‘मलाई स्टारडममा चासो छैन’— विपुल क्षत्री

  • "म आफ्नो सन्तुष्टिका लागि सिर्जना गर्छु ।"

- सुरेशराज न्यौपाने

‘सिन्डीकेट...’, ‘रामसाइली...’, ‘डढेलो...’, ‘असार...’ जस्ता गीत कालिम्पोङका गायक विपुल क्षत्रीलाई चिनाउन पर्याप्त छन् । संसारभरका नेपालीभाषीमाझ विपुलको लोकप्रियताको पारो दिनहुँ चढ्दो छ । हिट्स एफएम म्युजिक अवार्ड–१६ मा क्षत्रीले उत्कृष्ट पपगायक, उत्कृष्ट पप/रक सिर्जनाको पुरस्कार जितेका थिए भने उनको एल्बम स्केचेस अफ दार्जीलिङले उत्कृष्ट एल्बमको उपाधि जितेको थियो । भारतको नयाँदिल्लीमा बस्दै आएका क्षत्रीसँग गरिएको कुराकानी :

पछिल्लो एल्बम माया कत्तिको रुचाइयो ?
राम्रो प्रतिक्रिया पाइरहेको छु । धेरैले मन पराउनुभएको छ । सार्वजनिक भएको धेरै भएको पनि छैन । 

पहिलो एल्बम स्केचेस अफ दार्जीलिङभन्दा के अर्थमा फरक छ माया ?
यात्रामा जाँदा बनाएका गीत समाविष्ट छन् । यो एल्बममा दार्जीलिङको परिवेशबाट बाहिर आउने प्रयास गरेको छु । लाइभ कार्यक्रममा नाच्ने खालका गीत छन् । ‘ कहिलेकाहीँ...’ भन्ने गीतलाई रिअरेन्ज पनि गरिएको छ । 

संगीत, शब्द र संयोजन आफैँ गर्नुहुन्छ ? गाह्रो काम होइन ?
म यसलाई गाह्रो मान्दिनँ । झन् आफैँले गर्न पाउँदा बेग्लै सन्तुष्टि मिल्छ । 

एउटा गीतलाई अन्तिम रूप दिन कति समय लाग्छ ?
कम्तीमा पनि चार–पाँच महिनादेखि एक वर्षसम्म लाग्छ । प्रत्येक गीतको बेग्लै पहिचान हुन्छ भन्ने मेरो बुझाइ छ । यस कारण पनि बढी समय लगाउँछु । पूरै टिममा लामो मन्थन र छलफलपछि मात्र गीत तयार हुन्छ ।

श्रोताले तपाईंलाई किन मन पराएका होलान् ?
मेरो संगीतप्रतिको इमानदारी र नयाँपन तथा शैलीले हो कि ! लोक र स्थानीय शैली र नेपालीपनले पनि हो कि ! गीतहरू प्राय:जसो अनुभव र परिवेशसँग जोडिएकाले पनि हो कि ! मनबाट लेखेको र गाएकाले पनि हो कि !

तपाईंका गीतका शब्द वजनदार लाग्छन् तर युवाहरूले बढी रुचाएको देखिन्छ नि ?
म आफैँ छक्क परेको छु, के भयो यस्तो भनेर । तर, जे भए पनि खुसी लाग्छ युवा जमातलाई लोकसंगीतप्रति रुचि जगाउन सकेकामा ।

सफलताको यो उचाइ कसरी प्राप्त भयो ? 
निरन्तरको साधना । 

नेपालमा पनि तपाईंको क्रेज शिखरमा छ त ? 
नेपाली गीतसंगीतको मूल त नेपाल नै हो । दार्जीलिङका नेपालीभाषीबाहेक संसारभरका नेपालीले मेरो गीतसंगीत रुचाउनुभएको छ । मेरो सफलतामा उहाँहरूको स्नेहको ठूलो योगदान छ । 

अहिलेको ‘स्टारडम’ र ‘क्रेज’ कायम राख्ने दबाब छ कि छैन ?
मलाई स्टारडममा चासो छैन । म आफ्नो सन्तुष्टिका लागि सिर्जना गर्छु । त्यही भएर त्यो दबाब मैले महसुस गरेको छैन ।

नेपाली भाषामा कस्ता गीत–संगीत सिर्जना भइदेओस् भन्ने चाहनुहुन्छ ?
पश्चिमा प्रभावबाट मुक्त मौलिक गीत–संगीत सिर्जना होस् भन्ने चाहन्छु । 

गीत–संगीतबाहेक केमा रुचि राख्नुहुन्छ ?
कवितामा बढी नै रुचि छ । कवितामा बेग्लै जादू हुन्छ । नसकेका कुरा पनि कविताले व्यक्त गर्न सक्छन् । गैरआख्यानमा पनि बढी चाख छ । विचार र दर्शन निर्माण गर्न सघाउने भएकाले पनि पुस्तक पढ्ने गर्छु । किनभने, गीत–संगीतको सिर्जनामा त्यसले ठूलो अर्थ राख्छ । 

प्रकाशित: जेष्ठ २, २०७४