[फरक मत] चुनाव चिन्ता

  • समाज, पर्यावरण र मानवीय जीवनको रक्षा र प्रगति गर्ने वैचारिक अठोटबिना ‘म अरूभन्दा राम्रो र सफा छु’ भन्ने प्रचार केवल ढोंग साबित हुन्छ ।

- उज्ज्वल प्रसाईं

स्थानीय तहको निर्वाचन सुरु भयो । पहिलो चरण सम्पन्न हुँदै गर्दा दोस्रो चरण र त्यसपछिका अरू चुनावसम्बन्धी छलफल सुरु भएका छन् । तर, छलफलमा चाहिएजति गम्भीरता र संवेदनशीलता छैन । जम्मा ३४ जिल्लामा भएको स्थानीय तहको निर्वाचनमा चार जनाको ज्यान जानु गम्भीर घटना हो, बेवास्ता गरिनुपर्ने होइन । जुन ढंगले हिंसात्मक गतिविधि भए र चुनाव जसरी धनाढ्य र नवधनाढ्यहरूको खेल मैदान बन्यो, त्यो चिन्ताजनक थियो । यसरी नै चुनावहरू अमर्यादित र हिंसात्मक बन्दै जाने हो भने यस्तो प्रक्रियाबाट आउने परिणामलाई जनादेश भन्न हिचकिचाउनुपर्ने हुन्छ । लोकतन्त्रको मेरुदण्ड मानिएको सिंगो प्रक्रिया नै धनकुबेर र बाहुबलीहरूको कब्जामा रहने हो भने चुनावप्रति सामान्य नागरिकको भरोसा पनि हराउँछ ।

राजनीतिक प्रक्रियाको वैचारिक, सैद्धान्तिक, र व्यावहारिक विमर्श कसैको प्राथमिकता नहुनु उदेकलाग्दो छ । पर्याप्त छलफल र व्यापक बनाइनुपर्ने विमर्शप्रतिको बेवास्ताले अनिष्टको संकेत गरेको छ । राजनीतिक दल, सञ्चारमाध्यम र नागरिक समाजमा यस्ता विमर्शहरूप्रति छाएको उदासीनता महँगो साबित हुन सक्छ । 

पुरानाको स्खलन 

नेपालका राजनीतिक दलमा विचार र सिद्धान्त महत्त्वको विषय रहेन । वैचारिक सवालमा चिन्तन गर्ने केन्द्रीय तहका नेतादेखि सामान्य कार्यकर्ता सबै किनारामा धकेलिएका छन् । हिजो विचार र सिद्धान्तको सुझबुझले नै भिन्न छवि बनाएका झरझराउँदा नेता धेरैजसो आफ्ना पार्टी अध्यक्षका लफ्फाजीको रक्षार्थ खटिएका अबुझ सिपाहीजस्ता देखिन थालेका छन् । जो यसो गर्नबाट आफूलाई जोगाएर हिँड्न खोज्दै छन्, दलभित्र उनीहरूको सान्दर्भिकतामाथि नै प्रश्न उठाउन थालिएको छ । पार्टीइतर समूहसँग उनीहरूको खासै घनीभूत अन्तक्र्रिया हुँदैन । त्यसो गर्न नचाहने एकथरीमा शुद्धतावादप्रतिको अबोधगम्य लगाव छ । तीमध्ये केही भने आफूले भन्दा बढी जानेका अरू मानिस होलान् भनेर कल्पना गर्न सक्दैनन् । आफूभन्दा कम विद्वान्सँग संगत गर्न जरुरी छैन भन्ने उनीहरूमा गहिरो भ्रम र त्यसैबाट नि:सृत जड घमण्ड पनि छ । केहीले प्रयत्न नगरेका होइनन् तर त्यस्तो अन्तक्र्रिया र निरन्तर विमर्शले पार्टीभित्र उनीहरूको अवस्था अझ कमजोर बनाउने भय उत्पन्न भएको छ । 

खास दार्शनिक र वैचारिक जगमा खडा भएका नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रमा विचारलाई रूढ र सतही बन्न नदिन यसलाई अद्यावधिक गर्ने कुनै छाँटकाट छैन । महाधिवेशन नामको खर्चिलो कर्मकाण्डको खासै ठूलो वैचारिक अर्थ छैन । किनभने, दलको वैचारिक धरातल, त्यस अनुसारको नीति, कार्यक्रम, त्यसै अनुसारको संगठन र तिनै आधारभूत विचारबाट निर्देशित व्यवहारका विषयमा खासै छलफल हुँदैन । छलफल वा प्रशिक्षणका नाममा जे हुन्छन्, ती औपचारिक कर्मकाण्ड पूरा गर्न मात्रै गरिन्छन् । त्यस्ता क्रियाकलापबाट वैचारिक चिन्तन गर्न सक्ने र नेतृत्वलाई उचित समयमा उचित प्रश्न गर्न सक्ने कार्यकर्ताहरूको जन्म हुँदैन । त्यसैले बौद्धिक भनिएकाहरूसमेत पार्टी मालिकका सिपाहीमा दर्ज भएका हुन् । 
खास गरी कम्युनिस्ट भनेर दाबी गरिएका राजनीतिक दलमा पुराना र निष्ठावान् भनिएका नेता–कार्यकर्ता प्राय: सिद्धान्तको रूढतालाई सर्वोपरि ठानेर बसेका छन् । उनीहरूमा नेतृत्वप्रति क्षोभ छ, नेता बिग्रेकामा चिन्ता छ । तर, न उनीहरूले बदलिँदो समय अनुरूप आफूलाई अद्यावधिक गरेका छन्, न नेतृत्वलाई प्रश्न गर्ने क्षमताको विकास नै गरेका छन् । बरू, नेताको श्रीवृद्धि देखेर भित्रभित्रै लोभ र आरिस बढाएर बसेका छन् । नयाँ भर्ना भएका जति छन्, तिनमा भुइँफुट्टाहरूको बाहुल्य छ । कार्ल माक्र्स र समाजवादजस्ता शब्द उच्चारण गरिरहनुपर्ने एकथरी भुइँफुट्टा छन् भने अर्काथरी दलाली गरेर खान पल्केकाहरू छन् । बिलकुल व्यक्तिगत स्वार्थ पूर्ति गर्ने मनसुवाले शक्तिको नजिक रहन आइपुगेकाहरू नै धेरैजसो दलका नयाँ कार्यकर्ताका रूपमा भर्ती भएका छन् । ती वैचारिकीले खारिन नपाएकामध्येको उल्लेखनीय संख्या भने आपराधिक मनोवृत्तिका हुल्लडबाजहरू हुन् । 

नेपाली कांग्रेसलाई मूलत: ‘मास–बेस्ड’ पार्टी भनिन्छ । यो कम्युनिस्टहरू जस्तो ‘क्याडर’ बनाएर हाइकमान्डबाट आदेश जारी गर्ने पार्टी होइन । तर, व्यवहारमा यो कुनै कम्युनिस्ट पार्टीभन्दा कम केन्द्रीकृत छैन । पार्टीको केन्द्रीय सत्ता मुठ्ठीभर मान्छेको हातमा छ । त्यही शक्ति र सत्ताको दोहन गर्न देशभरि कार्यकर्ताहरूको झुन्ड बनाइएको छ । माथिदेखि तलसम्मका समितिहरू सबै ‘पेट्रोन–क्लाइन्ट’ सम्बन्धको जालो विस्तार गर्ने एजेन्सीहरू नै हुन् । यहाँ प्राधिकार र जनवादी केन्द्रीयताजस्ता शब्द वर्जित छन् तर व्यवहारमा स्थानीय तहको उम्मेदवार छान्नेदेखि गाउँ तहका नेता बनाउने काम सबै हाइकमान्डबाटै हुन्छ । विचार, सिद्धान्तका नाममा बीपी कोइरालाको नामको मौसमी जपनाबाहेक अरू केही गर्दैनन् । समय–समयमा बौद्धिक नेता प्रदीप गिरीको भाषण सुन्ने धैर्य देखाए भने त्यही नै महान् वैचारिक कर्म मानिन्छ । त्यसैले कांग्रेस पनि कुकृत्यमा लिप्त अनेक गिरोहहरूको महासंघजस्तो मात्र बनेको छ । 

कम्युनिस्ट नामधारी पार्टी र उदार लोकतान्त्रिक भनिएको कांग्रेसको यस्तो स्खलनको परिणाम मूल्यको विद्रुप क्षयीकरण हो । चुनावजस्ता लोकतान्त्रिक प्रक्रियाले दिन–प्रतिदिन आफ्नो पवित्रता र मूल्य गुमाउनुको कारण पनि त्यही हो । 

नयाँहरूको धरातल 
मुख्य ठूला दलको वैचारिक स्खलनका कारण नयाँ राजनीतिक दलहरूको जन्म भएको हो । तर, नयाँ राजनीतिक दल गठन भइरहेका बेला गरिएका विमर्शहरूमा पार्टीको बलियो वैचारिक जग बनाउने सवाल प्राथमिकतामा परेन । बरू, विचार र सिद्धान्त हलुका टिप्पणीका विषय बने । धेरैजसोले यी सबै केही पनि चाहिँदैनन् भन्ने अर्थहीन फूर्तिलाई नै आफ्नो पहिलो राजनीतिक ‘स्टन्ट’ बनाए । तिनले ठूलो स्वरमा हामी कुनै ‘वाद’का कैदी होइनौँ भनेर गरेको हल्लामा सामाजिक संरचना र आर्थिक व्यवस्था बदल्ने आदर्शप्रतिको 
अविश्वास झल्किन्थ्यो । 

पुराना राजनीतिक पार्टीहरूले अनेकन् ‘वाद’का ठूला गफ गरे तर काम गरेनन् भन्ने उनीहरूले तर्क गरे । साथै, मौजुद नेतृत्वमा कुनै ‘भिजन’ नभएको उनीहरूले दोष लगाए । तर, पुरानाप्रतिको त्यो अविश्वास, राजनीतिक दर्शनप्रतिको त्यो उदासीनता र दूरदर्शीता नभएको आरोप आफैँमा भने गहिरो सुझबुझसाथ आएको थिएन । त्यसमा नयाँ गर्ने अभिलाषा त थियो र त्यसलाई भर दिने कुनै बौद्धिक जग थिएन । कतिपयको नियत सफा नै होला तर राजनीतिको मियो सफा नियत होइन, वैचारिक प्रतिबद्धता हो ।

वैश्विक परिस्थितिको उचित मूल्यांकन, नेपाली समाज बदलिँदै हिँडेको बाटोको सही विश्लेषण, सामाजिक संरचना र आर्थिक व्यवस्थाका दोषहरूको ठहर, यी सबै चिन्तनका विषयप्रति उनीहरूको खासै रुचि देखिँदैन । नेपाली समाजलाई ध्रुवीकृत गरिरहेका मुद्दाहरूमा उनीहरूको स्पष्ट अडान पनि गोचर हुँदैन । पुराना राजनीतिक दलले अहिलेसम्म नेपाली समाज बदल्ने उपक्रममा जे जति योगदान गरे, ती सबैमा वैचारिक र सैद्धान्तिक अध्ययन र विमर्शको योगदान छ भन्ने उनीहरूले हेक्का राख्न चाहेनन् । संसारभर चलेका सामाजिक र राजनीतिक आन्दोलनबाट ती दलका नेतृत्वले शिक्षा र नैतिक बल प्राप्त गरेका थिए भन्ने उनीहरूले बुझेको देखिँदैन । विचार र सिद्धान्तको महत्त्वलाई नजरअन्दाज गर्दा उनीहरूले बीपी कोइराला, पुष्पलाल, सीके प्रसाई र मदन भण्डारीहरूको अवमूल्यन र असम्मान भइरहेको ख्याल गरेनन् । बरू पुराना दलका नेताले नै वैचारिक धरातल गुमाएर लगाएको नवउदारवादी विकासे रटानको सिकार बने । आखिर उनीहरू पनि पुरानाले सिर्जना गरेको पासोका नयाँ कैदी बने । 

पुराना भनिएका दलहरूको स्खलित विचारका कारण भएको होइन, विचारहीनताका कारण भएको हो । कार्ल माक्र्स वा बीपीका कारण उनीहरू भुत्ते भएका होइनन् । विचारले भुइँफुट्टापन सिर्जना गर्दैन, बरू आलोचनात्मक संस्कारको माग गर्छ । विचार वा सिद्धान्त भन्नासाथ यी नयाँ उदाउन खोजेका सहरिया नेताहरूलाई कि राजनीतिक ‘ जार्गन’ सम्झना हुन्छ, कि आउँछ स्टालिनको सम्झना । विचार न जार्गन हो, न स्टालिनको तर्साउने प्रतिच्छाया । विचारहीन हुँदै यान्त्रिक र हिंस्रक बन्न थालेपछि स्टालिनको पतन भएको हो । लेनिनवाद वा माओवादको नक्कलमा समस्या हुन सक्छ तर यी राजनीतिक दर्शन आफैँमा नेपाली राजनीतिक पार्टीहरूको अहिलेको दुरावस्थाका दोषी होइनन् ।

सैद्धान्तिक विमर्श नभई समाज र जीवनलाई बुझ्ने र तिनको प्रगतिका लागि काम गर्ने कुनै गोरेटो फेला पर्दैन । बतासे कल्पना, सतही भाषणबाजी, आफू अनुकूल निर्माण गरिएका तथ्यका फेहरिस्त र बजारु विज्ञापनको आडमा केही दिनको राम–रमाइलो हुन्छ, यथास्थिति बदल्न सकिँदैन । बदल्ने उत्साह र अठोटबिनाको राजनीतिको उपादेयता त हुँदैन नै, त्यो आफैँमा प्रतिगमनतर्फको यात्रा पनि हुन्छ ।

नत्र, ढोंग मात्र 
चुनावबाट सुरु भएको यो चर्चा, नयाँ दलहरूको कमजोर वैचारिक धरातलमा पुग्यो । कारण, चुनावजस्तो लोकतान्त्रिक प्रक्रियाको मूल्य र पवित्रता जोगाउने काम नगर्ने हो भने नयाँले नयाँ हुनुको महत्त्व गुमाउँछन् । तर, त्यसो गर्नका लागि वैचारिक र सैद्धान्तिक जग बलियो बनाउन जरुरी छ । 

यद्यपि, यो चुनावको मात्रै सवाल होइन । वर्तमान दुनियाँले भोगिरहेका अनेकन् संकट र हाम्रा अघिल्तिर भएका सयौँ चुनौतीको सामना गर्न त्यस्तो वैचारिक रुझान आवश्यक छ भन्न खोजिएको हो । समाज, पर्यावरण र मानवीय जीवनको रक्षा र प्रगति गर्ने वैचारिक अठोटबिना ‘म अरूभन्दा राम्रो र सफा छु’ भन्ने प्रचार केवल ढोंग साबित हुन्छ । 

प्रकाशित: जेष्ठ ९, २०७४