[स्मरण] लोकसेवामा दबाब

- डा गौरीशंकरलाल दास

विसं २०३५ को कुरा हो । भर्खरै लोकसेवा आयोगको सदस्य भएको थिएँ । धेरै कुरा बुझिसकेको थिइनँ । तर, निष्पक्ष र स्वतन्त्र संवैधानिक निकायका रूपमा रहेको यस संस्थाको नाम र इज्जत उच्च रहेको भने मलाई राम्रोसँग थाहा थियो । 

लोकसेवा आयोगले विभिन्न समयमा आवश्यक कर्मचारीका लागि विज्ञापन गथ्र्यो । छनोट प्रक्रियामा निष्पक्षता त्यस संस्थाको पुँजी थियो । तर, दरबारिया हस्तक्षेप र दरबारका नाममा त्यसका आसेपासेले दिने दबाब त्यहाँभित्र चर्को थियो । जुन कुरा म आफैँले पनि अनुभव गरेँ । दरबारिया दबाब र धम्की थेगिनसक्नु थियो । दरबारका एक यस्ता व्यक्ति, जसको नाम लिन चाहन्नँ, अति नै दबाब दिने स्वभावका थिए । दु:खद दरबार हत्याकाण्डमा परेर उनको निधन भइसकेको छ । उनी दबाब र हस्तक्षेप यतिसम्म गर्थे कि त्यसलाई थेग्न लोकसेवाको सदस्यसम्मलाई हम्मेहम्मे नै पथ्र्यो ।

राजा वीरेन्द्रको हवाला दिँदै उनी आफ्ना आसेपासे र पिछलग्गूलाई परीक्षामा पास गराउन, पास भएर काम गरिरहेकालाई बढुवा गर्न र उनका नजरमा रहेका मालदार अड्डामा सरुवा गराउन खुबै दबाब दिन्थे । मलाई मात्र होइन, लोकसेवा आयोगका हरेक पदाधिकारीलाई तिनले त्यसै गरी दबाब दिँदा रहेछन् । राजदरबारका सचिव त मानिसहरूको नाम–लिस्ट नै तयार पारेर ‘ यिनीहरूको नाम छुट्नै हुँदैन’ भनेर टिपाउँथे । त्यसो त आफ् नाहरूलाई पास गरिदिनुपर्‍यो भनेर दबाब दिनेमा दरबारिया मात्र थिएनन्, मन्त्री, सचिवहरू पनि हुन्थे, अझ गृहमन्त्रीहरू त विशेष नै ।

०३५ कै प्रसंग हो । पोखरा र धनकुटामा लोकसेवा आयोगकै पूर्वकर्मचारीले परीक्षामा पास गराउने जिम्मा लिएर रकम उठाइरहेको गोप्य जानकारी हामीलाई प्राप्त भयो । बुझ्दै जाँदा त्यो कुरा सत्य रहेछ । रकम उठाउने उनीहरूको काइदा अचम्मको थियो । उनीहरू परीक्षार्थीबाट चार–पाँच हजारका दरले रकम संकलन गर्दा रहेछन् । सर्त राख्दा रहेछन्, ‘पास भए मात्र रकम लिन्छौँ, नभए फिर्ता हुनेछ ।’ 

परीक्षार्थीमध्येबाटै पास हुने हुन् । तिनबाटै रकम संकलन गरेपछि जति पास हुन्छन्, तिनको रकम त सीधै उनीहरूको खल्तीमा । अनि, कसैले त्यसबारे कुरा उठाए वा विरोध गरे दरबारसम्म आफ्नो पहुँच रहेको बताउँदै धम्क्याउँदा पनि रहेछन् ।

त्यतिबेला लोकसेवा आयोगका अध्यक्ष थिए, कृष्णबम मल्ल । सदस्यका रूपमा पीएस लामा, सीबी सिंह, इन्जिनियर कुलरत्न तुलाधर र म थियौँ । लामो छानबिन र अध्ययनपश्चात् लोकसेवाका नाममा पैसा उठाइरहेका ती व्यक्ति पक्राउ परे । तिनलाई कारबाही भयो ।

राजाको हुकुम प्रमांगीमा कर्मचारी नियुक्ति, सरुवा र बढुवा गर्ने परम्पराले दरबार हाउगुजी बनेका बेला दरबारलाई देखाएर आफ्नो दुनो सोझ्याउने यिनीहरूजस्ता प्रशस्त थिए । तसर्थ, राजदरबारको हवाला दिँदै अयोग्य र अक्षम व्यक्तिलाई जसरी पनि पास गराउन दबाब दिने दरबारिया ती व्यक्ति र पैसा उठाउँदै हिँड्ने पोखरा र धनकुटाका लोकसेवा आयोगकै पूर्वकर्मचारीमा धेरै भिन्नता देख्दिनँ ।

भिन्नता छ त कति मात्र भने, पैसा उठाउँदै हिँड्ने तिनी कारबाहीको भागीदार बने । तर, हामीलाई दबाब दिने दरबारिया, मन्त्री, सचिव आदिलाई कारबाहीको कुरै उठाउन पनि कसले आँट गर्न सक्थो र ? 

प्रस्तुति : ईश्वरी ज्ञवाली

प्रकाशित: जेष्ठ १२, २०७४