चास्नीमै फुरुङ्ग

- नेपाल संवाददाता

भनिन्छ, सफलता पाउनभन्दा बचाउन मुस्किल पर्छ । नपत्याए हिरोइन सुषमा कार्कीलाई हेरे हुन्छ । लुटको ‘उध्रेको चोली...’ आइटम डान्सले सुषमालाई रातारात हटकेक बनायो । म्युजिक भिडियो र देश/विदेशमा हुने सांस्कृतिक कार्यक्रममा मात्र होइन, फिल्ममा हिरोइनकै रुपमा सुषमाको माग बढ्यो । तर, यो लोकप्रियतालाई सदुपयोग गर्दै करिअर उकास्ने मामलामा उनी पूर्णत: विफल भइन् । प्रेमीसँगको निरन्तर लफडाले साख धुमिलियो भने उनीसँग काम गरेका निर्माता/निर्देशकले सुषमासँग व्यावसायिकता नभएको भन्दै रोष प्रकट गरे । यसरी फिल्मवृत्तबाटै ओझेल परेकी सुषमाले बल्ल राहत महसुस गर्न पाएकी छन् । किनभने, उनले नरेशकुमार केसी निर्देशित फिल्म रोमियो एन्ड मुनामा अभिनय गर्ने मौका पाएकी छन् । तर, दु:खको कुरा उनको भूमिका छोटो छ । मुख्य भूमिकामा त सृष्टि श्रेष्ठ छिन् । भनेपछि माखो मर्ला त !

प्रकाशित: जेष्ठ १, २०७४