बुर्कुसी मार्दै बुर्किना फासो

  • बुर्किना फासोले मात्र करिब ४५ टन सुन उत्पादन गर्छ । त्यसको सरदर नेपाली मूल्य हुन आउँछ, करिब तीन खर्ब रुपियाँ । तर, यो कहाँ जान्छ ?

- आलोक लम्साल

‘प्लिज लिभ मी अ स्पेस,’ हातले आफ्नो परिघेरा खिच्दै मैले भनेँ, ‘नाउ सी अ नेपाली स्टाइल ।’ यति भन्नेबित्तिकै म एकैछिन रोकिएँ र आँखा आधाजसो चिम्लेर ध्यानशैलीमा नमस्कार मुद्रामा सीधा उभिएँ । आँखा आधा चिम्लनुको मेरो उद्देश्य बुर्किनाबे साथीहरूको प्रतिक्रिया हेर्नु थियो । सबै जना मेरो त्यो अनौठो शैली देखेर स्तब्ध भए र विस्फारित नेत्रले मेरा क्रियाकलापलाई हेर्दै थिए, मानौँ त्यहाँ कुनै जादू हुँदै छ । लगभग एकैछिनको सन्नाटापछि मैले आफ्नै लोकभाकालाई पक्रेँ र चम्किलो स्वरमा गाउँदै नाच्न थालेँ । नाच पनि टिपिकल पहाडे शैली खासगरी झ्याउरे शैलीको र गीत पनि उस्तै– झम्के फुली नाकैमा बुलाकी, यसपालि त घरबारै होला कि ! फेरि दोस्रो अन्तरालाई पछ्याउँदै म नाच्न रोकिइनँ– खुल्ला भयो सुकेर बगर, भयो हाम्लाई घर जोड्ने रहर !

सबै जनालाई सायद मेरो यो नृत्य नौलो लागेको हुनाले तिनीहरू एकछिन त ट्वाल्ल परेर एक टकले हेरे । केही बेरको मेरो त्यो उत्तुंग शैलीको नाच देखेपछि केही बुर्किनाबे मित्रहरूले मेरो स्टेपलाई पछ्याउन खोजे । अनेक प्रयास गरे, सफल हुन सकेनन् । अनि, मलाई दोहोर्‍याउन अनुरोध गरे । यो क्रम केही समयसम्म चली नै रह्यो । तर, प्रतिफल त उनीहरूका लागि शून्यप्राय: थियो । तर, माहोल भने नेपालीमय भएको थियो । केहीबेरको निष्फिक्री नचाइपछि बुर्किनाबे संगीतमा नेपाली नाचको झल्को देखाउन पाउँदा मलाई फेरि आनन्द आइरहेको थियो । नाट्य कलाकारले गर्ने हाउभाउसाथ मैले मेरो नाच प्रस्तुत गर्दै थिएँ । छुट्टै किसिमको रसास्वादन, सहृदयी स्पर्श र साधारणीकरण भइरहेको थियो मलाई ।

यस्तो माहोल र त्यस्तो आत्मिक आनन्द मलाई त्यसभन्दा पहिले विरलै भएको थियो । र, यही अनुभूति मैले त्यहाँ उपस्थित देशविदेशका प्रतिनिधि र बुर्किनाबेहरूमा पनि देख्न पाएको थिएँ । जसबाट मलाई असीम आनन्दको अनुभूति भइरहेको थियो । केहीबेरको नेपाली मर्काइपछि, फेरि अफ्रिकन नाचतिर लाग्यौँ । अफ्रिकन र नेपाली नाचको फ्युजन चल्दै थियो, दोहोरी चल्दै थियो । जोडजोडसँग नाच्दा त म असिनपसिन भइसकेको थिएँ । उनीहरू पनि निकै नै बेजोड शैलीमा नाचे । मेरो त्यो रमाइलो क्षण बुर्किनाबेहरूसँग अन्तिम थियो, त्यसैले त्यो क्षणलाई मैले गुमाउन चाहेको थिइनँ, जुन मेरा लागि निकै नै हृदयस्पर्शी थियो । र, हरेकचोटिको नाचपछि म बुर्किनाबे मित्रसँग हात मिलाउँथेँ । उनीहरूको हात मिलाउने शैली भने अनौठो थियो । सुरुमा हात मिलायो र छोड्ने बेलामा चुट्की बजाएर छोड्यो । मजेदार शैली ।

बुर्किनाबे बुर्किना फासोमा बस्ने जनतालाई भनिन्छ । बुर्किना फासो, पश्चिमी अफ्रिकाको भूपरिवेष्टित देश हो । ६ वटा अरू अफ्रिकन मुलुकले घेरिएको बुर्किना फासोको राजधानी बागादुगुमा सुसम्पन्न भएको अन्तर्राष्ट्रिय चिल्ड्ेरन थिएटर फेस्टिवलमा मैले पनि भाग लिने मौका पाएको थिएँ । बुर्किना फासो देश जानु नै मेरा लागि ठूलो च्यालेन्ज थियो । नेपालमा बस्ने मेरा साथी भाइ इष्टमित्रमाझ म बुर्किना फासो जाँदै छु भन्दा उनीहरूमा एउटा अचम्मको हँसाइ देखिन्थ्यो । मैले जतिसँग यस देशको नाम लिन्थेँ, उनीहरू त्यति नै अन्योलमा पर्थे । धेरै जसो नेपाली मित्रहरूलाई बुर्किना फासो भन्ने देशको नाम पनि थाहा रहेनछ । कतिले त मैले त्यो देशको नाम लिनेबित्तिकै आफ्नो मोबाइलमा  सर्च पनि गरेका थिए ।

म्यापमा बुर्किना फासो देखिए तापनि छेउका अरू चिनिएका मुलुक देखिएपछि ‘ए त्यहाँ पो हो’ भनेर लामो सास फेर्थे । मेरा धेरै साथीले घाना र आइभरी कोस्टको नाम सुनेका हुन्थे । म जतिजति मान्छेलाई यो बुर्किनाको नाम सुनाउँथेँ, मलाई त्यतित्यति उत्सुकता बढ्थ्यो । बुर्किना यसै त नचिनिएको देश, त्यसमाथि झन् अफ्रिकन मुलुक, धेरैजसोको प्रश्न हुन्थ्यो, ‘के त्यो देश राम्रो छ ?’ र, म प्रतिप्रश्न गर्थें, ‘राम्रो भनेको कस्तो ?’ यो प्रश्न सुनेपछि कति त अकमकाए । कतिले युरोप र अमेरिका आदिको नाम लिए । अनि, फेरि मेरो उत्तर हुन्थ्यो, ‘युरोप र अमेरिकालाई राम्रोको मानक बनाउने हो भने हाम्रो देशलाई के भन्ने ?’ 

१० दिने उक्त अन्तर्राष्ट्रिय चिल्ड्रेन एन्ड युथ थिएटर फेस्टिवलमा विभिन्न युरोपियन देशजस्तै बेल्जियम, स्वीडेन, डेनमार्क, नर्वे, इटाली, स्वीट्जरल्यान्ड, फ्रान्स आदि देशका कैयौँ कलाकार आएका थिए भने अफ्रिकन महादेशका अनेकौँ देशबाट यस फेस्टिवलमा कलाकारहरूको उपस्थिति थियो । तिनीहरूले आ–आफ्नो देशको प्रतिनिधित्व गरेर विविध शैलीका नाटक प्रस्तुत गरेका थिए । 

त्यहाँ विविध देशका संस्कृति झल्काउने नाटक मञ्चित भए । धेरैजसो नाटकको परिदृश्य भने राजनीतिबाट अभिप्रेरित थियो । केही सांस्कृतिक नाटक पनि थिए । 

कुनै पनि देश चिनिने आधार भाषा र संस्कृति हुन् । बुर्किनाबेका अनुसार बुर्किना फासोमा लगभग ७५ भाषा छन्, जसमा मोसी भन्ने भाषाको जनसंख्या आधाभन्दा बढी छ । फुलानी, गुर्मा, बोबो, सामो इत्यादि भाषा पनि थुप्रै जनताले बोल्छन् । राजधानीबाट थोरै बाहिर निस्कनेबित्तिकै स्थानीय भाषा सुन्न पाइन्छ, त्यसमा उनीहरू गौरव त गर्छन् तर त्यसको बचाउका लागि भने निकै ठूलो कसरत गर्नुपर्ने देखिन्छ । मेरा एक जना टोगोका मित्र मार्लेन डोटीसँग भाषा र संस्कृतिबारे निकै लामो छलफल भयो । उनी अफ्रिकाको छुट्टै पहिचान हेर्न चाहन्छन् । अफ्रिका युरोप भएको देख्न चाहन्नन् । ‘प्रकृति भिन्न भएकै कारण सुन्दर छ । हामी त्यही प्रकृतिका प्राणी हौँ, त्यही भएर भिन्न छौँ । भिन्नताभित्र लुकेको एकता नै सुन्दरता हो । सबै एकैनास भए त रोबोट बनाएर परिचालन गरे भई गो नि’ भन्दै आफ्नो दार्शनिक मत पस्किएका डोटीले अफ्रिकन पहिचानका कुरा गर्दै थिए । यही प्रसंगमा उनले थोमस शंकारालाई सम्झिन्थे । 

थोमस शंकाराले सत्तामा रहुन्जेल क्रान्तिकारी परिवर्तन गरेका हुनाले पश्चिमी अफ्रीकन मुलुकका एक उदाहरणीय पात्र रहेछन् । टोगोजस्ता देशका जनताले पनि शंकारालाई सम्मान गर्दा रहेछन् । उनले जनतालाई आत्मनिर्भर बनाउन मिनरल र तेलजस्ता खनिजको उत्खननदेखि जंगलको विस्तार गराई बढ्दो मरुभूमीकरण रोक्न अभियान नै चलाए । भाषा, संस्कृति, कला, बचाउन पनि उनको ठूलो योगदान रह्यो । चार वर्षको अन्तरालमा उनले ठूलै परिवर्तन लिएर आएको बुर्किनाबे बताउँछन् । जब देशलाई आत्मनिर्भर बनाउन शंकाराको ठूलो योगदान देखियो, तब उनका विरोधीलाई यो क्रान्ति चित्त बुझिरहेको थिएन । सन् १९८७ मा शंकारालाई षड्यन्त्रपूर्वक मारियो भन्छन् बुर्किनाबे । उनको सत्तापछि ब्लेज काम्पाओरेले देशको नेतृत्व गरे । तीन वर्ष पहिले क्रान्तिका दौरान काम्पाओरेलाई फ्याँकियो । अहिले रोक मार्क क्रिस्चियन काबोरे राष्ट्रपति छन् । 

बुर्किना र नेपालबीचको राजनीतिक सेरोफेरो पनि उस्तै उस्तै देखिन्छ । दुवै भूपरिवेष्टित देश र कला संस्कृतिका दृष्टिकोणले दुवै सम्पन्न । बुर्किनाबेको मुख्य आयस्रोत सुन, म्याग्यानिज, कटन र अन्य खनिज पदार्थ हुन् भने नेपालको मूल आयस्रोत कृषि, पानी, जडीबुटी र त्यस्तै खनिज पदार्थहरू हुन् । सुन धेरै मात्रामा भएको देश बुर्किना फासोमा गरिबी र भोकमरी छ । सुन मात्र बेचेर बुर्किना फासो अफ्रिकाकै धनी देशमा कहलिन सक्छ तर दुर्भाग्यवश त्यस्तो अवस्था भने छैन ।

बुर्किना फासोले मात्र करिब ४५ टन सुन उत्पादन गर्छ । त्यसको सरदर नेपाली मूल्य हुन आउँछ, करिब तीन खर्ब रुपियाँ । तर, यो कहाँ जान्छ ? सायद यसको उत्तर हामीसँग पनि छ र उनीहरूसँग पनि छ तर तैँ चुप र मै चुप । जसरी हामी नेपालीहरू राजनीतिक रूपले सचेत छौँ, त्यसरी नै तिनीहरू पनि छन् तर हाम्रो पनि हात लाग्यो शून्य छ र उनीहरूको पनि हात लाग्यो शून्य । त्यसरी नै नेपालमा जलविद्युत्को निकै सम्भावना छ, जडीबुटीको ठूलो स्रोत हुँदाहुँदै पनि धेरै जनता बिरामी भएर मर्नुपर्ने कटु यथार्थ हाम्रासामु छ ।

बुर्किनाबेको यस्तो अवस्था हुनुको कारण भ्रष्टाचारलाई मुख्य आधार मान्छन् । नेपालको पनि त्यस्तै त्यस्तै अवस्था हो । नाटक र संस्कृतिको कुरा गर्दा भने बुर्किना फासो नेपालभन्दा निकै अगाडि छ । कला र नाटकलाई जगेर्ना गर्न उनीहरूले थुप्रै अभियान चलाएका छन् र  अन्तर्राष्ट्रिय थिएटर फेस्टिवल पनि गरिरहेका छन् । अफ्रिकामा हुने विशाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिवल पनि बुर्किनामै हुने गर्छ । नेपाल पनि कला, संस्कृति, कथा र इतिहासले धनी देश भए तापनि प्रगति गर्न भने थुप्रै अभियान चलाउनुपर्ने देखिन्छ ।

प्रकाशित: वैशाख २७, २०७४