[संस्मरण] नाटकले दिएको सास्ती

- अशेष मल्ल

जतिबेला म त्रिवि कीर्तिपुरमा एमए पढ्न भर्ना भएको थिएँ, त्यो समय भनेको पञ्चायती राजको उत्कर्ष कालखण्ड थियो । मुलुकमा वाक् स्वतन्त्रता लगभग प्रतिबन्धित अवस्थामा थियो । पञ्चायतको एकतन्त्रीय शासन पद्धतिको सीमाभन्दा बाहिर जानेहरूका लागि अग्नि–परीक्षाको समय थियो, त्यो । 

म सम्झन्छु, बीपी कोइरालाहरू भारतबाट स्वदेश फर्कंदै थिए । हामी विद्यार्थीहरू उनको स्वागतमा एयरपोर्ट पुग्यौँ । भोलिपल्ट त्रिवि कीर्तिपुरस्थित अध्ययन भइरहेको हाम्रो कक्षाकोठाभित्र तत्कालीन पञ्चायत समर्थक विद्यार्थी मण्डलका युवाहरू एकाएक पस्दै एयरपोर्ट जानेहरूलाई तान्दै चउरमा ल्याउन लागे । विद्यार्थी नेता बलबहादुर केसी मुख्य नेता भएका नाताले ती सबै उनीमाथि जाइलागे । बीसौँ मण्डले युवाहरू उनीमाथि आक्रामक शैलीमा पेस हुन थाले । खुकुरी, भाला, बेल्ट आदि अनेकौँ अस्त्र बर्सिन थाले केसीमाथि । फिल्मी शैलीमा केसी तिनीहरूका विरुद्ध सकेसम्म भिड्दै थिए । अनैकौँ अस्त्रका सामु उनी परास्त भए, मरे भन्ठानेर विजय नारासहित मण्डलेहरू आ–आफ्ना बाटो लागे । जीवन र मरणको दोधारमा भएका केसीलाई अस्पताल पुर्‍याइयो । उनको टाउको आधा फुटेको थियो । उनी बल्लतल्ल बाँचे ।

यो एउटा दृष्टान्त मात्र हो । यस्ता घटना, उप–घटना त्रिवि कीर्तिपुरमा प्राय: भइरहन्थे । कारण हुन्थ्यो, अधिक विद्यार्थी पञ्चायतविरोधी हुनु । भाषण, नारा, जुलुस आदि–इत्यादिका वर्षा प्राय: भई नै रहन्थे ।

 प्रतिकारमा अस्त्रहरू पनि उठिरहन्थे । तत्कालीन विद्यार्थी मण्डलका समर्थकहरू सीधै दरबार, प्रहरी र प्रशासनको आशीर्वादले मात्तिएको बौलाहा हात्तीझैँ थिए । हामीलाई भने एक्लै हिँड्न पनि त्रस्त हुने स्थिति थियो । कुनै हिन्दी सिनेमाको खलनायकी शैलीभन्दा कम थिएन, त्यस बेलाको त्रिविको अवस्था । 

होस्टेलमा केही न केही घटना भइरहेकै हुन्थे । सिंगो क्याम्पस प्राय: हर दिन कुनै न कुनै तनावले ग्रस्त हुन्थ्यो नै । एक प्रकारको भय । आतंक । पञ्चायत समर्थक विद्यार्थी मण्डलको जगजगी । यस अवस्थामा प्रतिकारमा को बोल्ने ? मुलुकभरि नै लगभग यही स्थिति थियो । 

त्रिवि भने केही बौद्धिक र अपेक्षाकृत केही चेतनशील समूहको बाहुल्य भएकाले अलि सचेत थियो । त्यही चेतना नै पञ्चायती राजका लागि अपाच्य स्थिति हुन जान्थ्यो । पञ्चायत, खास गरी दरबारले चलाखीपूर्ण तरिकाले विद्यार्थी मण्डलको सिर्जना गरेको थियो । त्यो बेला दरबारका लागि सामुन्नेको चुनौती भनेको विद्यार्थीहरूको जत्था नै थियो । विद्यार्थीसँग भिडाउन विद्यार्थीकै जमात तयार गर्ने मिसनको उपज थियो तत्कालीन विद्यार्थी मण्डल । जो कालान्तरमा मण्डलेका नामबाट कुख्यात पनि हुन पुग्यो । त्यो मण्डल विद्यार्थीको जमात हुँदाहुँदै यति शक्तिशाली हुन पुग्यो, उनीहरूका अगाडि अरू सारा विद्यार्थी साँच्चि नै निरीह बन्न बाध्य हुनुपथ्र्यो । एउटा छुट्टै राज्य संयन्त्र जस्तो थियो यो जमात । कुनै धनाढ्य बाबुको पुलपुलिएर मात्तिएको छोरोजस्तो । 

एमए भर्ना भएदेखि नै म र मेरा समकालीन मित्रहरूले भोग्नुपरेको त्यो पीडा भनिसाध्य छैन । होस्टेलका हामी विद्यार्थीका लागि बुधबार मासु दिइन्थ्यो । हामीलाई बुधबारको तीव्र प्रतीक्षा हुन्थ्यो । खाना खान जब हामी लाममा उभिन्थ्यौँ । अप्रत्याशित रूपले त्यो जत्था पस्थ्यो र मासुको भाँडा नै उठाएर आफ्नो टेबुल अघिल्तिर राख्थ्यो । उनीहरूले तृप्तिको डकार छोडेपछि मात्र भाँडोमा उब्रेको मासु खान पाउँथ्यौँ हामी । यस्ता अनेकौँ तीता घटना हेर्न र भोग्न बाध्य हुनुपर्ने अवस्था थियो । साँच्चि भन्ने हो भने पञ्चायती व्यवस्थाप्रति अति नै वितृष्णा जाग्नुका विभिन्न कारणमध्ये त्यो विद्यार्थी जमातको अराजकता पनि एक थियो । प्रहरी प्रशासन उनीहरूकै पक्षमा उभिन्थे । होस्टेलमा सधैँ एक प्रकारको तनाव भई नै रहन्थ्यो । 

विडम्बना के भने त्यो जमातभन्दा कैयौँ गुना ठूलो जमात पञ्चायती विरोधी विद्यार्थीहरूको जमात हुन्थ्यो । तर, प्रहरी प्रशासन र सारा राज्यशक्ति नै उनीहरूका ढाल बनेर उभिएका हुन्थे । यसैले विद्यार्थीको एउटा सानो जत्थासँग विद्यार्थीको अर्को विशाल जमातले सधैँ डराइरहनु पथ्र्यो । एक्ला एक्लै हिँड्न पनि डर । डर किनभने हामी उनीहरूका दृष्टिमा स्पष्ट चिनिएका पात्र थियौँ । पञ्चायतविरोधी पात्रहरू । 

तत्कालीन राजा वीरेन्द्रले भर्खरै पञ्चायती संविधानको दोस्रो संशोधन गरेको त्यो समय एक प्रकारको क्रूर समय थियो । मौलिक हक खोसिएको समय थियो । कडा सेन्सरसिपको अवस्था थियो । पत्रपत्रिकामा लेख–रचना छापिनुअघि प्रशासनबाट अनिवार्य सेन्सर हुनुपथ्र्यो । भित्ताको पनि कान हुन्छ, बिस्तारै बोल भन्नुपर्छ भन्ने मान्यतामा अडिएको समय थियो । भीमनारायण र यज्ञबहादुरलाई फाँसी दिइएको समय थियो ।

म कीर्तिपुर होस्टलेमा बस्थेँ । साँच्चि भन्ने हो भने मेरो एमए पढ्नुको उद्देश्य पढ्नुभन्दा पनि काठमाडौँ बस्नुसँग सम्बन्धित थियो । साहित्य र नाटकप्रतिको मेरो प्यास धनकुटामा बसेर तृप्त हुने सम्भावना थिएन । त्यसैले राजधानीमै बस्नु मेरो बाध्यता थियो । मेरो पहिलो नाटक तुँवालोले ढाकेको बस्ती प्रज्ञा–भवनमा मञ्चन भइसकेको थियो । 

नाटक लेखन, अभिनय, निर्देशन र मञ्चन गर्ने मेरो रहर तीव्र रूपमा जागृत हुँदै गए पनि मैले मित्रहरू पाउन सकिरहेको थिइनँ । मुुलुकमा पञ्चायतको चरम ज्यादती अनि स्वतन्त्रताको पक्षमा बोल्न, लेख्न मन पराउने, त्यसलाई आफ्नो सिर्जनामा पोख्न, प्रस्तुत गर्न चाहनेका लागि कम चुनौती थिएन । 
यद्यपि, राजधानीका नाट्यशालामा नाटकहरू यदाकदा भइरहन्थे । राजनीति र पञ्चायतप्रति व्यंग्य नगरिएका नाटक सहजै मञ्चित हुन्थे । तर, म जस्ताका लागि त्यो राजनीतिक असहजताको जटिलता छँदै थियो । अनि, नाटक मञ्चनका लागि आवश्यक समूहको अभावको त झन् कुरै भएन । तर, मैले विद्यार्थी भएका नाताले क्याम्पसको हाता भने अपेक्षाकृत सहज र सहयोगी पाएको थिएँ ।

क्याम्पस हाताभित्र हत्तपत्त प्रहरी पस्न नसक्ने र साथमा विद्यार्थी साथीहरूको समर्थन हुनु सकारात्मक पक्ष हुन्थ्यो । यस अर्थमा त्रिवि क्याम्पस मेरा लागि त्यो कालखण्ड निकै उपयोगी र उत्साहप्रद छँदै थियो । मसँग कलाकार साथीहरू धेरै नभए पनि कीर्तिपुरको अडिटोरियम हल उपयोग गर्न मज्जाले पाउँथेँ । त्यो मञ्च पाउनु नै मेरा लागि ठूलो उपलब्धि थियो । अनि, हामी त्यस अडिटोरियममा बाक्लै कविगोष्ठी, नाचगान, नाट्य मञ्चन गथ्र्यौं । पढ्नमा भन्दा यस्तै क्रियाकलापमा समय बित्दा तृप्त हुन्थेँ म । 

म सम्झन्छु, हामीले आयोजना गर्ने काव्य कार्यक्रममा भूपी शेरचन, मोहन कोइराला, हरिभक्त कटुवाल, भवानी घिमिरे आदि चर्चित कवि आएर कविता वाचन गर्थे र माहोल तताउँथे । यसरी ०३३/०३४ सालतिर कीर्तिपुर क्याम्पसको अडिटोरियम हल राजनीतिक भाषण मात्र होइन, साहित्य र सांस्कृतिक गतिविधिले पनि तात्तिइरहन्थ्यो । 

मेरो सबैभन्दा ठूलो भोक भनेको नाटक नै थियो । केही नभए पनि त्रिवि क्याम्पसको विद्यार्थीका नाताले हल भने सहजै प्राप्त हुने हुनाले केही गर्ने सन्दर्भमा एउटा अवसर आइलाग्यो । यो ०३३ सालको अन्त्य वा ०३४ सालको सुरुतिरको सन्दर्भ हुनुपर्छ । विमल कोइराला र मैले एउटा नाटक तयार गयौँ ।

हामी होस्टलमा सँगै बस्थ्यौँ । दुवैले सल्लाह गर्दै नाटकको खाका कोर्‍यौँ । तत्कालीन प्रशासन र भ्रष्टाचारका सामान्य विषय थिए नाटकमा । केही दिनको रिहर्सलपछि त्यो नाटक अडिटोरियममा मञ्चन गर्‍यौँ । अडिटोरियमको दर्शकदीर्घा विद्यार्थीहरूले पूरै भरिएको थियो । पर्दा खुल्यो । म र विमल अभिनय गर्न थाल्यौँ । हाम्रा प्रत्येक संवादमा आएका तालीका गडगडाहटले हामीमा झन् उत्साह थपिँदै थियो । नाटकको मध्यतिर अचानक पर्दा बन्द भयो । हामी अचम्म मान्दै बन्द हुँदै गएको पर्दातिर हेर्न थाल्यौँ । हाम्रो त्यस नाटकमा पर्दा बन्द हुने बेला भएको थिएन । अनि, हामी के भयो ? कसले लगायो पर्दा ? किन नाटक पूरा हुन नपाउँदै बन्द भयो ? हामीले एक निमेषको त्यस समयमा यी यावत् कुरा सोच्नै पाएनौँ । एकाएक पर्दाभित्र स्टेजमा केही व्यक्ति छापामार शैलीमा पसे र हामीलाई भकाभक पिट्न थाले । 

विमल र ममाथि आक्रामक शैलीमा ती व्यक्तिहरूले जथाभावी प्रहार गर्न थाले । मलाई अझै याद छ, तिनीहरू भन्दै थिए, ‘व्यवस्थाको विरोध गर्छस् ? तिमीहरूको यत्रो हिम्मत ? आज चखाउँछौँ तिमीहरूलाई यसको स्वाद ।’ 

भित्र हामी कुटिँदै थियौँ, बाहिर विद्यार्थी दर्शक भने नाटक सकिएछ भन्दै हलबाट बाहिरिएछन् । हामी पर्दाबाहिर मात्र निस्कन पाएका भए त्यो दिन ठूलै भिडन्त हुने थियो । तर, हामी त्यसरी कुटिएको बाहिर कसैले थाहा पाएनन् । त्यहाँ त नाटकभित्र नाटक भइरहेको थियो । अनायास स्टेजभित्र क्याम्पस प्रमुख तोरण सर आई नपुग्नुभएको भए हाम्रो अवस्था के हुँदो हो !
 
हाम्रा गाला सुन्निनसम्म सुन्निएका थिए । ओठ, नाक, हात जताततैबाट रगत बगेको थियो । बाहिर निस्किएपछि मात्र अरू साथीहरूले थाहा पाए र हामीलाई अस्पताल लगे । साँझ होस्टेलको मेरो कोठामा कोही आयो र मलाई धम्कीपूर्ण भाषामा केही उपदेश दिँदै विलय भयो ।

पञ्चायती राजको त्यो उत्कर्ष कालखण्ड अचेल बारम्बार सम्झनामा आइरहन्छ । स्वतन्त्रताको भोक पनि अचम्मको हुँदो रहेछ । मेरो नाट्य यात्राको त्यो एउटा यस्तो क्षण थियो, जसले त्यसपछिका नाटकहरूमा विषय कतै न कतै स्वतन्त्रतासँग जोडिन मलाई उत्प्रेरित नै गर्‍यो । मलाई लाग्न थाल्यो, स्वतन्त्रता नै पहिलो सर्त हो । यसैको परिणामस्वरूप, लगत्तै मैले लेखेको अर्को नाटक थियो, मुर्दावादमा उठेका हातहरू । र, त्यो पनि हामीले त्यही अडिटोरियममा मञ्चन गर्‍यौँ । 
त्यसको कथा बेग्लै छ । 

प्रकाशित: जेष्ठ ३, २०७४