इन्स्टाग्रामको मोबाइल साइट

- नेपाल संवाददाता

इन्स्टाग्रामले हालै मोबाइल साइटमा नयाँ अपडेट ल्याएको छ । यो अपडेटसँगै अब इन्स्टाग्राम जुनसुकै मोबाइलमा एप नभए पनि वेब ब्राउजर माध्यमबाट चलाउन सकिने भएको छ ।
अब मोबाइलमा वेब ब्राउजरबाट इन्स्टाग्राम चलाउँदा फोटो अपलोड गर्नुका साथै अन्य प्रयोगकर्ताका अकाउन्टहरु पनि सर्च गर्न सक्नेछन् । यो भर्सनको इन्स्टाग्राम प्रयोगकर्ताले नोटिफिकेसन पनि हेर्न सक्नेछन् । इन्स्टाग्रामले मोबाइल साइटबाट फोटो अपलोड गर्ने सुविधा पनि दुई महिनाअगाडि मात्रै दिएको भए पनि एक्सप्लोर ट्याबजस्ता फिचर हालै ल्याएको हो ।
नयाँ अपडेटमा पनि प्रयोगकर्ताले मोबाइल साइटमै इन्स्टाग्राम एपका जस्तै फिचर चलाउन सक्नेछन् । तर, अझै यसमा एप भर्सनमा जस्तै फिल्टर र भिडियो अपलोड गर्ने सुविधा भने आइसकेको छैन ।
यो अपडेट मोबाइलमा स्पेस धेरै नभएका प्रयोगकर्ताका लागि खुसीको कुरो हो । किनभने, उनीहरुले अब इन्स्टाग्राम चलाउन एप डाउनलोड गर्नु पर्दैन, वेब ब्राउजरबाटै लगभग उत्तिकै फिचर चलाउन सकिनेछ ।

प्रकाशित: जेष्ठ ४, २०७४