आवरण कथा» कच्चा उमेर, जघन्य अपराध

  • किशोर–किशोरीलाई गलत बाटोमा जानबाट रोक्न चौतर्फी निगरानी आवश्यक

- मनबहादुर बस्नेत

सौरभ श्रेष्ठ, १६, को अरू किशोरकिशोरीको जस्तै सपना थियो, राम्रो लाउने अनि मीठो खाने । मध्यमवर्गीय परिवारका उनका यी औसत सपना पूरा भइरहेकै थिए । मनमोहन मेमोरियल कलेजका ११ कक्षाका विद्यार्थी उनी पढाइमा औसतभन्दा राम्रै थिए । इच्छाएका कुरा अभिभावकले जसोतसो पूरा गरिदिएकै थिए । तर, उनी अहिले आफूभन्दा दुई वर्ष जेठो उमेरका सुशान्त श्रेष्ठको हत्या अभियोगमा प्रहरी हिरासतमा छन् । उनी न्यु अरुणोदय उमाविमा १२ कक्षामा पढ्ने सुशान्तको हत्याको योजनाकार भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । परिवारका एक्ला सन्तानको हत्यापछि सुशान्तको परिवार शोकमा छ । गत वर्ष ८ साउनमा सुशान्त र सौरभको समूहबीच झगडा पर्दा उनको ज्यान गएको थियो ।

उनीहरूबीचको ‘ग्याङ फाइट’मा सुशान्तको आठ जनाको समूह थियो भने सौरभको ११ जनाको । उनीहरू कक्षा ९ देखि १२ को परीक्षा दिएर बसेकासम्म थिए । फलामे रड, इटाको दोहोरो हानाहान भयो, उनीहरूबीच । सुशान्त र सौरभबीच मित्र युवतीको विषयलाई लिएर विवाद भएको थियो । सुशान्तसँग हिँड्ने युवती पछि सौरभसँग हिँड्न थालेको निहुँमा विवाद उठेको थियो । त्यसपछि दुवैले एकअर्कालाई तह लगाउने योजना बनाए । अनि, ‘आइडिया’ लिए, केटीकै विषयमा कुटाकुट भएका फिल्मी दृश्यबाट । त्यसपछि दुवैले आ–आफ्ना समूह बनाए । क्षेत्रपाटीमा दुवै समूहबीच हानाहान हुँदा सुशान्तको ज्यान गयो ।

झगडाका १९ मध्ये १२ जना पक्राउ परे पनि सात जना फरार छन् । हत्याका आरोपितमध्ये पाँच जना त नाबालक अर्थात् १६ वर्षभन्दा मुनिका छन् । बाँकी सात जना पनि १६ र १७ वर्षका मात्र । पक्राउ परेकाहरूमध्ये अधिकांशको मनोवृत्ति खतरनाक अपराधीको भन्दा कम नभएको प्रहरी अनुसन्धानले खुलाएको छ, जुन पत्याउन मुस्किल पर्छ । उनीहरूले केही दिनदेखि नै योजना बनाएको देखिन्छ, आफ्नो शक्ति देखाउन । घटना भएको दिनसमेत उनीहरूले दिनभरि छलफल चलाएर योजना बनाएका थिए । र, बेलुका उनीहरूबीच फिल्मी दृश्यजस्तै ग्याङ फाइट भयो । यो उमेरमै पेसेवर अपराधीजस्तै ग्याङ फाइटमा उत्रने निर्दयीपना कसरी उब्जियो ? “फिल्मकै प्रभाव ज्यादा देखिएको छ,” महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) सोमेन्द्रसिंह राठौर भन्छन्, “निहुँ खासै थिएन, फिल्ममा आफ्नी प्रेमिकालाई अर्काले गरेको व्यवहार देखेर त्यसैको नक्कल भएको छ, यो घटनामा पनि ।”

किशोरवयमा यस्ता भयानक आपराधिक गतिविधितिर उन्मुख हुनुले भविष्यमा मुलुक हाँक्ने शक्ति कतातिर लम्कँदै छ भन्ने सहजै अनुमान लगाउन सकिन्छ । काँचो उमेरमै उनीहरूमा हानिकारक मनोवृत्तिको विकास हुनु कालान्तरमा समाज असुरक्षित र असन्तुलित दिशातिर अग्रसर हुनु हो । जस्तो कि, ३१ वैशाखमा तनहुँको व्यास नगरपालिका–१, भादगाउँमा कलाकार विक्रम परियारको हत्या अभियोगी ६ जना नै १९ वर्षमुनिका किशोरकिशोरी नै हुन् । गायक परियारको हत्यामा पनि निहुँ बिलकुल सामान्य थियो । जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी सुरेन्द्रबहादुर गुरुङका अनुसार गायक परियारले फोटो खिचिदिन आग्रह गर्दा अभियुक्तहरूले त्यसैलाई निहुँ बनाएर कुटपिट र हत्यासम्मै गरे ।

१९ वर्षसम्मको यौवनकाललाई निश्चल प्रकृतिको मानिन्छ । तर, यही वयका तन्नेरीहरू अपराधमा लाग्नुचाहिँ निष्कपट उमेरकाहरूमा देखिन थालेको गम्भीर मानसिक खलबली हो । परियार हत्या अभियोगमा पक्राउ परेका प्रेम आले, १६, डेढ वर्षअघि २ माघ ०७२ मा पनि यस्तै प्रकृतिको घटनामा सामेल थिए । उनीसहित ६ जना आकाश थापाको हत्या घटनामा पक्राउ परेका थिए । नाबालक भएकाले उनी अदालतको आदेशपछि छुटे । तर, डेढ वर्षपछि नै अर्को हत्यामा तानिए । नेपाली किशोर–किशोरीको अपराधमा संलग्नता र कारणबारे गहन अध्ययन भएको छैन । तर, केही तथ्यांकले भने यो उमेरमा अपराधमा संलग्नता नपत्याउँदो ढंगले बढिरहेको देखाउँछ ।

भयावह चित्र
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले ०७२ मा गरेको अपराधसम्बन्धी बेसलाइन सर्वेक्षणमा १६ वर्षभन्दा मुनिका १.७ प्रतिशत बालबालिका अपराधमा संलग्न भएको देखिएका थिए भने १६ देखि १९ वर्ष उमेरका १४.१ प्रतिशत । २० देखि २४ वर्षका ३४.२ प्रतिशत अपराधमा लागेको उक्त सर्वेक्षणमा उल्लेख छ । २४ वर्षसम्मलाई यौवनकाल मान्ने हो भने यो उमेरकाबाट अपराध हुने क्रम बढी देखिन्छ ।

सबैभन्दा भयावह तस्बिर त के भने नाबालिगहरूको संलग्नता गम्भीर खालका अपराधमा बढी देखिन्छ । उनीहरू ज्यान मार्ने उद्योग, अपहरण तथा शरीर बन्धक, मानव बेचबिखनजस्ता खतरनाक अपराधमा बढी संलग्न भएको पाइन्छ । सर्वेक्षण अनुसार कर्तव्य ज्यान/ज्यान मार्ने उद्योगमा ३५.७ प्रतिशत १६ वर्षमुनिका बालबालिका संलग्न छन्, जुन कुटपिट वा अंगभंग पछिको दोस्रो बढी मात्र हो । ३५ प्रतिशत चोरी/डकैतीमा संलग्न छन् । अपहरणमा २८.६ प्रतिशत बालबालिका संलग्न छन् भने लागूऔषधमा २१.४ प्रतिशतको संलग्नता छ । चन्दा असुली, ठगी, जुवातास, साइबर अपराधमा समान १४/१४ प्रतिशतको संलग्न देखिन्छन् ।


सबैभन्दा बढी ४२.९ प्रतिशत बालबालिका कुटपिटमा संलग्न भएको सर्वेक्षणमा उल्लेख छ । तस्करी, कालोबजारी, विदेशी मुद्राको अवैध कारोबार, जाली नोटमा समेत बालबालिकाको संलग्नता देखिएको छ । तस्करी, विदेशी मुद्रा, जाली नोट, लागूऔषध यस्ता संगठित अपराध हुन्, जसमा किशोरकिशोरीहरूसमेत सामेल भइरहेका छन् । मनोविद् करुणा कुँवर भन्छिन्, “यो उमेरमा सिकेका कुरा छोड्न निकै गाह्रो पर्छ । र, उमेर बढ्दै जाँदा गम्भीर अपराधमा लाग्ने खतरा हुन्छ ।”

नेपाल प्रहरीका अनुसार अपराधमा १९ वर्षसम्मका किशोरकिशोरीहरूको संलग्नता निरन्तर बढिरहेको छ । १६ वर्षभन्दा मुनिकाको अपराधमा संलग्नता अघिल्लो वर्ष एक प्रतिशतको हाराहारीमा थियो, जुन आर्थिक वर्ष ०७२/७३ मा आइपुग्दा साढे एक प्रतिशत पुग्यो । १६ देखि २५ वर्ष उमेर समूहकाको अपराधमा संलग्नता करिब ३२ प्रतिशत छ, जुन अघिल्लो वर्षभन्दा तीन प्रतिशतले बढी हो । यो उमेर समूहका आधाभन्दा बढी १६ देखि १९ वर्षका छन् ।

मनोरञ्जनका लागि सबैभन्दा बढी भेला हुने ठमेल क्षेत्रबाट मात्रै प्रहरीले मदिरा पिएर होहल्ला गरेको र गाँजा तानेकोमा दैनिक १० जना ‘टिनेजर’हरूलाई पक्राउ गर्ने गरेको छ । त्यसमध्ये पनि आधा त १६ वर्षमुनिकै हुन्छन् । “हामीले जति पक्रिए पनि नियन्त्रण हुन गाह्रो छ,” सोह्रखुट्टे वृत्तका प्रहरी निरीक्षक उमेश लम्साल भन्छन्, “मदिरा–गाँजा तान्ने र युवती साथी बनाउने फेसनजस्तै बनेको छ । प्रहरीले एउटा तहसम्म मात्रै नियन्त्रण गर्न सक्छ ।”

लागूऔषध र अपराध
६ माघमा गोरखाका सुदीप थापा, १७, को पेटमा छुरा रोपियो, क्षेत्रपाटीमुनि ढल्कोमा । घुरेर हेरेको सामान्य निहुँमा उनलाई सोहन, १६, राजेन्द्र पुजारी, १७, र एक जना १४ वर्षीय किशोरले छुरा प्रहार गरे । यी तीनै जना लागूऔषध दुव्र्यसनी थिए । नशाको लत लागेकाहरूलाई कुन हदसम्म विक्षिप्त बनाउँछ भन्ने यो एउटा उदाहरण मात्र हो ।

गृह मन्त्रालयको तथ्यांक केलाउँदा झनै खतरनाक दृष्टान्त फेला पर्छ । चार वर्षअघि मन्त्रालयले गरेको अध्ययन अनुसार नेपालमा कडा खालका लागूऔषध प्रयोगकर्ता करिब एक लाख रहेकोमा ८१ प्रतिशतले २० वर्ष भन्दामुनिकै उमेरमा प्रयोग गर्ने देखाएको थियो । अझ ६ देखि १० कक्षा पढ्दा नै लागूऔषध सेवन गर्नेको संख्या सबैभन्दा ठूलो छ । करिब ४२ प्रतिशतले यही अवधिमा लागूऔषध लिने गरेका रहेछन् । कडा खालका लागूऔषध भन्नाले हेरोइन, कोकिन, बु्रफिन, नाइट्रजाइपम आदि हुन् । लागू औषध प्रयोगकर्ता बर्सेनि झन्डै १२ प्रतिशतका दरले बढिरहेको छ । ६ वर्षको अवधिमा दुव्र्यसनीको संख्या दोब्बरभन्दा बढीले वृद्धि भएको छ ।

यस्ता दुव्र्यसनीमध्ये झन्डै ८० प्रतिशत अपराधमा लाग्ने गरेको प्रहरीको अनुमान छ । लत बस्दै गएपछि आफ्नै साथी, नातेदारदेखि अभिभावकको समेत हत्या गर्न पछि नपरेका निर्दयी घटना बाक्लै देखिन्छन् । जस्तो : गत भदौ–असोजमा मोरङमा अंकित दाहाल, १९, को हत्या लागूऔषध खाँदाखाँदै विवाद उठ्दा भयो । उनको हत्यामा १७ वर्षीयद्वय सार्जन खरेल, शुकदेव उरावसहित पाँच जना थिए । अभियोगी सबै किशोरवयकै थिए । “लागूऔषध र अपराध समानान्तर रूपमा बढ्छन्,” नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सर्वेन्द्र खनाल भन्छन्, “जहाँ दुव्र्यसनी हुन्छन्, त्यहाँ अपराधको दर उच्च हुन्छ ।”

अपराधका स्रोत
मन्दिर–विहारलाई धार्मिक र सामाजिक दुवै दृष्टिले पवित्र स्थल मानिन्छ । तर, यस्ता क्षेत्रलाई समेत किशोरहरूले अपराधको थलो बनाएका छन् । पवित्र थलोलाई समेत अपराधको आश्रयथलो मान्ने प्रकरणले हाम्रा तन्नेरीहरूको मनोवृत्ति कुन हदसम्म दूषित बन्दै गइरहेको छ भन्ने खुलाउँछ । उदाहरणका लागि ८ भदौ ०६६ मा पाटनको श्री श्रमिक शान्ति उच्च माविका ९ कक्षाका विद्यार्थी सौगात व्यञ्जनकार र सन्दीप व्यञ्जनकारले ललिपुरको सप्तेश्वर विहारलाई नाबालिग बलात्कार गर्ने थलो बनाए । व्यञ्जनकारद्वयले विहारकै पश्चिम कुनाको सार्वजनिक शौचालयमा तीन वर्षीया बालिकालाई पालैपालो बलात्कार गरे । अनि, बालिकाकै लुगाले घाँटीमा थिचेर हत्या गरिदिए । घटना मानिसहरूको चहलपहल भइरहने अपराह्न साढे ४ बजेको हो । तर, कसैले पत्तो पाएन । पेसेवर अपराधीले जस्तै बलात्कार गरेर फरार उनीहरूले उसै गरी अपराधलाई लुकाए, ६ वर्षसम्म ।

१५ मंसिर ०७२ मा सौगात केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को कब्जामा पर्दा अर्का किशोर सन्दीपको भने बास्केटबल खेल्ने क्रममा लडेर मृत्यु भइसकेको थियो । अश्लील भिडियो हेरेर उनीहरूले यस्तो कुकृत्य गरेका रहेछन् । दुई महिनादेखि उनीहरूले अश्लील साइटहरू हेर्ने गरेका थिए । ‘त्यो दिन पनि हामी साइबर गयौँ र नराम्रा फिल्महरू हेर्‍यौँ,’ सौगातले प्रहरी बयानमा भनेका छन्, ‘त्यसपछि बाहिर निस्किएर योजना बनायौँ, कोही केटीलाई फकाउने र यौन सम्बन्ध राख्ने ।’ हुर्केका युवतीहरूलाई भन्ने आँट नआएपछि नाबालिग उनीहरूको निशानामा परिन् । विहार क्षेत्रमा खेलिरहेका बालिकामध्ये अलि ठूलीलाई बोलाए । तीन–चार पुरिया बिस्कुट किनिदिए । खेल्दा धुस्रोफुस्रो बनेकी उनलाई छेउकै सरस्वती धारामा लगेर सफा गरिदिएर शौचालयमा पुर्‍याए र पासविक कार्य गरे । ठाउँको ठाउँ प्लट तयार गरेर पूरा गर्ने उनीहरूको दुस्साहसले देखाउँछ किशोरकिशोरीहरूको मानसिक विशृंखलता कुन हदसम्म पुगिरहेको छ भनेर ।

युग इन्टरनेटको छ । तर, यही प्रविधि समाजका लागि अर्कोतिर अभिशाप पनि बन्दै गएको यस्ता घटनाले देखाउँछ । इन्टरनेट, टेलिभिजन, फिल्मजस्ता सञ्चार प्रविधिमा लगामहीन पहुँचका कारण बालबालिका र किशोरकिशोरीहरूले त्यसैलाई कुकृत्य सिक्ने स्रोत बनाइरहेका छन् ।
मनोविद् शिशिर सुब्बाका अनुसार प्रविधि, साथीसंगत एवं पारिवारिक, सामाजिक र राजनीतिक परिस्थितिबाटै उनीहरूले राम्रो र नराम्रो दुवै काम सिकिरहेका हुन्छन् ।

गरिबी, जातीय थिचोमिचोजस्ता सामाजिक कारणले बालबालिका र किशोरकिशोरी अपराधतिर कसरी अग्रसर हुन्छन् भन्ने कुरा दुई वर्षअघि राजधानीमै भएको तेजाब प्रकरणलाई केलाउँदा पनि थाहा हुन्छ । जीवन विक र संगीता पुलामी मगर परिवारको काठमाडौँको झोँछेमा एउटै घरमा डेरा भएकाले दुवै पक्षबीच आपसी भरथेग थियो । पढाइमा तेज जीवन संगीतालाई पढ्न लेख्न आड दिन्थे । बिस्तारै उनीहरूबीचको मित्रता विपरीत लिंगीबीच हुने स्वाभाविक आकर्षण प्रेममा बदलियो । जीवनको कोठामा संगीताले उनको विक थर लेखिएको नागरिकता फेला पारेपछि भने दुई परिवारबीच फाटो मात्र टुसाएन, जीवन र संगीताबीचको सम्बन्धमा समेत दरार देखियो । सानो र ठूलो जातको विवाद बढेर हात हालाहालको अवस्थामा पुग्यो । ०६९ मा संगीताले सार्वजनिक थलोमै जीवनका बुबा मानबहादुरलाई ‘सानो जातको मानिस ठीक ठाउँमा बस्नु नि’ भन्दै कुटिन् । प्रहरी प्रभाग जनसेवामा उजुरी पुगेपछि दुवै पक्ष ‘आफैँ मिल्ने’ समझदारीमा पुगेर फर्किए ।

त्यतिखेर जीवन १८ वर्षका मात्र थिए । प्रहरीका अनुसार यौवनकालमा पुगेका जीवनको मनमा यही घटनादेखि बदलाको भाव रोपियो, जुन १० फागुन ०७१ मा एसएलसी परीक्षाको तयारी गरिरहेकी संगीताको अनुहारमा एसिड प्रहार गरेर पोखियो । “बाहिर जे भने पनि व्यवहारमा जातीय विभेदको रेखा पूर्णत: मेटिएको छैन भन्ने राजधानीमै भएका यस्ता घटनाले देखाउँछन्, जुन अपराधको कारक बनिरहेको छ,” महानगरीय प्रहरी अपराध महाशाखामा छँदा यो घटनाको अनुसन्धान गरेका एसएसपी पुष्कर कार्की भन्छन्, “पठितहरू नै यस्ता कार्यमा देखिनु प्रहरीका लागि समेत चुनौती हो ।”
राजनीतिक, नश्लीय द्वन्द्वले हिंसाको रूप लिँदा समेत हुर्कंदै गरेको नयाँ पुस्तामा हिंसात्मक छाप छोड्न पुग्यो । १० वर्षे सशस्त्र द्वन्द्व, त्यसलगत्तै मधेसमा मच्चिएको हिंसात्मक आन्दोलन, जातीय र क्षेत्रीय द्वन्द्वले बाल र किशोर मस्तिष्कमा नराम्रो प्रभाव पार्‍यो । “जताततै हिंसा र झगडा देखेका कलिला मस्तिष्कमा यस्तै गर्नुपर्ने रहेछ भन्ने मनोवृत्ति जाग्न थाल्छ,” अपराधशास्त्री प्राध्यापक माधवप्रसाद आचार्य भन्छन्, “यस्तो अवस्थामा किशोरकिशोरी हिंसाको बाटोमा जानु नौलो कुरा होइन ।”

०६५ मा पूर्वाञ्चलका द्वन्द्व प्रभावित १६ जिल्लामा भएका ८ सय ३३ अपराधमध्ये आधाभन्दा बढी १६ देखि २४ वर्षका उमेरकाहरूको संलग्नता अधिक थियो । यसले देखाउँछ, द्वन्द्वले तरुणहरूलाई सहजै हिंसातिर आकर्षण गर्छ भनेर । “समाजमा जे भइरहेको छ, त्यो बालबालिकाले १२ वर्षकै उमेरदेखि सिक्न थाल्छन् र त्यसलाई प्रयोगमा ल्याउने जोखिम मोल्छन्,” मनोविद् सुब्बा भन्छन् ।

कारण, भत्किएका संयन्त्र
किशोरकिशोरीको ऊर्जाशील समय बर्बादीको बाटोमा अग्रसर हुँदै जानुमा हाम्रा पारिवारिक, सामाजिक, सांस्कृतिक र राज्यका संयन्त्रहरू खुकुलो बन्दै जानु हो । संयुक्त परिवार हुँदा हजुरबुबा/हजुरआमाहरूले नाति–नातिनाको हेरचाह गर्थे, जसले गर्दा उनीहरू गलत बाटोमा लाग्ने मौका कमै हुन्थ्यो । तर, यस्तो परम्परागत पारिवारिक ढाँचा एकल परिवारमा बदलिएपछि छोराछोरीको निगरानी गर्ने संयन्त्र नै तोडिएको छ । अपराध कानुनका ज्ञाता सुवास आचार्यका भनाइमा, बा–आमा कमाउन जाने र
किशोरवयका छोराछोरीलाई एक्लै छोड्नाले उनीहरूको मनोवृत्तिमा समस्या आउँछ, जुन बिस्तारै अनियन्त्रित बन्न सक्छ । “अभिभावकसँग केटाकेटीलाई दिने समय नै हुँदैन । अनि, सट्टामा हामी उनीहरूलाई टेलिफोन, ट्याबजस्ता मन पर्ने चीज दिएर फकाउँछौँ,” डीएसपी राठौर भन्छन्, “छोराछोरी र अभिभावकबीच यसरी बार्टर प्रणालीको विकास भइरहेको छ, जुन सर्वथा घातक छ ।”

केटाकेटीलाई जीवनका मूल्य–मान्यताहरू सिकाउने नैतिक ज्ञानको संयन्त्र चुँडिएकाले पनि बालबालिकामा खराब आचरणले घर जमाएको फौजदारी कानुनका ज्ञाता प्राध्यापक रजितभक्त प्रधानाङ्ग बताउँछन् । पहिले समाजप्रतिको दायित्वबोध गराउन विद्यालयमा नैतिक शिक्षा दिइन्थ्यो, जुन अहिले टुटिसकेको छ । “सत्चरित्र र नागरिक जिम्मेवारी सिकाउने पाठ्यक्रम नै भएन,” उनी भन्छन्, “जसले गर्दा बालबालिकाले गर्न हुने र नहुने कुरा नै जान्न पाएनन् । जुन जिम्मेवार समाजका लागि आधारभूत कुरा हो ।”

सहरीकरणका कारण बालबालिकालाई निगरानीमा राख्ने सामाजिक संस्थाहरूसमेत  भत्किँदै गएका छन् । ग्रामीण जीवनमा बद्मासी गरेको देख्नासाथै चिनारु वा ठूलाबडाले हप्कीदप्की र सुझावका माध्यमबाट सुधार्ने चलन हुन्छ । जबकि, सहरमा कसैले कसैको ख्याल गर्दैन । सहरी क्षेत्रमा आपसमा भेला भएर खेल्ने चलन हराएर इन्टरनेट, भिडियो गेम, मोबाइलमा झुन्डिने प्रवृत्तिले समेत बालबालिकालाई निगरानीमा राख्ने सामुदायिक संस्थाहरू हराउँदै गएका छन् । “यस्ता संयन्त्रहरू नहुनु किशोरहरूका लागि गलत बाटोमा जाने अवसर बन्दै छ,” मनोविद् सुब्बा भन्छन् ।

अपराधीलाई दण्ड–सजाय दिने राज्य संयन्त्रसमेत फितलो छ, जुन कुरा बालबालिका र किशोरहरूले थाहा पाइरहेका हुन्छन् । गुण्डागर्दी, आपराधिक क्रियाकलाप, असुलीजस्ता अवैध काम गरेकाहरू समाजमा निर्धक्क हिँडेको देखेर समेत उनीहरूको मानसिकता त्यही अनुसार विकास हुने गर्छ । गलत काम गरेकाहरूको समाजमा रवाफ देख्दा उनीहरूमा ‘यही ठीक रहेछ’ भन्ने मनोवृत्ति पलाउनु स्वाभाविक हो । अवैध गतिविधिमा किशोरकिशोरीको प्रवेश हुनु भनेको मुलुकमा फौजदारी कानुनले दुरुस्त काम गर्न नसक्नु पनि हो । “जब समाजमा दण्डहीनता बढ्छ, तब कलिला हातहरूसमेत गैरकानुनी काममा लाग्छन्,” प्रा प्रधानाङ्ग भन्छन् ।

साथमा धेरै पैसा र विलासी जीवन अहिलेका हरेकजसो किशोरकिशोरीको सपना हो । यो सपना उनीहरूले कहलिएका आपराधिक पृष्ठभूमिबाट उठेकाहरूको पूरा भएको देखेका छन् । जसले गर्दा उनीहरूमा चाँडै धनी बन्ने लालसा जाग्छ र छोटो बाटोबाट पूरा गर्ने जमर्कोमा लाग्छन् । “गनिएका अपराधीहरू सम्मानका साथ धनसम्पत्ति जोडेर बसेका छन्,” अपराध कानुनका ज्ञाता सुवास भन्छन्, “दण्ड सजाय दिने राज्यका निकाय नै निष्प्रभावी बन्दा किशोरहरूले त्यही सिको गर्छन् । किनभने, त्यहाँ उनीहरूले सबथोक देखेका हुन्छन् ।”

किशोरकिशोरीहरू जघन्य अपराधमा संलग्न हुँदै जानुको अर्थ हो, समाजमा अपराधको गुणात्मक वृद्धि हुने जोखिम । अपरिपक्व उमेरमै अपराधमा लाग्नेहरूलाई नियन्त्रण गर्न नसकिए राज्यका समानान्तर गैरकानुनी समूहहरू खडा हुने जोखिम रहन्छ । जसरी १९औँ शताब्दीमा इटालीमा युवा ग्याङ समूहहरू हुर्किएर ‘माफिया’ नामक संगठित आपराधिक समूह जन्मिएको थियो ।

किशोरकिशोरीलाई राम्रो भविष्यका लागि हाम्रो परिवार, विद्यालय र समाजले निगरानी गरिरहेको छ भन्ने भाव जगाउन सक्यो भने खराब बानीबाट टाढै राख्न सकिन्छ । मनोविद् कुँवरका अनुसार स्वतन्त्रताका नाममा परिवारले छाडा नछोड्ने, घरायसी वातावरण हिंसात्मक नबनाउने, विद्यालयले जीवनका मूल्य–मान्यता र समाज, परिवारप्रतिको दायित्व सिकाएमा किशोरकिशोरी गलत बाटोमा जाँदैनन् । यो निश्चित छ ।

प्रकाशित: जेष्ठ १६, २०७४