अब्बल जिदान

  • प्रशिक्षकका रूपमा पनि जिनेदिन जिदान सार्वकालिक महान्

- ज्ञानेन्द्र आचार्य

सन् २००२ मा च्याम्पियन्स लिग जित्न फाइनलमा जिदानले हानेको भली निर्णायक थियो । त्यो गोल यति सुन्दर थियो कि अझैसम्म त्यसलाई च्याम्पियन्स लिगको फाइनलमा भएका उत्कृष्ट गोलमध्यको एक भनेर चिनिन्छ । उनकै गोलबाट रियल म्याड्रिडले दसौँपटक च्याम्पियन्स लिग जितेको थियो ।

२०१४ मा रियलले एघारौँपटक च्याम्पियन्स लिग जित्दा पनि जिदान रियलमै थिए । त्यसबेला उनी मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीका सहायक थिए । गत वर्ष १२औँ पटक जित्दा उनी मुख्य प्रशिक्षक भइसकेका थिए । र, अहिले रियल १३औँ पटक च्याम्पियन बन्ने तरखरमा छ । आउँदो २२ जेठमा रियलले फाइनलमा युभेन्ट्सको सामना गर्दै छ । खेलाडी हुँदा जिदान रियल आउनुअघि युभेन्ट्सबाटै खेल्थे । 

२००६ मा खेल जीवनबाटै संन्यास लिए पनि जिदान फुटबलभन्दा टाढा रहेको रियलले हेर्न चाहँदैनथ्यो । त्यसैले उनलाई २००९ मा रियलले अध्यक्ष फ्लोरेन्टिनो पेरेजको सल्लाहकार बनायो । खेलाडी हुँदा करिब ६ वर्ष बिताएको क्लबसँग पुन आबद्ध हुन पाउनु जिदानका लागि पनि खुसीकै कुरा थियो । त्यसको एक वर्षपछि उनलाई रियल फुटबल टिमकै विशेष सल्लाहकार बनाइयो । त्यो बेला रियलका प्रशिक्षक जोसे माउरिन्हो थिए । ड्रेसिङ रुममा जिदान जस्तो हस्तीलाई भेट्दा खेलाडीलाई पनि प्रेरणा मिल्ने भएका कारण माउरिन्होले जिदानलाई टिमको विशेष सल्लाहकार बनाउन आग्रह गरेका थिए । 

माउरिन्होले खेलाडीलाई प्रेरित गर्नका लागि जिदानलाई विशेष सल्लाहकार बनाउन आग्रह गरेका भए पनि क्लबका अध्यक्ष पेरेजको सोच अर्कै थियो । उनी एक दिन जिदानलाई रियलको प्रशिक्षकको भूमिकामै देख्न चाहन्थे । किनभने, त्यो बेला रियलको प्रतिस्पर्धी क्लब बार्सिलोनाको टिम उसको एक पूर्वखेलाडी पेप ग्वार्डीओलाले हाँकिरहेका थिए । र, ग्वार्डीओलाको बार्सिलोनाले एकपछि अर्को सफलता हात पार्दै थियो । फ्लोरेन्टिनो पेरेज भविष्यमा रियललाई आफ्नै पूर्वखेलाडीले सम्हालेको हेर्न चाहन्थे । र, यसका लागि जिदान नै एक मात्र विकल्प थिए । किनभने, खेलाडी, व्यवस्थापन वा प्रशंसक, जिदानलाई नरुचाउने कोही थिएन । 

जिदान शान्त स्वभाव भएका व्यक्तित्वका रूपमा चिनिन्छन् । भलै, उनले २००६ को विश्वकप फाइनलमा इटालीका मार्को माटाराजीलाई टाउकोले छातीमा हानेका थिए । यसबाहेक जिदान रिसाएको कसैले कहिल्यै देखेका थिएनन् । प्राय: उनी आफ्नै धुनमा हुन्छन् । २०–२२ को हुँदा जिदानको प्रशिक्षक रहेका पिरोट लबाट पनि यसै भन्छन् । उनका अनुसार जिदान जुनसुकै निर्णय लिनका लागि पनि दसपटक सोच्छन् । र, आफैँ विश्वस्त नभएसम्म उनी कुनै निर्णय गर्दैनन् । उनको यही स्वभावका कारण होला, उनले प्रशिक्षक बन्ने इच्छा पनि २०१२ मा मात्रै व्यक्त गरे । 

उनलाई प्रशिक्षकका रूपमा तयार पार्न रियलले कार्लो एन्सेलोटीसँग सहायक प्रशिक्षक भएर काम गर्ने मौका दियो । लगत्तै अर्को सिजन रियलकै जुनियर टिममा मुख्य प्रशिक्षक भए । जुनियर टिम सम्हाल्दा जिदान ‘मास्टरमाइन्ड’ प्रशिक्षक बन्लान् बनेर कसैले सोचेका थिएनन् । किनभने, उनको टिमले एकरूपको खेल कहिल्यै खेलेन । त्यसैले गत वर्ष सिनियर टिमको प्रशिक्षक नियुक्त हुँदा रियलले ठूलै चमत्कार गर्ला भनेर आश पनि कमैले गरेका होलान् ।

जस्तोसुकै राम्रो प्रशिक्षक भए पनि रियल म्याड्रिडमा लामो समय टिक्न गाह्रै हुन्छ । किनभने, रियल ठूलो क्लब हो र यसका अध्यक्षले रियललाई सधैँ सफल क्लबका रूपमा उभ्याउन चाहन्छन् । यहाँ प्रशिक्षकले तुरुन्तै राम्रो प्रभाव देखाउन सक्नुपर्छ । नत्र क्लबले चाँडै उसको विकल्प खोज्न थाल्छ । यस्तो स्थितिमा जिदानलाई काम गर्न गाह्रो हुने पक्का थियो । तर, निकै विचार गरेर लिएको निर्णयप्रति उनलाई पूर्ण विश्वास थियो । उनले सम्हालेपछि रियल यो सिजन लालिगा र च्याम्पियन्स लिग दुवैको उपाधि नजिक छ । 

जिदानको नेतृत्वमा रियलको खेल आकर्षक नहोला । तर, एकरूपको पक्कै छ । जुन उनले पहिला सम्हालेको जुनियर टिममा थिएन । जिदानको एउटै मान्यता छ, राम्रो खेलाडीलाई राम्रै मौका दिनुपर्छ तर को राम्रो र नराम्रो नाम होइन, प्रदर्शनले छुट्याउनुपर्छ । नाम चलेका खेलाडीलाई महँगोमा भित्र्याउने रियलको परम्परा जिदानले नै तोडे । उनले अर्को नयाँ खेलाडी ल्याउनुभन्दा सम्भावना बोकेका जुनियर खेलाडीलाई मौका दिए । 

अहिले रियल म्याड्रिडको कुनै एक निश्चित सुरुआती ११ को टिम छैन । किनभने, बेन्जेमा, बेल, मोड्रिचजस्ता मुख्य खेलाडी बेलाबखत चोटका कारण केही समय खेल्न सकेनन् । रोनाल्डो पनि पहिलाजस्तो यसपटक उति प्रभावकारी देखिएका छैनन् । तर, नतिजामा भने यसले खासै असर पारेको छैन । जिदानबाट रियलले पाएको मुख्य उपलब्धि यही हो । 

रियलले यसपालि पोजेसन गेम खेलिराखेको छ । अघिल्ला सिजनहरूमा जस्तै काउन्टर अट्याकलाई बढी जोड दिएको छैन । बिस्तारै मौका सिर्जना गर्नेतर्फ ध्यान दिएको देखिन्छ । बरू यसका लागि मैदानको हरेक भागलाई राम्रोसँग प्रयोग गरिरहेको छ । विपक्षी झुक्याउन रणनीति अनुसार फरक फर्मेसनमा खेल्छ । रियलले पछिल्ला ६३ खेलमा गोल गरेको छ । युरोपियन क्लबका लागि यो पनि एउटा रेकर्ड नै हो । 

अप्ठ्यारो परेको खेलमा रियललाई यो सिजनमा कप्तान सर्जियो रामोसले पनि बचाएका छन् । डिफेन्डरको भूमिका खेल्ने रामोसले यो सिजनमा दस गोल गरेका छन् । त्यसमध्ये पनि अधिकांश खेलको अन्तिम समयमा, जतिबेला रियल म्याड्रिडले हार्ने निश्चितजस्तै देखिन्छ । जिदानको प्रशिक्षणमा उदाएका अर्का खेलाडी हुन्– कासामीरो । डिफेन्सिभ मिडफिल्डमा उनको भूमिका जबर्जस्त छ । उनकै कारण अन्य मिडफिल्डर मोड्रिच र टोनी क्रुस अझै आक्रामक भएर खेल्न स्वतन्त्र भएका हुन् । अन्य युवा खेलाडीहरू लुकास भाजक्वेज, मोराटा र मार्कोस एसेन्सियोले पनि आफ्नो भूमिका निभाएकै छन् । 

खेलाडी हुँदा जिदान जति भद्र थिए, प्रशिक्षक हुँदा पनि उस्तै छन् । त्यो बेला जिदानको मास्टर क्लासको चर्चा थियो । अघिल्लो वर्ष उनी रियलका लागि खेलाडी र प्रशिक्षक दुवैका रूपमा च्याम्पियन्स लिग जित्ने दोस्रो व्यक्ति बनेका जिदान यसैले पनि अब्बल प्रशिक्षकका रूपमा चिनिँदै छन् । 

प्रकाशित: जेष्ठ ८, २०७४