[अनुभूति] मेरो राल्फाली मञ्जुल !

  • राल्फा शब्दको पुरानो अर्थ र परिभाषालाई अझ नयाँ रूपमा व्याख्या हुन थाल्यो– “रा–राजा, ल–लाई, फा–फाल्ने । अथवा भनौँ राल्फा भन्नु नै राजालाई फाल्ने समूह ।

- गणेश रसिक

बागबजार सिटीम्याक्सको सभाकक्षा ४ चैत ०७३ । मञ्चको दाहिने भागमा राखिएको ड्यासमा बोल्नका लागि उभिएका छन् सम्मानित व्यक्तित्व । सम्पूर्ण दर्शकका आँखा, कान र मन केन्द्रित छन् तिनै व्यक्तित्वको अनुहारमा । कतिले नाम सुनेका, नदेखेका, कतिले उनको किताब पढेका, नभेटेका ।

कतिचाहिँ वर्षौंपछि भेट्न र मञ्चमा देख्न पाएकामा खुसी छन् । सभाकक्षमा ठूलो उत्सुकता छ, जिज्ञासा छ । लाग्छ– अब विगत दिनहरूमा झैँ उनले आकर्षक रूपमा धाराप्रवाह बोल्नेछन् । आफ्ना जीवनका भोगाइ र अनुभूति सबैलाई बाँड्नेछन् । गीत गाएर वा कविता वाचन गरेर सबैलाई मन्त्रमुग्ध पार्नेछन् ।

तर अचम्म † आज उनको आँखामा कुनै उत्साह देखिएन । हिजोझैँ चञ्चलता, ओठमा मुस्कान, हर्ष र खुसी–भाव केही देखिएन । मूर्तिवत् ठिंग उभिएको शरीर । शिरमा कालो भादगाउँले टोपी । पेन्टसर्ट र कालै कोटको पहिरनमा टाढैबाट ठम्याउन सकिने व्यक्तित्व । अचम्मैको आचरण गर्न थाले तर... ।

आफ्नो हातले गाला मुसार्छन् । कन्सिरी कन्याउँछन् । आँखीभौँ कोट्याउँछन् । दुवै हात मोल्छन् घरीघरी । जे गरे पनि एकनास हेरिरहन्छन् दर्शकलाई । बोल्न उभिएका केही बोल्दैनन् । न त कुनै हाउभाउ देखाएर बोल्ने चेष्टा नै गर्छन् । समारोहको सोचभन्दा नितान्त भिन्न र विचित्र लाग्ने उनको स्वभाव देखेर अचम्भित छन् दर्शक । तर पनि चुपचाप र मौन छन् सबै । दर्शकमाझ बसेकी उनकी श्रीमतीलाई आफ्नो श्रीमान्को त्यो असहज र दयनीय अवस्था हेरिरहन गाह्रो हुन्छ । औपचारिक समारोह हो, बोल्न ठाउँ छैन । विवश घोसेमुन्टे लगाएर हातले पुस्छिन्, आफ्ना पीडाका आँसु । एउटा गहिरो संवेदना र भावुकताको भुइँकुइरोले छपक्कै छोपेको त्यो क्षण साँँच्चै नै अविस्मरणीय भएर पनि दु:खदायी, आश्चर्य र कौतूहलमय थियो सबैका लागि ।

झन्डै पाँच–सात मिनेटको सन्नाटा चिर्दै कवि शशी लुमुम्बु उद्घोष गर्छन्– माफ गर्नुहोला, आज सम्मानित व्यक्तित्व, हाम्रा अग्रज स्रष्टाले आफ्नो शारीरिक अस्वस्थताको कारणले केही बोल्न सक्नुभएन । तर, उहाँको त्यो मौनताले हामी सबैलाई धन्यवाद दिइसक्नुभएको छ ।

तालीले सभाकक्ष गुन्जियो । बोल्न उभिएको सम्मानित त्यो व्यक्तित्व मेरो छेउमा आएर थपक्क बस्यो । मैले उसलाई हेरेँ । उसले आफ्नो गाला मुसार्दै मलाई हेर्‍यो । मैले आफैँसँग प्रश्न गरेँ, ‘हिजो भोजपुरको हाई स्कुलमा मसँगै पढेको चञ्चले मिलनसार मञ्जुल अथवा मेघराज शर्मा यही हो त ?’

पहिलोपल्ट म काठमाडौँ आएका बेला शैलेन्द्र साकारले ठँहिटी, किलागलमा भेटाएको मञ्जुल यही हो त, जसले मेरो परिचयको सीमा फराकिले पारेको थियो र राजधानी बस्ने मोह जगाएको थियो ?

मलाई कथा लेख्नलाई, गीतसंगीतमा लाग्नलाई हौसला दिने मञ्जुल यही हो त ? 

मञ्जुल त्यो समयको नायक । कुनै गीत गाउनुअगाडि मञ्जुलले उद्घोषण गर्दा मुठी कसेर जुरुकजुरुक उठ्थे दर्शक । गरिब, दु:खी, अपहेलित वर्गका पीडाका गीत गाउँदा साँच्चै भक्कानिएर रुन्थे श्रोता । अनि, मञ्जुलले मुस्कुराउँदै कविता वाचन गर्दा ‘वान्स मोर वान्स मोर’ भनेर ताली बजाएर रमाउँथे काव्यप्रेमीहरू । आहा ! त्यो समय अरू कोही नभएर राल्फा थियो मञ्जुल । राल्फाको सांगीतिक प्रवक्ता थियो मञ्जुल ।

कसैले मञ्जुललाई राल्फाबारे प्रश्न गरे ऊ हाकाहाकी भन्ने गथ्र्यो, “हरेक व्यक्ति एउटा राल्फा । म पनि राल्फा, तिमी पनि राल्फा । नयाँ सोच, नयाँ विचार, नयाँ परिवर्तन र युगान्तकारी सोच राल्फा । हाम्रा सिर्जना र हाम्रो जीवन पद्धति पनि राल्फा ।” 

जब गितार बोकेर मञ्जुल र रामेश दुवै राल्फा पूर्वी पहाडका दुर्गम गाउँतिर लागे । जनताको घरदैलो, सिकुवा, आँगन चहार्दै, गाउँदै डुल्न थाले । जहाँ–जहाँ पुग्थे, त्यहाँ–त्यहाँका युवा पुस्तामाझ सांगीतिक वर्गीय चेतको बीजारोपण गर्थे । बिस्तारै–बिस्तारै उत्साहित र क्रियाशील युवा जमात तयार हुन थाल्यो । तब मञ्जुल भन्न थाले, ‘राल्फा सन्तति हो ।’ तब हरेक युवाले आ–आफ्नो नामका पछाडि जात होइन, राल्फा लेख्ने अभियान नै थाले ।

काठमाडौँ, धुलिखेल, ओखलढुंगा हुँदै खर्लप्पै पूर्वी पहाड छिचोलेर झापासम्म पुग्यो राल्फा । यो यात्रा, यो अभियान त्यति सहज थिएन । धेरै अवरोध र प्रशासनिक दमनलाई पन्छाउँदै राल्फा पूर्वाञ्चलभरि छाएको थियो । अनि, राल्फा शब्दको पुरानो अर्थ र परिभाषालाई अझ नयाँ रूपमा व्याख्या हुन थाल्यो, ‘रा–राजा, ल–लाई, फा–फाल्ने । अथवा भनौँ राल्फा भन्नु नै राजालाई फाल्ने समूह ।’

पाश्चात्य संगीतमा ‘बिटल्स’को जगजगी । स्वदेशमा बच्चुकैलाश, प्रेमध्वज र नारायणगोपालको एकछत्र राज । हिप्पीको व्यापक साम्राज्यबीच कलकताको ‘हंग्री जेनेरेसन’को प्रभाव सर्लक्क काठमाडौँ पसेको समय । बिनासैद्धान्तिक धरातलमा उभिएको राल्फा । बिनाअर्थको प्रयोगवादी सोचमा जन्मेको राल्फा । तर, समय र परिस्थितिसँगै विचारहरू भित्रियो राल्फामा । राल्फा–राल्फाबीचमा विश्वासको संकट देखापर्‍यो । धु्रवीकरण हुन पुग्यो । जसका कारण ’३० को दशक टेक्दाटेक्दै छिन्नभिन्न भयो राल्फा ।

आफ्नो नामका पछाडि रामेश–मञ्जुलले नै राल्फा पुच्छर झुन्ड्याउन छोडे । सधैँका लागि पूर्णविराम लाग्यो राल्फाको सांगीतिक यात्रामा । तर, राल्फाको गीत सुन्नेहरू आमूल परिवर्तनको संवाहक भए । कति सत्ता, मानपदवी, पगरीका हकदार भए । कति सानसौकतका भागिदार भए । कति जेलनेल परे, कति सहिद भए । कति संघर्षमा गुमनाम जिन्दगी जिउन बाध्य भए । त्यस्ता धेरै–धेरैका आदर्श मञ्जुल । धेरै–धेरैका उत्प्रेरक र हृदयको कलाकार मञ्जुल ।

एकाएक मूलधारबाट किनारा लागे । चैते पत्करहरूले छोपेर अदृश्य भए । कति यसमा दोष उनको आफ्नै कमजोरीहरूले खेल्ने अवसर पाए होलान् । कति बलेको आगो ताप्ने वा खोला तर्‍यो लौरो बिर्सियो भन्ने उखानले पनि प्रश्रय पायो होला । नियति कति निर्दयी र कठोर छ भन्ने उदाहरण आफू सम्मानित सभामा बोल्न उभिएको मञ्जुलको आवाज निस्कँदैन । वाक्य बस्यो, बोली फुट्दैन । आफ्नो त्यो विवशता र असहजताको अनुभूतिसम्म पनि उसलाई हुँदैन । कता हरायो उसभित्र भएको हिजोको जिउँदोजाग्दो मञ्जुल र त्यो गहिरो संवेदना र अनुभूति ? समयसँगै सबै–सबै विगतका सपनासरि भए ।

भोजपुरे प्रतिभा प्रतिष्ठान बेलायतको आयोजना र नेपाली वाङ्मय परिषद्को व्यवस्थापनमा सञ्चालित ‘प्रतिभा सम्मान’ समारोहको दृश्य हो यो । जहाँ सम्मानित भएका थिए भोजपुरे दुई प्रतिभा कवि मञ्जुल र धाविका मीरा राई । सभापति थिए, बेलायतबाट आएका प्रतिष्ठानका अध्यक्ष दयाकृष्ण राई । सचिवमा काङमाङ नरेश राई । दुवै डायास्पोरा साहित्य बेलायतका चर्चित साहित्यकार कवि ।

जीवनमा सोचेको भन्दा नसोचेको धेरै हुन्छ । यसपटक मलाई नसोचेको संयोग पर्‍यो । आफ्नै साथी मञ्जुललाई आफ्नै हातले सम्मान गर्ने अवसर पाएँ । देशको गौरव बढाउने चेली मीरा राईलाई बधाईको ताम्रपत्र दिने अवसर पाएँ । तर, मञ्जुललाई ताम्रपत्रसहित १० हजार रुपियाँ र मीरालाई ताम्रपत्रसहित ३० हजार रुपियाँ । कता–कता दाँती नमिलेको हो कि भन्ने सम्झँदा पनि दाँतमा ढुंगा लागेसरह भयो । आयोजकको निर्णयमा बाठो भएर बोल्ने ठाउँ थिएन । सात समुद्रपारिबाट आफ्नो पकेट खर्च कटाएर स्रष्टाहरूलाई सम्मान गर्न जन्मथलो आउने असल सोचलाई सलाम भन्नैपर्छ । 

१२ वैशाख ०७४ । आज बिहान मात्रै सुस्मिता भाउजूलाई फोन गरेँ, ‘मञ्जुललाई कस्तो छ ?’

‘ठीकै हुनुहुन्छ अहिले त † अस्पतालबाट ल्याएको चार दिनजति भयो । अहिले चापागाउँमा छौँ । तर, प्रोस्टेटको समस्या अलि देखापर्‍यो । अप्रेसन गर्नुपर्छ भन्छन् डाक्टरहरूले नि !’

म मनमनै सोच्छु– कुनै समय सत्ताको बन्दुक र गोलीगठ्ठासँग भिड्न गितारको झंकारमा गाउँदै हिँड्ने मेरो जुझारु साथी मञ्जुल आज आफ्नै जिन्दगीसँग जिउनलाई संघर्ष गरिरहेको छ । भिडिरहेको छ । उसको अवस्था सम्झेर द्रबित हुन्छ मन । माया लाग्छ, कठै † मेरो साथी मञ्जुल ।

उसैको संगतले राल्फा भएँ म तर अत्यन्तै छोटो समय । कति साथीहरूलाई म पनि राल्फा थिएँ भन्ने हेक्का पनि नहोला । आज राल्फा रहेको भए ५० वर्ष पुगेर ५१ वर्ष लाग्ने थियो । जे होस्, नेपाली संगीतको इतिहासमा कहिले नभेटिने एउटा रातो परिच्छेद हो, राल्फा ।

राल्फा छोड्ने निर्णय अप्रत्यासित भए पनि मेरो मस्तिष्कको निर्णय थियो । अहिले फर्केर हेर्दा छोडिहाल्नुपर्ने कुनै ठूलो कारण त थिएनछ । यो चाहिँ सत्य हो– त्यो समय आ–आफ्नो भूगोल र पारिवारिक पृष्ठभूमिबाट राजधानी आएका स्वप्निल युवा थियौँ हामी । जसले जीवन र जगत् राम्ररी बुझ्न बाँकी थियो । र, बढी अन्तर्मुखी, अपरिपक्व, अव्यावहारिक अलि कटमेरो आलोकाँचो नै रहेछु म पनि ।

म काठमाडौँ आउनुअगाडि नै रामेश्वर श्रेष्ठ र नारायणभक्त श्रेष्ठका पूर्वेली लोकगीत फाट्टफुट्ट सुन्थेँ, रेडियो नेपालबाट । म काठमाडौँ टेक्दा मञ्जुल, रामेश, रायन र अरिमबीच समूह गायनको परम्परा थालनी भइसकेको थियो । स्कुले साथीको नाताले म पनि त्यो समूहमा गाँसिन पुगेँ, मञ्जुलकै कारण । मञ्जुल गीत लेख्ने, रामेश संगीत भर्ने । राजधानीमा आफ्नो छुट्टै पहिचान बोकेर बामे सर्दै गरेको संघर्षरत थियो त्यो समूह ।

म त राजधानीमा नितान्त नौलो । गीत–संगीतभन्दा कथा लेख्न बढी रुचि राख्ने ठिटो म । आरम्भका समय त्यो समूहमा उभिएर कोरसमा स्वर थप्ने मात्र हैसियत थियो मेरो । तर, कताकता साथीसंगतले मभित्रको गीतकार/संगीतकारले सपना देख्न थालेछ । अथवा भनौँ, केही गीत–संगीत बनाएर रामेश, मञ्जुललाई पनि सुनाएँ । उनीहरूले झन् हौस्याएर पनि अहम् पलायो क्यारे, जसका कारण मैले पनि समूहभित्र आफ्नो स्पेस (ठाउँ) खोज्न पो थालेछु । हिजोको त्यो समूह अब राल्फा भइसकेको थियो ।

जसलाई पारिजात दिदीजस्तो अग्रज मदन पुरस्कार विजेता, स्थापित साहित्यकारको संरक्षकत्व प्राप्त थियो भने मञ्जुल, रामेश, रायन, अरिम, विमल, निनु र निरनजस्तो एक से एक प्रतिभाको जमघट नै थियो, राल्फा । उनीहरूमाझ उभिँदा म सधैँ खुम्चिएको अथवा लघुताभासले बाउन्ने ठान्ने मेरो थप कमजोरी । केही साथीहरूको रूखो व्यवहारले पनि मलजलको काम गर्‍यो, जुन मलाई पटक्कै सह्य थिएन । विवादमा पर्न नचाहने, समस्यासँग जुध्नेभन्दा तर्किने मेरो जन्मजात स्वभावका कारण मैले धेरै गम खाएर मस्तिष्कबाट दृढ निश्चय गरेँ, अब म राल्फामा बसेर काम छैन ।

अनि, रजिस्टर्डमा सात पेज लामो चिट्ठी मञ्जुलका नाममा लेखेर आफ्नो औडाहा, असन्तुष्टि, आवेगहरू पोख्नसम्म पोखेपछि मन हलुंगो भयो र सधैँका लागि राल्फा छोडेँ । तर, चुपचाप बस्न नसक्ने मेरो स्वभावले मलाई फेरि उक्सायो । तत्कालै भोजपुरे, उर्मिला दिदी, निर्मला, नवीनकिशोर र तीर्थ शेरचन आदिसँग मिलेर सुरु गर्‍यौँ, लेकाली । यसरी ०२४ साल श्रीपञ्चमीको दिन स्थापित लेकाली पनि ५० पुगेर ५१ वर्ष लाग्यो । नेपाली सांगीतिक फाँटमा एकै साल नै जुम्ल्याहा सन्ततिका रूपमा जन्मिएका थिए राल्फाली र लेकाली । जो आ–आफ्नो धरातलमा उभिए । आ–आफ्नै विचार सिर्जनामा मौलिक कालखण्ड रचे । आ–आफ्नो इतिहास बनाए । आज म यौवनका ती सुन्दर सपना सम्झिरहन्छु, राल्फा र लेकालीलाई ।

राल्फा त छोडेँ तर मनमा त मञ्जुलको माया थियो । रामेशको आत्मीयता थियो । त्यसलाई मनबाट फाल्न मलाई साहै्र गाह्रो पर्‍यो । ठँहिटीको त्यो मञ्जुल–रामेशको कोठा । सुत्नेहरूमा कहिले १०–१२ जनासम्म हुने । कहिले दिनभरि सांगीतिक अभ्यास चल्थ्यो । कतै कार्यक्रम सकेर डेरा फर्किंदा समय घर्किएर खाना खाने ‘ शान्ति होटल’ बन्द भइसकेको अवस्था । नरदेवीमा रामेशको दिदीको घर । 

रामेश त्यहीँ खाना खाने । रातको १२/१ बजेतिर प्राय: रामेश र म नै पुग्थ्यौँ दिदीका घरमुनि । 

चोकभित्रको त्यो घरमा कहिले भोकाएर भाइ आइपुग्छ भनेर रुँगी रहनुभएकी रामेशकी दिदी । हामी तल आएको देख्नासाथ दुई तलामाथि झ्यालबाट कपडामा बेरिएको एउटा डेक्ची सुरुरु... डोरीमा तल झर्ने । त्यो डेक्ची बोकेर रामेश र म डेरामा पुग्दा खान पर्खेर बसेका साथीहरूको अनुहार उज्यालो । डेक्चीलाई बीचमा राखेर गोलबन्दी गरेर खान थाल्थ्यौँ हामी । न कसैको जुठो, न त कसैलाई धेरै थोरै, न त भागबन्डा । कति आत्मीय थियो त्यो सम्बन्ध, त्यो समय । वास्तवमा कति दु:खी दिन थिए ती । तर, आफ्नोपनको न्यानो थियो । अहिले सम्झँदा आनन्द लाग्छ र यसरी दु:खैदु:ख र संघर्षबाट सँगै उठेका साथीहरूबीच वर्षौंदेखि संवाद नहुँदा कस्तो होला । कसरी थामिएला त्यो हिजोको संवेदनशील र कोमल मन । कुन परिस्थितिले कृत्रिम अपरेसन गरेर छुट्यायो होला, त्यो नङ र मासुको सम्बन्ध । प्रश्न उब्जिन्छ– किन मिल्दैनन् मनहरू, जो हिजोको दु:खमा, संघर्षमा सँगै थिए ।

वर्षौं भयो बिसन्चो छ, मञ्जुललाई । हिजो आमूल परिवर्तनका लागि हरेक परिस्थितिसँग जुधेको/लडेको जुझारु मान्छे । आज आफ्नै जिन्दगीसँग जिउनका लागि जुझिरहेको छ, लडिरहेको छ । के गरुँ उसको अवस्था देखेर माया लाग्छ । ऊप्रति यही मायाको अभिव्यक्ति यो लेखाइ । 

अन्त्यमा, मञ्जुलको सु–स्वास्थ्य र दीर्घायुको कामना गर्छु । 

 

प्रकाशित: वैशाख २८, २०७४