भक्तपुरमा रोहित राज

  • ३५ वर्षदेखि नेपाल मजदुर किसान पार्टीको एकछत्र

- बाबुराम विश्वकर्मा

स्थानीय तहको पहिलो चरणको निर्वाचनमा देशभरिको नतिजामा नेकपा एमाले पहिलो, नेपाली कांग्रेस दोस्रो र नेकपा माओवादी केन्द्र तेस्रो दल बने पनि त्यससँग काठमाडाँैको नाकैमुनिको सहर भक्तपुरको कुनै साइनो–सम्बन्ध छैन । किनभने, त्यहाँ ठूला दललाई पुरानो वाम दल नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले पत्तासाफ गरिदिएको छ, त्यो पनि पूरै सेटसहित, ठूलो मतान्तरसाथ ।

‘कोर’ भक्तपुरलाई समेटेको यो नगरपालिकाका १० वटै वडामा नेमकिपाका सबै उम्मेदवारले ९० प्रतिशतभन्दा बढी मतले जितेका छन् । मेयरमा नेमकिपाका केन्द्रीय सदस्य तथा पूर्वसांसद सुनिल प्रजापतिले २५ हजार ३ सय ६० मत प्राप्त गरे । जबकि, उनका निकट प्रतिस्पर्धी नेपाली कांग्रेसका रामप्रसाद कासुलाले जम्मा ६ हजार ५ सय ६० मत मात्र पाए । त्यस्तै उपमेयरमा रजनी जोशीले २५ हजार ७ सय ११ मत पाइन् भने निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी गंगा अवालले चाहिँ ६ हजार ५ सय ८७ मतमा चित्त बुझाउनु पर्‍यो ।

देशका अरू नगर तथा गाउँपालिकामा उम्मेदवारसमेत नउठाएको यो दलले भक्तपुर नगरपालिकामा यसपटकको चुनावमा मात्र एकाएक जित हात पारेको होइन । नेमकिपाको भक्तपुर जितको शृंखला लामो छ । २० वर्षअघि ०५४ को स्थानीय चुनावमा पनि नेमकिपाले यो नगरका दुई वडाध्यक्षबाहेक सबै सिटमा ९० प्रतिशतभन्दा बढी मतसहित जितेको थियो । त्यसभन्दा पहिला ०४९ को स्थानीय निकाय निर्वाचनमा पनि उसको जित यस्तै थियो, त्यसअघि पञ्चायतकालमा ०४४ र ०३९ मा भएको नगरपञ्चायतको चुनावमा पनि नेमकिपाको भ्रातृ संगठन नेपाल मजदुर किसान संगठनका नेता–कार्यकर्ताले नै चुनाव जितेका थिए । त्यसैले कोर भक्तपुरमा नेमकिपाले शासन गरेको ०३९ देखि नै हो । नवनिर्वाचित मेयर प्रजापति स्वयं दुई पटक वडा अध्यक्ष, एक पटक सांसद भइसकेका नेता हुन् । पार्टी अध्यक्ष नारायणमान बिजुक्छे (रोहित)ले अहिलेसम्म पाँच पटक सांसद/संविधानसभा सदस्य जितिसकेका छन् भक्तपुरबाट ।

विगतमा कर्णाली र भेरी अञ्चलका जिल्लामा राम्रो पकड भएको नेमकिपाको पछिल्लो आधार क्षेत्र भक्तपुर हुन पुगेको छ, जहाँ अध्यक्ष बिजुक्छेलगायत मुख्य नेतृत्वको बसोवास छ ।

बिजुक्छेको नेतृत्वमा नेमकिपाले गरेका कामले उक्त दललाई भक्तपुरमा बलियो बनाएको हो । त्यही भएर निर्वाचनमा निरन्तर यस्तो परिणाम आइरहेको छ ।

भक्तपुरकै बासिन्दा सम्पदा संरक्षक रवीन्द्र पुरी अरू दलले केही पनि नगरेको तर नेमकिपाले आफ्नै बुतामा भक्तपुर बदल्न अहोरात्र मिहिनेत गरेकाले नगरवासीको रोजाइमा नेमकिपा परेको बताउँछन् । भन्छन्, “२० वर्षअघिको र अहिलेको भक्तपुरमा आनका तान फरक छ, नेककिपाको मिहिनेतको परिणाम हो, अहिलेको भक्तपुर ।”

सफासुग्घर सहर

नेमकिपा र भक्तपुर नगरपालिका पर्याय हुन् । किनभने, ०४९ मा नेमकिपाले चुनाव जितेपछि नगरपालिकमा अधिकांश कार्यकर्ताले नै नियुक्ति पाए । त्यसैले नगरपालिकाले गर्ने सम्पूर्ण काम नेमकिपाको योजना र स्वीकृतिमा हुन्छ ।

भक्तपुरलाई सफा सहर बनाउने नेमकिपाको पुरानो एजेन्डा हो । नगरपालिकाका इन्जिनियर ओमहरि थापा २० वर्षअघि जनकपुर जाँदा जनकपुरवासीले ‘सुँगुरे सहर’ भनेर भक्तपुरलाई फोहोरको संज्ञा दिएको अझै सम्झन्छन्, “अहिले जनकपुर फोहोर छ, भक्तपुर सफा सहर भएको छ ।”

०४९ मा नेमकिपाले नगरपालिकामा जितेपछि हो, भक्तपुरलाई सफा बनाउने अभियान सुरु भएको । ‘हाम्रो नगर आफँै सफा गरौँ’ भन्ने नारासहित सुरु गरिएको सरसफाइ अभियानले नगरलाई सफा मात्र बनाएन, सरसफाइ र सम्पदा संरक्षणमा यो नगरले युनेस्को अवार्ड नै हात पार्‍यो ।

फोहोर भक्तपुरलाई सफा भक्तपुरमा बदल्ने नगरपालिकाको अठोट ०५८ सम्म आइपुग्दा साकार नै भयो । त्यो वर्ष एसियाका आठ सफा सहरमा भक्तपुर परेको थियो भने यसको विकास र समृद्धिलाई चौतर्फी टेवा दिइएकाले जिल्लाको मानव विकास सूचकांक ६ वर्षअघि नै मध्यम स्तरमा उक्लिसकेको थियो ।

नगरपालिकाको स्वामित्वमा शिक्षा र स्वास्थ्य

कुनै पनि देश र समाजको स्तर त्यस देशको शिक्षाको स्तरभन्दा माथि हुँदैन । समाज र जनताको जीवन बदल्ने महत्त्वपूर्ण औजार मानिन्छ, शिक्षालाई । यो सत्यलाई नेमकिपाले सुरुदेखि नै आत्मसात् गरेको छ भक्तपुरमा । अध्यक्ष बिजुक्छे सुरुमा आफैँ प्राथमिक विद्यालयका शिक्षक थिए । उनले भक्तपुरमा अंग्रेजी र नेपाली भाषा पढाउन सुरुदेखि नै गतिला शिक्षक नियुक्ति गर्नुपर्नेमा समेत जोड दिएका हुन् ।

शिक्षाको विकासलाई बिजुक्छेले प्राथमिकता दिएका कारण आज देशभरिका धेरै सार्वजनिक विद्यालय कमजोर शैक्षिक नतिजाले बल्लतल्ल घस्रिँदै छन्, बदनाम भएका छन् । तर, भक्तपुर नगरका सरकारी विद्यालय अब्बल नतिजाले कहलिएका छन् । जस्तो : श्रीपद्म उच्च मावि तथा कलेज, बागेश्वरी उच्च मावि, शारदा मावि, आदर्श आजाद उच्च माविजस्ता सहरभित्रका सरकारी स्कुलमा निजी विद्यालय छाडेर भर्ना हुन आउनेहरू टन्नै हुन्छन् । उदाहरणका लागि श्रीपद्म उच्च मावि । प्रधानाध्यापक राम हाडाका अनुसार यो विद्यालयमा हरेक वर्ष निजी विद्यालय छाडेर कम्तीमा दुई सय विद्यार्थी भर्ना हुन आउँछन् । शैक्षिक स्तर राम्रो भएकै परिणाम हो भक्तपुर दुई वर्षयता एसएलसीमा सबैभन्दा बढी विद्यार्थी उत्तीर्ण गराउने जिल्लामा दरिएको छ । यहाँ गएको वर्ष ८६ र त्यसभन्दा अघिल्लो वर्ष ८५ प्रतिशत विद्यार्थी एसएलसीमा सफल भए । भक्तपुरलाई जिल्ला शिक्षा कार्यालयले पूर्ण साक्षर जिल्ला पनि घोषणा गरिसकेको छ । बिजुक्छे भन्छन्, “यहाँका सरकारी विद्यालयमा प्रवेश परीक्षा लिएर भर्ना गर्नुपर्छ, मैले विद्यालयमा राजनीतिक कार्यकर्ता होइन, गतिला शिक्षक नियुक्ति गर्न जोड दिएँ । त्यसैको परिणाम हो यहाँको विद्यालय शिक्षा ।”

शिक्षाको दृष्टिले पहिले भक्तपुर निकै पछि थियो, सुरुमा नगरपालिकाकै नेतृत्वमा प्रौढ कक्षा, शिशु स्याहार केन्द्र सञ्चालन गरियो भने पछि नगरपालिकाले नै शैक्षिक संस्थाहरू खोल्न थाल्यो । परिणामस्वरूप जन्मिए, ख्वप: कलेज, ख्वप: इन्जिनियरिङ कलेज, ख्वप: उच्च मावि, ख्वप: कलेज अफ इन्जिनियरिङ, ख्वप: बहुप्राविधिक संस्थान आदि । यी भक्तपुरका राम्रा शिक्षालयमा पर्छन् । यिनले यहाँको शैक्षिक अनुहारलाई बदलेका मात्र छैनन्, घर–घरमा शिक्षित तथा योग्य नागरिकको संख्या बढाउन योगदान गरेका छन् । मेयर प्रजापति भन्छन्, “भक्तपुरको एउटा दलित परिवारका चार जनाले स्नातक गर्नु सामान्य प्रगति होइन । यो नै हाम्रो शैक्षिक स्थितिको सूचक हो ।”

नगरपालिकाले भक्तपुरमै शारदा कलेज तथा शारदा उच्च मावि, नवदुर्गा कलेज तथा नवदुर्गा उच्च मावि पनि सञ्चालन गरिरहेको छ । ०५७ मा खुलेको ख्वप: इन्जिनियरिङ कलेजबाट मात्र तीन हजारभन्दा बढी इन्जिनियर उत्पादन भइसकेका छन् । यो कलेज देशकै उम्दा इन्जिनियरिङ कजेज हो ।

अर्को विशेषता के भने शुल्क सर्वसुलभ पनि छ । अझ पहिले त एक जनालाई इन्जिनियर बन्न १ लाख ९० हजार रुपियाँ मात्र लाग्थ्यो । अहिले यो शुल्क बढेर पाँच लाख रुपियाँ पुगेको छ । अरू कलेजमा यो शुल्क १० लाख रुपियाँभन्दा बढी हुन्छ । मेयर प्रजापति भन्छन्, “राम्रो जनशक्ति उत्पादन हाम्रो लक्ष्य हो, नाफा कमाउने होइन ।”

भक्तपुर नगरपालिकाले भक्तपुरमा शिक्षापछि जोड दिएको अर्को क्षेत्र हो, स्वास्थ्य । ०४९ मै नगरवासीलाई स्वास्थ्य सेवा दिन च्याम्हसिंह र भक्तपुरमा दुईवटा स्वास्थ्य केन्द्र खोल्यो नगरपालिकाले । ती अहिले विशेषज्ञ सेवासहित स्वास्थ्य सेवा दिन सक्ने क्षमतामा विस्तार भएका छन् । जम्मा २० रुपियाँमा विशेषज्ञबाट स्वास्थ्य परीक्षण गराउन पाइने भएकाले यी केन्द्रमा बिरामीको भीड नै लाग्छ । नगरपालिकाले २५ शय्याको ख्वप: अस्पताल सञ्चालन गर्ने स्वीकृति पाइसकेको छ ।

सम्पदा संरक्षण

खुला तथ्य हो कि भक्तपुर सम्पदाको धनी सहर हो । नगरपालिकाले भक्तपुरको कला, संस्कृति र सम्पदा संरक्षणको कामलाई प्राथमिकतासाथ अघि बढाएकाले त्यसले जनतामा सकारात्मक प्रभाव पारेको छ । यहाँका मठमन्दिर, पाटीपौवा, धारापोखरीको संरक्षण अनि बाजा तथा नाचगान जोगाउन विशेष मिहिनेत गरेकै कारण भक्तपुर पर्यटकीय सहर बनेको हो । सम्पदा र संस्कृति संरक्षण भएकाले अब नगरपालिकाको ध्यान त्यसको व्यवसायीकरणतिर गएको छ ।

तर, सम्पदा संरक्षक पुरी सम्पदाका दृष्टिले भक्तपुर युरोपका धेरै पुराना सहरभन्दा पनि धनी र व्यापक रहेको बताउँछन् । भन्छन्, “यति जीवन्त सहर संसारमा कतै छैनन् । त्यसैले नेमकिपाले विज्ञ र योजनाविद्हरूको सहयोगमा काम गरेको भए अहिलेको भन्दा १० गुणा बढी प्रगति हासिल हुन्थ्यो । किनभने, भक्तपुर एक्लैसँग सिंगो देशलाई पाल्न सक्ने सामथ्र्य छ ।”

भूकम्पले भत्केका मठमन्दिर तथा देवालयहरूको पुन:निर्माण विधि पनि भक्तपुरमा अन्यत्रमा भन्दा भिन्न छ । त्यो काम ठेक्कामा होइन, जनसहभागितामा भइरहेकाले स्वाभाविक रूपमा लागत कम हुन्छ । बिजुक्छे भन्छन्, “ठेकेदारलाई ठेक्का दिइन्न, उपभोक्ता समिति, श्रमदान र जनसहभागितामा गरिन्छ । सुशासन र पारदर्शिता हाम्रो चरित्र हो । यही कारणले हामी जनतासँग निरन्तर जोडिएका छौँ ।” 

भक्तपुरमै सीमित

एक समय थियो, कर्णाली र भेरीका पहाडी जिल्ला अनि चितवन र रामेछापतिर पनि नेमकिपाको संगठन बलियो थियो । तर, खुम्चिँदै खुम्चिँदै भक्तपुरमा सीमित हुन आइपुगेको छ ।

७७ वर्षीय नारायणमान बिजुक्छे ४२ वर्षदेखि आफैँ पार्टी अध्यक्ष छन् । उनको सानो समूह छ । समय बदलियो तर न नेमकिपा बदलिएको छ, न त बिजुक्छे र उनका कार्यकर्ता नै । सानो समूहमा घेरिने, परम्परागत मान्यताबाट माथि नउठ्ने अनि आफ्ना कार्यकर्ताबाहेक अरूका कुरा नसुन्ने आदि कारणले बिजुक्छेको प्रभाव खुम्चिँदै गएको हो । यो बेग्लै कुरा हो कि, उनीचाहिँ भक्तपुरकै सफलतामा खुसी छन् ।

ज्ञातव्य रहोस्, ०४८ को निर्वाचनमा नेमकिपाका दुई सांसद थिए भने ०५१ मा चार जना, ०५६ मा एक जना भए । पहिलो संविधानसभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फ गरी पाँच जना र दोस्रोमा चार जना निर्वाचित भएका थिए ।

प्रकाशित: जेष्ठ १६, २०७४