फेकन्युजविरूद्ध विकिपिडिया पनि

- नेपाल संवाददाता

फेकन्युजविरूद्धको अभियानमा अब विकिपिडिया पनि जोडिने भएको छ । विकिपिडियाका सह संस्थापक जीमी वेल्सले एउटा यस्तो प्रोजेक्ट ल्याउँदै छन्, जसले फेकन्युजविरूद्धको अभियानमा ठूलै सहयोग पुग्ने आशा गरिएको छ । विकिपिडिया सबैका लागि नि:शुल्क उपलब्ध छ । उनको नयाँ प्रोजेक्ट पनि यही अवधारणामा आधारित रहनेछ ।

विकिट्रिब्युन नाम दिएर सुरू भएको यो प्रोजेक्टले प्रमाणित, सत्य र निष्पक्ष समाचार मात्रै सम्प्रेषण गर्नेछ । यसका लागि वेल्सले १०–२० जना व्यावसायिक पत्रकार राख्नेछ र अरु धेरैले स्वयंसेवकका रुपमा काम गर्नेछन् । उनीहरुले प्रमाणमा आधारित समाचार मात्रै तयार पार्ने छन् र त्यो सबै पाठकका लागि नि:शुल्क उपलब्ध हुनेछ ।

जुनसुकै समाचारको सत्यता जाँच गर्ने कुनै प्रविधि नहुँदा फेकन्युजको बिगबिगी बढेको छ । कहिलेकाहीँ मिडिया पनि आफ्नो प्रायोजकको पक्षमा समाचार लेख्न बाध्य हुन्छन् । तर, विकिट्रिब्युनमा कुनै व्यावसायिक प्रायोजक हुने छैनन् । यो क्राउडफन्डिङबाट चल्नेछ, जसलाई पाठकले आफूखुसी दान दिनेछन् । यस कारण यो कसैको पक्षमा समाचार लेख्न बाध्य हुनु पर्दैन ।

प्रकाशित: वैशाख २७, २०७४