संवेदनशील विषय, मार्मिक प्रस्तुति

  • ८० वर्ष पहिलेको कथा भए पनि आजको समाजको चरित्रसँग हुबहु मिल्छ ।

- गोकर्ण गौतम

भारत–पाकिस्तान विभाजनका विविध आयाम र असरलाई बलिउडले घरीघरी पर्दामा पेस गरिरहन्छ । भलै त्यस्ता विषयमाथि बनाइएका धेरैजसो फिल्ममा पाकिस्तानलाई नकारात्मक रूपमा प्रस्तुत गरिएको हुन्छ तर कहिलेकाहीँ यस्ता फिल्म पनि बन्छन्, जसले कुनै अमुक मुलुकको स्वार्थभन्दा संवेदना र भावनालाई प्रधानता दिन्छन् । आरोप–प्रत्यारोपलाई होइन, विषयको गम्भीरतालाई महत्त्व दिन्छन् । यही कोटिमा पर्छ, बेगम जान । श्रीजीत मुखर्जी निर्देशित यस फिल्ममा भारत–पाकिस्तान बिखण्डनको आततायी पक्ष उदांगो पार्न एउटा वेश्यालयलाई बडो प्रतीकात्मक रूपमा देखाइएको छ । यो दुई वर्षअघि श्रीजीतले नै निर्देशन गरेको बंगाली फिल्म राजकहानीको हिन्दी रिमेक हो । बाहिरबाट वेश्यालय बचाउन गरिएको संघर्षजस्तो देखिए पनि भित्री रूपमा सामाजिक तथा राजनीतिक सोचमा तिक्खर व्यंग्य गरिएको छ । ८० वर्ष पहिलेको कथा भए पनि आजको समाजको चरित्रसँग हुबहु मिल्छ । विद्या वालन फेरि जबर्जस्त भूमिकामा उत्रेकी छन् । 

ब्रिटिस उपनिवेशबाट स्वतन्त्र भएसँगै भारत र पाकिस्तान विभाजन हुन्छ । ब्रिटिस अधिकारीले जहाँबाट दुई देशको सीमा कोरिदिन्छन्, त्यहाँ बेगम जान (विद्या)को कोठी हुन्छ । जहाँ उनीबाहेक अन्य दस केटी र दुई केटा पनि हुन्छन् । सरकारी अधिकारीले कोठी भत्काउनुपर्ने उर्दी जारी गरेपछि बेगम जानले ठाडै अस्वीकार गर्छिन् । र, सुरु हुन्छ– सरकारी षड्यन्त्र । जुन असाध्यै अमानवीय र फोहोरी हुन्छ । तैपनि, आफ्नो स्वतन्त्रताका लागि बेगम एन्ड टिमले कठोर मुकाबिला गर्छन् । के आफ्नो आश्रय तथा कार्यस्थल बचाउन उनीहरू सफल होलान् ? फिल्मको क्लाइमेक्स अति कठोर तर विश्वसनीय छ ।

वेश्या यस्तो विम्ब हो, जसलाई बन्द कोठामा हरेक पुरुषले भोग्न खोज्छन् तर अरूको सामुन्ने छिछि र दूरदूर । पुरुषको यस्तै दोहोरो चरित्र र सामाजिक संरचनाले गर्दा उनीहरू आवश्यकभन्दा रूखो बन्न बाध्य भइदिन्छन् । कोठीकी मालिक्नी बेगम जान त्यस्तै छिन् । पुरुषलाई मात्र होइन, कोठीभित्रकै अरू केटीप्रति पनि उनको प्रेमभाव देखिन्न तर मनबाट असाध्यै कोमल छिन् । निर्देशक श्रीजीत उनको मनोविज्ञान र व्यवहारबीचको सन्तुलन मिलाउन सफल देखिन्छन् । त्यसो त फिल्मको सुरुआती दृश्य नै हाम्रो सोचभन्दा धेरै परको तर मुटुमै बिझ्ने खालको छ । सुरुमा वृद्ध महिलालाई प्रयोग गरिएको त्यस्तै दृश्य अन्त्यतिर एउटी बच्चीमार्फत देखाइएको छ । उस्तै शैलीका यी दुई दृश्य फिल्मको ‘सिग्नेचर’ हो । 

महान् उपलब्धि र उत्सव मानिएको स्वतन्त्रता पिँधका नागरिकका लागि अभिशाप बनेको तीतो यथार्थ, सरकारी अधिकारी निहित स्वार्थ, प्रायोजित दंगा, प्रहरी प्रशासनभित्रको कुकृत्य, महिलामाथिको हिंसालगायतका पक्षलाई निर्देशकले निकै मिहिन ढंगबाट केलाएका छन् । प्राय: एकै लोकेसन, त्यसमाथि कोठी वरपरकै दृश्य भए पनि पट्यार लाग्दैन । पटकथा र प्रस्तुति कसिलो हुनुको परिणाम हो यो । यद्यपि, क्लाइमेक्सको ‘मेलो ड्रामा’ जबर्जस्ती तन्काइएको प्रतीत हुन्छ । बेगम जान र गुलाबो (गौहर खान)लाई झैँ अन्य चरित्रलाई समान स्थान नदिएको भान हुन्छ । लोकेसन, कलाकारको वे शभूषा, बोल्ने शैली तत्कालीन समय अनुरूपकै छ । ड्रोनबाट खिचिएको कोठी र त्यसवरपरको दृश्य आकर्षक छ । गीतको प्रयोग सान्दर्भिक छ । 

बहुचरित्र भएका अक्सर फिल्ममा चरित्रहरूबीचको सन्तुलन र समन्वय फितलो हुन्छ, जसले गर्दा कथा लगाम फुत्किएको घोडाझैँ हुन्छ । तर, बेगम जान यस मामला पनि अब्बल लाग्छ । हुलिया र बोल्ने शैलीबाटै हरेक चरित्र स्थापित हुन्छन् । विद्याको हरेक अभिव्यक्ति र संवाद सम्झनलायक छ । जस्तोसुकै चुनौतीपूर्ण भूमिकालाई न्याय गर्ने सामथ्र्य छ भनेर उनले फेरि एकपटक प्रमाणित गरेकी छन् । गौहरसहित वेश्याका रूपमा देखिएका अरू कलाकार त्यत्तिकै दमदार लाग्छन् । राजाको भूमिकामा नसिरउद्दिन शाहले कमाल गरेका छन् । हास्यचरित्रमा स्थापित चंकी पाण्डेले यसपटक सरप्राइज दिएका छन्, खतरनाक खलनायक बनेर ।

विद्याका फ्यानले मात्र होइन, सामाजिक विषय रुचाउने जोकोहीका लागि राम्रो खुराक बन्न सक्छ, बेगम जान । 

प्रकाशित: वैशाख २९, २०७४