[संस्मरण] ...मिस रानी भइनन्

- ब्रजेश

अलिअलि अस्पष्ट सम्झना छन्, पहिलो दिन स्कुल जाँदाका । मलाई कीर्तिपुरको ल्याबोरेटरी माध्यमिक विद्यालयमा भर्ना गरिएको थियो । बा–आमा मलाई पुर्‍याउन गएका थिए । त्यति बेला स्कुल जाने उमेरका हरेक बालबालिकाका केही जन्मसिद्ध अधिकार हुन्थे । पहिलो केही दिन स्कुल जाँदा कोकोहोलो मच्चाएर डाँको छोड्ने, कसैले बोकेका छन् भने बोके पनि हावामा खुट्टा फ्यालीफ्याली गँड्यौलो मडारिएजस्तो मडारिने र बोक्ने मान्छेलाई सकेसम्म सास्ती दिने । ताक परे उसको कपाल भुत्ल्याउने, मौका पाए उसका करङतिर एक–दुई लात्ता पनि बजाइदिने । अनि, वरिपरिका मान्छेहरूका कानका जालीमा ध्वनि प्रदूषणको चरम आक्रमण हुने गरी घोक्रो सुकुन्जेल रुने । 

मभन्दा अघि दुई–चार दिन पहिले स्कुल हालेको कान्छा हजुरबाका नाति राजेश पनि त्यसै गरी विद्यार्जनको महान् लक्ष्यमा होमिएको थियो । त्यतिबेला झ्यालबाट उसलाई हेर्दा मलाई हाँसो र अचम्म दुवै लागेको थियो । 
किन त्यसरी कोलाहल मच्चाइरहेको होला ‘राइसे’ले ?

मैले हाँस्दै सोच्या थिएँ । जैरे स्कुल त जान लाग्या हो नि ! तर, दुई–तीन दिनपछि आफ्नो पालो आउँदा म स्वयंले पनि ती सबै जन्मसिद्ध अधिकारको पूर्ण रूपले पालना गरेको थिएँ । राइसेभन्दा म किन कम हुन्थेँ र ?

त्रिपुरेश्वरमा रहेको त्रिभुवनको सालिकनिर ल्याबोरेटरीको पहेँलो रङको पाउरोटीजस्तो बस आउँथ्यो । ड्राइभरले आफ्नोछेउमा भएको कुनै एउटा स्विच थिचेपछि छुस्स्स्स्स आवाज निकालेर ढोका आफैँ खुल्ने र बन्द हुने गथ्र्यो । त्यही बसमा हालेर मलाई फकाइफुलाइ गर्दै बा–आमाले स्कुल लगेका थिए । स्कुलमा गएपछि खेलौना नै खेलौनाहरू भएको एउटा ठूलो कोठामा मलाई लगेको सम्झना छ । म दंग परेर खेलौना गाडीहरू गुडाउँदै थिएँ । कति समय बित्यो, मलाई थाहा छैन तर अचानक सिनेमामा देखाइने जादूको दृश्यमा जस्तो मेरा बा–आमा गायब भइसकेका रहेछन् । त्यसपछि मैले के गरेँ, मलाई सम्झना छैन । मलाई लाग्छ, करिब एक महिनाजति म त्यहाँ गएँ होला । ज्ञानबहादुर नाम भएका सरले हरेक बिहान राष्ट्रिय गान सिकाएको चाहिँ मलाई सम्झना हुन्छ । त्यसबाहेक अलिअलि त्यहाँका भवनका संरचना, बरन्डा, चुच्चो परेको छाना इत्यादि पनि म सम्झिन्छु ।

अहिले त्यो स्कुल सम्झन खोज्दा मलाई खोइ किन हो, पहेँलो रङ याद आउँछ । त्यहाँ पहेँलो रङको बाहुल्य थियो कि ? अथवा, त्यो बसको पहेँलो रङले मेरो कलिलो मगजमा गहिरो छाप छोडेकाले हो । तर, ल्याब भनिने त्यो स्कुलसँग मेरो सम्बन्ध त्यति लामो हुन सकेन । केही समयमा नै म बेस्मारी बिरामी परेछु । मलाई नेपालीमा भ्यागुते रोग भनिने डिप्थेरिया लागेछ र म एक–दुई महिना नै थला परेछु । 

त्यसपछि कसैले त्यो स्कुल फापेन भनेका कारण त्यही साल हो वा अर्को साल मलाई आदर्श विद्या मन्दिरमा भर्ना गरियो । त्यो स्कुलका संस्थापक थिए, सत्यनारायणबहादुरसिंह श्रेष्ठ । अनुशासन र नैतिकताका लागि उनको मार्गदर्शन उनका कुनै पनि विद्यार्थीले कहिल्यै पनि भुल्न नसक्ने कुरा हुन् । उनी भन्थे, ‘बी गुड डु गुड असल बन, असल गर ।’ यो नै आदर्श विद्या मन्दिरको गुरुमन्त्र थियो । 

हरेक मानिसले असल बन्न र असल गर्न प्रयास मात्र गर्ने हो भने पनि यो संसार अर्कै हुन्थ्यो । नेपालको निजी शिक्षाको क्षेत्रमा सत्यनारायण सरलाई पितामह भन्ने गरिन्छ । किनभने, उनले कलकत्ताबाट आएर पहिले फर्पिङमा त्रिभुवन आदर्श विद्यालय, त्यसपछि लगनखेलमा महेन्द्र आदर्श विद्यालय र कुपन्डोलको उकालोमा भैरव भवनमा आदर्श विद्या मन्दिर स्थापना गरेका थिए । भैरव भवन, जुन स्थानमा अहिले होटल हिमालय छ । टाढाबाट उनीसँग हाम्रो कुनै नाता पनि पथ्र्याे रे ! त्यसै कारण पनि होला मैले भने बोर्डिङ स्कुल पढ्ने हाम्रो परिवारको पहिलो मान्छे हुने मौका पाएँ । नत्र भने परिवार नियोजन नराम्ररी असफल भएको हाम्रा बाको घरमा त्यतिबेलाको आर्थिक स्थिति अहिले यो देशको जस्तै थियो । बाको कमाइले १७ जनाको मुखमा माड लगाउनुपथ्र्यो । लेखन र पत्रकारितामा मात्रै बाँच्नुपर्नेहरू अहिले त बाँच्न गाह्रो हुन्छ भन्छन्, त्यसबेला त झन् कस्तो थियो होला !

हालै रत्न पुस्तक भण्डारले निकालेको एउटा पत्रिकामा ०२५ सालमा मेरा बासँग गरिएको एउटा सम्झौतापत्र छापिएको छ । दसवटा जासुसी उपन्यास एकमुष्ट तीन हजार रुपियाँमा लेखेर बुझाउने र तिनको सर्वाधिकार प्रकाशकमा रहने कुरा उल्लेख गरिएको त्यो सम्झौतापत्र आफैँमा एउटा दस्तावेज हो लेखन इतिहासको । पारिश्रमिकलाई पुरस्कार भनेर उल्लेख गरिनुले पनि त्यतिबेला प्रकाशक राजा र लेखक रैती हुँदा रै’छन् भन्ने कुरा प्रस्ट पार्छ । 

कुरो मेरो दोस्रो स्कुलको हुँदै थियो । त्यहाँको पनि पहिलो दिनको एउटा घटना मलाई सम्झना छ । कक्षाकोठाभित्र नगएर म बाहिरै उभिएर कंकलाशब्दमा क्रन्दन मच्चाउँदै थिएँ र चरम ध्वनि प्रदूषणको कारक तत्त्व बनिरहेको थिएँ । सबै विद्यार्थी एक–एक गर्दै आ–आफ्नो कक्षाभित्र पसिसकेका थिए । एक जना ममतामयी अनुहार भएकी शिक्षिका मलाई फकाउन थाल्नुभयो । पछि थाहा भयो, उहाँको नाम क्षत्री मिस रहेछ र सारा विद्यार्थीहरू उहाँको नामै सुनेर पनि थर्थर हुँदारहेछन् । तर, मलाई उहाँ बडो स्नेहपूर्वक ललाइफकाइ गर्दै हुनुहुन्थ्यो । उहाँले मलाई एउटा चकलेट दिनुभयो, जुन मैले ग्रहण गरेँ । त्यसको स्वाद लौ त भन्ने हो भने अहिले पनि मेरो जिब्रोमा झुन्डिएको छ भने हुन्छ । चकलेट खाँदै रुन नमिल्ने भएकाले म चुप भएँ । तर, त्यो सकिनासाथ फेरि थप ऊर्जासाथ अझ उँचो सुर लगाएर रोदनराग सुरु गरेँ । अनि, क्षत्री मिस आफ्नो सही रूपमा आउनुभएछ । कुन बेला उहाँको दाहिने हातको थप्पड मेरो गालामा बजारियो भन्ने मलाई थाहा पनि भएन । अचानक मेरो रोदन बन्द भयो । कान टुँ... गरेर एकनासले कराइरहेको थियो । उहाँको आदेश शिरोधार्य गर्दै म लुरुलुरु उहाँको पछि लागेँ र छिरेँ केजी कक्षामा । 

अब मलाई बिस्तारै आदर्श विद्या मन्दिर मन पर्न थाल्यो । कुनै बेला राणाजीहरूले बनाएका सानोतिनो दरबार भाडामा लिएर हाम्रो स्कुल चलाइएको थियो । कुपन्डोलको उकालोमा भएको त्यो दरबारको नाम भैरव भवन थियो । त्यसको पछाडिपट्टिको भागमा एउटा बाक्लै जंगल थियो । हाम्रो स्कुलको ४४ नम्बरको एउटा अचम्मको आकारप्रकार भएको बस थियो । नाक लामो भएको त्यो बस त्यतिबेलातिर चल्तीमा रहेका लरी भन्ने ट्रकका पुर्खाहरूसँग बढी मिल्दोजुल्दो थियो । अहिले सम्झँदा लाग्छ, कुनै लरीमा नै बसको बडी हालेर त्यसलाई उत्तरआधुनिक रूप दिइएको पनि हो कि !

त्यसलाई चलाउँथे भाइदाइले । पाटनतिर घर भएका उनको नाम भाइकाजी वा भाइकृष्ण केही थियो । आदरपूर्वक दाइ उपमा पुच्छर लगाएपछि उनी सबैको भाइ र दाइ दुवै बनेका थिए । त्यो बस स्टार्ट गर्न एउटा लामो घुमाउरो डन्डी त्यसको नाकबाट घुसारेर फनफन घुमाउनुपथ्र्यो । कहिलेकाहीँ त्यो अटेरी बस जति डन्डी घुमाए पनि स्टार्ट हुन मान्दैनथ्यो । भाइदाइका सहायक रामदाइ बिचरा त्यस्तो बेलामा न्वारानदेखिको बल लगाएर उफ्रीउफ्री त्यो डन्डी घुमाउँथे । कहिलेकाहीँ उनले खलखली पसिना बगाइसक्दा पनि बसले आफ्नो मौनव्रत भंग गर्न मान्दैनथ्यो । ती सहायकलाई त्यसको एउटा भने फाइदा थियो । कुनै जिम नगई पनि उनका पाखुरीका मांशपेसी सप्रिएका थिए । 

केजीबाट एकैपटक दुई कक्षामा बढुवा भयो मेरो । एकपटक फेरि मेरा लागि सबै कुरा नयाँ भयो । किनभने, मेरा साथीहरू त एक कक्षामा थिए । त्यतिबेलाको एउटा घटना मलाई अहिले पनि सम्झना आउँछ । बीचमा खाजा खाने समयमा सबै अरू खेल्दै थिए । म भीडमा हराएको थिएँ र वाल्ल परिरहेको थिएँ । कोसँग बोलौँ, कोसँग खेलौँ ? केही विद्यार्थीहरू भकुन्डो खेल्दै थिए । 

मैले भनेँ, “म पनि खेल्छु नि !”
 
अमर नाम गरेका एक जनाले मलाई सोधे, “तँ क्याप्टेन होस् र ? उता जा !” 
अलि परबाट अमोददेव भट्टराई र राजीव पौड्याल दुई जना अँगालो मारेर आइरहेका थिए । एकले अर्कोलाई आफ्नो कट्टुको खल्तीमा भएको केही देखाउँदै थियो । उनीहरू हाँस्दै थिए । उनीहरू मेरो नजिक आएपछि मैले भनेँ, “म पनि हेर्छु नि ! के हो ?”
“केही हैन ।”

उनीहरू अर्कोतिर लागे । कालान्तरमा अमोद र राजीव दुवै मेरा अभिन्न मित्र भए । तर, त्यतिबेला दुई कक्षाका विद्यार्थीहरू त मभन्दा ठूला भए । म उनीहरूसँग खुल्न सक्दैनथेँ । उनीहरू पनि मलाई सजिलैसँग आफू बराबर गन्न चाहँदैन थिए । 

मैले आफूलाई उनीहरूसँग भिजाउन निकै नै मिहिने त गर्नुपर्‍यो । 
हामीलाई तीन कक्षामा पढाउने एक जना शिक्षिका हुनुहुन्थ्यो, साह्रै राम्री । उहाँको ओठमाथि एउटा कालो कोठी थियो । 

त्यो देखाएर हामीलाई भन्नुहुन्थ्यो, “यो कोठी पहिले मेरो गालामा थियो । आफैँ सर्दैसर्दै यहाँ आइपुग्या छ । ज्योतिषीहरूले भन्या, अब यो मेरो मुखभित्र जान्छ रे ! अनि त म रानी बन्छु रे !”

हामी मन्त्रमुग्ध हुन्थ्यौँ । वाह ! हाम्री मिस त रानी हुने रे ! हामीले कहिले त्यो कोठी उनको मुखभित्र जाला र उनी रानी होलिन् भनेर कुरेर बस्यौँ । दुई वर्षपछि उनले स्कुल छोड्दासम्म पनि न त्यो कोठी भित्र गयो, न उनी रानी नै भइन् । 

हाम्रो चार कक्षा सकिँदा नसकिँदै भैरव भवन बिक्री भयो । त्यो पुरानो भवन भत्काएर होटल हिमालयको निर्माण भयो । हाम्रो स्कुलले चाहिँ जाउलाखेलमा मानभवन भनिने राणाकालीन दरबार किन्यो । हामी बडो उत्साहित भयौँ । यो भवन त पहिलेको भन्दा ठूलो पनि थियो । दुई–तीनवटा त चोक नै थिए । लिच्चीको रूख थियो । ठूलठूला हल थिए । हामी उधुम रमायौँ । हामी मानभवनबाट बाहिर मूल सडकसम्म हिँडेर आउने बाटोमा एउटा अर्को घरको अजंगको पर्खाल थियो । अल्लारे उपद््रयाहा हामी सधैँ त्यसलाई लघुशंकाका लागि प्रयोग गथ्र्यौं । 

केटाहरू भन्थे, ‘हामीले स्कुल छोड्नुअघि यो पर्खाललाई ढलाएरै छाड्नुपर्छ ।’ आदर्श विद्या मन्दिरमा मेरो विद्यालय जीवन सकियो । तर, त्यो बलियो पर्खाल ढलेन । निकै पछिसम्म पनि त्यो बाटो हिँड्दा त्यो पर्खाल त्यति नै गर्वसाथ उभिरहेको नै देखिन्थ्यो, हामीलाई खिसी गरेझैँ । तर, ०७२ को भूकम्पले त्यसको त्यो गौरवलाई पनि चकनाचूर पारिदियो । 

प्रकाशित: जेष्ठ १२, २०७४