नोटबुक

- मनबहादुर बस्नेत

त्यो रक्त मेला
१ वैशाख । कास्कीको रमणीय गुरुङ गाउँ घान्दु्रकबाट हिँडेर बास बस्न म्याग्दीको सुन्दर थलो घोडेपानी पुग्नु थियो । म्याग्दी र कास्कीको सीमा देउराली भञ्ज्याङ पुग्नासाथै पानी पर्लाजस्तो भयो । घोडेपानी नपुगी बस्ती नभेटिने हुनाले अगाडि बढिएन । अपराह्नमै झमक्कै साँझ परेजस्तो भयो । असिनापानी बर्सियो ।

देउराली भञ्ज्याङमा रहेका दुइटै होटल भरिभराउ थिए । ट्रेकिङ याम भएकाले पर्यटक हुने नै भए । त्यसभन्दा बेसी स्थानीय नै थिए, त्यसमा पनि महिलाको संख्या अधिक । कारण रहेछ, त्यहाँ चलिरहेको चौरीको रगत पिउने मेला । हिमाली क्षेत्रमा जडीबुटी चरेको चौरीको आलो रगत पिएमा हर खाले रोग निको हुने विश्वास रहेछ ।

त्यही भएर वरपरका गाउँले समेत भेला भएका रहेछन् । सोचेँ, म पनि पिउँछु ।

भोलिपल्ट एकाबिहानैदेखि होटलमा चहलपहल भइहाल्यो । चौरीको रगत पिउन टोकन लिनुपर्ने रहेछ, प्रतिगिलास १ सय ६० रूपियाँ तिरेर । मलाई भने टोकन नकाटी रगत दिने बन्दोबस्त मिलाएका थिए, होटलवालाले । टोकन लिएका बाटो पर्तिरको लाइनमा उभिए, हातहातमा गिलास समाएर । लाठेँले चौरीलाई सिङमा बाँधेर ल्याए र रगत झिक्न गाडेको किलोमा घोसेमुन्टो लगाइदिए । अनि, जीउ हलचल नगर्ने गरी समाते । घाँटीका रौँ खुर्किएर नसा छेडेपछि रगतको धारो झर्न थाल्यो । त्यही रक्त धारोमा गिलास भर्दै टोकन अनुसार बाँड्न थालियो । मानिस आँखा चिम्लिएर र नाक थुनेर घट्घटी पिउन थाले । कतिपयले त थपे पनि ।

रगत निकालेपछि नसाको प्वालमा चौरीकै गोबरले टालिँदो रहेछ । म यी सब दृश्य नियालिरहेको थिएँ । ‘पिउने होइन ?’ होटलवालाले सोध्दा मैले टाउको हल्लाएरै नपिउने सन्देश दिएँ ।

रगत निकालेर पिएको ‘लाइभ’ हेर्दै अघाएकाले हामी फोटो खिचेर मात्र बाटो लाग्यौँ । केही अगाडि बढेपछि म्याग्दीकै चिनारु दाइ सोभित खड्काले काठमाडौँबाट फोन गरे । मैले त्यो रक्त मेलाबारे सुनाएँ । उनले जसरी पनि पिउनु भन्ने सल्लाह दिए ।

त्यति गुनिलो कुरो नपिएर गल्ती गरिएछ कि ? सोच्दासोच्दै लालीगुराँस फुलेको जंगलभित्र पसियो । तर, मेरो आँखामा भने गुराँसको रातोपनभन्दा पिउन नसकिएको चौरीको रगताम्मे दृश्य धेरै बेर नाचिरह्यो, बिझाउने गरी ।

मौलिकतामा घन

गुरुङ समुदायको खाँटी बस्ती । गुरुङ संस्कृति, जीवनशैलीको दर्पण थलो । यस्तै सुनिएको थियो पोखराको उत्तरी गाउँ घान्द्रुकबारे । माछापुच्छ्रे, निलगिरि, अन्नपूर्ण हिमाल ऐनाजस्तै हेर्न सकिने घान्द्रुक साँच्चै सुन्दर रहेछ । ढुंगाको छाना भएका पुरानो शैलीका झुरुप्प घर हेरिरहूँजस्ता ।
आवरणमा भव्य देखिने घान्द्रुकको मौलिकताभित्र भने छिद्र देखियो । अन्नपूर्ण बेसक्याम्प पदयात्रा गर्दा बाटैमा पर्ने घान्द्रुक जसरी गुरुङ गाउँ भनेर चिनिन्छ, त्यसरी नै यहाँका गुरुङको संख्या भने पातलिँदै गएको रहेछ ।

भएछ के भने यहाँबाट बेलायत, भारततिर लाहुर गएका फिरेनन् । पर्यटकीय क्षेत्र भएकाले यहाँ बसेका समेत होटलबाट पैसा कमाएपछि पोखरा, काठमाडौँजस्ता सहरी जीवनतिर आकर्षित हुने रहेछन् ।
त्यसैले अहिले कामको खोजीमा पुगेका बाहिरियाहरुले धानेका रहेछन, घान्द्रुकलाई ।
गुरुङको संख्या घट्दै गएको आगन्तुकले समेत अनुभूति गर्ने रहेछन् । केही समयअघिसम्म होटलले आफ्ना पाहुनालाई रोधी नाचले स्वागत गर्थे । त्यो अहिले दुर्लभ बनेछ । धन्न सीमित होटलमै सही, गुरुङ पोसाक लगाएर फोटो खिच्न भने पाइने रहेछ । घुम्दै जाँदा घान्द्रुक डाँडागाउँको शिरमा कंक्रिटको घरसमेत बन्दै गरेका भेटिए । मौलिक गुरुङ बस्तीमा पक्की घर बनेको देख्दा र रैथाने जातिको संख्या घट्दै गएको सुन्दा लाग्यो, घान्द्रुकको बाह्य/भित्री दुवै मौलिकतामा घन बज्रन सुरु भएछ ।

प्रकाशित: जेष्ठ १५, २०७४