गुगल क्रोम अफलाइन मोडमा पनि

- नेपाल संवाददाता

गुगलको वेब ब्राउजरले अफलाइन मोड सुरू गरेको छ । प्रयोगकर्ताले अब आफूले हेर्न चाहेका वेब पेज डाउनलोड गर्न सक्नेछन् र फुर्सदमा हेर्न सक्नेछन् । यसमा सबैभन्दा राम्रो कुरो के भने एकपटक डाउनलोड गरिएको वेब पेज पछि खोल्न इन्टरनेट चाहिँदैन । अर्थात् अफलाइनमै रहेर वेब पेज खोल्न सकिन्छ ।

यस्तो निकै उपयोगी सुविधा गुगल क्रोमको एन्ड्रोइड एपमा आएको हो । यो सुविधा प्रयोग गर्न प्रयोगकर्ताले जुनसुकै वेब पेजमा रहेका लिंकलाई एकछिनसम्म ट्याप गरे त्यहाँ डाउनलोड लिंक भन्ने अप्सन आउँछ । प्रयोगकर्ताले खोलिरहेकै वेब पेज डाउनलोड गर्नुपरे दायाँतिरको माथिल्लो भागमा रहेको ड्रपडाउन मेनुमा जानुपर्छ, जहाँ डाउनलोड भन्ने अप्सन हुन्छ । कुनै वेब पेज लोड हुन असफल भएमा डाउनलोड लेटर भन्ने अप्सन पनि आउँछ । डाउनलोड लेटर गरिएका वेब पेज प्रयोगकर्ता अनलाइन हुनासाथ आफैँ डाउनलोड हुन्छन् । डाउनलोड भएका हरेक वेब पेज अर्को ट्याब खोल्नासाथ माथि नै देखिनेछन् ।

प्रकाशित: जेष्ठ २, २०७४