अब सामसुङ ग्यालेक्सी एस–८

- नेपाल संवाददाता

सामसुङको ग्यालेक्सी एस–८ को अमेरिका र बेलायती बजारमा बिक्री सुरू गरिएको छ । ग्यालेक्सी नोट–७ को ब्याट्री पड्किने समस्यापछि सामसुङले बजारमा ल्याएको यो पहिलो स्मार्टफोन हो । नोट–७ मा देखिएको समस्याका कारण सामसुङका स्मार्टफोनको बिक्रीमा भारी अन्तरले गिरावट आउने सबैको अनुमान थियो ।

तर, २५ चैतमा प्रि–बुकिङ खुला गरिएको एस–८ को माग अप्रत्यासित रुपमा अधिक देखिएको छ । दक्षिण कोरियामा मात्रै १० दिनमै १० लाख प्रि–बुकिङ भएको छ ।

सामसुङका स्मार्टफोनमध्ये एस–८ सबैभन्दा बढी प्रि–बुकिङ भएको सामसुङले जनाएको छ ।

एस–८ का लागि धमाधम प्रि–बुकिङ हुँदा एप्पलले पनि दबाब महसुस गरेको छ । किनभने, एप्पलका तर्फबाट एस–८ को प्रतिस्पर्धी आईफोन–८ ढिलो रिलिज हुने भएको छ । र, स्पेसिफिकेसन हेर्दा एस–८ ले आइफोनसँग कडा प्रतिस्पर्धा गर्ने देखिएको छ । एस–८ मा ५.८ इन्चको स्क्रिन छ, जसको क्वाड हाई डेफिनेसन प्लस क्वालिटीको डिस्प्ले छ ।

यो स्मार्टफोनमा चार जीबी र्‍याम र ६४ जीबी इन्टरनल स्टोरेज छ । र, यो विभिन्न पाँच रङमा उपलब्ध छ । एस–९ मा आठ र १२ मेगापिक्सेलका दुईवटा क्यामेरा छन् । १२ मेगापिक्सेलको रियर क्यामेरामा डुअल क्यामेरा टेक्नोलोजी प्रयोग भएको छ । एन्ड्रोइडको नुगाट अपरेटिङ सिस्टम रहेको एस–८ को मूल्य ७ सय २० डलर छ ।

प्रकाशित: वैशाख २७, २०७४