वाङ्मयका गुगल

  • गुगलमा बरू त्यतिका सूचना नहोला, शिव रेग्मीमा नेपाली साहित्यिक इतिहासको ज्ञान गुगलभन्दा ज्यादा छ ।

- राजकुमार बानियाँ

आदिकवि भानुभक्त आचार्यको मृत्यु विसं १८२५ मा भएको हो कि १८२६ मा ? चन्द्रशमशेरको जन्मोत्सवमा गोरखापत्रमा कस्ता सामग्री छापिएका थिए ? महाकवि लक्ष्मीप्रसाद देवकोटाको शोकका समाचार र सम्पादकीय कस्ता थिए ? पहिलो नारी कथाकार तुषारमल्लिका महिला नै हुन् त ? आमाका सपनामा नपरेका गोपालप्रसाद रिमालका कविता कति छन् ? 

यावत् जिज्ञासाको प्रामाणिक जवाफका लागि इन्टरनेटको गुगल सर्च इन्जिनजस्तै हुन्– शिव रेग्मी, ७६ । गुगलमा बरू त्यतिका सूचना नहोला, शिवमा नेपाली साहित्यिक इतिहासको ज्ञान गुगलभन्दा ज्यादा छ । हरेक लेखक र प्रकाशका तिथिमिति उनलाई मुखाग्र छ । कुन रचना कसको हो र कहाँ छापिएको थियो, तत्काल पत्ता लगाइदिन्छन् । काठमाडौँ, नयाँ बानेश्वरको मयूरमार्ग घर नं–६१ को चारकोठे भुइँतलाभरि छरिएका हजारौँ पत्रपत्रिका र पुस्तकमै बिहानदेखि साँझसम्म घोत्लिन्छन् शिव । पुराना मात्र होइन, नयाँँ कुरामा पनि ‘अपडेट’ छन् । क–कसका नयाँ किताब निस्किए ? कसले के–के पुरस्कार पाए ? को कस्तो लेख्छ ? 

घरमा पुस्तक र पत्रपत्रिका कति छन् भने राख्ने ठाउँ नभएर केही सेट मार्टिन चौतारीलाई दिए, केही मदन पुरस्कार पुस्तकालयलाई दिए, केही भृकुटीमण्डपको सार्वजनिक पुस्तकालयलाई । बाँकी संकलन आफ्नो सेखपछि कसलाई जिम्मा लगाउने भन्ने पनि उनले सोचिसकेका छन् । उनको कामना छ, अनुसन्धातालाई काम लागोस् । उनलाई थाहा छ, आफ्नो संकलन बुझ्नेका लागि सम्पत्ति हो, नबुझ्नेका लागि खाली सिसी पुराना कागज । 

साँच्चै भन्ने हो भने नेपालमा ‘रेकर्ड क्लिपिङ’को सुरुआत यिनै शिवले नै गरेका हुन् । शरदचन्द्र शर्मा भट्टराई, घटराज भट्टराई, विपिनदेव ढुंगेल, अच्यूतरमण अधिकारी आदि मनीषीको कोसिसलाई मूर्त रूप दिए उनले । “शिव रेग्मीको काम विशुद्ध प्राज्ञिक अनुसन्धान हो । पुराना पुस्तक र पत्रपत्रिकाको सामान्य सूची मात्र निकालिदिए पनि प्राज्ञिक अनुसन्धानको क्षेत्रमा धेरै सघाउ पुग्छ,” अंग्रेजीका पुराना प्राध्यापक वंशी श्रेष्ठ भन्छन्, “उनलाई त उमेर नहेरी एकेडेमी (प्रज्ञा–प्रतिष्ठान)जस्ता संस्थाले जुरुक्क उठाएर लैजानुपर्ने हो । नभए एउटा सहयोगी दिएर घरमै काम गराउनुपर्ने हो । उनको संकलनलाई सुरक्षित गर्नुपर्ने हो ।”

फगत शब्दको प्रज्ञा–प्रतिष्ठानमा तलबभत्ता र पार्टीको गुणगान गाउने कथित प्राज्ञ छन् । तर, शिव फगत व्यक्ति नभएर एउटा सक्रिय संस्था भइसकेका छन्, वाङ्मयको क्षेत्रमा । दशकौँदेखि अध्ययन, चिन्तन र मननलाई नै जीवनशैली बनाएका छन् उनले । आफ्नो कामका लागि कतै धाउनु पर्दैन । सबथोक आफ्नै घरभित्र छ । पोहोर साल ‘मर्निङ वाक’मा जाँदा बाटोमै बेहोस भएपछि उनी घरबाहिर निस्केका छैनन् । डाक्टरले मनाही गरेका छन्, बाहिर नहिँड, हिँड्ने हो भने एक्लै नहिँड । त्यसपछि त झन् उनी ढुक्कै घरेलु भए ।

फुर्सद शिव रेग्मीको गोजीमै छ । जतिबेला मन लाग्छ, झिक्छन् र साहित्यलाई दिन्छन् । किताब नै उनका सक्कली साथी हुन् । शारदा, प्रगति, इन्द्रेनी, रूपरेखा, धर्ती, मुकुट, रचना आदि १५ दर्जन पत्रपत्रिकाका पहिलोदेखि अन्तिम अंकसम्म उनीसँगै छन् । एकाध अंक छैन भने पनि उनी रुँदै हिँडेका छैनन् । उनले कसरी जम्मा गरे होलान् यतिका सामग्री ? “बुबा र दाजुले पढेका पुस्तक र पत्रपत्रिका त छँदै थिए, ०१६ सालदेखि त मै त्यसको अम्मली भइहालेँ,” उनी खुसी छन्, “केही सामग्री सजिलै पाएँ, कति सामग्री खरिद पनि गरेँ ।” 

नेपाल राष्ट्रिय पुस्तकालयले ०१६ मा रूपरेखा पत्रिका निकाल्दा स्वयंसेवकका रूपमा क्रियाशील शिवले ईश्वर बरालको घरमा भएका दुर्लभ सामग्री भने निश्चित रकम तिरेर लिएका रहेछन् । “पहिले हामीले मुनामदन पढ्दा २०–२५ श्लोक मात्र थियो,” उनी देवकोटाकृत खण्डकाव्यको नयाँ जानकारी दिन्छन्, “अरू श्लोक देवकोटाले आफू मृत्युशय्यामा रहँदा ०१५ मा कञ्चन पुडासैनीलाई थप्न लगाएका हुन् ।”

कतिपयका मनमा प्रश्न पनि हुन सक्छ, शिव रेग्मी ‘लाइब्रेरियन’ हुन् कि ‘स्कलर’ ? खासमा उनी दुवै हुन् । नेपाली भाषा साहित्यका पारखीका रूपमा उनले पुस्तक र पत्रपत्रिका संकलन गरे, तिनैलाई केलाएर आफ्नो विद्वता पनि देखाए । आफ्नै पुस्तकालयका पत्रपत्रिका केलाउने क्रममा तयार भएका हुन्, शंकर लामिछाने र भूपी शेरचनका पुस्तक । त्यसका लागि रेग्मी कार्यरत निर्वाचन आयोगमै पुगेर फर्माइस गरेका थिए, साझा प्रकाशनका तत्कालीन महाप्रबन्धक तथा अध्यक्ष गणेश रसिकले । 

६ महिनामा दुवै पाण्डुलिपि बुझाइदिए उनले । उनलाई थाहा छ, अखबारमा छापिएका लेख–रचना आज पढिन्छ, भोलि नै भुलिन्छ । पुस्तक बनाए पछिसम्म काम लाग्छ । शंकर लामिछानेका निबन्ध निकालेपछि थप पाँच निबन्ध फेला पारेका छन् उनले । तिनलाई नयाँ संस्करणमा समेट्ने उनको रहर छ । लक्ष्मीप्रसाद देवकोटाका कविताका हरफ, गोपालप्रसाद रिमालका नाटकका अंश, शंकर लामिछानेका निबन्ध शैली, भूपी शेरचनका गद्य कविता पढेर उनी अझै पनि पुलकित हुन्छन् । 

शिवका पिता पण्डित केदारनाथ रेग्मीको नोकरी राजा त्रिभुवनको पूजाकोठामा थियो । खास काम थियो, राजाको ज्यूनारका बेला गफ गरेर हँसाउनु । राजाले चौरासी व्यञ्जन खाँदावर्दा एकाध घन्टा लाग्थ्यो रे † शिव रेग्मी केदारनाथकी दोस्री पत्नीपट्टिका छोरा हुन् । पुख्र्यौली थलो नैकापदेखि हनुमान ढोका एक कोस टाढा भएकाले ठमेलमा डेरा गरेर बसेका थिए केदारनाथ । ठमेलको डेराबासले नेवारी भाषामा पनि निपुण बनायो शिवलाई । घरबेटी नेवार भएकाले नेवारीमा बोल्नुपर्ने एकखाले बाध्यता पनि थियो । 

दुर्भाग्य के भने, उनको बाल्यकाल टुहुरोजस्तो हुन पुग्यो । उनी जन्मेको चार वर्षमै आमा प्रेमकुमारी बितिन् भने नौ वर्षको छँदा बाबु पनि परमधाम भए । दाजु रामप्रसादको आश्रयमा हुर्किए । धोबीचौरमा धनमानसिंह परियारले खोलेको बालसखा दलमा पढे । त्यहाँ प्राथमिक शिक्षा पाएपछि त्यति बेलाको एक नम्बर मानिने जुद्धोदय पब्लिक स्कुल गए । तर, त्यहाँ कक्षा–४ नै रहेनछ । मुकुन्द शर्मा रेग्मीले एकैचोटि कक्षा ५ मा भर्ना गरिदिए । गायक नारायण गोपाल उनका सहपाठी थिए । दुवैको स्वभाव मिल्थ्यो, धेरै नबोल्ने, अलि गम्भीर पनि ।

०१५ मा एसएलसी गरे उनले । त्यसपछि नेसनल कलेज (शंकरदेव)मा एकाध वर्ष पढेर छाडिदिए । त्यसको लामो अन्तरालपछि अर्थात् ०२४ मा प्राइभेट आईए दिए । उनी त्यसको दुई वर्षअगावै खरिदार भइसकेका थिए, सिंहदरबारस्थित कानुन आयोगमा । जागिर दिएका थिए आयोगका तत्कालीन सदस्य–सचिव विश्वनाथ उपाध्याय (पछि प्रधानन्यायाधीश)ले । विश्वनाथका स्वकीय सचिव (पीए) भए, शिव । पीएको खासै काम हुन्नथ्यो । चिया, कफी भनिदिने । भेट्न आएकालाई भित्र कोठामा पसाइदिने । 

केही वर्षपछि बलराम मल्ल, वेदव्यास क्षत्री आदि अधिकृत बनेर सेतो लुगामाथि कालो कोट ढल्काएर आए आयोगमा । अनि पो झल्याँस्स भए । त्यो जमाना अचम्मैसित शैक्षिक योग्यता प्रदर्शन हुन्थ्यो । लक्ष्मीप्रसाद देवकोटा बीए–बीएल, गोविन्द भट्ट एमए, तारानाथ शर्मा एमए आदि इत्यादि । त्यही झोकमा उनले पनि एमए, बीएल गरे । खरिदार, नायव सुब्बा, शाखा अधिकृत हुँदै निर्वाचन आयोगको उपसचिवका रूपमा ३८ वर्षे निजामती सेवानिवृत्त भए । “जागिरे जीवनको अनुभव अहिले काम लाग्दैन, अफिस टाइमबाहेक अन्यत्र कतै चाकरीमा गइएन,” उनी स्वीकार्छन्, “नैनसुतको कपडामा दाग लाग्छ भन्ने मात्र लागिरह्यो मलाई ।” 

सबैजसो लेखक कविता लेखेर साहित्यमा पाइला सार्छन् । शिवको हकमा पनि त्यस्तै भयो । उनको पहिलो कविता प्रेमसम्बन्धी थियो । उनी त्यसमा सन्तुष्ट हुन सकेनन् । त्यो कविता अहिले पढ्न पनि संकोच लाग्छ । त्यसपछि उनले केही थान कथा लेखे । उनी त्यसलाई ‘नयाँ सन्देशमार्का’ भन्न रुचाउँछन् । कथा–कवितामा सन्तुष्ट हुन नसकेपछि समालोचना थाले ०२७ सालमा । विजयबहादुर मल्लको नाटक कोही किन बर्बाद होस् माथि । विजयसँग भनाभन नै भयो । त्यसपछि उनलाई लाग्यो, समालोचनाको पनि काम रहेनछ । 

भनौँ, एकखाले वैराग्य छायो उनमा । जिउँदा लेखकबारे लेख्नै छाडिदिए । बरू मरिसकेका लेखकले केही भन्दैनन् भन्ने लाग्यो उनलाई । त्यसका लागि घरमा विशाल पुस्तकालय तयार भयो । ०४९–५० देखि तिनै पुराना जिनिसको खोजीमेलीमा लागे । यस क्रममा उनका अतीतका पाना, खोजीनीति, खोजीमेलीलगायत पुस्तक तयार भए । थुप्रै पाण्डुलिपिका रूपमा छन् । दुई दर्जनभन्दा बढी पुस्तक सम्पादन गरे । ती नेपाली साहित्य भण्डारमा महत्त्वपूर्ण साहित्यिक दस्तावेजका रूपमा छन् । 

खोजीमेलीका क्रममा भूपी शेरचनका संग्रहमा नपरेका कविता बटुले, शंकर लामिछानेका पुस्तकमा नअटाएका निबन्ध जम्मा गरे, महाकवि देवकोटाले लेखेका भूमिकाहरू एकैठाउँ समेटे, शारदा पत्रिकाका सम्पादकीय टिप्पणीहरू एकमुष्ट गरे । नेपाली पत्रपत्रिकाको इतिहास पढाए, नेपाल प्रेस इन्स्टिच्युटमा । पी खरेलसित मिलेर नेपालमा आमसञ्चारको विकास शीर्षकमा पुस्तक पनि लेखे ०६३ मा । अझै पनि गोरखापत्रसम्बन्धी इतिहास, १९५० देखि ००७ सम्मका साहित्यकार, मोती मण्डली, नेपाल साहित्य परिषद्जस्ता पुराना साहित्यिक संस्थाकाबारे पनि पाण्डुलिपि सिरानीमै छन् । उनलाई छाप्छु छाप्छु भन्दै झुलाउने पनि धेरै छन् । तर, उनी छापिदिनूस् भन्दै कतै जाँदैनन्, छाप्छु भन्दै कोही उनीकहाँ पुग्दैनन् । उनलाई अनुभव छ, नबिक्ने र सेलिब्रिटी नहुने किताबमा प्रकाशकको ध्यान जाँदैन । 

यिनै साहित्यिक देनबापत शिव रेग्मीले जगदम्बाश्री पुरस्कार पाए ०७० मा । १ सय १७ वर्ष पुगेको अवसरमा गोरखापत्र संस्थानले सम्मान गर्‍यो । उनले अन्वेषकको दर्जा पाएका पनि छन् । “यहाँ त सामान्य छानबिन पनि अनुसन्धान, प्रहरीको मुचुल्का पनि अन्वेषण, वकिलको अदालती बयानपूर्वको टिपोट पनि अन्वेषण,” उनको असहमति छ, “कसैले अन्वेषक भनिहाल्यो भनेर म चित्त दुखाउँदिनँ । तर, म आफूलाई साहित्यिक टिप्पणीकार मात्रै भन्न रुचाउँछु ।”

असहमति पनि टन्नै छन् उनका । पाठकभन्दा लेखक धेरै । पाठ्यपुस्तक र गेसपेपर लेख्ने साहित्यकार, प्राध्यापक–डाक्टर सबै साहित्यकार, शिक्षक सबै साहित्यकार, पत्रकार सबै साहित्यकार । सबै जना आ–आफ्नो गुटका एकअर्कालाई मात्र तारिफ गर्छन् । “श्रद्धेय गुरु धनमानसिंह परियार नामक लेख लेखेर गरिमामा पठाएँ । दलितलाई गुरु लेख्ने भनेर साझाका सञ्चालकले एक वर्षसम्म रोकिदिए,” उनी सुनाउँछन्, “पछि सम्पादक गोपाल पराजुलीलाई मनाएर बल्लबल्ल छपाएँ । यस्ता संकीर्ण मान्छेहरू थुप्रै छन् ।” नेपाली कांग्रेसका महामन्त्री रहिसकेका परियारकी बहिनी कमला विख्यात विद्वान् राहुल सांकृत्यायनकी पत्नी थिइन् ।

काठमाडौँ, वटु:की ज्वाला बज्राचार्यसित ०२४ मा प्रेमविवाह गरे उनले । कलेजको ट्युसन पढ्ने बेला भेटिएकी थिइन् ज्वाला । त्यो समय अन्तर्जातीय प्रेमविवाह एकखाले विद्रोह नै हो । पेसाले नर्स थिइन् ज्वाला । कान्ति बाल अस्पतालमा राजपत्रांकित तृतीय श्रेणीकी अधिकृतका रूपमा सेवा गरेकी उनी १५ वर्ष अल्जाइमरले थला परिन् । प्रेमीकै रूपमा अटुट सेवासुश्रुषा गरेका शिवलाई के कुरामा उदेक लाग्छ भने त्यतिका समय बिरामी पर्दा पनि कोही साथी भेट्न आएनन् । पोहोर साल उनको इहलीला सकियो । “श्रीमतीका मामिलामा कमलमणि दीक्षित र मेरो नियति एउटै भयो,” उनी भन्छन्, “उनकी पत्नी र मेरी पत्नी लामो समय अल्जाइमरपीडित भए । मेरी श्रीमतीको १३औँ दिन उनकी अर्धाङ्गिनी पनि परलोक भइन् ।”

शिव–ज्वालाकी एक्ली सन्तान शैलजा भट्टराई रक्षा मन्त्रालयमा उपसचिव छन् । “दुवै जना सर्भिसमा थियौँ । कहिले एक ठाउँमा नहुने । कहिले काठमाडौँमा, कहिले बाहिर,” उनी सुनाउँछन्, “धेरै सन्तानको इच्छा पनि थिएन । हुँदा पनि भएन ।” पत्नी बिरामी परेपछि उनी बत्तीसपुतलीको घर भाडामा लगाएर छोरीको घरमा सरेका हुन् । 

एकै थलोमा बसेर किताबमा ध्यान दिँदा चस्मामा पावर थप्नै नसकिने गरी आँखा बिगारे उनले । चिनी रोगले गालेको ३४ वर्ष भइसक्यो । नित्य बिहान ६ चक्की, बेलुकी चार चक्की औषधी खान्छन् । ०४० मा सिंगापुरको १० हप्ते बसाइमा बक्सिसका रूपमा आएको थियो त्यो रोग । साहित्यबाहेक अतिरिक्त सोख छैनन् उनका । राजकपुर, दिलीपकुमार, देवानन्द, राजेश खन्नाका पालाका फिल्मी गीतले उनलाई जवानीका दिनमा फर्काइदिन्छन् । मुकेशको आवाज गुनगुनाउन खोज्छन्, ‘आवारा हुँ, आवारा हुँ या गर्दिशमें हुँ, आसमानका तारा हुँ, घरबार नहीँ.. ।’ 

बुढ्यौलीमा समेत शिव रेग्मी कति व्यस्त छन् भने बिनाकारण कसैसित भेट्दैनन् । उनको सारा समय पठन र खोज–अनुसन्धानका निम्ति हो । उनी कम्प्युटर टाइप जान्दैनन् । हातले लेख्न मुस्किल छ । “मदनमणि दीक्षित, धनुषचन्द्र गोतामेले जस्तो गणेश राखेर लेखाउने मन नभएको होइन,” उनी दु:खी हुन्छन्, “तर, गणेशजीलाई भोकै राख्ने कुरा पनि त आएन !” 

प्रकाशित: जेष्ठ २, २०७४