चुजी खगेन्द्र

- नेपाल संवाददाता

एकाध फिल्म हिट हुनासाथ कलाकारहरु जति फिल्मको प्रस्ताव आउँछ, सकेसम्म सबै खेल्छन् । दयाहाङ राई र सौगात मल्ल पछिल्ला उदाहरण हुन् तर अभिनेता खगेन्द्र लामिछाने भने केही अलग र संवेदनशील देखिएका छन्, फिल्म छनोटको मामलामा । टलकजंग भर्सेज टुल्के हिट भएपछि खगेन्द्रको माग बढ्यो तर हतारिएनन् । आफैँले स्क्रिप्ट लेखे र आफैँ खेले, पशुपतिप्रसाद । यो फिल्मले बक्स अफिसमा कमाल मच्चायो नै, राष्ट्रिय अवार्ड पनि जित्यो । यसपछि त झन् खगेन्द्रतिर धेरै निर्देशक/निर्माताको आँखा सोझियो । तैपनि, खगेन्द्रमा कुनै मोह देखिएन । त्यसैले त पशुपतिप्रसाद रिलिज भएको डेढ वर्षपछि बल्ल उनको नयाँ फिल्म प्रदर्शन हुने भएको छ । फिल्म हो, धनपति । पटकथा उनैले लेखेका हुन् भने निर्देशक पशुपतिप्रसादकै दीपेन्द्र के खनाल हुन् ।

 

प्रकाशित: जेष्ठ २, २०७४