परिष्कृत सरलता

  • सरलतासँगसँगै उपन्यासको अर्को विशेषता हो, यसका थोरै पात्रहरूबीचको जटिल सम्बन्ध ।

- ऋचा भट्टराई

नुन–तेल–मरमसला ठीक्क मिलेको खाना खाइसक्दा अचारको अन्तिम पित्कोमा लुकेको टिमुरले जिब्रो नै झनन् पारोस्, एक घन्टासम्म त्यही पिरो–टर्रो स्वादले रन्थन्याओस् । ठ्याक्कै त्यस्तै छ, कन्नडभाषी लेखक विवेक शानबागको लघु उपन्यास घचर घोचर (गुजुल्टो) । बेनामे ‘म’ पात्रको साधारण दिनचर्याबाट सुरु हुने यो कथाले पाठकलाई सर्लक्कै आफूभित्रै तानेर विभिन्न सम्बन्ध र घटना केलाउँदै अघि बढ्छ र अन्तिम पृष्ठमा पुग्दा मात्र पाठकलाई तिखो सुईले घोचेजस्तै झसंगै बनाइदिन्छ ।

उपन्यासमा शानबागले निम्न वर्गीय परिवारको समृद्धितर्फको यात्रा र त्यो अप्रत्याशित वैभवले आफूसँगै डोर्‍याएर ल्याउने लुप्त द्वेष, शंका र षड्यन्त्रलाई चित्तबुझ्दो तरिकाले प्रस्तुत गरेका छन् । नाम नखुलेको म पात्रले पाठकलाई आफ्नो सामान्य लाग्ने जीवनमा प्रवेश गर्ने अनुमति दिँदा पाठक रमाउँदै छिर्छन् तर कुन बेला रहस्यमयी जालोमा परिसक्छन्, पत्तै पाउँदैनन् । 

उपन्यासमा एउटा पुरानो कफीसपमा पाठकलाई कथा सुनाउने पात्रले वेटरसँग चिनापर्ची गराइदिन्छ र त्यहाँबाट पात्रलाई पछ्याउँदै हामी उसको सानदार घरसम्म पुग्छौँ । त्यहाँ उसका परिवारका सदस्य थपिन्छन्– बुबा, आमा, श्रीमती, दिदी र सबैभन्दा महत्त्वपूर्ण सदस्य काका । अहिलेको पारिवारिक सञ्जाल बुझाउने क्रममा म पात्रले पाठकलाई विगततर्फ लैजान्छ ।

हातमुख जोर्नै कठिन हुने उसको परिवारको दु:खजिलोमा हामीलाई पनि सहभागी गराउँछ । उसले अति सरल ढंगमा, कुनै भूमिका नबाँधी र मितव्ययी शब्दको प्रयोग गरेरै बाल्यकालका दिन उदांगो पार्न थाल्छ । उसले बाल्यकालको घरको वर्णन गर्दा कति जनालाई आफ्नै घरमा पुगेझैँ लाग्छ होला । विशेष गरी त्यो घर अनि त्यहाँ बस्ने सदस्यबीचको अन्योन्याश्रित सम्बन्धलाई केलाई केलाई पुस्तकले अघि सार्दा आफैँले देखे–भोगेको जीवनको सम्झना आउँछ । म पात्र आफ्नो आवासको वर्णन यसरी गर्छ, ‘सबै सँगै टाँसिएका साना घरहरू । मूल ढोका भित्रबाट खोलेर बाहिर सडकमा ठ्याक्क चार कदममा पुग्न सकिन्थ्यो ।’ उसको घरका कोठाहरू अझ मज्जाले वर्णन गरिएको छ, ‘हाम्रो घरमा चारवटा साना कोठा थिए, रेलका डिब्बाजस्ता लाग्ने, एकपछि अर्को । सबै ढोका खुला राखे घरको वारपार नै देखिन्थ्यो ।’

शानबागले धेरै शब्द नखर्चीकनै प्रत्येक व्यक्ति र उसका सबैभन्दा नजिकका सम्बन्धबीच लुकेको अन्तद्र्वन्द्व र शक्तिको हानथापलाई उसैगरी अघि सारेका छन् । विभिन्न वाद पछ्याउने वा लेखनीमा नवीन शैली उब्जाउने समसामयिक प्रयासभन्दा निकै भिन्न शानबागको सरल कलमले बीसौँ वर्षअघिका शालीन र जीवन्त कृति सम्झाउँछ । यही सरलताका कारण उनको लेखनीलाई धेरै समीक्षकले एन्टन चेखवसँग दाँजेका छन् । केही समीक्षकले भने उनको तुलना आरके नारायणसँग गरेका छन् । नारायणका मालगुडी डेज, द गाइड वा द डार्क रुमका सामान्य भारतीय पात्रहरूको दैनिक जीवनका स–साना उपलब्धि र चुनौतीको चित्रण मन पराउने पाठकलाई घचर घोचर प्रिय लाग्नेछ । अझ यी दैनिकीका मिहिन र गौण लाग्ने घटना र संवादले आफूभित्र बोक्ने विशाल अर्थ खोज्न थाल्ने हो भने कैयौँ दार्शनिक बहस र चिन्तनको खुराक नै भेटिन्छ । हामी सबैले व्यक्तिगत रूपमा आफन्तहरूबीच भोग्ने तर बाहिर खुलेर भन्न नसक्ने वा संस्कृति र सम्बन्धको खोल ओढाएर सामसुम पार्नुपर्ने शक्तिको चलखेल, सामाजिक बन्धन र अर्थिक खिचातानीलाई चलाखीपूर्ण ढंगले प्रस्ट्याउने लेखकको उपन्यासको अन्त्य भने रस्किन बन्ड वा रोआल्ड डालको झैँ अकल्पनीय छ ।

शानबागलाई यी लोकप्रिय लेखकसँग तुलना गरिरहनुपर्ने आवश्यकता त छैन । किनभने, उनले कन्नड र दक्षिण भारतीय साहित्यमा पहिचान बनाइसकेका छन् । पाँच कथासंग्रह, तीन उपन्यास र दुईवटा नाटक लेखिसकेका उनी अनुवादक र सम्पादक पनि हुन् । तर, उनको उपन्यास घचर घोचर अंग्रेजीमा अनुवादित भएपछि भने उनी अन्तरर् ाष्ट्रिय रूपमै चर्चित बनेका छन् । ‘ विशिष्ट भारतीय उपन्यास’को उपमा पाएको कृतिको सरलता नै यसको विशेषता भएको छ । सरस र मीठो अनुवादले कृति सीमित पाठक वर्गभन्दा निकै टाढाटाढासम्म फैलिन पाएको छ । थोरै शब्दमा धेरै अर्थ उत्पन्न गराइदिन सक्ने खुबी र कुनै पात्रलाई आँखैअघि उभ्याइदिन सक्ने शक्तिले यो छोटो उपन्यास खँदिलो बनेको छ ।

उपन्यासमा कताकति भेटिने विम्बहरू पनि निकै अर्थपूर्ण छन् । म पात्र र वेटरबीचका संवादका पत्र केलाउँदा केलाउँदै कति लुकेका अर्थको भेद खुल्छ भने उपन्यासमा कमिला अनि तिनको मृत्युलाई मानव जीवनसँग गरिएको तुलनाले ज्यानै सिरिंग बनाउँछ ।

सरलतासँगसँगै उपन्यासको अर्को विशेषता हो, यसका थोरै पात्रहरूबीचको जटिल सम्बन्ध । प्राय: आख्यानमा भेटिनेजस्ता स्थिर र स्थायी छैनन् यी सम्बन्ध, निकै चञ्चल र बदलिँदा छन् । पैसा, उमेर, प्रेम वा ऐश्वर्यकै भरमा सप्रिने र भत्किने यी ‘ग्रे’ सम्बन्ध हाम्रो जीवनका साह्रै नजिक छन् । र, सायद त्यसैले निकै घत लाग्ने पनि । त्यसैले पाना पल्टिँदै जाँदा उसैगरी बेरिँदै र खुस्किँदै जाने सम्बन्धले आफूभित्र सिंगो समाज र परिवेश नै प्रतिविम्बित गरेका छन् । आफ्नोपन र आफ्नै जीवन छ्याप्छ्याप्ती पाइने यो उपन्यासमै डुबेर घचर घोचर अर्थात् जेलिन कम्ता मजा आउँदैन !

घचर घोचर

लेखक    :    विवेक शानबाग

अनुवादक    :    श्रीनाथ पेरुर

प्रकाशक    :    हार्पर पेरेनियल

पृष्ठ    :    ११५

मूल्य    :    ६४० रुपियाँ

प्रकाशित: जेष्ठ १२, २०७४