही भावुक र केही आक्रोशित भएर पोखिएका छन् ।

यौनिकताबारे करणको विवादास्पद स्वीकारोक्तिले अल्पसंख्यक यस समुदायले निकै चित्त दुखायो । उनको अभिव्यक्तिले अरूलाई यौन झुकावबारे खुल्न अझ कठिन हुने उनीहरूको भनाइ छ । त्यसो त करण आफैँले पनि सामाजिक सञ्जालमा दैनिक गाली र अपमान सहनु पर्दो रहेछ । उनले पुस्तकमा लेखेकै छन्, ‘म यो देशमा समलैंगिकताको पोस्टर ब्वाइजस्तै भएको छु । म उठ्दा घटीमा दुई सय पोस्टहरूमा भनिएको हुन्छ, गेट आउट, तैँले हाम्रो देशलाई प्रदूषित बनाइरहेको छस् ।’  गालीहरूको यो एउटा नमुना मात्र हो ।

यौनिकताजस्तै आफ्नो पहिलो यौन अनुभवबारे पनि करण खुलेका छन् । भलै त्यो धेरैलाई पत्यार नलाग्न सक्छ । उनी मुम्बईजस्तो खुला सहरमा हुर्किए, बच्चैदेखि फिल्मकर्मीको संगत पाउँदै गए, विदेशमा पढे तर २६ वर्ष कटेपछि पहिलो पटक शारीरिक सम्बन्ध राखेका रहेछन्, न्युयोर्कमा । त्यो पनि पैसा तिरेर । जतिबेला उनले कुछ कुछ होता है बनाइसकेका थिए । प्रेमकेन्द्रित फिल्ममा माहिर मानिएका यी निर्देशकले भनेका छन्, ‘मैले मेरो कुमारत्व २६ वर्षमा गुमाएँ । हो, यो सत्य हो । ...यो मैले गर्व गर्नलायक कुराचाहिँ होइन । त्यो बेलासम्म म यौनमा पूरापूर अनुभवहीन थिएँ ।’ र, उनले शाहरुखसँग शारीरिक सम्बन्ध छ भनेर लाग्ने गरेको आरोपमाथि पनि मुख खोलेका छन् । उनले लेखेका छन्, ‘ शाहरुख र मबीचमा धेरै उतार–चढाव आए तर मेरा लागि त्यसको कुनै अर्थ छैन । उनी बुबासमान छन् र मेरा लागि ठूलो दाइजस्तै हुन् ।’ फिल्म नखेलाउँदा शाहरुख रिसाउने र कति पटक त महिनौँ बोलचाल नहुने प्रसंग पनि पुस्तकमा पढ्न पाइन्छ । शाहरुखसँगको सम्बन्ध विस्तारका लागि एउटा छुट्टै खण्ड दिएबाटै उनी कति अनुगृहीत छन् भन्ने प्रस्ट हुन्छ ।

शाहरुखसँग करणको जति सामीप्य थियो, काजोलसँग त्यसभन्दा कम थिएन । तर, गत वर्षको दीपावलीसँगै उनीहरूको २५ वर्षे मित्रतामा पूर्णविराम लागेको यही पुस्तकमा घोषणा गरेका छन् । र, त्यसको कारण काजोल नभई उनका श्रीमान् अजय देवगन हुन् । अजयको शिवाय र करणको ए दिल है मुस्किलको रिलिज मिति जुधेपछि चरम कटुता पैदा भएको थियो । काजोलले अजयको साथ लिइन्, करणको खिल्ली उडाइन् । उनले लेखेका छन्, ‘मेरा लागि अर्थ राख्नेमध्ये उनी (काजोल) पनि एक थिइन् तर अब सकिएको छ । उनलाई मेरो एक भाग पनि दिन चाहन्नँ बिलकुलै किनभने उनले मेरो भावनाको प्रत्येक रेसा मारेकी छन्, जुन २५ वर्षदेखि उनका लागि मसँग थियो ।’ अजयको त उनले नामसमेत उल्लेख गरेका छैनन् ।

सेक्स, शाहरुख अनि काजोलपछि करणको पुस्तकमा आमपाठकलाई तान्ने खण्ड हो, ‘बलिउड आज’ । किनभने, बलिउडको अबको बाटो कस्तो हुने भन्नेमा करणको भूमिका प्रधान हुन्छ । आखिर सर्वाधिक हिट फिल्म दिनेमध्येको एक ब्यानर धर्मा प्रोडक्सनको मालिक हुन् उनी । बाबु यश जौहरको पालामा डुबिसकेको यो ब्यानरलाई करणले नै सफलताको शिखरमा पुर्‍याएका थिए । उनको डेब्यु फिल्म कुछ कुछ होता हैले धर्मालाई नयाँ जीवन दिएको थियो । आजसम्म आइपुग्दा बर्सेनि एक दर्जनको हाराहारीमा फिल्म निर्माण र वितरण गर्ने सामथ्र्य राख्ने भएको छ । यसको सबै श्रेय करणलाई नै जान्छ । यही प्रगतिको कथालाई उनले बडो मर्मस्पर्शी शैलीमा व्यक्त गरेका छन् । स्थापित निर्माताको छोरा हुँदा पनि करणले गरेको/गर्नुपरेको संघर्ष जोकसैका लागि प्रेरणादायी छ ।

गहन र संवेदनशील विषयमाथि उनले बनाएको माई नेम इज खानले विदेशी बजारमा प्रशस्त चर्चा नबटुलेको होइन । तैपनि, उनको ‘लिगेसी’चाहिँ गीत, रोमान्स, मिलन अनि बिछोडलाई महत्त्व दिइएको प्रेम र पारिवारिक कथा नै हो । जुन रंगीन र चमकधमक हुन्छ । अनि, चरित्रभन्दा स्टारडमतिर झुकाव छ उनको । तर, वरुण धवन, सिद्धार्थ मल्होत्रा, आलिया भट्टजस्ता स्टार भित्र्याएका यी निर्देशकले नयाँ पुस्ताका कुनै कलाकारमा स्टारडम नभएको जिकिर गरेका छन् । यसको एउटा महत्त्वपूर्ण कारण दर्शकको परिवर्तित मनोविज्ञानलाई मान्दै उनले भनेका छन्, ‘युवा पुस्तामा कोही सुपरस्टार छन् त ? इमानदारीसाथ, म एउटै देख्दिनँ । अब कसैको स्टारडम दीर्घायु हुने पनि देख्दिनँ ।’

सलमानले गल्ती गरे पनि माफी मागे र ‘बिइङ ह्युमन’ खोले । आमिर खानले ‘सत्यमेव जयते’मार्फत आफू भावनात्मक शक्तिले भरिएको आभास दिलाए अनि शाहरुखबिना ‘गडफादर’ बलिउडमा छाए । जसले आमदर्शकसँग यी तीन सुपरस्टारलाई भावनात्मक रूपमै जोडे । तर, यस्तै शैलीको क्षमता र जाँगर नयाँ पुस्तामा नभएको दुखेसो पोख्छन् । त्यस्तै, तीन खानको सदाबहार दुस्मनी ‘व्यावहारिक प्रतिशोध’ मान्छन् उनी ।

कल हो ना होमा शाहरुख जत्तिकै पारिश्रमिक मागेपछि करिना कपुरसँग सम्बन्ध बिग्रिएको पुस्तकमा स्वीकार गरेका छन् । कुछ कुछ होता हैमा शाहरुखको मुख्य भूमिका हुँदा पनि सहायक भूमिकामा सलमान कसरी राजी भए भन्नेसम्मका रोचक प्रसंग उनको आत्मकथामा पढ्न पाइन्छ । तर, बलिउडमा उनीमाथि लाग्ने गरेको सिन्डीकेटको आरोप अनि विभिन्न धार्मिक संघसंस्थाले फिल्म रिलिजका क्रममा दिने मानसिक तनाव र अवरोधबारे भने मौन छन् । एकता कपुरसँगको प्रेम प्रसंगलाई पनि पुस्तकमा समेट्न आवश्यक ठानेनन् ।

खासमा यो आत्मकथा उनी निर्देशित फिल्मजस्तै छ, व्यावसायिक, मनोरञ्जनात्मक, रोनाधोना अनि मसलेदार । तर, फिल्ममा जस्तै पुस्तकमा पनि कलात्मकता न्यून छ । करणबारे मात्र होइन, रंगीन बलिउडभित्रको अँध्यारो पाटो, आपसी द्वैष र खिचातानी अनि पूरा भारतीय समाजबारे चासो राख्ने जोकोहीलाई प्रिय लाग्छ, यो पुस्तक । किनभने, भाषा निकै रसिलो र कसिलो छ । कतिपय खण्डको सम्पादनमा अल्छीचाहिँ गरिएको छ । त्यसो त पुस्तकमा समाविष्ट विषयहरूमा सबैको आ–आफ्नो मत होला तर सबैको एउटै मतचाहिँ केमा हुन्छ भने किताबको नाम एन अनसुटेबल ब्वाइ भए पनि करण आफैँचाहिँ ‘सुटेबल ब्वाइ’ नै हुन् । भलै उनी केही मानेमा ठिस लाग्छन् ।

एन अनसुटेबल ब्वाइ

लेखक    :    करण जौहर/पुनम सक्सेना
प्रकाशक    :    पेन्गुइन बुक्स इन्डिया
पृष्ठ    :    २१६
मूल्य    :    ६९९ भारु (हार्ड कभर)

‘मेरो यौन झुकाव’

एकपटक हिथ्रो विमानस्थलमा एक जना फुर्तीसाथ म नजिक आए र भने, ‘के यो सत्य हो, तिमी समलिंगी हौ ?’

उनी श्रीमती र बच्चासहित थिए र मलाई उनले यो सोधे । मैले उनलाई हेरेर भनेँ, ‘किन, तिमीलाई इच्छा छ ?’ उनले भने, ‘हे..., केरे केरे ?’

र, मैले भनेँ, ‘मसँग धेरै के के गरी न राख ।’

त्यसपछि म बाहिर निस्केँ । म जहिल्यै पनि प्रतिवादमा उत्रने गर्छु । अंग्रेजी मिडियाका केही प्रमुख सेक्सनहरू यो प्रश्न राख्ने तरिकामा धेरै संवेदनशील हुन्छन् । मलाई सोधिन्छ, ‘तपाईंलाई थाहा छ, तपाईं र तपाईंको यौनिकताबारे अपूर्णता छ ?’

सबैलाई थाहा छ, मेरो यौनिक झुकाव के हो ? मलाई यो चिच्याएर भनिराख्नु जरुरी छैन । मैले यो किताबमा भन्न सक्छु– सबैलाई थाहा छ, म कहाँबाट आएको हुँ भनेर । यदि मैले यो भन्नुपर्ने जरुरी रह्यो भने यसकारण भन्न सक्दिनँ कि म एउटा यस्तो देशमा बस्छु, जहाँ यो भनेबापत सम्भवत: जेल हालिनेछ । यही कारण नै हो, मैले मेरोबारे सम्भवत: सबैले थाहा पाइसकेको तीन शब्द भन्ने छैन ।

प्रकाशित: जेष्ठ १६, २०७४