[स्मरण] बिफरको प्रकोप

- डा गौरीशंकरलाल दास

विसं २०१० को प्रसंग हो । सिंहदरबारस्थित रेडियो नेपालमा बाँसुरीको धुन बजाउन जाँदै थिएँ । एक जना दृष्टिविहीनलाई हिन्दी समाचारवाचक राजेन्द्र कुमारले डोर्‍याउँदै ल्याएको देखेँ । कुराकानी गर्दै जाँदा थाहा भयो, उनी त वाद्य शिरोमणि उस्ताद गणेशलाल श्रेष्ठ रहेछन् । माउथ हारमोनियममा महारथ हासिल गरेका उनको नाम नसुन्ने त्यसबेला कुनै संगीतप्रेमी नै थिएनन् । १५ महिना उनैसँग शास्त्रीय संगीतको शिक्षा लिएका प्रेमध्वज प्रधान पनि रेडियो नेपालका जागिरे उनलाई कहिलेकाहीँ ल्याउने–लैजाने गर्दा रहेछन् । सहयोगीबिना हिँडडुल गर्न नसक्ने श्रेष्ठलाई प्रधानका साथै उनका भान्जा र चेला मोहनकृष्ण श्रेष्ठले सहयोग गर्दा रहेछन् । 

मलाई पनि शास्त्रीय संगीतप्रति शोख थियो र बाँसुरी बजाउँथेँ । श्रेष्ठले नै मलाई शास्त्रीय संगीतमा स्वर साधना (रियाज) गर्न सहयोग गरे । उनी चाबहिलमा रहेको मेरो घरसम्म आएर सिकाउँथे । फर्किंदा कहिलेकाहीँ म उनलाई घरसम्मै पुर्‍याइदिन्थेँ ।

नेपालका थुप्रै गायक तथा संगीतकारले गुरु थापेका श्रेष्ठले दुवै आँखाको दृष्टि गुमाएका थिए । उनको त्यो अवस्था देखेर म द्रवीभूत भएँ । उनीबारे मनमा विभिन्न कौतूहल जागे पनि पहिलो भेटमै सोध्न सकेको थिइनँ । कुराकानी गर्दै जाँदा थाहा भयो, उनी त बिफर रोगका कारण दृष्टिविहीनताको अवस्थामा पुगेका रहेछन् । 

स्वास्थ्य विभागको चिफ प्लानिङ अफिसर भएर बिफर उन्मूलन शाखामा काम गर्दा मैले तिनै उस्ताद श्रेष्ठलाई सम्झिएँ । ०१९ मा बिफर नियन्त्रण ऐन बनाएर पुरुषोत्तमनारायण श्रेष्ठलाई इन्चार्ज तोकी बिफर उन्मूलन अभियान थालिएको थियो । तर, यसबारेमा समाजमा अन्धविश्वास र ज्यादै भ्रम थियो ।

बिफर ज्यानमारा रोग त हुँदै हो, साथसाथै यो सरुवा रोग पनि हो भन्ने चेतनाको अभाव त्यतिबेलाको समाजमा पनि व्याप्त थियो । सद्दे मानिसलाई तुरुन्तै कुरूप बनाउने, दृष्टिविहीन र मृत्युसम्मको अवस्थासम्म पुर्‍याउने भएका कारण संसारभर यसलाई ज्यादै डरलाग्दो रोगका रूपमा लिइन्थ्यो । तर, हामीकहाँ त्यस किसिमको प्रचारप्रसार थिएन । बिफरका कारण अनुहार बिग्रेका र मृत्यु भएका थुप्रै घटना भए पनि यसलाई मानिसहरूले सामान्य रूपमा लिन्थे ।

मुलुकको तराई र पहाडी क्षेत्रमा यसको प्रभाव धेरै पहिलेदेखि भए पनि काठमाडौँमा भने ०१९ पछि मात्रै महामारीका रूपमा फैलिएको थियो । त्यसबेलासम्म काठमाडौँमा समेत बिफर लागे नीमको पातको हावा दिने, शीतला माई रिसाएको भनेर पूजाआजा गर्ने चलन थियो । बालाजुमा बिफर निराकरणका लागि शीतला माईको मूर्ति नै स्थापना गरिएको थियो । त्यहाँ याचना गर्नेको घुइँचो लाग्थ्यो । बिफरलाई रोगभन्दा पनि देउता रिसाएर दिएको श्रापका रूपमा लिइन्थ्यो । उपचार गर्नेभन्दा पनि मठ–मन्दिरमा गएर देवी–देउता भाकल गरे सन्चो हुन्छ भन्ने अन्धविश्वास थियो । यो रोग हो, कुनै श्राप होइन भनेर सम्झाउन हामीलाई धेरै गाह्रो भयो ।

बिफर उन्मूलनका लागि ०२४ सालमा पाँच जिल्लाबाट काम सुरु भयो । त्यसका लागि नाडीमा टीका (सुई) लगाएर उपचार गर्ने विधि प्रयोग गरियो । ०३० सम्म आइपुग्दा ५० जिल्लामा कार्यालय नै खोलेर देशव्यापी गरियो अभियानलाई । २४ चैत ०३१ मा मुलुकबाट बिफर पूर्णत: उन्मूलन भएको घोषणा भयो । 

बिफरको सोझो प्रभाव आँखामा पथ्र्यो । बिफरकै कारण ज्यान जोगाए पनि दृष्टिविहीन बनेका थुप्रै उदाहरण पाइन्छन् । त्यसकै एउटा उदाहरण थिए, उस्ताद गणेशलाल श्रेष्ठ । एक स्वास्थ्यकर्मी, सरकारी अधिकारीसमेत भएर पनि म आफ्नै गुरुको दृष्टि फर्काउन सक्दिनथेँ । उनको सामुन्ने उभिँदा निकै ग्लानिबोध हुन्थ्यो । यति मात्र होइन, मेरो मनमा एउटा प्रश्न सधैँ उठिरह्यो, बिफरका कारण यस्ता अरू कति प्रतिभा प्रताडित भए होलान् ? कति प्रतिभा र राष्ट्रिय जनशक्ति गुमायौँ होला ? प्रसिद्ध साहित्यकार भवानी भिक्षु पनि यस रोगबाट प्रभावित थिए । मुलुकका यस्ता निधि त्यो रोगको सिकार नभएको भए अझ कति योगदान हुन्थ्यो होला, संगीत, साहित्य र अन्य क्षेत्रमा ? 

मेरा गुरु गणेशलाल गाँजाका अम्मली थिए । त्यही गाँजाको असरले पछि उनको छातीमा समस्या देखिन थाल्यो । त्यसको उपचार भने मैले नै गर्नुपर्ने भयो । रोगमाथि रोग थपिनु पक्कै राम्रो कुरा थिएन । तर, आफूले गुरु थापेको व्यक्तिको दृष्टिविहीनताको उपचारमा योगदान गर्न नसकेको मलाई भने उनको सेवा गर्ने अवसरजस्तो भयो । त्यसैले गुरुको उपचार र हेरविचारमा निकै समय व्यतीत गरेँ । जति समय सेवामा बिताउन पाएँ, त्यो मेरा लागि भने अहोभाग्य थियो ।

प्रस्तुति : ईश्वरी ज्ञवाली

प्रकाशित: जेष्ठ ५, २०७४