नोटबुक

- सुरेशराज न्यौपाने

राजस्थानमा पोखरा

नेपालको पोखरा भनेजस्तै भारतको पश्चिमी राज्य राजस्थानको सानो सहर उदयपुर पनि पर्यटकका लागि आकर्षक गन्तव्य हो । पोखरा र उदयपुरमा धेरै समानता पनि रहेछन् । पोखराजस्तै उदयपुरको परिचय पनि तालहरुको सहर नै हो । उदयपुरका लागि खानेपानी आपूर्ति पनि यिनै तालबाट हुने गरेको छ । सुन्दर तालतलैया र प्रभावकारी व्यवस्थापनका कारण पर्यटकका लागि मात्र नभई फिल्म छायांकनका लागि समेत यो सहर परिचित छ । बलिउड त भइगयो, हलिउडका कतिपय चर्चित फिल्महरुको समेत यहाँ छायांकन भएका छन् । पर्यटकको चहलपहल पनि पोखराकै जस्तो छ । 

तर, सहरको व्यवस्थापन र तालहरुको संरक्षणमा भने यो सहरले पोखरालाई निकै पछाडि छाडेको छ । सहरबीचमा अवस्थित फत्तेहसागर र पिचोला तालको संरक्षण देख्दा पोखराका फेवाताल र अरु तालको प्रदूषण र अतिक्रमणलाई सम्झाउँछ । ताल मात्र होइन, सहरको समग्र व्यवस्थापन नै लोभलाग्दो छ । उदयपुरको रेल्वे स्टेसनले नै त्यसको झल्को दिन्छ । सफा र फराकिला सडक र दुई छेउमा लगाइएका फूलले सहरलाई थप सुन्दर बनाएका छन् । प्राकृतिक सम्पदाहरुको संरक्षण र विकास अध्ययन गर्न भन्दै बर्सेनि विदेशका विभिन्न सहरको भ्रमण गर्ने सरकारी प्रतिनिधिले दक्षिणी छिमेकको यो सानो र सुन्दर सहरको मात्र भ्रमण गरे पनि पोखराले केही लाभ लिन सक्थ्यो ।

अडी पनि, ठेला पनि

भारतीय अर्थतन्त्रले पछिल्लो दुई दशकमा हासिल गरेको आर्थिक वृद्धि भारतको राजधानी दिल्लीका ठूला मलदेखि मल्टिप्लेक्स जताततै देख्न र अनुभव गर्न सकिन्छ । महँगा अडी र मर्सिडिजजस्ता कारका ब्रान्ड सामान्य लाग्छन् । ब्रान्डेड सोरुमदेखि रात्रिकालीन रेस्टुराँ र पबहरुमा भारतीय उच्च तथा मध्यम वर्ग मज्जैसँग झुमिरहेको छ । 

तर, त्यही दिल्लीमा अर्को भारत पनि रहेछ । सडकछेउमा असंख्य छाप्रा र त्यहीँ जीवन गुजार्नेहरुको संख्या पनि उल्लेख्य छ । पुरानो दिल्लीको भीडभाड र बेथिति हेर्दा दुई दशकको ‘समृद्धि’ले अझै ठूलो वर्ग र तप्कालाई नछोएको प्रस्ट हुन्छ । नेपालका तराईका सहरमा १५/२० वर्षअघि नै लोप भइसकेका ठेला अझै पनि त्यहाँ प्रयोग भएको देख्दा सुरूमा त पत्याउनै सकिन्न । नयाँ दिल्लीका सडकमा गुड्ने अडी र पुरानो दिल्लीमा गुडिरहेका ठेला भारतीय ‘समृद्धि’माथि व्यंग्य त हो नै, त्यहाँ रहेको गरिबी र अव्यवस्थाको विषमताको सूचक पनि हो । 

भैरवलाई साक्षी राख्दै

पुरानो दिल्लीको तीसहजारी मेट्रो स्टेसनबाट केही मिनेटको दूरीमा रहेको भैरवको मन्दिरमा पुग्दा अनौठो दृश्य देखियो । भक्तजनहरुको पनि भीड थियो । तर, मन्दिर परिसरमा केही बेर उभिँदा नै मन्दिर हो कि मधुशाला भन्ने द्विविधा भयो । एकपछि अर्को गर्दै पुरुष दर्शनार्थीहरु धमाधम हातमा मदिराको बोतल लिँदै मन्दिर प्रवेश गरिरहेका थिए तर केही बेरमा पिएर होइन, हातमा लिएरै फर्कन्थे । मन्दिरमा भेटिएका एक जना दर्शनार्थीले ‘भैरवलाई मदिरा चढ्छ नि !’ भन्दै मेरो जिज्ञासा मेटाउने प्रयास गरे ।

त्यसो भए भगवान्लाई नचढाएर किन फर्काएको त भन्ने प्रश्नमा उनको जवाफ रोचक थियो, ‘त्यो बोतल भगवान्लाई थोडै हो, यो त पिउनका लागि भैरवको अनुमति लिनका लागि मात्र हो । रिसाइहाल्छन् कि भन्ने डरले साक्षी राखेको हो ।’ त्यसै भनिएको होइन रहेछ, पिउनलाई बहाना काफी छ ।

गोल्डस्टार र वाइवाइको हाइहाइ

नेपाली उत्पादनहरुको प्रतिस्पर्धात्मक क्षमता खुम्चिरहेको र त्यसको प्रत्यक्ष असर वैदेशिक व्यापारका पछिल्ला तथ्यांकहरुबाट प्रस्ट हुन्छ । तर, गुणस्तरीय उत्पादन र बजारलाई सही ढंगले पहिचान गरेर त्यस अनुरुपको रणनीति कार्यान्वयनमा ल्याउने हो भने ठूला र प्रतिस्पर्धी बजारमा पनि नेपाली उत्पादनले दह्रो उपस्थिति देखाउन सक्छन् । यसका उदाहरण हुन्, गोल्डस्टार जुत्ता र वाइवाइ चाउचाउ । मध्यम र निम्नमध्यम वर्गलाई लक्षित गोल्डस्टार ब्रान्ड नेपालमा मात्र होइन, भारतीय बजारमा समेत खरो उत्रिएको छ । 

भारतीय सुरक्षा निकायका लागि निर्यात हुने भनिएकामा पछिल्लो समय सर्वसाधारणमाझ पनि यो नेपाली ब्रान्डले गतिलो प्रभाव पारेको छ । अर्को नेपाली ब्रान्ड वाइवाइ चाउचाउले पनि भारतीय उपभोक्तामाझ बेग्लै पहिचान बनाइसकेको छ । ठूला सुपरमार्केटदेखि कलेजका क्यान्टिनसम्म वाइवाइले स्थान पाएको छ । भारतीय बजारमा वाइवाइ र गोल्डस्टारको रवाफिलो उपस्थितिले गुणस्तर र प्रभावशाली बजार रणनीति हुने हो भने नेपाली उत्पादनले विदेशी बजारमा आफ्नो दह्रो उपस्थिति जनाउन सक्छन् भन्ने प्रस्ट हुन्छ । अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सकिएन भन्दै सरकारको मात्र मुख ताक्दै आएका नेपाली व्यवसायीले यसतर्फ ध्यान दिने हो कि ? 

प्रकाशित: जेष्ठ ४, २०७४