होटलमा ४० अर्ब

  • फैलिँदै अन्तर्राष्ट्रिय ब्रान्डका सुविधासम्पन्न होटल

- मनबहादुर बस्नेत

नयाँ वर्ष मनाउन पर्यटन विभाग अन्तर्गत होटल तथा होमस्टे शाखाका निर्देशक विष्णुप्रसाद रेग्मी १ वैशाखको पूर्वसन्ध्यामा पर्यटकीय नगरी पोखरा सपरिवार उत्रिए । होटलहरूसँग राम्रो सम्पर्क थियो, त्यसैले बसोवासको व्यवस्था पोखरा पुगेर सहजै मिलाउन सकिने ठानेका थिए । तर, पोखराका होटल यति भरिभराउ थिए कि होटलसम्बन्धी विभागका यी हाकिमलाई नै बास पाउन मुस्किल पर्‍यो । धेरै बेरको खोजतलासपछि बल्लतल्ल एउटा होटलमा बास पाए ।

पर्यटकीय याममा बास पाउनै हम्मे पर्ने यो तथ्यकै कारण हुन सक्छ, पछिल्ला केही वर्ष नेपालमा धमाधम सुविधासम्पन्न होटल खुलिरहेका छन् । तथ्यांक अनुसार हाल नेपालमा ३८ हजार कोठाका पर्यटकीय होटल छन् भने झन्डै चार हजार कोठासहित दुई दर्जन सुविधासम्पन्न होटल निर्माणाधीन छन् । तीमध्ये कतिपय भौतिक निर्माणकै चरणमा छन् भने कतिपय प्रशासनिक प्रक्रियामा । 

एउटा तारे होटल चलाउन औसतमा दुई सय जनशक्ति आवश्यक पर्छ । यस हिसाबले अहिले होटलहरूमा पाँच लाखले रोजगारी पाएका छन् । जस अनुसार अब बन्ने तारे होटलहरूमा पाँच हजारभन्दा बढीले रोजगार पाउनेछन् । 

उद्योग विभागका अनुसार ०७० यताका चार वर्षमा मात्रै ५० करोड रुपियाँभन्दा बढी लगानीका २१ वटा होटलले अनुमति पाएका छन् । अनि, ती होटलमा करिब ४० अर्ब रुपियाँ बराबरको लगानी हुँदै छ । ०७३ मा मात्रै पनि उद्योग विभागले पाँच ठूला होटलका लागि अनुमति दिएको छ । निर्माणको क्रममा रहेका ती होटलमा झन्डै सात अर्ब रुपियाँ लगानी हुँदै छ । 

०७० मा निर्माण थालिएको १ सय १५ कोठाको फेयरफिल्ड म्यारियट होटल दुई महिनाअघिदेखि नै सञ्चालनमा आइसकेको छ । होटल मलबेरी पनि काठमाडौँको ठमेल क्षेत्रमा वैशाख ०७३ देखि मात्र सञ्चालनमा आएको छ, जो ८० कोठाको छ । 

अन्य होटल पनि धमाधम बनिरहेका छन् । अन्य क्षेत्रमा हात हालेका व्यावसायिक घरानाहरूसमेत सुविधासम्पन्न होटल खोल्नतिर आकर्षित भएका छन् । न्यौपाने समूह, मुक्तिश्री प्रालि, चौधरी ग्रुप, यति वल्र्ड ग्रुपजस्ता व्यावसायिक संस्थाहरूले होटलमा लगानी गर्न उद्योग विभागबाट अनुमति लिइसकेका छन् । चौधरी ग्रुपले दुईवटा होटल खोल्ने अनुमति पाएको छ । साथै नागरिक उड्डयन प्राधिकरण (क्यान) ले समेत तारे होटल निर्माण गर्ने अनुमति लिएको छ । क्यानले सिनामंगलमा २ सय ५० कोठाको पाँच तारे होटल खोल्दै छ । होटल एसोसिएसन नेपाल (हान)का महासचिव विनायक शाह भन्छन्, “जुन देशमा पर्यटनको सम्भावना धेरै छ, त्यहाँ पर्यटकहरूलाई लक्षित गर्दै अन्तर्राष्ट्रिय स्तरका होटल खुल्नु स्वाभाविक हो ।”

स्वदेशी लगानीमा होटल खोल्ने रफ्तार त बढेको छ नै, पछिल्लो समय विश्वका विख्यात होटलहरूले समेत नेपालमा आफ्ना चेन होटल विस्तार गरिरहेका छन् । जस्तो कि, म्यारिएट इन्टरनेसनल, एलोफ्ट, हिल्टन, सेराटनका चेन होटलहरू नेपालमा खुल्ने तरखरमा छन् । म्यारिएट इन्टरनेसनल अमेरिकाको मेरिल्यान्डमा रहेको हस्पिट्यालिटी कम्पनी हो, जसको संसारभर फ्रेन्चाइज शाखा छन् । नेपालमा व्यावसायिक घराना एमएस समूहले यो कम्पनीको ब्रान्डबाट होटल खोल्न लागेको हो । 

यस्तै एलोफ्ट पनि अमेरिकामै रहेको बहुराष्ट्रिय कम्पनी हो । न्युयोर्कको ब्रुकलिनमा रहेको स्टारउड होटल्स एन्ड रिसोर्टको विश्वव्यापी ब्रान्ड एलोफ्ट होटल नेपालमा छायादेवी कम्प्लेक्स (ठमेल)ले भित्र्याउन लागेको हो । २ सय ५० कोठासहित खुल्ने यो होटलमा करिब चार अर्ब रुपियाँ लगानी हुँदै छ । पृथ्वीबहादुर पाँडे, योगेन्द्र शाक्य, सुमन पाण्डे, विकास थापालगायतको संयुक्त लगानीमा खुल्न लागेको यो पाँच तारे होटलको भवन निर्माणाधीन छ । 

विश्वका ५ सय ७० भन्दा बढी स्थानमा चेन होटल रहेको हिल्टन होटल्स एन्ड रिसोर्टले पनि काठमाडौँमा होटल बनाइरहेको छ । नक्सालमा हिल्टन डबल ट्री नामक होटलको भौतिक संरचना निर्माणाधीन छ । अमेरिकाको भर्जिनियामा मुख्य कार्यालय रहेको यो होटलको फ्रेन्चाइज नेपालमा व्यावसायिक घराना शंकर समूहले लिएको हो । हिल्टनको होटल खोल्न शंकर समूहले करिब दुई अर्ब रुपियाँ खर्च गर्ने उद्योग विभागको अभिलेखमा उल्लेख छ । यो पाँच तारे होटलमा १ सय ६० कोठा हुनेछन् ।

नेपालमा अर्को अन्तर्राष्ट्रिय स्तरको होटल सेराटनको चेनसमेत खुल्दै छ । नारायणहिटी दरबारको पश्चिम गेटको सामुन्ने निर्माणाधीन सेराटन काठमाडौँमा गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेको कम्पनी एमआईटी ग्रुप होल्डिङको लगानी छ । एमआईटी होल्डिङ अस्ट्रेलियाली कम्पनी हो ।

शतप्रतिशत विदेशी लगानीको यो पाँच तारे होटल १७ तलाको हुनेछ भने यसमा आठ अर्ब रुपियाँ लगानी हुँदै छ । विश्वभरका ७० स्थानमा सेराटनका शाखा होटल छन् । ज्ञातव्य रहोस्, सन् २०१६ मा सेराटनलाई म्यारिएट इन्टरनेसनलले खरिद गरेको थियो । 

तर, पर्यटनका लागि उर्वर भूमि मानिए पनि नेपाल आउने विदेशी पर्यटकहरूको संख्यामा उतारचढाव छ । पर्यटन मन्त्रालयको तथ्यांक अनुसार सन् २०१२ मा ८ लाख ३ हजार ९२ जना पर्यटक नेपाल आएकामा त्यसपछिका दुई वर्ष यो संख्या सात लाखमा झर्‍यो । ०७२ को भूकम्प र भारतीय नाकाबन्दीका कारण नेपाल आउने पर्यटकको संख्या घटेर ५ लाख ३८ हजार पुग्यो । गत वर्ष भने यो संख्या ३९ प्रतिशतले वृद्धि भएर ७ लाख २९ हजार ५ सय २० पर्यटक पुगेको थियो । यो वर्ष विदेशी पर्यटकको संख्या आठ लाख नाघ्ने अनुमान छ । 

नेपालमा पर्यटकको आगमन संख्या र भौतिक पूर्वाधार सन्तोषजनक नहुँदा हुँदै पनि अन्तर्राष्ट्रिय ब्रान्डका होटल भने एकपछि अर्को गरी खुलिरहेका छन् । तत्कालीन नाफाभन्दा पनि वर्षौंपछिको लाभ हेरेर उनीहरूले लगानी गरेको जानकारहरूको भनाइ छ । विभागका अनुसार हाल नेपालमा तारे होटलको संख्या १ सय २२ छ भने पर्यटक स्तरीय होटलको संख्या ४ सय ७७ छ । वर्षभरि औसत यी होटल ६० प्रतिशत भरिन्छन् । पर्यटकीय यामका बेला त अक्सर होटलहरू भरिभराउ नै हुन्छन् । 

संविधान जारी भएपछि राजनीतिक स्थिति अपेक्षाकृत सकारात्मक देखिएको र पर्यटन क्षेत्रले कायापलट गर्ने विश्वाससाथ होटलमा लगानी आइरहेको हो । सरकारले सन् २०२० सम्म २० लाख पर्यटक भित्र्याउने महत्त्वाकांक्षी योजना अघि सारेको छ । लक्षित पर्यटकहरू आउने हो भने होटलहरूले पाहुनालाई ‘ह्यान्डल’ गर्न मुस्किल पर्नेछ । फेयरफिल्ड र म्यारियट होटल नेपाल भित्र्याउने एमएस समूहका प्रबन्ध निर्देशक शशिकान्त अग्रवाल भन्छन्, “हवाई पूर्वाधारमा सुधार हुने हो भने नेपालमा पर्यटकको संख्या स्वत: बढ्नेछ । र, मुलुक सधैँ गएगुज्रेको हालतमा रहँदैन भन्ने विश्वास र आशासहित जोखिम लिएर भए पनि होटलमा लगानी गर्ने क्रम बढेको हो ।” 

प्रकाशित: वैशाख २७, २०७४