मेरी प्यारी विन्दु: सतही प्रेमकथा

- गोकर्ण गौतम

आयुष्मान खुराना र परिणती चोपरा बलिउडका नयाँ ‘सितारा’ हुन् । विक्की डोनरबाट आयुष्मानले तहल्का पिटे भने इशकजादे र शुद्ध देशी रोमान्सले परिणतीको छवि आमहिरोइनभन्दा अलग बनाइदियो । तर पछिल्लो समय यी दुवैको करिअर धरमरमा छ । आयुष्मान अभिनीत नौटंकी साला, बेबकुफिया र हवाईजादे असफल रहे भने हँसी तो फसी र किल दिलबाट परिणतीले आफ्नो साख जोगाउन सकिनन् । यी दुई स्टार यतिबेला एकसाथ देखिएका छन्, मेरी प्यारी विन्दुमा । रोमान्टिक–कमेडी जनराको यस फिल्ममा उनीहरूले निर्वाह गरेको चरित्र उनीहरूको वास्तविक जीवनको आनीबानीसँग नजिक छ ।

तैपनि पटकथामा रोचक र मन बाँध्ने तत्वको अभाव भएकाले उनीहरूको प्रेमकथा आत्मसात् गर्न मुस्किल पर्छ । देखाउन खोजिएको छ, चोखो प्रेम तर देखिएको छ, फिक्का र सतही प्रेम । यद्यपि अक्षय रोयको डेब्यु निर्देशन रहेको यस फिल्मका मूल पात्रको चरित्र, नियत र कथानक पक्ष सबल लाग्छ । 
हरर उपन्यास लेखक अभिमन्यु रोय (आयुष्मान) को पहिलो प्रेमकथाको फेहरिस्त हो, मेरी प्यारी बिन्दु । अभिमन्यु अति सोझो छ तर उनको माया बस्छ, निकै चुलबुले र बिन्दास स्वभावकी विन्दु (परिणती) सँग । उनीहरूको प्रेम सुरु हुन्छ, सन् असीको दशकबाट । छिमेकी भएकाले अभिमन्युले विन्दुलाई माया दर्साउने अवसर पाइरहन्छ तर एउटा दुर्घटनामा आमाको निधन भएपछि विन्दु विदेश जान्छे ।

अभिमन्युको मन टुक्रन्छ । अब अन्तर्मुखी स्वभावको अभिमन्युले विन्दुलाई आफ्नो बनाउन सफल होला त ? क्लाइमेक्स अपेक्षाकृत त हुन्न तर बीचमा उनीहरूको सम्बन्धमा निकै उत्तारचढाव आउँछन् ।   
आजकालको प्रेम ‘फास्ट फुड’जस्तै हुन्छ तर यस फिल्ममा दुई दशकसम्म आफूले मन पराएकी केटीको ‘ग्रिन सिग्नल’ पर्खिबस्ने प्रेमीको कथा भनिएको छ । उमेर मात्र होइन, करिअर, पढाइ, साथीसँगी, बसोवास स्थान सबथोक परिवर्तन भइसक्दा पनि अभिमन्युले विन्दुलाई भुल्न सक्दैन । बरु हरर उपन्यास लेखेर टन्न पैसा कमँइरहेको बेला प्रेमिकासँग बिताएका पल लेख्न गुप्तवास बस्छ । तर विन्दुका लागि प्रेमीको नजरमा उनी कहिल्यै प्राथमिकतामा पर्दैनन् । तैपनि उनको प्रेम डगमगाउँदैन । यस्ता अथक प्रेमी आजको जमानामा कहाँ पाउनु ? त्यसैले त्यो पात्रको प्रेमलाई गहिरो रूपमा पर्दामा उधिनेर भावनात्मक रूपमा दर्शकलाई जोड्नु निर्देशक रोयको चुनौती थियो तर त्यसलाई चिर्न उनी असफल छन् । टेप रेकर्डर, टाइप राइटरको प्रयोग आफैँमा नवीन भए पनि मूर्तता पाउन सकेको छैन । 

फरक मनोविज्ञानका पात्रबीचको तादात्म्य कसिलो छ । समय र प्रविधिसँगै प्रेम व्यक्त गर्ने शैलीमा पनि आउने बदलावलाई आत्मसात् गरिएको छ । तर मूल कुरा चाहिँ सुप्रोतिम सेनगुप्ताले लेखेको पटकथाको गति कछुवाजस्तै सुस्त छ । मध्यान्तरअघि अधिकांश दृश्य सिर्फ अभिमन्युको भित्री भावनालाई पोख्न खर्चिएको छ । यसले दर्शकको ध्यान पर्दामा खिचिरहन सक्दैन । मध्यान्तरपछि भने कथाले गति लिन्छ तर फेरि क्लाइमेक्सतिर ‘मेलो ड्रामा’ थप्नकै लागि जबर्जस्ती फिल्म लम्बाएको छ ।

कोलकोताबाट सुरु भएको प्रेमकहानी अस्ट्रेलिया, मुम्बई, पेरिस हुँदै कोलकोतामै आएर टुंगिन्छ । यी भिन्न लोकसेनलाई आकर्षक शैलीमा कैद गरिएको छ । सचिन–जिगरको संगीत फिल्मको अर्को सबल पक्ष हो । ‘ए जवानी तेरी...’, ‘मन के हम...’ जस्ता गीतले कथालाई प्रभावकारी बनाउँछ । 

आफ्नो चरित्रलाई न्याय गर्न आयुष्मान र परिणती दुवै सक्षम छन् । आयुष्मानको हुलिया, बोल्ने शैली र हाउभाउबाटै उनी अन्तर्मुखी हुन् भन्ने प्रस्ट हुन्छ । उनको नि:स्वार्थ प्रेमले जोकोहीको मन जित्छ । फरासिली विन्दुचाहिँ आजका आम युवतीकी प्रतिनिधि पात्र हुन् । पर्दामा उनको उपस्थितिले दर्शकको मुहारमा मुस्कान छाउँछ । आखिरमा यी दुईको अभिनय र रसायनबाहेक फिल्म हेर्नुपर्ने अर्को मजबुत कारण पनि त छैन । अर्थात विन्दु प्यारी छिन्, अभिमन्यु प्यारो छ तर समग्रमा फिल्म चाहिँ प्यारो लाग्दैन । 

 

प्रकाशित: जेष्ठ ५, २०७४