[स्मरण] परिवार नियोजन सुरु गर्दा

- डा गौरीशंकरलाल दास

विसं २०१८ को जनगणनाले नेपालको जनसंख्या ९४ लाख १२ हजार ९ सय ९६ रहेको तथ्यांक सार्वजनिक गर्‍यो । त्यतिबेलाको जनसंख्या वृद्धिदर १.६ प्रतिशत थियो । ०२४ मा म स्वास्थ्य विभागको निर्देशक हुँदा यो २.०७ प्रतिशत पुगिसकेको थियो । यही स्थिति कायम रह्यो भने मुलुकको जनसंख्या कहाँ पुग्छ ? सबैको एउटै चिन्ता यही थियो । 

त्यति बेला झन्डै २० वर्षको जनसंख्या वृद्धिदर केलाएर हेर्दा मुलुकका सबै भागमा समान देखिएन । खास गरी तराई र काठमाडौँमा जनसंख्याको चाप दू्रत गतिले बढिरहेको थियो । तराईमा ६८ प्रतिशत र काठमाडौँमा ४३ प्रतिशतको हाराहारीमा जनसंख्या वृद्धिदर कायम रहेको डरलाग्दो तथ्य आएपछि हामी खुबै डरायौँ । समयमै जनसंख्या वृद्धिदरलाई नियन्त्रण गर्न सकिएन भने आगामी २५ वर्षमा जनसंख्या दोब्बर मात्र नभई एवंरीतले बढ्दै जाने हो भने भोलिका निम्ति स्थिति भयावह हुने आकलन थियो । एक हजार शिशु जन्मँदा १ सय ७३ को एक वर्षभित्रै मृत्यु हुन्थ्यो । 

यो आश्चर्यजनक तथ्यांक आएपछि अब के गर्ने र कसो गर्ने भन्नेमै मेरो समय बित्न थाल्यो । जनस्वास्थ्यमा विशेष दख्खल राख्ने डा रीता थापा सहायक निर्देशक भएर स्वास्थ्य विभागमा आइन् । उनीसँगको सल्लाह र योजना अनुसार हामीले पहिलोपटक परिवार नियोजन तथा मातृ शिशु कार्यक्रम सुरु गर्‍यौँ । थापाले टिप्पणी उठाएर मकहाँ पठाएपछि स्वास्थ्यमन्त्री गुन्जेश्वरीप्रसाद सिंहले सदर गरी यो कार्यक्रम प्रारम्भ भएको थियो । सरकारी तवरमा परिवार नियोजन सेवा विसं ०२३ देखि सुरु भए पनि त्यो प्रभावकारी भएको थिएन । कतिसम्म भने यो कार्यक्रम सुरु हुँदा यज्ञराज जोशी स्वास्थ्य विभागको निर्देशक थिए तर उनले जनसंख्या वृद्धिदर आजको समस्या नै नभएको भन्दै त्यससम्बन्धी परियोजना लागू गर्न अस्वीकार गरेका थिए ।

कात्तिक ०२५ मा हामीले नेपाल परिवार नियोजन तथा मातृ शिशु कल्याण समिति गठन गरी विधिवत् रूपमा त्यो परियोजना सञ्चालन गर्‍यौँ । अमेरिकी सहयोग नियोग (यूएसएआईडी)को सहयोगमा एउटा एजेन्सी नै खडा गरेर हामीले यो कार्यक्रम सुरु गरेका थियौँ । परियोजना कार्यान्वयनका लागि चार क्षेत्रीय कार्यालय, ३७ जिल्ला कार्यालय र २ सय ६५ वटा स्थानीय स्तरमा सेवा केन्द्र स्थापना गरेर यो कार्यक्रम थालनी भएको थियो । नेपाल परिवार नियोजन संघ र नेपाल परिवार नियोजन तथा मातृ शिशु कल्याण परियोजनाद्वारा १० वटा क्लिनिक संयुक्त रूपमा सञ्चालन गर्‍यौँ । चौथो योजनाको अन्त्य अर्थात् ०३२ सालसम्म झन्डै ३ लाख ६५ हजार दम्पतीलाई परिवार नियोजन सेवा प्रदान गरिएको थियो ।

त्यसबखत परिवार नियोजनको कुरा गर्दा खसी पारेको मानिस पवित्र मानिँदैन भन्ने धारणा थियो । पुरुषलाई स्थायी वा अस्थायी बन्ध्याकरण गरियो भने उसले आफ्ना पितृहरूको उद्धार गर्न सक्दैन भनिथ्यो । हाम्रा प्रतिनिधि परिवार नियोजनबारे तराई तथा सहरी क्षेत्रका मानिसलाई सम्झाउन जाँदा उनीहरू कुरै सुन्दैनथे । अरूले हेरिरहेका छन् कि भनेर आँखा तानतुन र पल्याकपुलुक गर्दै छिमेकीका घरतिर हेर्थे । अस्थायी साधन प्रयोगबारे कुरा गर्न थाल्यो भने यसो कुनातिर लिएर जान्थे र यस्तो कुरा खुला आँगनमा गर्नु हुँदैन भन्थे । परिवार नियोजन महिलाका लागि मात्र हो भन्ने मानसिकता पनि व्याप्त थियो । त्यसलाई चिर्न हामीलाई धेरै गाह्रो भयो । 

स्थायी बन्ध्याकरण गर्न नमान्ने मात्र होइन, अस्थायी साधन प्रयोग गर्न पनि मानिसहरू आनाकानी र अप्ठ्यारो मान्थे । हाम्रा प्रतिनिधिले परिवार नियोजनको अस्थायी साधन ढाल प्रयोग गर्न सिकाउँदा हातका औँलामा प्रयोग गरेर देखाउँथे । पछि तिनै व्यक्ति हाम्रा प्रतिनिधि र कार्यालयसम्म आएर ‘खोइ यसले त कामै गरेन, मेरी श्रीमती त गर्भवती भइन्’ भन्थे । प्रयोग विधिबारे विस्तारमा कुरा गर्दै गएपछि थाहा हुन्थ्यो, उनीहरूले परिवार नियोजनका साधन हातमा प्रयोग गरेर यौन सम्पर्क गर्दा रहेछन् ।

तराईको कुरा गर्दा मुस्लिम समुदायमा यो सेवा विस्तार गर्न ज्यादै अप्ठ्यारो भयो । उनीहरूको जन्मदर अधिक भए पनि प्रजनन शिक्षामा सहभागिता अन्य समुदायको तुलनामा नगण्य देखियो । यसमा उनीहरू आफ्नो धर्म–संस्कृतिलाई बाधक बताउँथे । यसका बाबजुद पनि परिवार नियोजन कार्यक्रम एक हदसम्म सुरु गर्न सकियो । केही वर्षमै त्यसको प्रतिफल पनि देखियो ।

त्यसबेला मुलुकमा प्रजनन दर प्रतिदम्पती ६ थियो । अहिले त्यो घटेर २.१८ मा आएको छ । परिवार नियोजन कार्यक्रमको यो उल्लेख्य उपलब्धि हो । सायद, त्यतिबेला त्यो कार्यक्रम सुरुआत नगरेको भए मुलुकको जनसंख्या आजको स्थितिमा रहने थिएन । थाम्नै नसकिने गरी वृद्धि हुने थियो ।

यो कार्यक्रम डा रीता थापाकै अह्रनखटन र सक्रियतामा सफल भएको थियो । त्यही कारण स्वास्थ्य क्षेत्रमा उनलाई ‘ मदर अफ फेमिली प्लानिङ’ भन्ने गरिन्छ । उनले जनताको बीचमा गएर स्वास्थ्य क्षेत्रमा गरेका कामको जति नै प्रशंसा गरे पनि कम हुन्छ ।

प्रस्तुति : ईश्वरी ज्ञवाली

प्रकाशित: जेष्ठ ३, २०७४