नारीवादी पुरुष

  • लेख्दा वा बोल्दा समानता र सहअस्तित्वको वकालत

- राजकुमार बानियाँ

नारीका विषयवस्तुमा लेखेर कहिल्यै अघाएनन्, आख्यानकार कृष्ण धरावासी । चोर बाटोबाट अमेरिका छिरेका नारी बलात्कृत र गर्भवती भएको घटनाले मर्माहत भएर अट्ठाइसौँ किताब लेखे, तल्लो बाटो । नारी– धरावासीको ‘ट्रेडमार्क’जस्तै हो । राधा, टुँडाल, झोलालगायतका आख्यानदेखि बालक हराएको सूचना, नारीभित्र त्यस्तो के छ हजुर आदि गैरआख्यानसम्म उनी नारीमय छन् । “हो, मैले ४० वर्षयता कथा, कविता, उपन्यास, निबन्धमा नारीलाई नै केन्द्र बनाएछु,” उनी आफैँ अचम्म मान्छन्, “म त सुकृति–विकृति या सुख–दु:ख जुन पाटोमा पनि नारीलाई देख्दो रहेछु ।”

नेकपा माओवादी केन्द्रका नेता एवं लेखक विश्वभक्त दुलाल ‘आहुति’ले थुप्रै सार्वजनिक थलोमा नारीमुक्तिका बहस छेडेका छन्, कविता लेखेका छन् । त्यसैले चलनचल्तीको भाषामा ‘नारीवादी पुरुष’ भनिँदा उनलाई अप्ठ्यारो लाग्दैन । गहुँगोरो अफ्रिका कवितासंग्रहमा ‘नारी’, ‘लक्ष्मनिया तिम्रो लोटा खोइ ?’ कविताबाट नारी–स्याब्बासी पाएका उनलाई कतिपय अवस्थामा नारीवाद नै भ्रमपूर्ण लाग्छ । “नेपालमा नारीवाद मध्यमवर्गीय परिवारका लोग्ने र बाबुबाजेको सम्पत्तिमा खान, पिउन, हिँड्न पाउने र एनजीओमा लागेका महिलाको सीमित घेरामा छ,” उनको समीक्षा छ, “मुक्ति पनि समयसापेक्ष हुन्छ । पुरुषसरह हुनुपर्छ भनेर मात्र हुन्न, सेना, कर्मचारी र व्यापारीलाई सँगै राखेर वेश्यावृत्ति उन्मूलन हुन्छ र ?”

इतिहासकार प्रत्यूष वन्त पनि नारीवादी पुरुषको ‘टाइटल’ पाउँदा रमाइलो मान्छन् । निजी जीवनमा समेत नारीवादको अभ्यास गरेका छन् उनले । यद्यपि, त्यसलाई खोतलेर सार्वजनिक गर्न चाहँदैनन् । प्रत्यूष संस्थापक रहेको ‘स्पिकर्स कर्नर’ मार्टिन चौतारीमा नारीका विषयले जहिल्यै प्राथमिकता पाएका छन् । हरेक कार्यक्रममा महिला वक्ता अनिवार्य छ । बर्सेनि मार्च महिनामा महिला मात्र वक्ता राख्छन् । अनुसन्धाता समूह लिँदा पनि प्राय: महिला नै छान्छन् । “हामी आफूलाई जति नारीवादी दाबी गर्न पनि सक्छौँ,” उनी भन्छन्, “तर, त्यसको अडिट गरिदिने अरूले नै हो ।” 

नेपालको अनौपचारिक सर्वेक्षणमा नारीवादीले पत्याएका केही नाम हुन्, धरावासी, आहुति र प्रत्यूष । नेपाली साहित्यमा नारीवाद किटान नगरिए पनि नारीका पक्षमा लेखिएकै छ । भावुक भएर या मिटर घुमाएर लेख्नेलाई छाडिदिने हो भने पनि विश्वेश्वरप्रसाद (बीपी) कोइराला, मदनमणि दीक्षित, गोपालप्रसाद रिमालहरू यसका स्पष्ट नजिर छन् । “आजभन्दा ५० वर्षअघिको समाजमा तीन घुम्ती, सुम्निमा, मोदीआइनलगायतका आधा दर्जन नारीवादी उपन्यास लेखेर बीपीले क्रान्ति नै गरेका हुन्,” धरावासी थप्छन्, “दीक्षितले माधवी, त्रिदेवी, मेरी नीलिमा उपन्यास र कथा लेखेर नारी संवेदनामाथि प्रशस्त न्याय गरेका छन् ।”

हुन पनि सिंगल मदर, लिभिङ टुगेदर, विधवा विवाह आदि शब्दावली संसारका लागि पुरानो भइसक्यो । हाम्रा लागि भने अझै पनि वादविवाद र बहसकै विषय छन् । रूपमतीजस्ता आदर्श नारीपात्रको जगजगी भएका बेला रिमालले मसान नाटकमार्फत नारी समस्या उठाएकै हुन् । श्यामप्रसाद शर्मा, मोदनाथ प्रश्रितले पनि नारी जागरणमा काम गरेकै हुन् ।

युवा आख्यानकार अमर न्यौपाने पनि नारीवादीले रुचाएकै लेखकमा पर्छन् । खासगरी उनको मदन पुरस्कार विजेता उपन्यास सेतो धरती र कथासंग्रह पानीको घाममा नारी संवेदना वरिपरि नै छन् । उनी नारीवादी हुन नभई नारी संवेदनालाई लेखनको विषयवस्तु बनाएको स्वीकार्छन् । “कसैले नारीवादी भन्छ भने ठाडै इन्कार गर्ने कुरा आउँदैन,” अमर भन्छन्, “भन्ने अधिकार सबैलाई छ, म आफैँलाई चाहिँ नारीवादी पुरुष भन्ने आँट आउँदैन ।” नारी संवेदनाले उनलाई सजिलै छोइहाल्छ । “आफ्नो शरीरमा छरेको अत्तरको बास्ना आफैँलाई नआउन सक्छ,” उनी भन्छन्, “तर, अरूलाई नाकै पोल्ने गरी बास्ना आइदिँदो रहेछ ।” 

समस्या कस्तो छ भने नारीवादीका कुरा नारीवादीले स्वीकार्न मुस्किल छ । स्तम्भकार सावित्री गौतम कृष्ण धरावासी या अमर न्यौपानेका साहित्यलाई आँसुको महिलाकरण मात्र मान्छिन् । “नारीवादको आधारभूत अवधारणा समानता हो । अमर र धरावासीका दारुण दृश्य र हिन्दी सिरियल उस्तैउस्तै हुन्,” उनको असहमति छ, “यिनमा नारीवाद अटाउन सक्दैन । बरू, कवि/पत्रकार संगीत श्रोतालाई नारीवादी मान्न सकिन्छ ।” 

संगीतको पछिल्लो कविता ‘महिलाहरू कहाँ छन् ?’ नारीवादीहरूले निकै रुचाए । उनको कवितासंग्रह म काठमाडौँ आइपुगेँका ‘उजेली गुरुङ’, ‘हेडसर–वसन्त संवाद’, ‘आमाको अन्तर्वार्ता’, ‘मेरी आमाको जुनी’, ‘कुर्कुच्चा’, ‘तिमी को हौ ?’ आदि कवितामा नारीकै चिन्ता र सरोकार देखिन्छ । “मलाई नारीवादी भन्दा पनि आपत्ति त छैन । तर, म नारीवादी भन्दा पनि मान्छेवादी हुँ,” उनी भन्छन्, “साहित्यमा मैले अप्ठ्यारो र उत्पीडनमा पारिएका महिला, दलित, मजदुरको पक्ष लिएको साँचो हो ।”

माने पनि नमाने पनि वाद एउटा घेरा हो । नारीवादको ‘फिक्स्ड मेनु’मा कतिपय महिला नै खुम्चिन चाहँदैनन् । रोचक त के भने पुरुषवादका बारेमा गहन प्राज्ञिक अध्ययन गरेका सञ्जीव उप्रेती स्वयं नारीवादी–रुझान राख्छन् । लेख्दा र बोल्दा नारी स्वतन्त्रता, समानता र अस्तित्वको पक्षपोषण गर्छन् । यद्यपि, ‘र्‍याडिकल फेमिनिज्म’मा उनको विश्वास छैन । उनकै नारीवादी–पत्नी अर्चना थापा निकट भविष्यमै पुरुषहरूका अनुभूतिसंग्रह प्रकाशनमा लागेकी छन् ।

नारीकै लखेटाइ

नारीको पक्ष लिएर लेख्दा कृष्ण धरावासीले कहिल्यै नकारात्मक प्रतिक्रिया पाएनन्, बरू राधा उपन्यासका लागि मदन पुरस्कार नै पाए । प्रशंसै प्रशंसाले फुर्किएका उनको निन्दा भयो, पत्नी सीता भट्टराईको निधनका १४ महिनापछि पुन:विवाह गर्दा । त्यसपछि एक अखबारमा पत्नीपीडितबारे ‘नारी दिवसमा पुरुषका कुरा’ लेखेपछि झन् चर्को खेदाइमा परे । 

“मैले १४ लाख शब्द महिलाका पक्षमा लेखेँ, एक हजार शब्द पुरुषको पक्षमा लेख्दा लेखेटिएँ,” उनी भन्छन्, “सिमोन द बुबा र तसलिमा नसरिनको नारीवादी भाषाले समाज, घरगृहस्थी मात्र नभई नारीलाई नै हानि गर्छ ।” उनी नेपाली नारीवादलाई खराबभन्दा पनि अव्यवस्थित मान्छन् । “कति नारीवादी दिदीबहिनी पुरुषलाई जातीय दुस्मन मान्छन्, पुरुष नभए पनि चल्छ भन्छन् । त्यो उग्रवाद हो,” उनी थप्छन्, “क्रान्तिका नाममा निर्दोषको ज्यान जाने ठाउँमा बम राख्दा ताली पिट्न सकिँदैन ।” 

१३ वर्षकी छोराकी डिभोर्सी आमासित दोस्रो घरजम गरेका धरावासी नेपाली परिवारको सम्बोधनमै उँचनीच देख्छन् । तँ, तिमी, तपाईं, हजुर । “मैले सीताजी (पहिलो पत्नी)लाई आमा हुन्जेल १६ वर्ष तिमी भनेँ, त्यसपछि १२ वर्ष तपाईं, मन्जुजी (अहिलेकी पत्नी)लाई पाँच वर्षदेखि तपाईं भनिरहेको छु,” उनी भन्छन्, “सम्बोधनै समान छैन भने अरूमा के समानता होला ?” उनी पुरुषबारे लेख्न चाहन्छन्, “सीताजीको निधनपछि मैले पत्रपत्रिका र पुस्तकमा निकै रुवावासी गरेँ र अब पुरुषमाथि नै पुस्तक लेख्छु ।”

थरीथरीका नारीवाद

२०औँ शताब्दीमा पश्चिमा जगत्मा उदाएको नारीवादी आवाज खासमा पुरुष सत्ताको असन्तुष्टिस्वरूप आएको हो । यसले नारीलाई बिचरा, कठै या दयाको पात्र बनाइने स्थापित र पुरानो विचारधाराको आलोचना गर्छ । प्राज्ञिक हिसाबमा नारीवादका विभिन्न स्रोत र उद्देश्य छन् । सम्बन्धविच्छेदलाई कानुनी मान्यता दिलाएको यसले नै हो । 

“साहित्य भन्नोस् या राजनीतिमा, पुरुषकै वर्चस्व छ । राजनीतिमा नारीका मुद्दालाई चुनावी रणनीतिका रूपमा मात्र उपयोग गरिएको छ भने साहित्यमा कहिलेकाहीँ नारी पात्र, विषय र मुद्दा आउँछन्,” नारीवादकी अध्येता अर्चना थापा भन्छिन्, “यस्तो अवस्थामा नारीका मुद्दामा सहानुभूति राख्नेलाई पनि नारीवादी मान्नुपर्छ । नारीवादी हुनलाई नारी नै हुनु जरुरी छैन ।”

पछिल्लो समय नारीवादी त थुप्रै भेटिन्छन् तर नेपाली भाषामा नारीवादसम्बन्धी सग्लो एउटै पुस्तक देखिँदैन । न पश्चिमा पुस्तकका अनुवाद भए, न यहाँ कुनै मौलिक पुस्तक लेखिए । त्यसैले नारीवादका बारेमा विभिन्न बुझाइ छन् । नारीवादी नै अलमलमा छन् । खासमा हो के नारीवाद ? “न मैले जेन्डर पढेकी हुँ, न एनजीओ चलाएकी छु । मलाई त अर्कै ग्रहको मानिसजस्तो गर्छन्,” अर्की नारीवादी सावित्री गौतमको अनुभव छ, “यहाँ नारीवादी लेखन नै छैन । भएको भए गलत बुझाइ हुने थिएन ।” 

सावित्रीका शब्दमा मंगलादेवी सिंह, शैलजा आचार्य, हिसिला यमी या पम्फा भुसालको ‘गेट अप’ नारीवाद होइन । कपाल काट्नु वा चुरोट सल्काउनु पनि नारीवाद होइन । “फेसबुकमा आमाको फोटो हालेर ढोङ पिटाउने लेखक वा राजनीतिज्ञ नारीवादी कि मलाई मेरी आमाको सन्तान हुनुमा गौरव छ, उनले नि:सर्त नागरिकताको हक पाउनुपर्छ भनेर वकालत गर्ने नारीवादी ?” उनको प्रश्न छ ।

२२ वर्षअगाडि महिला मन्त्रालय गठन भएपछि पनि महिला ‘सशक्तीकरण’ शब्दका साटो ‘सबलीकरण’ गर्नुपर्‍यो भने महिला र विकास शब्द गाँसेर काम गर्नुपरेको थियो । कम्तीमा अहिले त्यो अवस्था छैन । “नारीवादमा एउटै बुझाइ हुनुपर्छ भनेर जिद्दी गर्न मिल्दैन,” नारीवादलाई समेटिएको पुस्तक नेपालको सन्दर्भमा समाजशास्त्रीय चिन्तनका सम्पादक प्रत्यूष वन्त निष्कर्ष दिन्छन्, “एकैथरी प्रेस्क्रिप्सन दिए त बहस पनि पट्यारलाग्दो भइहाल्छ नि !” 

प्रकाशित: वैशाख २७, २०७४