असुरक्षित एप

- नेपाल संवाददाता

गुगलको प्लेस्टोरमा भेटिने कैयौँ एप असुरक्षित देखिए । यस्ता एप विभिन्न किसिमका मालवेयरबाट संक्रमित रहेको पाइएको छ । प्लेस्टोरमै रहेका कतिपय एप ओपन पोर्ट भएका कारण ह्याक गर्न निकै सजिला छन् । फेक डेभलपरले बनाएका यस्ता एपबाट प्रयोगकर्ताका डिभाइस ह्याक गर्ने उद्देश्य राखेरै ओपनपोर्ट राखिएको हुन सक्छ । 

मिचिगन युनिभर्सिटीका अनुसन्धानकर्ताले प्लेस्टोरका २४ हजार एपलाई जाँच गर्दा चार सयभन्दा बढीमा यस्तो समस्या भेटिएको हो । त्यस्तै चेकपोइन्ट नामको सेक्युरिटी रिसर्च कम्पनीको अनुसन्धानमा धेरै एप मालवेयर संक्रमित रहेको भेटिएको छ । चेकपोइन्टले यसबारे गुगललाई जानकारी गराएर ती एपलाई प्लेस्टोरबाट तुरुन्तै हटाउन लगाएको थियो । 

मालवेयरको समस्या कैयौँ लोकप्रिय एन्ड्रोइड गेमलगायत अन्य थुप्रै एपमा पनि भेटिएका छन् । त्यसकारण प्रयोगकर्ताले कुनै नयाँ एप इन्स्टल गर्दा त्यसको डेभलपरबारे राम्रो जानकारी लिनुपर्छ । एपको रेटिङ र रिभ्यु कस्तो छ र इन्स्टल गर्दा कस्तो जानकारी र अनुमति माग्छ भन्ने कुरा पनि विचार पुर्‍याउनुपर्छ । 

प्रकाशित: जेष्ठ १, २०७४