पुरानासँग रोमान्स

- नेपाल संवाददाता

फिल्म ब्रास्लेटमा अनुबन्ध भएपछि हिरोइन रजनी केसीको चुरीफुरी हेर्नलायक थियो । किनभने, यस फिल्ममा उनले कुनै समयका हिट हिरो रमेश उप्रेतीसँग स्क्रिन सेयर गर्ने मौका पाएकी थिइन् । छविराज ओझाको ब्यानरबाट डेब्यु हुन पाउँदा पनि चम्कन नसकेकी यी हिरोइन रमेशसँग काम गर्दा आफ्नो ख्याति ह्वात्तै बढ्नेमा निश्चिन्त थिइन् तर फिल्म फ्लप भएपछि कसको के लाग्छ ? तर, यतिबेला रजनी फेरि उस्तै शैलीको उत्साहले भरिएकी छन् । कारण हो, दिलीप रायमाझीसँगको रिल रोमान्स । यो अवसर जुराइदिएका हुन्, निर्देशक रञ्जित कुमारले फिल्म रमितामा । अमेरिकाबाट फर्किएका दिलीपसँग रजनी धमाधम रमिताको सुटिङ गरिरहेकी छन् । तर, आफ्नै क्रेज जोगाउन नसकिरहेका दिलीपले रजनीलाई सफलताको स्वाद चखाउलान् त ?

प्रकाशित: जेष्ठ १, २०७४