भूपी र रिमाल ‘आउट’

  • स्नातकसम्म योग्य, स्नातकोत्तरमा अयोग्य

- राजकुमार बानियाँ

आधारभूत, माध्यमिक तथा विश्वविद्यालय तहका मौजुदा पाठ्यक्रममा सामयिक सुधारका लागि नेपाली लेखक संघले सम्बन्धित निकायमा ज्ञापनपत्र दिएको महिनौँ भइसक्यो । शिक्षामन्त्री, पाठ्यक्रम विकास केन्द्रका प्रमुख, त्रिभुवन विश्वविद्यालयको मानविकी तथा समाजशास्त्र संकायको डिनले त्यसमा मौखिक सहमति पनि जनाए तर ती निकायको धारणा र विस्तृत कार्ययोजना अझै बनेको छैन ।

“जनआन्दोलनको भावना र नयाँ संविधानको मूल मर्मलाई ती पाठ्यक्रमले आत्मसात् गर्न नसकेको निष्कर्षमा पुगेर हामीले हातैमा ज्ञापनपत्र बुझाएका हौँ,” संघका अध्यक्ष एवं प्राज्ञ श्रवण मुकारुङ भन्छन्, “६ महिना पर्खिसक्यौँ । अब चुनाव सकिनासाथ हामी आन्दोलनमा जान्छौँ ।”

पाठ्यक्रम कति पुरानो र असान्दर्भिक छ भन्ने थाहा पाउन त्रिभुवन विश्वविद्यालयको केन्द्रीय नेपाली विभागको स्नातकोत्तर तहको आधुनिक नेपाली कविताका पाठ हेरे हुन्छ । नेपाली कविता भाग–४ को पहिलो संस्करण (०४५) मा अहिलेसम्म कुनै सुधार या परिमार्जन आवश्यक ठानिएको छैन । हुन त आधुनिक कविता छ, आधुनिक कविताचाहिँ नाम मात्रैका छन् । आधुनिकता भनेको के हो भन्नेमै चुकेको छ पुस्तक । आधुनिकताको प्रारम्भ कसरी भयो भन्नेसमेत उत्तर छैन । 

आधुनिकताको सबैभन्दा महत्त्वपूर्ण अभिलक्षण वैज्ञानिक दृष्टि हो । लेखनाथ पौड्याललाई ‘प्रथम आधुनिक कवि’ भनिएको छ । तर, उनको चिन्तन र दृष्टिकोण आधुनिक हो त ? “निश्चय पनि लेखनाथ पूर्वीय हिन्दु धर्मका मूल्य र मान्यता पछ्याएर कविता लेख्ने माध्यमिककालीन महत्त्वपूर्ण कवि हुन्,” त्रिचन्द्र क्याम्पसमा १५ वर्षदेखि कविता र सिर्जनात्मक लेखन पढाइरहेका उपप्राध्यापक विप्लव ढकाल भन्छन्, “लेखनाथलाई जबर्जस्ती आधुनिक बनाउनुभन्दा पनि माध्यमिककालीन कवि भन्नु साँचो सम्मान हो ।”

नेपाली कविता भाग–४ मा ६ जना कवि थिए सुरुमा । लेखनाथ पौड्याल, बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा, माधवप्रसाद घिमिरे, मोहन कोइराला र वैरागी काइँला । धेरै वर्षपछि थपिए, ईश्वर वल्लभ । तर, पुस्तकमा वल्लभका कविता अहिलेसम्म समेटिन सकेको छैन । अहिले लेखनाथको ‘पिँजराको सुगा’, समको ‘स्वर्ग र देउता’, देवकोटाको ‘शाहजहाँको इच्छा’, ‘हुरीको गीत’, घिमिरेको ‘दुलही हिमाल काञ्चनजंघा’ र ‘परन्तु एउटै मूर्तिमा विराट्’, कोइरालाको ‘फर्सीको जरा’, वैरागी काइँलाको ‘पर्वत’ र वल्लभको ‘बाँकी अर्चना’ पढाइ हुन्छ । 

आधुनिक चेतनासम्पन्न कविहरूलाई पाखा लगाएर परम्परागत ढाँचाका कविता प्राथमिकतासाथ पठनपाठन गराइँदै आएको छ । प्राचीन संस्कृत साहित्यशास्त्र आफैँमा महान् र गम्भीर होला तर आधुनिक कविताका नाममा पूर्वीय संस्कृत सिद्धान्तको सेरोफेरोमा छमछमी नचाउनु न्यायोचित होइन । आजका कविता कस्तो शैलीमा लेखिएका छन् ? समकालीन कवि कोको हुन् ? आजको काव्यिक चेतना के हो ? आफू बाँचेको समयको आवाजसँग पाठ्यक्रम निर्माता र प्राध्यापक लगभग बेखबर छन् । 

कतिसम्म भने राजनीतिक चेतनासहित कविताको सामाजिकीकरण गरेका कवि गोपालप्रसाद रिमाल र भूपी शेरचन नै आधुनिक कवितामा समेटिएका छैनन् । के रिमाल र भूपी आधुनिक कवि होइनन् ? के उनीहरूका कविताले आधुनिकताको मानक छोएका छैनन् ? “नेपाली साहित्यमा एमए गरेको विद्यार्थीले समकालीन कविमा लक्ष्मीप्रसाद देवकोटा भन्ने स्थिति छ । उनीहरू स्थापित कविहरूलाई चिन्दैनन्,” मुकारुङको प्रश्न छ, “भूपी र रिमाललाई नै नचिनीकन तहगत र विधागत उद्देश्य परिपूर्ति होला त ?”

संख्यात्मक रूपमा कम लेखे पनि रिमाल र भूपीका कविता कविताका स्कुल भइसकेका छन् । उनीहरूका काव्यिक शैली पछ्याउने सयौँ कवि छन् । उदेकलाग्दो कुरा त स्कुलदेखि स्नातकसम्म उनीहरूका कविता पठनपाठन हुन्छ । तर, स्नातकोत्तर तहमा तिनलाई अछूत ठानिएको छ ।

त्यसमा रिमाल र भूपीप्रति ठ्याक्कै पूर्वाग्रह त नहोला तर परिवर्तनलाई आत्मसात् नगरेको स्थिति भने पक्कै हो । नेपाली कविता भाग–४ का सम्पादकत्रयमध्येका एक वासुदेव त्रिपाठी भूपी र रिमालका कविता एकदमै सरल भएकाले या स्कुलदेखि स्नातकसम्म पर्याप्त समेटिएकाले एमएमा नपरेको जिकिर गर्छन् । खासमा त्रिपाठीका रुचिकर र प्रिय कवि नै पुस्तकमा परेका छन् ।

सरल भएकाले नै भूपी र रिमाल पाठ्यक्रमबाट ‘आउट’ भएको मान्न विप्लव तयार देखिँदैनन् । “भूपी–रिमालका कविता सरल भए पनि युगले स्वीकार गरेको छ । समय र समाजसँग ठीक ढंगले संवाद गरेका कविता नै कालजयी हुन्छन्,” उनी भन्छन्, “व्यक्तिगत कुण्ठा पोखिएका, जटिल र क्लिष्ट कविता माथिल्लो तहमा राख्नु उचित हुन्न । कविता पढ्दा कसैले पनि शब्दकोश पल्टाउँदैन ।” 

पुरानो पाठ्यक्रमले निम्त्याएको साहित्यिक डिप्रेसन कस्तो छ भने त्रिविको केन्द्रीय नेपाली विभाग र अन्यान्य कलेजमा एमए पढ्ने विद्यार्थी औँलामा गन्न पनि पुग्दैनन् । त्रिवि नेपाली केन्द्रीय विभागमा यस वर्ष जम्मा १० जनाले मात्र आवेदन दिए । उपत्यकाभरि नेपालीका ५० जना पनि विद्यार्थी छैनन् । “समाजको उन्नति र सभ्यताको सूचकांक भनेको साहित्य र कला हो,” प्राध्यापक राम लोहनी भन्छन्, “त्यसमा विद्यार्थीको चासो किन घट्दै गएको छ, सोचनीय छ ।”

पुराना कवितामा अभ्यस्त शिक्षक–विद्यार्थी नयाँ कवितासँग तर्सिने स्थिति छ । उनीहरूलाई आजका कविको नाम थाहा छैन, कविता पढ्न त परै जाओस् । “नयाँ सपना दिन र जीवनको बाटो खोज्न सिकाउने खालको शिक्षा दिन त्रिवि चुकेकै हो । भूपी र रिमाललाई छुटाएको नेपाली साहित्यको विशेषज्ञ कस्तो होला ? नेपाली कविताको मूलबाटो नै भुलेर हामी कहाँ पुगौँला ?” विप्लव भन्छन्, “सात जना कविमा भूपी र रिमाल थप्दा के बिग्रन्छ ?”

स्नातकमा पढेकाले स्नातकोत्तरमा रिमाल र भूपी समेटिएनन् भन्ने आधार छैन । एक त स्नातकोत्तर कक्षामा स्नातकबाट भन्दा पनि भारतीय कलेजमा पढेका, संस्कृत पृष्ठभूमिका अनि नेपाली भाषा सिकेर आउने विदेशी धेरै रहेको एक प्राध्यापकको अनुभव छ । “भूपीको नाम सुनेर छक्क पर्ने विद्यार्थी पनि हुन्छन्,” तिनी व्यंग्य गर्छन्, “भूपी र रिमाल पाठ्यक्रममा मेरो राख्नैपर्छ भनेर आउँदैनन् क्यारे !”

अहिले स्कुल–कलेजदेखि विश्वविद्यालयसम्म कसका रचना पार्ने भन्ने होडबाजी छ । पाठ्यपुस्तक बनाउनेले आफ्नै रचना हाल्न लाज मान्दैनन् । माओवादी कोटामा त्रिभुवन विश्वविद्यालयको रेक्टर बनेकी सुधा त्रिपाठीले ८ देखि १२ कक्षासम्म आफ्नै रचना राखेकी छन् । ‘तिम्रै राख तर स्तरीय राख’ भनेर कसैले औँला उठाउन सकेको छैन । बरू, प्रविधिलाई संस्कृति बनाइसकेको स्मार्ट पुस्तामा भाषा–साहित्यप्रति नै वितृष्णा जन्माएको छ । 

कविताको विधागत चिनारीदेखि विकासक्रमको रूपरेखासम्ममा भद्रगोल छ । प्राचीन संस्कृति साहित्यका मूल्य–मान्यतामा आधारित रहेर दिइएको विधागत चिनारी अधुरो छ । त्यसैलाई आधार बनाएर शिक्षकहरूले नोट बनाएका छन् । त्यसले निर्भीक समालोचना र विश्लेषणमा खासै योगदान पुर्‍याउँदैन । 

पाठ्यक्रमलाई अद्यावधिक गर्ने नाममा नेपाली कविताको उत्तरवर्ती धाराको सामान्य चिनारी दिइएको छ तर त्यो पनि पूर्ण छैन । परिमार्जनका नाममा विद्यार्थीबाट थुप्रै प्रश्न आउने र शिक्षकलाई नै अप्ठ्यारो लाग्ने भएकाले थुप्रै कविता हटाइएको छ । जस्तो : वैरागी काइँलाको ‘अस्तित्वको दाबीमा साबातको बैला उत्सव’ हटाएर उनकै त्यो भन्दा कमजोर कविता राखिएको छ । 

नेपाली कविता भाग–४ अद्यावधिक गर्न साझा प्रकाशनले चासो नदिएको सम्पादक केशव सुवेदीको गुनासो छ । “त्रिपाठी सर रिटायर्ड हुनुभयो, दैवज्ञ न्यौपाने सर बितिसक्नुभयो, म पनि रिटायर्ड भएको पाँच वर्ष भइसक्यो,” सम्पादक सुवेदी भन्छन्, “साझा प्रकाशनले कतिखेर पुस्तक छाप्छ, हामीलाई थाहै हुन्न । पारिश्रमिकको कुरा पनि छैन, अपडेट पनि छैन । सबैतिर अलमल छ ।” वास्तविकता के भने साझाले त्यसको नयाँ संस्करण ननिकालेको एक दशक भइसक्यो ।

रिमाल र भूपी नसमेटिनुलाई पाठ्यक्रमको सीमा सम्झन्छन् सुवेदी । “कतिपय कविको एमएमा छ, तल छैन, कतिपयको तीन तहमै छ । कतिपयको दुई तहमा मात्र छ । कतिपयको कहीँ पनि छैन,” उनी थप्छन्, “हामीले सकेसम्म कविताका सबै धाराको प्रतिनिधित्व चाहेका हौँ । तत्कालीन अवस्थामा भूपी–रिमालका कविता किन पाठमा परेनन्, अहिले ठ्याक्कै भन्न सकिँदैन ।” 

प्रकाशित: जेष्ठ ८, २०७४