‘आधा काम क्यामेराले मिलाइदिन्छ’

  • प्रविधिले काम गर्न सजिलो पारिदिएको मात्रै हो । बाँकी त फोटो–पत्रकारमै भर पर्छ ।

- मनबहादुर बस्नेत

डेढ दशक फोटो–पत्रकारका रुपमा सक्रिय भीम गुरुङ, ६५, अवकाशपछि फोटो–पत्रकारिताबाट गुमनामजस्तै बने । १४ वैशाखमा राष्ट्रिय फोटो–पत्रकार समूहले उनलाई ५० हजार रुपियाँसहित लाइफटाइम अचिभमेन्ट सम्मान प्रदान गरेपछि पृष्ठभूमिमा धकेलिएका उनी पुन: चर्चामा आए । गुरुङसँग गरिएको कुराकानी :

अवकाशपछि फोटो खिच्न छोड्नुभएको हो ? 

कुनै नौला घटना भए भने क्यामेरा बोकेर जान्छु । नभए अक्सर बिसाएकै छु । 

तपाईं विज्ञानको विद्यार्थी । कसरी फोटो–पत्रकारितामा आउनुभयो ? 

मेरो बुबा भारतीय सेनामा कार्यरत हुनुहुन्थ्यो । म देहरादुनमै जन्मिएँ । मेरो भाइ पल्टनको फोटो खिच्ने सैनिकहरूसँगै काम गथ्र्यो । भाइले काम गरेको देखेर मलाई पनि रुचि जाग्यो । त्यही बेला हो, म क्यामेरासँग नजिकिएको । त्यसबेला बक्स क्यामेरा हुन्थ्यो, आग्फा कम्पनीको । 

त्यहाँ देखेपछि फोटो खिच्नतिर लागिहाल्नुभयो ? 

फोटो खिच्न रुचि त जाग्यो । तर, सिक्ने ठाउँ थिएन । आफन्तहरू बेलायत, हङकङको लाहुरे भएकाले उनीहरूसँग किताब मगाएर सैद्धान्तिक ज्ञान लिएँ । अनि, त्यसलाई अभ्यासमा ल्याएँ । सिक्ने ठाउँ नै थिएन त्यसबेला । 

तपाईंभन्दा अगाडि फोटोग्राफीमा लागेको भाइलाई कसरी उछिन्नुभयो त ? 

भारतबाट फर्किएपछि भाइले बुटवलमा एउटा फोटो स्टुडियो खोल्यो । त्यही बेला भारतले बुटवलदेखि नेपालगन्जसम्म सडक बनाउन सहयोग गर्ने भयो । त्यो परियोजनामा जागिरे भएर नौ वर्ष काम गरेँ । परियोजना सकिएपछि म बेरोजगार बनेँ । त्यही बेला गोरखापत्रले फोटोग्राफर चाहिएको विज्ञापन गर्‍यो र म फोटो–पत्रकार बनेँ, ०४६ असारदेखि । 

फोटोग्राफी र फोटो–पत्रकारिताबीच के भिन्नता पाउनुभयो त ? 

फोटोग्राफी मात्रै गर्दा सामाजिक घटना, संस्कृतिहरूको मात्रै फोटो खिचिन्थ्यो । फोटो–पत्रकारितामा फोटोको दायरा फराकिलो रहेछ । विविध मानिसहरूसँग भेट हुने भएकाले फोटो–पत्रकारितामा काम गर्ने उत्साह बढी आयो । 

फोटो–पत्रकारितामा छँदाको कुन क्षण तपाईंलाई बारम्बार सम्झना आइरहन्छ ? 

०४६ को आन्दोलन चलिरहेको थियो । एकदिन कफ्र्युकै बेला कार्यालयबाट निवासतिर निस्किएँ । सुन्धारादेखि टेकु निस्किने बाटोमा पर्ने पीपलको चौतारीमा पुगेपछि सेनाले बन्दुक तेर्सायो । प्रधानमन्त्रीको फोटो खिचेर छाप्नुपर्ने हुँदा ढिलो भएको प्रस्टीकरणसहित परिचय दिएँ । आइन्दा यस्तो नगर्न भन्दै छोडिदियो । तर, भोलिपल्ट पनि ढिलो भइहाल्यो । अघिल्लो दिन नै चेतावनी पाएकाले कार्यालयमा भोकै सुतियो । 

आफैँले खिचेको निकै राम्रो लाग्ने कुनै फोटो सम्झिनुहुन्छ ? 

२ वैशाख ०४७ मा नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानमा प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दसहितको टोली र आन्दोलनकारीबीच वार्ता भइरहेको थियो । मध्यराती १२ बजेतिर अचानक आन्दोलनकारी प्रज्ञा भवनलाई घेरेर परिसरभित्र छिरे । कसैले प्रधानमन्त्रीको बुलेटप्रुफ कारमा ढुंगाले हान्यो । अरू फोटो–पत्रकार फर्किसकेकाले उनीहरूले भोलिपल्ट क्षतिग्रस्त कारको फोटो खिचे । तर, मैले त्यसै दिन फुटाउँदै गरेको खिचेँ । यो फोटो मलाई असाधारण लाग्छ । 

पहिले र अहिलेको फोटो–पत्रकारितालाई कसरी दाँज्नुहुन्छ ? 

पहिले सबै कुरा म्यानुअल्ली गर्नुपथ्र्यो । अहिले त आधा काम क्यामेराले मिलाइदिन्छ । फोटो एंगल, सिर्जनशील दिमाग भए पुग्छ । 

आधा काम क्यामेराले मिलाइदिएपछि फोटो–पत्रकारको सिर्जनशीलता हराउँदैन ? 

प्रविधिले काम गर्न सजिलो पारिदिएको मात्रै हो । बाँकी त फोटो–पत्रकारमै भर पर्छ ।

हाम्रो फोटो–पत्रकारिताको स्तरचाहिँ कस्तो पाउनुहुन्छ ? 

कसैको भन्दा कम छैन । फोटोसम्बन्धी जुन ज्ञान लिन खोज्यो त्यही पाइने अहिलेको जमानामा हामीले स्तरीय फोटो खिचिरहेका छौँ । 

प्रकाशित: वैशाख २८, २०७४