[झटारो] गाली खाइरहन पाऊँ

- लक्ष्मण गाम्नागे

पहिले–पहिलेका चुनावमा नेता–कार्यकर्ताहरूले हामी मतदातालाई खुलेर गाली गर्दैनथे । निर्वाचनमा हार्दा पनि उनीहरू एकअर्कालाई धाँधली गरेको वा शक्तिको दुरुपयोग गरेको आरोप लगाउँदै आपसमै मारामार गर्थे । भित्रभित्रै जति सरापे पनि हामीले सुन्ने गरी ‘जनता जनार्दन’ भन्दै चाकरी नै गर्थे । हाम्रो अत्याचारले सीमा नाघ्यो कि क्या हो, यसपालिचाहिँ निकै गाली खाइयो । गाली खाए पनि हामीले चित्त दुखाउने ठाउँ छैन किनभने गल्ती हाम्रो छ । हामीले हजारौँ हजार उम्मेदवारलाई चुनावमा हराएर ठूलो घात गरेका छौँ, अझै गर्दै छौँ । उनीहरूलाई धोका दिएका छौँ, अझै दिँदै छौँ ।   

हाम्रा लागि उनीहरू कतिले ज्यानको बाजी लगाएर लडे । कतिलाई मारे, कतिलाई मराए । हाम्रै लागि चन्दा उठाए, गाली खाए, अपमान सहे, घुस खाए, नाम–बदनाम सबै कमाए । केवल हाम्रा लागि भनेर संविधान ल्याए र हाम्रै लागि स्थानीय निर्वाचन गराए । हामीमाथि पूर्ण भरोसा राखेर कतिले छँदाखाँदाको जागिर नै छाडेर चुनाव लडे । कति त देशभित्रको मात्र होइन, विदेशमा लाखौँ डलर कमाइ हुने जागिर छाडेर हाम्रै सेवा गर्न भनेर स्वदेश फर्किए । तर, हामी गुहु र गोबर छुट्याउन नजान्ने परेछौँ । तीते फापरको ढिँडो र गाजरको हलुवा खुट्याउने ढंग नभएका हामी असभ्यहरूलाई घिउ किन पच्थ्यो † पचेन । हामी गँवारहरूलाई कुन पिज्जा, कुन मकैको फ्याप्लो, कुन बर्गर, कुन कोदाको भुंग्रे रोटी सब बराबर । अनपढ लाहुरेले उभिन्डो पत्रिका पढेजस्तो होटलको मेनु पढ्यो पढ्यो, लास्टमा उही गन्धे म:म, नत्र बासी चाउमिनमा डुडुँलो चोपिहाल्ने । यसपालि पनि हामीले म:म र चाउमिन नै रोज्यौँ, नयाँ स्वाद लिने बुद्धि हामीमा आएन । हामी हाम्रो मूर्खता, अज्ञानता र असभ्यतामाथि साह्रै लज्जित छौँ । चुनावमा पराजित घाइते गणहरू, हामीलाई अझै गाली गर्नुहोस् । गाली गर्नुपर्ने खास पात्र हामी नै हौँ ।    
हाम्रो सेवाका लागि कम्मर कसेर हजुरहरू निर्वाचनमा होमिनुभयो । हजुरहरूको ठूलो धनराशि खर्च भयो । पसिना बग्यो । रगतै बग्यो । भोकै, अनिँदै कति रात, कति दिन ज्यान सुकाएर गाउँ–टोल घुम्नुभयो, दु:ख पाउनुभयो । अन्तमा हामीबाट धोका खानुभयो, हार्नुभयो । हजुरहरूलाई भएको यो क्षतिका लागि हामी क्षमाप्रार्थी छौँ । हामीलाई हजुरहरूले विभिन्न सामाजिक सञ्जालमार्फत दिनुभएको यथास्थितिवादी, अबुझ, प्रतिगमनका मतियार, भेडा इत्यादि सबै उपाधि हामी सहर्ष स्वीकार गर्छौं । अझै नयाँ र सुहाउँदिला गाली पनि पाऊँ, हामी सुन्न लालायित छौँ ।
हजुरहरूका गाली खाएपछि हामीलाई के ज्ञान प्राप्त भयो भने जबसम्म यो देशमा प्रजातन्त्र भन्ने कुरो रहिरहन्छ र त्यसमा गोप्य मतदान गर्न पाउने अधिकार राखिराखिन्छ, तबसम्म हाम्रो बुद्धिको बिर्को नखुल्ने रहेछ । अर्को ज्ञान, जनता र केटाकेटी उस्तै उस्तै हुँदा रहेछन्, झन् गाली गर्‍यो झन् अटेरी हुँदै जाने । यस्तै अटेरी भएकाले हामीले थप गाली खाइरहने भयौँ । हामी गाली खाइरहन तयार छौँ, गर्दै रहनुहोला । जति गाली गरे पनि हामी हजुरहरूलाई मुख फर्काउने छैनौँ ।
बरू शुभकामना दिन्छौँ, ‘समयले कुनै न कुनै दिन तिमीहरूलाई धिक्कार्नेछ’ भनेर हजुरहरूले दिनुभएको श्राप हामीलाई लागोस्, हजुरहरूको मनमा शान्ति प्राप्त होस् ।

प्रकाशित: जेष्ठ १५, २०७४