[झटारो] सौहार्दपूर्ण कुटाकुट र चुनाव

- लक्ष्मण गाम्नागे

यसपटकको चुनाव एकदमै खल्लो भइरहेछ । चुनाव आएको जस्तै भएन । २० वर्षपछि आएको चुनावलाई ठूलो पर्वका रूपमा मनाउन सरकारले आह्वान गरेको भए पनि राजनीतिक दलहरूका अप्राकृतिक गठबन्धन र अनैतिक मायाप्रीतिका कारण हामी नेपाली जनता निकै निराश भयौँ ।

अग्रगामी, प्रतिगामी, ढुलमुले, अराजक, लम्पसारवादी, दक्षिणपन्थी, वामपन्थी, फोस्रो राष्ट्रवादी, लेन्डुपे, बिखण्डनकारी, टाउकाको मोल तोक्ने र तोकिने आदि साराका सारा पार्टीहरूले एकआपसमा तालमेलको झेल गरेर भद्रगोलै पारे । हामीलाई निर्वाचनमा जोडदार रूपमा सहभागी भएर चुनावको आनन्द लिने अवसरै दिएनन् । 

राजनीतिक दलहरूले एकअर्कालाई गर्ने चर्का गाली घोषणापत्रमै सीमित राखे, मुखले अचाक्ली फलाकेनन् । माइकबाट पनि मसिनो स्वरमा मात्र गाली गरे । यसपालि दलका कार्यकर्ता बिचराहरू पूरै अन्योलमा परे । अन्योलमा परेकाले उनीहरूले चर्काचर्का नारा लगाउन पनि पाएनन् । को जिन्दावाद, को मुर्दावाद, कसलाई देश छोडाउने, कसलाई हैजाका जिम्मा लगाउने, कसको पुुतला बाल्ने, कसका गाडीमा आगो बाल्ने सबै अन्योलमै बित्यो । 

केही केही ठाउँमा फाट्टफुट्ट कुटाकुट, काटाकाट, आगजनी, झडप आदि नभएका होइनन् तर ती साह्रै शान्तिपूर्ण भए, सौहार्दपूर्ण भए । यसपालि कुटाकुट सौहार्दपूर्ण भयो, काटाकाट शान्तिपूर्ण रह्यो, आगजनी अहिंसात्मक थियो र झडप पनि तालमेलयुक्त भयो । कहीँ कहीँ बदलामा सौहार्दपूर्ण ढुंगामुढा प्रहार भयो । तर, त्यसले पनि उग्र रूप लिन पाएन, त्यत्तिकै सेलायो । धेरै हड्डी पनि भाँचिएनन्, ढाड पनि केही मात्र काटिए । आशा गरे अनुरूप रौनकपूर्ण हुँदै भएन यसपालिको चुनाव ।

पत्रपत्रिकालगायत सञ्चारमाध्यमलाई यसपालिको चुनावमा निराशा मात्र हात लाग्यो । सनसनीपूर्ण समाचारको सिकार गर्न उत्साहपूर्वक खटिएका पत्रकारले एउटा गतिलो सिकार नभेट्टाउँदा कतिपयको त जागिर नै धरापमा परेको खबर आयो । २० वर्षपछि हुन लागेको चुनावमा पनि पाठकका काँडा उमार्ने एउटै समाचार लेख्न पाएनन् उनीहरूले । समाचारको खडेरी नै पर्‍यो । 

निर्वाचन अनुगमन गर्न जाने संघसंस्थाका नेता–कार्यकर्ता पनि प्राय: बेरोजगारजस्तै भए । उनीहरूका रिपोर्ट पनि अल्छीलाग्दा हुने भए । यही गति अघि बढिरह्यो भने एनजीओ/आईएनजीओहरूको व्यवसाय पनि धरापमा पर्ने खतरा देखियो । मानव अधिकारकर्मीका रिपोर्ट पनि खासै बिकाउ नहुने भए । राजनीतिक कार्यकर्ताहरूसँगै सुरक्षाकर्मीको पनि ज्यान तात्न पाएन यसपालि । 

दलहरूको तालमेलको गन्जागोलले गर्दा कार्यकर्ताले आपसमा ढुंगा हानाहान गर्दा पनि अलि नरम ढुंगा प्रयोग गर्नुपर्‍यो । भरसक टाउको जोगाएर घुँडामुनि लाग्ने गरी, नमर्ने गरी मात्रै हान्नुपर्‍यो । हतियार चलाउँदा पनि होसियारीपूर्वक ठीक्क मात्र चोटपटक लाग्ने गरी चलाउनुपर्‍यो । एक–दुई जना बाहेक कुनै पार्टीको कार्यकर्ता चुनावका दौरानमा सहिद नभएपछि सहिदलाई काँधमा बोकेर नगर–गाउँ परिक्रमा गर्न नपाउँदा धेरै ठाउँका मतदाताले तमासा हेर्न पनि पाएनन् । त्यसरी जुलुस निकाल्न नपाएको पार्टीको भोट पनि अपेक्षित रूपमा बढाउन नसक्नाले पनि निराशा नै बढ्यो । 

यसरी पहिलो चरणको चुनाव चौतर्फी निराशै निराशाबीच भइरहेको छ । सारा काम छाडेर सामाजिक सञ्जाल, पत्रपत्रिका, टेलिभिजनमा सम्पूर्ण ध्यान समर्पण गरेर नौला, रोमाञ्चकारी, आङै जिरिंग पार्ने समाचार सुन्न बसेका हामीलाई घोर निराशमा पारे राजनीतिक दलहरूले । आशा गरौँ, दोस्रो चरणको चुनाव यस्तो खल्लो र निराशावादी नहोओस् । दलहरूले बेलैमा नंग्रा तिखार्न थालून् ।

प्रकाशित: जेष्ठ ४, २०७४