कागजमा मुक्त, व्यवहारमा युक्त

  • छाउगोठ जस्ताको तस्तै

- बसन्तप्रताप सिंह

(चैनपुर) बझाङ ।। १६ मंसिर ०७१ मा साबिक माझीगाउँ गाविसलाई विशेष तामझामसहितको समारोह आयोजना गरेर छाउगोठमुक्त घोषणा गरियो । जिल्ला सदरमुकामबाट गएका विभिन्न क्षेत्रका अतिथिहरूले स्थानीयलाई आइन्दा महिनावारी भएका महिलाप्रति छुवाछूत र फरक व्यवहार नगर्ने कसम खुवाए । घोषणापूर्व धामी–झाँक्रीलगायत छाउप्रथामा विश्वास गर्नेलाई चेतनामूलक तालिम सञ्चालन र घर–घरमा भएका छाउ गोठ भत्काइएको थियो । 

तर, मुक्त घोषणा भएको एक वर्ष नपुग्दै भत्काइएका छाउगोठ फेरि बने । देउताले घरभित्र बस्न नदिएको भन्दै महिनावारी भएका बेला सबैजसो महिला फेरि छाउगोठमा नै बस्न थाले । साबिकको माझीगाउँ गाविस सुनार टोलकी मनीषा सुनार भन्छिन्, “छाउ गोठमुक्त घोषणा त गर्‍यौँ तर देवताले नसहेपछि फेरि गोठ बनायौँ ।” कसैको घरका बूढापाकाले नमान्दा र कोही देवीदेउताको डरले छाउ गोठमा बस्दै आएको सुनार टोलीकी देउमा सुनारको भनाइ छ ।

यसरी कागजमा छाउगोठमुक्त हुने साबिकका गाविस संख्या अहिलेसम्म चार छन् । माझीगाउँपछि मष्टा, रिलु र पौवागढीलाई पनि छाउगोठमुक्त घोषणा गरियो । तर, व्यवहारमा छाउगोठमुक्त भएन । 
छाउगोठ भत्काएपछि महिनावारीको समयमा बाहिर पाल टाँगेर बस्नुपर्ने अवस्था आएको बताउँछिन, मष्टाकी सिन्की कठायत । भन्छिन्, “भएका राम्रा गोठ भत्काइहाले । बनाउन सक्नेले त नयाँ गोठ बनाएर बसेका छन् । नसक्नेहरूले पाल हालेर बस्नु परिरहेको छ ।” पालमा बस्दा चिसो लाग्ने, जंगली जनावर र यौनजन्य हिंसाको डर हुने भएकाले झन् खतरा औँल्याउँछिन् उनी । 

“अन्य कारणले कोही बिरामी भयो र कसैको दुर्घटना भयो भने पनि छाउपडीलाई घरभित्र राखेका कारण भएको हो भन्ने हल्ला फैलाइन्छ,” महिला तथा बालबालिका कार्यालयकी प्रमुख लीला घले भन्छिन्, “धामी–झाँक्री र बूढापाकाको यसमा ठूलो हात हुन्छ । उनीहरूका कुरा सुनेपछि सबैले विश्वास गर्छन् । हाम्रो वर्षाैंको मिहिनेत क्षणभरमा सकिन्छ ।” पुस्तौँदेखि जरा गाडेर बसेको अन्धविश्वास परिवर्तन गर्न निकै चुनौतीपूर्ण रहे पनि आफूहरूको प्रयास जारी रहेको घलेको भनाइ छ । 

अभियानकर्ता संस्थाहरूले चेतनामूलक कार्यक्रमलाई अभियानभन्दा पनि बजेट खर्च गर्ने हिसाबले सञ्चालन गरेका कारण समस्या ब्यूँझिएको बताउँछिन्, महिला मानव अधिकार रक्षक सञ्जालकी कोषाध्यक्ष सुशीला खड् का भन्छिन् । अन्धविश्वासलाई चिर्नका लागि त अभियान सञ्चालन गर्नुपर्ने हो । तर, गुणात्मक उपलब्धिभन्दा पनि बजेटको लक्ष्य हासिल भयो कि भएन भन्ने कुरालाई बढी ध्यान दिएको देखिन्छ । कागजमा काम हुन्छ । 

व्यवहार बदलिँदैन । यहाँका शिक्षक, कर्मचारी, बुद्धिजीवी र राजनीतिकर्मीहरू नै मानसिक रूपमा छाउपडी प्रथाको अन्त्य गर्न तयार छैनन् । महिला अधिकारकर्मी आशा विक भन्छिन्, “शिक्षित व्यक्तिहरूलाई त यो कुरा गलत हो भन्ने बुझाउन सकिएको छैन भने ग्रामीण भेगमा रहेका छाउगोठ भत्काएर कसरी परिर्वतन हुन सक्छ ?” 

नगरपालिकाभरि छाउगोठ

बझाङको केन्द्र मानिने सदरमुकाम जयपृथ्वी नगरपालिकाभित्रै पनि सयौँको संख्यामा छाउगोठ छन् । महिनावारी भएका महिलामाथि गरिने विभेद पनि कम छैन । 

जयपृथ्वी नगरपालिकाभित्रको धामिलेकमा करिब ९५ परिवारको बसोवास छ । धामिलेकमा मात्रै करिब २५ वटा छाउगोठ रहेको स्थानीय सिद्धराज जोशी बताउँछन् । महिनावारी हुँदा नगरपालिकाभित्रै सात दिनसम्म गोठमा बस्नुपर्ने, पोसिलो खाना खाना नपाइने र विभिन्न खालका विभेद भोग्नुपरिरहेको सत्यदेवी जोशीको अनुभव छ ।
 

प्रकाशित: जेष्ठ ३, २०७४