[आत्मालाप] ऐँठन

- लेनिन बन्जाडे

एक साँझपछिको रात ।

चकमन्न अँध्यारोमा भुकिरहेका कुकुरलाई सायद हाम्रो बिछोड असह्य थियो। बाँसघारीमा रातभरि एकनास र एकसुरले बजिराख्ने कीरा सायद हाम्रै पो कापन्तुरामा अडेस लागेर मधेस र्झन खोज्दै थिए । अब त यो सन्नाटा पनि आफ्नो रहन्न ! बूढी सुकसुकाउँदै थिई ।

त्यही धुकचुकीमा दुई वर्षकी छोरी उठेर चिच्याई आधा रातमा । बूढी पोकापन्तुरा छाडी छोरीतिर गई र थामथुम पारी । छेउमै नौ महिनाको छोरो  संसारबाट बेखबर रहेर सुतेको थियो। भोलि यो हामीसँगै अर्कै संसार विचरण गर्न जान्छ कतै ।

अनुहारमा हेरेँ- आशा मारिसक्दा ११ महिनामा जन्मिएर उसले हामीलाई उल्टो गुन लगाएको थियो। जीवनमा भरथेग गर्ने उही नै त थियो ! "पैसा भयो  ?" झोलामा लुगा कोच्दै बूढीले सोधी, "जेठाजुले दिए ?" "यताउति गरेर दुई हजार जम्मा भयो," ढाडस दिँदै भनेँ, "मधेस झरेपछि उपाय लाग्छ,  नआत्ते।" बूढीको अनुहारबाट दिउँसैदेखि तेज हराएको थियो। पुस्तौँदेखि बसेको ठाउँ हठात् छाड्दा ऊसँगै मेरो मन पनि चिरिएको थियो। सोचेँ- सुख  खोज्दै हिँड्दा यिनै लालाबालाको आँसुले भिजाउने त होइन ?

छोरी भर्खर बामे सर्दै छे । ऊ जन्मिनुअघि बुबा बित्नुभयो, जन्मिएपछि आमा । र, यो गाउँमा मेरो आफ्नो सम्पत्ति भन्नु यिनै त थिए !

दाजुभाइ त मर्दापर्दा मात्र न हुन् !

१० मंसिर २०४०।

बिहानै झिसमिसेमा बूढी छरछिमेक र आफन्तसँग बिदावारी माग्दै थिई। म बचेखुचेका लत्ताकपडा पोको पार्दै थिएँ। छोराछोरी आँखा मिच्दै टोलाइरहेका  थिए।

म जन्मिएर शिशु हुँदै बैँसका अनेकन् सुखदु:ख बिसाएको यो गाउँ छाडेर जाँदा मन गह्रौँ ढुंगाले थिचिएजस्तो थियो। तर, ढुंगाले जतिसुकै थिचे पनि मेरा  आँखा कहिल्यै रसाउँदैनन्। मान्छे भन्छन्, मेरो शरीरमा आँसुको मूल नै छैन ।

सायद जेठा दाइका आँखाका डिल पनि सुक्खा थिए,

मेरा जस्तै-

"जाने नै भइस् त तँ ?" भर्‍याङ झर्दै सोध्नुभो । भाउजू पनि झरिन् । मैले मुन्टो हल्लाएँ मात्रै, कसैको आँखा हेरिनँ । दाइले छोरीको टाउको  सुमसुम्याउनुभो, भाउजूले छोरो उचालिन् ।

"हए घाइँला, कत्थेर हिन्चौ तिउँर ?" अलिबेरको मौनतापछि भाउजूले सोधिन्, "टेक्टर जान्च रे चुत्राबेसीबड ?"

धारापानीबाट चुत्राबेसी पुग्न हिँडेर ढाई घन्टा लाग्थ्यो। केटाकेटी र पोकापन्तुरा बोकेर हिँड्दा साढे तीन घन्टाजति। "के जानम्," पूरै अनिश्चयमा बोलेँ, "जाला त कर।"

दाइ घरबाट निस्केर अलि बेरमा दुई जना मान्छे लिएर आउनुभो। एक जना गुरुङ साइँला, अर्का पत्थरकोटे द्रोणे । "चुत्राबेसीबाट टेक्टर पाइएनन् भने  पत्थरकोटसम्म लैदिनू," दाइले साइँलालाई अह्राउनुभो, "फर्किंदा नुन ल्याउनू । सकिस् भने चावँल नि बोकेस् ।"

छोरो जन्मिएको साल यो गाउँ भोकमरीले एकपटक मरेर बाँचेको थियो । म धेरैपटक पत्थरकोटबाट काँधमा बोरा बोकेर डाँडा उक्लिएको थिएँ। खडेरीले  सुकेको गाउँमा त्यस्ता बोरा निमेषमै खाली हुन्थे । त्यसमाथि हाम्रो ११ जनाको परिवार ! र, पनि बाँच्यौँ। बाँचेर मात्रै पुगेन, सुखले बाँचौँ भन्ने लाग्यो ।  भोकमरीले सुकेको आँतले मलाई मधेससम्म डोर्‍यायो ।

गोजीमा दुई हजार थियो। साथमा बूढी र छोराछोरी । त्यसबाहेक लुगाफाटा, बन्दोबस्तीका सामान ! यिनै भारी बोकेर झर्‍यौँ धारापानीबाट । संयोगले  ट्रयाक्टर भेटियो चुत्राबेसीमा ।

भर्खर बनेको बाटो अनि ट्रयाक्टरको ट्रलीयात्रा। यस्तो लाग्थ्यो- मानौँ हामी बाटोमा होइन, ढुंगैढुंगाको कापबाट हिँडिरहेका छौँ। नौ महिनाको दूधे छोरो लाई बूढीले चपक्क समाएकी थिई, छोरीलाई मैले । उफ्रिँदा आकाश पुर्‍याएर निमेषमै पाताल लैजान्थ्यो ट्रयाक्टरले। बेलाबेला छोरी चिर्रर चिच्याउँथी, ड्राइभर पछाडि फर्केर हेथ्र्यो र उही गतिमा हाँक्थ्यो। हामीजस्ता अरू ६ जना पनि त्यस्तै डरले एकोहोरिएका थिए ।

निरन्तर १२ घन्टाको उफ्राइपछि आयो समथर पत्थरकोट ! पत्थरकोटबाट गोरुसिंगे, चन्द्रौटा, भालुवाङ र लमही आए । लमहीपछि घोराही र तुलसीपुर  आए । त्यसपछि तीन किलोमिटर उत्तर गणेशपुर आयो, जहाँ कान्छी दिदीले सानो घर र थोरै बारी हेरिदिएकी थिइन् ।

***

दुई हजारमध्ये १ हजार ५ सयमा सानो घर ठडियो । ८ कक्षा पढेर छाडेको- जागिरको छेकोछन्द थिएन । सात दाजुभाइमध्ये चार जना भारतीय सेनामा  थिए, म सिलोङसम्म पुगेर पनि भर्ती हुन सकिनँ ।

अब चार जनाको परिवार कसरी पाल्ने ?

दिदीले सुझाइन्- भैँसी किन्, खेती गर् ।

किनेँ, गाई पनि ल्याएँ । घरमुनिको सानो जग्गामा धनियाँ रोपेँ । धनियाँ र दूध लिएर लखरलखर सहरमा बेचेँ । यो क्रम तीन वर्ष चल्यो । पैसा नजोगिए  पनि घर जोगियो, केटाकेटीले ओत पाए ।

त्यत्तिले पुगेन। अरू धेरै चाहियो ।

सोचेँ- सहर गएर केही गरूँ ।

सल्लाह गरेँ । बूढी, दिदी सबैले भने- होटल गर् । 

अनि, म निस्किएँ जेठो छोरो लिएर सहर- घोराही। कान्छो भर्खर जन्मिएको थियो ।

बजारबाट १५ मिनेट दक्षिण जिल्ला अदालत र जिविसअगाडि खाली चौरमा बनेको झुप्रो किनेँ एक हजार रुपियाँमा। चिया, समोसा, तरकारी बनाउन सिकेँ । सिकिनँ मात्रै, बनाएर बेच्न पनि थालेँ । छोरो नजिकैको स्कुल पढ्न थाल्यो । हरेक शुक्रबार २७ किलोमिटर पर गाउँ जान्थ्यौँ अनि शनिबार बेलुकी  फर्किन्थ्यौँ। होटल आउने आधाजसो वकिललाई देखाएर छोरोलाई कानमै भन्थेँ, "तँ पनि वकिल भइस् भने चिया खान आएस्। तेरो गिलाँस म  माझूँला ।" ऊ गजक्क परेर हाँस्थ्यो ।

समयक्रममा त्यही छोरो जन्ड भएर निस्कियो । कहिल्यै नपढ्ने, पैसा चोर्ने र गुच्चा खेल्ने । हरेकपटक पैसा चोरेको म चाल पाउँथेँ अनि बाँसको पिलरमा  दिनभरि बाँधिदिन्थेँ । चिया खान आउनेले सहानुभूति दिएपछि घ्वाँघ्वाँ रुन्थ्यो । तर, मेरो मन कहिल्यै पग्लिएन ।

केटाकेटीमा नराम्रो असर पर्छ भनेर होटलमा चुरोट, रक्सी केही राखिनँ । तर, चिया खान आउने मान्छेलाई चुरोट, पान हरेक चीज चाहिन्थ्यो। मेरो आँखा छलेर मान्छेले छोराको हातमा सुटुक्क पैसा राखेर चुरोट, पान लिन पठाउँथे। सुरुसुरुमा रिसाउँथेँ पनि, पछि छोराले त्यही इलम गरेर पैसा कमाउन  थालेपछि चुप लागेँ। सामान ओसारेबापत पाउने सबै पैसा ल्याएर मलाई बुझाउँथ्यो।

कहिलेकाहीँ रिसाएर गाला पड्काएँ भने उफ्रिँदै आउँथ्यो र भन्थ्यो, "खै मेरो पैसा दिनूस्, म घर जान्छु ।" उसले पैसा मागेपछि फेरि गाला पड्काउँथेँ।  एक दिन गल्लाबाट पाँच रुपियाँको नोट गायब भयो, अर्को दिन थाहा पाएँ। बोलाएर केरकार गरेँ । अनेक आनाकानी गर्‍यो। कन्चटका रौँ तानेँ, डेग  चलेन। "चोर्‍या हुँ भनिस् भने क्यै गर्दिनँ, जोगिन्छस्," चेतावनी दिएँ, "नत्र ट्वाइलेटमा बास हुन्छ ।"

चुपचाप उभिइरह्यो । झोँक चल्यो । च्याप्प समातेर जिविसको ट्वाइलेटमा थुनिदिएँ । अफिस नखुलेकाले कम्तीमा तीन-चार घन्टा बस्नुपथ्र्यो । तर, एक  घन्टामै मन पग्लियो। उसको जाँच त्यही दिन थियो ।

सरासर गएर ट्वाइलेट खोलेर हेर्दा त मान्छे गायब ! फ्लसको भाँडोमा टेकेर झ्यालबाट निस्किएछ !

त्यसपछि चिटचिट पसिना निस्किने पालो मेरो थियो । वरपर सबैतिर खोजेँ, कतै थिएन ।

एक जनाले भन्यो, "केटो त रुँदै गएको देख्या हुँ, के भो ?"

अर्कोले सुनायो, "छोरो त भाग्यो रे !"

त्यसपछि मेरा आँत सुके। शरीरमा हावाले करेन्ट हान्यो । ऊ जन्मिएदेखि ट्वाइलेट थुनिँदासम्मका हरेक घटना सजीव भएर आँखाभरि आए । भागेर  कहिल्यै फर्किएन भने ? मन त्यसरी कहिल्यै एक्लिएको थिएन। यहाँ मेरो भन्नु ऊ र उसको भन्नु म मात्रै त थियौँ ।

होटल फर्किएर समोसाको आलु बनाइनँ । बठैनियाले ल्याएको दूध पनि डेक्चीमा राखिनँ । फोन गरेर बूढीलाई सुनाउने युग थिएन, आफैँ गएर भन्नुपथ्र्यो ।

मान्छे आउँथे, सोध्थे, म सरासर भन्थेँ । कति चुकचुकाउँथे । मेरो दु:खमा एकछिन भए पनि ढाडस दिन्थे । कसैले तुलसीपुर गएको हुन सक्छ भने, कसैले  भागेर लमही काटिसक्यो होला भने ।

एकछिनमै संसार रित्तिएझैँ भयो । गह्रुँगो ढुंगाले छाती थिचेझैँ भयो । आँखा तिर्मिराए । मलाई सपनामा ऐँठन कहिल्यै परेन, आज विपनामै पर्‍यो । कोसौँ  पर बसेकी बूढीले यो खबर सुनी भने मुटु फुटेर मर्थी ।

छोराछोरीको वियोग मैले पहिलोपटक भोग्दै थिएँ ।

खुइलिसकेको टाउकोमा हात राखेर टोलाउनुबाहेक मसँग अरू केही शक्ति थिएन । खुट्टा चिसिएर जम्लाझैँ थिए। थचक्क भुईंमा बसेँ। छेउछाउमा बो लिरहेका मान्छेको आवाज पनि सुन्न छाडेँ । हात फतक्क गलेर लुला भए । "हरिजी, नआत्तिनूस्, फर्किन्छ केटो," अदालतका लेखापाल धर्मसिंहले काँध  थपथपाए, "त्यत्रो पाँच वर्षको केटो कहीँ जान्न । भोक लागेसि दौडिएर आउँछ ।" उनको कुराले अलि सास आयो ।

मनमनै कसम खाएँ- छोरो फर्किएर आयो भने जीवनमा कहिल्यै हात उठाउन्नँ ।

गायब भएको पाँच घन्टापछि लुरुलुरु होटलतिर आइरहेको फुच्चे देखेर उनै धर्मसिंहले झक्झकाए, "लौ हरिजी, आइहाल्यो त !"

सुन्नेबित्तिकै कोखमा सिल्का हानेझैँ भयो। जुरुक्क उठेर हेरेँ- सात सय मिटरजति टाढाबाट हल्लिँदै आइरहेको त्यो फुच्चे मेरै छोरो थियो । आँखामा  छिनमै शीत परे। त्यति बेला पहिलोपटक थाहा पाएँ- मेरो शरीरमा आँसुको मूल सुकेको छैन ।

बडो निस्फ्रिक्री भएर ऊ टुप्लुक्क मेरा अघि उभियो। रमिता हेरिरहेका मान्छे अवाक् थिए । एकछिन मेरा पनि शब्द निस्किएनन् ।

अलि बेरमा फर्फराएको घाँटीबाट टुक्राटुक्रा शब्द निस्किए पालैपालो, "काँ गा'थिस् ?" खुट्टाको बूढी औँलाले भुईं कन्याउन लाग्यो ।

"सुनिनस् ?" जंगिएर सोधेँ, "काँ गा'थिस् ?" उसको बूढी औँलाले भुईंमा चारकोठे घर बनायो । जाङे र सर्टमा ठिंग उभिएको मान्छे चुँक्क बोलेन । कान  समातेर तानेँ जोडले । रन्फनिएर करायो, "स्कुल गाथेँ परीक्षा दिन ।"

हकारेर सोधेँ, "अनि, भन्न सक्दैनथिस् ?"

बोलेन । जम्मा भएका मान्छे लाखापाखा लागे छिनमै । भीड रित्तिएपछि ऊ मेरो छेउ आयो । फेरि भुइँमा खोस्रिँदै उभियो ठमठमी।

"के भो फेरि ?" जाडोले काँपेझैँ बिस्तारै बोल्यो, "हिज अन्याय फिलिम हेर्न गा'थेँ, अब चोर्दिनँ ।"

मेरो घाँटीमा सिंगो आलु अड्किएझैँ भयो एकछिन ! फरक्क पछाडि फर्किएर आँखा पुछेँ ।

***

एक झिसमिसे बिहान । छोरो आधा निद्रामा थियो ।

डेक्चीभरिको दूध तताउन स्टोभमा दम दिएँ। कपालको रौँजत्रो दुलोबाट पिचिर्रर मट्टीतेल निस्क्यो तर धनुषजस्तो बांगो । सलाई कोरेर बालेँ, धप्प बल्यो ।  बर्नर तात्तिएपछि फेरि जोडले दम दिएँ, एकातिर मात्रै बल्यो। पिन घोचेँ, दुलोमै भाँच्चियो। अनेक प्रयास गर्दा पनि बलेन । रङ्सिएर डेक्ची पूरै कालो  भयो । नजिकैको पिलास उठाएर बर्नर कसेँ। कस्दाकस्दै नट फुस्किएछ, ह्वार्रै बल्यो । लौ सक्कियो !

मट्टीतेलको तेजले वरपरका लुगा टिप्यो । उछिट्टएिर मेरो शरीरलाई समात्यो। आगोको रापले छालामा पनि डस्यो । आगोले एकछिनमै छानो टिप्यो । प्लास्टिकको छानो पग्लिएर भुइँमा तप्पतप्प चुहियो ।

झट्ट आँखा छोरातिर गए । ऊ संसार बिर्सेर निदाइरहेको थियो । उसले ओढिरहेको कम्बलले हत्त न पत्त शरीरको आगो निभाएँ र उसलाई च्याप्प समातेर होटलबाहिर हुत्ताइदिएँ। जमिनमा बजि्रएर होला- चिच्याएर रोयो । दौडिएर भित्र आएँ र स्टोभमाथिको डेक्चीको दूध स्टोभमाथि खन्याएँ। झन् दन्कियो ।  सब थोक यति छिटो भइरहेका थिए कि मेरो दिमागले ठम्याउनै सकेन । पूरै शून्य थिएँ ।

ओच्छ्यानमा भएजति सिरक र कम्बल एकैपटक आगोमाथि हुर्‍याइदिएँ । चिच्याएर बोलाऊँ भने पनि नजिकमा कोही थिएनन् ।

बाहिर फलामको ड्रमबाट जगमा पानी ल्याउँदै खन्याएँ छानोमा। एकैछिनमा भुत्तियो । मलाई रिंगटा लाग्यो । वरिपरिको जमिन फनफनी घुमेझैँ भयो ।  मतिर फर्किरहेको छोरो पनि दुई-तीनवटा देख्न थालेँ ।अनि, बुंग ढलेँ ।

ढलेर उठ्दा वरपर थुप्रै मान्छे उभिएका थिए। कसैले पछाडिबाट अडेस लगाएर उठायो । जाङेबाहेक शरीरमा केही थिएन । शरीर मात्रै होइन, होटलको  आधा भाग ह्वाङ्ङै थियो । आगोले नछोएको शरीरको कुनै भाग थिएन । दुखाइ यति असह्य थियो कि सास फेर्दा पनि कटकटी खान्थ्यो। छोरो पसिनाले  निथ्रुक्क थियो । मैले प्रस्टसँग अरू मान्छे ठम्याउन सकेको थिइनँ । पीडाले मेरा दाह्रा जाँतोझैँ पिसिइरहेका थिए आफैँ ।

दुई-तीन जनाले बोके— कसैले हात समाते, कसैले खुट्टा । जिविसको गाडीमा बोकेर महेन्द्र अस्पताल पुर्‍याए। म आधा होसमा थिएँ, आधा बेहोस । डाक्टर  भन्थे— ३० प्रतिशत जलेछ, धन्न बाँच्नुभो ।

चार दिनसम्म अस्पतालमा हर नफर्काई सुतेँ। पाँचौँ दिन छोरोले डोर्‍याएर होटल लग्यो ।

त्यसपछि छोरो बाउ बन्यो, म छोरो बनेँ ।

ऊ हरेक दिन डोर्‍याएर घाउ ड्रेसिङ गर्न अस्पताल लैजान्थ्यो । मलाई बोराले बेरेको ट्वाइलेटमा कनिकुथी बसाल्थ्यो र अर्कातिर फर्किन्थ्यो । अर्कैतिर फकिर् एर पानी हाल्दिन्थ्यो। घाउमा मल्हम लगाइदिन्थ्यो । चर्को घाम तापेर बस्दा गाली गर्दै भित्र ल्याउँथ्यो ।

म लुरुलुरु मान्थेँ ।

छैटौँ दिनमा घर खबर पुगेछ- हुर्रिंदै आई बूढी । छोरी र कान्छो छोरो पनि ल्याई। भाञ्जा कमल पनि दौडिएर आए। स्वभावैले पिल्चे बूढीले तर्तरी आँसु  झारी । सात वर्षकी छोरीले पनि आँखाका डिल भिजाई । छोरो भने सबैलाई देखेर दंगदास थियो ।

बेलुकी छेवैमा आएर बूढीले भनी, "अब मोरे नि बाँचे नि सँगै बस्नी। यस्तरी छुट्टेर त सत्तुर नि नबसून् ।"

आफ्नै बस्ने राम्रो टुंगो थिएन। होटलको आधा भागमा टेबुल-कुर्सी थिए, आधा आगोले खाएको थियो । बीचबाट बोराको भित्तो बनाएर जसोतसो सुत्ने  ठाउँ बनाइदिए आफन्तले। त्यसमा एउटा पलङ । यति सानो कोप्चेरोमा पाँच जना कसरी अटाउने ? "अहिले नआत्ते, पैसा कमाउन दे," ढाडस दिँदै भनेँ,  "बसन्ते छ मसँगै । कमाइयो भने घरै बनाएर बसम्ला। यस्तो साँघुरो ठाउँमा पाँच जना बस्न सकिन्नँ हेर् ।" "नजिकै कोठा खोज्ने," बूढीले फ्याट्टै भनी,  "एक्लै त मोरे नि बस्न दिन्नँ ।"

कोठा भेटियो पनि । बूढी कान्छो र छोरी लिएर राती डेरा जान्थी, म जेठोसँग लपक्क टाँसिएर सुत्थेँ। राती चराका जत्रा खुट्टा मेरो काखमा ल्याएर फि जाथ्र्यो र काखीनेर टाउको घुसाएर सुत्थ्यो । निद्रा लागेन भने उसले मलाई ब्रह्माण्डमा देखे-सुनेका सबै कुरा सोध्थ्यो । राती ११ बजे रेडियो बन्द भएपछि  उसको हाजिरजवाफ चल्थ्यो ।

पछिसम्म नि उसले मेरो घाँटीका खाटा सुमसुम्याइरह्यो । मनमा के जाग्थ्यो कुन्नि- जुरुक्क उठेर स्टोभ होटलबाहिर लगेर राख्थ्यो अनि लुसुक्क आएर  मसँग टाँसिन्थ्यो ।

***

एक दिन चिन्डे ब्राह्मण चिना लेख्न भन्दै आयो। तीनै छोराछोरी लाइनमा उभिए। मलाई सबैको जन्म, तिथि र समय सम्झना थियो, फरर भनेँ- पालै पालो । "ल छोरीको नाम ?" बाहुनले बाँसको निवमा मसी चोब्दै सोध्यो र लेख्यो, "के रे अनिता हैन्त ?" खरर लेख्यो र कागज घाममा सुकाएर फेरि सोध्यो, "जेठोको नाम ?"

"घरमा त बसन्ते भन्छम् तर लेनिन लेख्दिनूस्," पुलुक्क जेठोतिर हेरेँ, अनुहार भीआई लेनिनको सातकोस परसम्म मिल्दैनथ्यो ।

लाग्यो- मलाई कसैले नचिने पनि उसलाई जीवनभर कम्युनिस्टको छोरो भनेर चिनून् न मान्छेले ।

बाहुनले पालैपालो हाम्रो अनुहार पढ्यो । सायद उसले यो नाम पहिले कहिल्यै सुनेको थिएन । चुपचाप घोसेमुन्टो लगाएर लेख्यो ।

कान्छाको नाम दधिराम थियो, दीपक लेखाइदिएँ ।

दुई दिनपछि थाहा पाएँ- जेठोको नाम बाहुनले चिनामै लेलिन लेखिदिएछ !
 

***

होटल सात वर्ष चल्यो। अब जुठा भाँडा माझेर ज्यान पाल्ने ताकत थिएन- आठ हजारमा बेचिदिएँ । घोराही बजार भर्खर बामे सर्दै थियो । ऋणधन गरेर  चोकमै फेन्सी खोलेँ । छोराछोरी हुर्किंदै थिए । पसल बजारमा, घर दुई किलोमिटर उत्तर गाउँमा थियो । हाम्रो आफ्नै घर थिएन, दाइको घरमा बस्थ्यौँ ।

छोराछोरी पालैपालो टिफिन बोकेर भात ल्याइदिन्थे । हरेक शनिबार उनीहरू हूल कसेर टीभी हेर्न बजार आउँथे । म टीभी किन्न सक्ने हैसियतमा पुगेको  थिइनँ। फेन्सी व्यापार उति जबरजस्त थिएन । गर्जो टार्नेबाहेक ठूला केही आँट्न सक्दिनथेँ। शनिबार टीभी हेरेर फर्किंदा उनीहरू सधैँ भन्थे, "बुवा टीभी  किनम् न है !"

मसँग तयार जवाफ हुन्थ्यो, "अहिले त पढ्न छाडेर यसरी बिगि्रएका छौ, टीभी ल्याएपछि झन् के हालत होला ?" उनीहरू चुपचाप फर्किन्थे ।

घरमा कामको जिम्मा बाँडिदिएको थिएँ । छोरी भाँडा माझ्थी, जेठोले पखाल्थ्यो । कान्छो सानै भएकाले पानी हाल्ने मात्रै । आफ्ना लुगा आफैँ धुनुपर्ने ।  आफ्ना साथीसंगी खेलिरहँदा उनीहरु केही न केही काम गरिरहेका हुन्थे । चित्त दुख्दो हो, कहिलेकाहीँ गुनासो गर्थे ।

म कड्किएर भन्थेँ, "तिमीहरू कम्युनिस्टका छोराछोरी हौ, आफ्नो काम आफैँ गर्नुपर्छ। जसले गर्दैन, ऊ जीवनमा कहिल्यै पनि ठाडो शिरले बाँच्दैन । खे ल्नु छ भने पहिले काम सक ।" दुई महिनापछि चिठ्ठामा सांगि्रला टीभी पर्‍यो। छोराछोरीलाई त्यति खुसी जीवनमा कहिल्यै देखेको थिइनँ ।

***

फेन्सी बेचेँ, त्यही पसलको उपल्लो तलाको 'पाहुना घर' किनेँ। रक्सी, चुरोट नबेच्ने आदर्श त्यही होटलको बेसिनमा पखालियो । त्यही होटलले दिएको  पैसाले अलि छेउतिर चारकोठे घर बनाएँ । सादा टीभीको ठाउँमा रंगीन आयो । एन्टेनाको ठाउँमा केबल जोडियो। छोराछोरी सरकारीबाट बोर्डिङ छिरे ।  लाग्यो- अब जीवन यसभन्दा सुखी कहिल्यै हुन्नौँ ।

छोरी र छोरा दुवैले सँगै एसएलसी दिए, लगत्तै छोरीले बिहे गरी । त्यसको दुई महिनापछि जेठोले पत्रिकामा जागिर खायो। पहिलो महिनाको तलब ७ सय  ५० रुपियाँ लिएर मेरो अघि आउँदा मुटु ढक्क फुल्यो । मलाई यत्तिमा सन्तोक थियो- कमसेकम उसले पैसाको महफ्व बुझ्यो, अब ऊ भोकै मर्दैन ।

२६ वर्षपछि ऊ काठमाडौँ गयो- डिग्री पढ्न । ऊपछि कान्छो पनि हिँड्यो । अचेल बूढाबूढी एक्लै छौँ घरमा। कान्छो तातोपानीतिर ढुंगाको डाक्टर छु  भन्छ ।

बुबाको मुख हेर्ने दिन जेठोले '२६ वर्ष' भन्ने संस्मरण लेखेछ । यहीँको युगबोधले छापेपछि बूढीलाई पढेर सुनाएँ । ऊ धर्धरी रोई। भन्थी, "पहिले हाम्ले  पिट्दा ऊ रुन्थ्यो, अहिले उसले लेखेर हामीलाई रुवाउँछ ।"
 

Follow Lenin Banjade on Twitter»»» @lendaai

प्रकाशित: जेष्ठ ३, २०७४