फेसबुकको भीआर स्पेस

- नेपाल संवाददाता

फेसबुकले भर्चुअल रियालिटी (भीआर) स्पेसको बिटा भर्सन सुरू गरेको छ । यो सुरू भएसँगै फेसबुक सम्भवत: पहिलो भीआर सामाजिक सन्जाल भएको छ । अहिलेका लागि यो सुविधा फेसबुककै मातहतमा रहेको ओकुलस रिफ्टमा मात्रै उपलब्ध छ । ओकुलस रिफ्ट भीआर हेडसेट हो । अब छिट्टै नै फेसबुकको भीआर स्पेस अन्य भीआर हेडसेटमा पनि उपलब्ध हुनेछ ।

यो फिचर प्रयोग गर्न प्रयोगकर्ताले ओकुलस भीआरमा आफ्नो फेसबुक अकाउन्ट कनेक्ट गर्नुपर्छ । त्यसपछि ल्यापटप वा स्मार्टफोनमा गरिने च्याट, भ्वाइस वा भिडियो कल सबै थ्रीडी एनिमेसनमा गर्न सकिन्छ । सुन्दा अचम्म लाग्न सक्छ तर यो स्पेसमा आपसमा कुरा गरिरहेका प्रयोगकर्ताले सेल्फी पनि खिच्न सक्छन् ।

तर, यसरी खिचिएका सेल्फीमा प्रयोगकर्ताका एनिमेटेड अवतार मात्रै देखिन्छ । किनभने, प्रयोगकर्ता भौतिक रुपमा टाढा हुन्छन् तर यो भीआर स्पेसमा सँगै रहेको महसुस हुन्छ ।

स्पेसमा च्याट गरिरहँदा प्रयोगकर्ताका अवतारले त्यही अनुसारको मिल्दोजुल्दो हाउभाउ पनि देखाउँछ । र, प्रयोगकर्ताले स्पेसमै एक अर्कालाई देख्ने गरी चित्र कोर्न सक्छन् । फेसबुकको यो नौलो र अद्भुत भीआर स्पेस अहिले तुरुन्तै त्यति सफल त नहोला । तर, जब भीआर हेडसेट सबैको हातहातमा पुग्छ, त्यतिबेला यसको लोकप्रियता निकै बढेर जाने अनुमान लगाउन सकिन्छ ।

प्रकाशित: वैशाख २९, २०७४