सगरमाथामा ट्राफिक जामको चिन्ता

- नेपाल संवाददाता

पूर्वअभ्यासका क्रममा खुम्बु आइसफलबाट ओर्लंदै गर्दा पाँचपटकका सगरमाथा आरोही टिम मोसेड्को जम्काभेट अचम्मका एक हुल आरोहीसँग भयो । तीमध्ये धेरैजसो आफ्ना गियरहरुसँग सहज थिएनन्, एकले त एउटामा लगाउनुपर्ने गियर अर्कोमा लगाएका थिए । बेलायती आरोही टिमले हालै फेसबुकमा यो दुर्गतिबारे चिन्ता व्यक्त गरेका थिए । नभन्दै नेपाल सरकारले एउटै याममा अहिलेसम्मकै उच्च संख्याका आरोहीलाई आरोहण अनुमति दिएको छ । कम्तीमा ३ सय ७१ आरोही र त्यत्तिकै संख्यामा हुने क्लाइम्बिङ शेर्पाहरु गरेर झन्डै आठ सयको संख्यामा आरोहीहरु यो याममा सगरमाथामा हुनेछन् ।
हरेक याममा तीन या चार दिन वायु, हिमपात र अन्य दृष्टिले चुचुरो नाप्न योग्य दिन जुर्छ । ती सबै आरोही एकैदिन माथि उक्लन खोज्दा सगरमाथामा ‘ट्राफिक जाम’ हुन सक्ने चिन्ता सर्वत्र छ । शेर्पाहरुसमेत अहिले आधार शिविरमा सम्भावित त्यस्तो अवस्थासँग जुध्ने उपायबारे छलफल गरिरहेका छन् । सबैभन्दा चुनौतीपूर्ण मानिने हिलारी स्टेपमा एकतर्फी मात्र आवतजावत गर्न मिल्छ । त्यहाँ कुर्नुपर्दा हिउँले शरीरका अंग खाने खतरा ज्यादा हुन्छ, अक्सिजन सकिन सक्छ । सरकारले यस्तो अवस्थासँग जुध्न कम्तीमा ६ हजार ५ सय मिटर उचाइको हिमाल अनुभवीलाई मात्र चढ्न दिने योजना बनाएको थियो तर कार्यान्वयन भएन । वासिङटन पोस्टसँग एक भारतीय आरोही कुन्तल जोइसरले चिन्ता व्यक्त गरेका छन्, ‘अहिले जो पनि सगरमाथा चढ्न सक्छ जस्तो भएको छ, पार्कमा डुलेजसरी ।’

प्रकाशित: वैशाख २७, २०७४