अलमलको आयोजना

  • ठेकेदारहरूको आपसी विवादले राष्ट्रिय गौरवको अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ढिलाइ

- माधव ढुंगाना

भैरहवा ।। निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाले परामर्शदाता युसिन इन्जिनियरिङ कर्पोरेसन कोरियामार्फत ठेकेदार चिनियाँ कम्पनी नर्थवेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सन ग्रुपको मुख्य कार्यालयमा चेतावनीपत्र पठाएको ६ पटक भयो । सम्झौता अनुरूप तोकिएको समयमा ठेकेदार कम्पनीले निर्माण सम्पन्न गर्ने छाँट नदेखिएपछि परामर्शदाताले समयमै सम्पन्न गर्न ताकेता गर्दै पत्राचार गरेको हो । तर पनि ठेकेदारले काममा तीव्रता ल्याएको छैन । 


पछिल्लोपटक ठेकेदार आफैँले राखेको स्थानीय सह–ठेकेदार कम्पनी नर्थवेस्ट इन्फा नेपाल प्रालिसँग लेनदेनको विवाद भएपछि दुई महिनादेखि निर्माण कार्य ठप्प छ । आयोजना प्रमुख ओम शर्मा भन्छन्, “आयोजना निर्माणका लागि आर्थिकलगायतका विषयको उचित व्यवस्थापन गर्न ठेकेदार कम्पनी अक्षम देखिएको छ ।” 

आयोजनाको कार्यालयमा दिनहुँजसो कर्मचारी, विभिन्न निर्माण सामग्री उपलब्ध गराएर पनि भुक्तानी नपाएका स्थानीय व्यवसायीको लिखित तथा मौखिक उजुरी आइरहेका छन् । कामदारहरू ठेकेदार कम्पनीविरुद्ध आन्दोलनमा छन् । सह–ठेकेदारसँगको विवादपछि सम्पूर्ण व्यवस्थापन आफैँले गरेर निर्माण कार्यलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गर्दै आएको थियो मुख्य ठेकेदार कम्पनीले । तर पनि निर्माण कार्य अघि बढाउन नसक्नु र आवश्यक जनशक्ति, उपकरणलगायतका सामानको व्यवस्थापन गर्न नसक्नुले उक्त कम्पनीको ल्याकतमाथि प्रश्न उठेको छ । 

आयोजना स्थलमा गत ८ चैतमा सरोकारवालाबीच सम्पन्न बैठकले चिनियाँ ठेकेदार कम्पनी र स्थानीय सह–ठेकेदार दुवै पक्षले आयोजना स्थलमा गरेका निर्माण कार्यको प्राविधिक रूपमा नापजाँच गरी पाँच दिनभित्रमा सह–ठेकेदारले आफूले पाउनुपर्ने सबै हिसाबकिताब मुख्य ठेकेदार कम्पनीसमक्ष पेस गर्ने सहमति भएको थियो । र, हिसाब पेस भएको एक साताभित्र दुवै पक्षले लेनदेनको छिनोफानो लगाउनुपर्ने निर्णय भएको थियो । तर, त्यो निर्णयमै सीमित भयो, व्यवहारमा भएन । 

आयोजना सम्पन्न गर्नका लागि आवश्यक सबै कुराको व्यवस्थापन गरेर निर्माण कार्य सुरु गर्ने र आयोजनाबाट प्राप्त हुने रकमको ८० प्रतिशत उपलब्ध गराउने चिनियाँ ठेकेदार कम्पनीसँग सहमति भएको सह–ठेकेदार कम्पनीको दाबी छ । हालसम्म आयोजनामा लागेको खर्च माग गर्दा चिनियाँ ठेकेदारले भुक्तानी नदिएको सह–ठेकेदारको गुनासो छ । चिनियाँ ठेकेदारबाट ६० करोड रुपियाँ भुक्तानी पाउनुपर्ने दाबी उसको छ । तर, चिनियाँ ठेकेदार कम्पनीले आफ्नै ढंगले काम गर्ने भन्दै आफूलाई हटाएकाले हालसम्म भएको कामको भुक्तानी पाउनुपर्ने उसको भनाइ छ ।

त्यसैले सह–ठेकेदारले आफूले व्यवस्थापन गरेका मेसिन तथा उपकरणको प्रयोग गर्न दिएको छैन । तर, ठेकेदार कम्पनीले भने सह–ठेकेदारलाई आफूले रकम भुक्तानी दिन बाँकी नरहेको बताउँदै आएपछि विवाद बढेको छ । विवाद सुल्झाउन दुवै पक्षको स्वीकृतिमा पूर्वन्यायाधिवक्ता युवराज संग्रौलाको मध्यस्थतामा सरोकारवाला निकायबीच एक चरणको छलफल सकेर दोस्रो चरणको छलफल जारी छ । ज्ञातव्य रहोस्, सह–ठेकेदार कम्पनीको स्वामित्व नेकपा एमालेका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालका छोरा निर्भीक चित्रकार खनाल लगायतकामा छ । “सह–ठेकेदार कम्पनीसँग अलग भएपछि निर्माण कार्यलाई तीव्रता दिने प्रतिबद्धता आयोजना स्थलमा खटिएका ठेकेदार कम्पनीका प्रमुखको थियो,” आयोजना प्रमुख शर्मा भन्छन्, “तर पनि आयोजनाको काम अझै ठप्पै छ ।” 

सन् २०१७ मा सम्पन्न गर्ने लक्ष्य लिइएको यो आयोजनाको निर्माण अवधि भूकम्प, नाकाबन्दीलगायतका काबुबाहिरको परिस्थिति भन्दै ६ महिना पछि सारेर सन् २०१८ को जून १५ पुगेको छ ।

६ अर्ब २२ करोड रुपियाँमा ठेक्का लिएको चिनियाँ कम्पनीले अर्को महिनासम्म सन्तोषजनक रूपले काम अगाडि बढाउन नसकेमा ठेक्का तोड्ने प्रक्रियामा जान सकिने आयोजनाले बताएको छ । “हामी आउँदो महिनासम्मका लागि ठेकेदारको काम हेर्नेछौँ” आयोजना प्रमुख शर्मा भन्छन्, “यदि काम अगाडि बढाउन नसके ठेक्का नै तोड्ने प्रक्रियामा जान सक्छौँ ।” अर्को महिनासम्म ठेकेदार कम्पनीले आयोजनाको ४० प्रतिशत निर्माण कार्य सक्नुपर्ने लक्ष्य छ । जबकि, हालसम्म आयोजना करिब २५ प्रतिशत मात्रै सम्पन्न भएको छ । 

प्रकाशित: जेष्ठ ११, २०७४