[फरक मत] चरिकोटको सन्देश

  • चरिकोटमा भेट भएका बुद्धिजीवीहरू अबको राजनीति दर्शन, सिद्धान्त, विचार र निष्ठाको बलमा लडिँदैन भन्ने निष्कर्ष सुनाउँछन् ।

- उज्ज्वल प्रसाईं

चरिकोट विस्तार हुँदै गरेको बजार हो । दोलखा जिल्लाको सदरमुकामका रूपमा चिनिएको भीमेश्वर नगरपालिकामा पर्ने यो बजार केन्द्रको प्रतिनिधि पनि हो । त्यसैले वरपरका डाँडाकाँडाभन्दा यो सहर बढी चलायमान देखिन्छ । पहाडी सहरका अनेक सीमितताहरूबीच विकासका नाममा बनाइएका कंक्रिटका संरचनाहरू बढ्दै छन् । नमिलेका डाँडा डोजर लगाएर सम्याउने र घर ठड्याउने क्रम द्रुत छ ।

हरेक नयाँ बनिने घरमा सटर लगाएका पसल खोल्न मिल्ने कोठा निकालिएका छन् । देशका थुप्रै ठूला बैंकका शाखा यहाँ पनि देखिन्छन्, मनि ट्रान्सफरका काउन्टर नहुने कुरै भएन । पछिल्ला केही वर्ष मोटर ह्वात्तै बढेका छन् । साँघुरा बाटामा स्कोर्पियो र बोलेरो, एभेन्जर र पल्सर ठूलो हल्ला–बोलका साथ हुँकिइएका देखिन्छन् । भूकम्पका केही घाउ पुरिएका छन्, धेरै चोट आलै होलान् । तर, सहरले ती चोटलाई सतहमा देखाएको छैन । यसैबीच स्थानीय तहको निर्वाचनले मौसमी रौनक थपेको छ । 

लाउडस्पिकर जडित गाडीहरू चुनावी गीत घन्काउँदै दौडन थालेका छन् । झन्डाले सिँगारेका प्रत्येक गाडीमा प्राय: २० देखि २५ वर्षका युवा हल्ला गर्दै हिँडेका देखिन्छन् । ती सबैले चुनाव चिह्न र उम्मेदवारको फोटो छापिएको सेतो टि–सर्ट लगाएका छन् । सहरका चोक चोकमा हात जोडेर भोट माग्दै गरेका उम्मेदवारका चित्र अंकित फ्लेक्स ब्यानरहरू झुन्डिएका छन् । यहाँ गुड्ने प्राय: सबै मोटरबाइकमा कुनै न कुनै पार्टीको झन्डा उनिएको छ । एक व्यापारीले सुनाए अनुसार चरिकोटमा भएका सबै साना गाडी पार्टीहरूले भाडामा लिइसकेका छन् । बाइक भएका बेरोजगार युवाले राम्रै काम पाएका छन् । काठमाडाैँमा हठात् गराइएका केही राजनीतिक हथकन्डाले आसन्न स्थानीय तहको चुनावप्रति बढाएको सन्देहलाई यो रौनकले केही घटाउँछ । यद्यपि, चुनाव प्रचारमा हिँडिरहेका कार्यकर्तामा मनोनयन दाखिला गर्ने दिनसम्म अन्योल कायम छ ।

जिल्ला अदालतमा खडा गरिएको निर्वाचन आयोगको कार्यालयमा मनोनयन दर्ता सुरु हुँदा सहरमा चारैतिर पञ्चेबाजा गुन्जिन थाल्छ । नेपाली कांग्रेसका अढाइ सयजति कार्यकर्ता जन्तीजस्ता लाग्छन्, तिनका अघिअघि हिँड्ने मेयरका उम्मेदवार बेहुलोजस्तो भएका छन् । एकैछिनपछि नेकपा एमालेले उस्तै तामझामसाथ करिब तीन सय जन्ती निकाल्छ । दुई पार्टीले साँघुरा बाटामा कब्जा जमाउन खोज्दा केहीबेर घम्साघम्सी चल्छ । प्रहरीले हस्तक्षेप गरेर दुई जन्ती टोलीलाई छुट्याउँछ । एमाले आयोगको कार्यालयतिर अघि बढ्छ, कांग्रेस केहीबेर बजार परिक्रमा गर्ने मुडमा देखिन्छ ।

केही बेरमा गाई छाप लिएर राष्ट्रिय प्रजातन्त्र पार्टीको एक हुल निस्किन्छ । त्यसपछि सबैभन्दा सानो झुन्ड लिएर माओवादी केन्द्रका नेता–कार्यकर्ता आयोगमा आउँछन् । नेपाली कांग्रेससँग मिलेर चुनाव लड्ने योजना बन्ने र तुहिने गरिरहेकाले माओवादी केन्द्रको तामझाम फिका देखिएको हुन सक्छ । दिन ढल्दै गएपछि सबै पार्टीका युवा कार्यकर्ता भोलिको कार्यक्रमका लागि बाइक, गाडीको इन्धन र खाजा खर्च जुटाएसँगै ‘साँझे रमझम’मा व्यस्त हुन्छन् । निर्वाचनलाई त्यसै पर्व भनिएको होइन । यस्तो तामझाम अबको केही दिन यो सहरको दैनिकी बन्छ । निर्वाचन खर्च कति गर्लान् यसपटक पार्टी र उम्मेदवारहरूले ? खर्चका स्रोत के–के होलान् ?

राजनीतिक दलका चुनावी रामरमाइलो चल्दै गर्दा चरिकोट बजारमा नगर प्रमुखका एक आकांक्षी भेटिए । मेयर पदका लागि बलिया दाबेदार भए पनि उनले टिकट पाएनन् । चुनावबारे छलफल गर्ने क्रममा उनलाई निर्वाचन खर्चबारे प्रश्न सोधियो । उनका भनाइमा, मेयर पदमा चुनाव लड्न उम्मेदवार आफैँले २० लाख रुपियाँजति जोहो गर्नैपर्छ । बाँकी पार्टी, शुभचिन्तक र आफन्तहरूबाट सहयोग जुटाउनुपर्छ । एउटा उम्मेदवारले ३० देखि ५० लाख रुपियाँ खर्च गर्ने अनुमान छ । तिनको अनुमानकै आधारमा भन्ने हो भने गाउँपालिकाको अध्यक्षका उम्मेदवारले २५ लाखभन्दा बढी खर्च गर्नुपर्ने देखिन्छ । वडाध्यक्षमा उठ्नेहरूको खर्च केही कम होला तर साह्रै सस्तोमा लड्न पाइन्छ जस्तो देखिएन । एक टेलिभिजन पत्रकार सुनाउँछन्, ‘दोस्रो संविधानसभा चुनावमा डेढ करोड खर्च भएको हाम्रा जिल्लाका उम्मेदवारहरू गर्वसाथ सुनाउँछन् ।’ चरिकोटभन्दा ठूला सहरमा यसभन्दा धेरै ठूलो आयतनमा खर्च हुने सहजै अनुमान गर्न सकिन्छ । 

चरिकोट बजारको मुख्य भाग सातदोबाटोबाट अघि बढेको एउटा पार्टीको जन्ती पशुपति डाँडाबाट ओह्रालो लाग्दा, केही कार्यकर्ताहरू गफिन आइपुग्छन् । नगरस्तरको समितिमा जिम्मेवारी पाएका वयस्क कार्यकर्ता आफ्नो नेताको चुनावी खर्चबारे भन्छन्, ‘ अहिलेसम्म त बूढाले आफ्नै गोजीबाट जुटाएका छन् । जग्गा–जमिन छ, बेचेर भए पनि जुटाउलान् । नत्र त जितिँदैन ।’ उनको आशय प्रतिस्पर्धी पार्टीको उम्मेदवार ठूलो आर्थिक स्रोत जुटाउन सक्ने सामथ्र्य भएका मानिस हुन् भन्ने हो । उनका अनुसार प्रतिस्पर्धी पार्टीको जिल्लाका स्रोत–साधनमा राम्रो पहुँच भएको र उनीहरूसँग नवधनाढ्यहरूको ठूलो संख्या भएकाले पनि धेरै खर्च गर्न सक्छन् । त्यही अनुपातमा खर्च जुटाउन नसक्दा प्रतिस्पर्धामा आफ्नो उम्मेदवार खरो उत्रन नसक्ने उनको विश्लेषण छ ।

प्रतिस्पर्धा आर्थिक स्रोतमा बढी केन्द्रित छ । अर्थात्, यहाँका उम्मेदवारहरूले स्थानीय मुद्दालाई सम्बोधन गर्ने विषयमा गरेका प्रतिबद्धता र तिनलाई पूरा गर्न देखाएको निष्ठा र विश्वसनीयतामा कुनै प्रतिस्पर्धा छैन । त्यस्ता प्रतिबद्धता उभ्याउने वैचारिक जगका कुरा कतै नसुनिनु अनौठो भएन । अरू त अरू, स्थानीय मुद्दाहरू समेटेर कुनै घोषणापत्र बनाउने फुर्सद पनि पाएका छैनन् पार्टीहरूले । बरू, केन्द्रबाट पठाएका सूत्रबद्ध र विकासका उडन्ते गफले भरिएका घोषणापत्रलाई नगरपालिका चुनावको मुख्य एजेन्डा बनाएका छन् । 

के निर्वाचन पैसाको बलमा मात्रै जितिने हो ? चरिकोटमा भेट भएका बुद्धिजीवीहरू अबको राजनीति दर्शन, सिद्धान्त, विचार र निष्ठाको बलमा लडिँदैन भन्ने निष्कर्ष सुनाउँछन् । उनीहरूका लागि यो चिन्ताको विषय हुँदै हो तर यसको निदानमा कसैको चासो नहुनु अझ डरलाग्दो सत्य हो । दोलखाको हकमा उल्लेख्य गाउँपालिकाहरूमा ठेकापट्टा र गुन्डागर्दीबाट आर्जन गरेको सम्पत्तिका बलमा टिकट हत्याउनेहरूको बाहुल्य भएको उनीहरूको दाबी थियो । एक शिक्षित युवाका भनाइमा सानो उपभोक्ता समितिमा त भ्रष्टाचारको जालो हुन्छ भने स्थानीय तहको कुरा नगरौँ । मान्छेलाई उत्प्रेरित गर्ने त्यही स्रोतको व्यक्तिगत र पार्टीगत दोहन नै हो । त्यसउपर भर्खरै पुन:संरचना गरिएको स्थानीय तहका अधिकार र स्रोतको दायरा अत्यन्तै ठूलो छ । भ्रष्ट प्रतिनिधिका हातमा यति ठूलो अधिकार र स्रोत भएपछिको हालत सम्झँदा मात्र पनि डर लाग्छ । चरिकोटमा सुनिएको अर्का एक आकांक्षीको किस्साले ती युवाको विश्लेषणलाई सही साबित गर्छ । 

उल्लेख्य समय इमानदारीपूर्वक राजनीतिमा लगानी गरेका एक स्थानीय नेतालाई निर्वाचनमा उम्मेदवार बन्नबाट परिवारका सदस्यले रोके । चुनाव खर्चिलो हुने भएकाले र सहज ढंगले चाहिएजति सहयोग नजुटे ऋणमा डुबिने भयले ती आकांक्षी पछि हटे । चुनावमा गरिने खर्चले छोराछोरीको पढाइ र घरका अन्य प्राथमिकता प्रभावित हुने परिवारले ठहर गर्‍यो । तर, परिवारको स्वीकृति पाएका भए पनि उनलाई पार्टीले टिकट दिनेमा सन्देह थियो । कारण, उनीसँग चुनाव लड्न चाहिने स्रोत जुटाउने क्षमताको अभाव थियो । यस्ता कतिपयलाई पैसा जोहो गर्न सक्दैन भन्ने नाममा पार्टीले जानीबुझी बेवास्ता गरेका कथा चरिकोटजस्ता धेरै सहरमा सुन्न पाइन्छ । गहिरो राजनीतिक सुझबुझ भएका र सामाजिक काममा लगानी गरेका, निष्ठावान् र सक्षम कार्यकर्तालाई धन कुबेरहरूले सम्पत्तिकै बलमा उछिनेर जनप्रतिनिधि बन्नु समाजका लागि सुखद हुँदैन ।

ठूलो जोडबल लगाएर, ठूला नेताका चाकरी गरेर र यतिका धेरै स्रोत जुटाएर मान्छेले चुनाव लड्छ भने उसको प्राथमिक ध्याउन्ना आफ्नो गोजी भर्नु नै हुन्छ भन्ने धेरैको ठहर छ । यो कुनै उम्मेदवारी नपाएका व्यक्तिको कुण्ठित र मनोगत धारणा होइन, बरू आमबुझाइ हो । त्यसैले निर्वाचनमा उम्मेदवारको टिकट बाँड्दा, उनीहरूको पैसा जोहो गर्न सक्ने सामथ्र्यलाई एउटा बलियो आधार बनाइएको बुझ्न कठिन छैन । पुख्र्यौली जायजेथा प्रशस्त भएका, अनेक गरेर बनेका नवधनाढ्यहरू, औसत नेपालीका भन्दा धेरै गुना बढी आय भएका वा सत्ता र स्रोतमा गतिलो पहुँच बनाएका बाहेक अरूले नगरपालिकाहरूमा मेयर बन्ने अवस्था कम छ । अर्थात्, चुनाव लड्नेहरूको मनोविज्ञान यही आमबुझाइले निर्माण गरेको छ । यसभन्दा फरक ‘मोटिभेसन’ हुन्थ्यो भने लोकतन्त्रको मेरुदण्ड मानिएको निर्वाचन पैसाको यति भयंकर खेलमा परिणत हुने थिएन । यस्तो मनोविज्ञानलाई सम्बोधन गर्दै भर्खरै नयाँ पार्टी घोषणा गरेका एक नेताले आफूले प्रशस्त सम्पत्ति जोडिसकेको र आफूमा सम्पत्तिको लोभ नभएको आशय सार्वजनिक गरेका थिए । 

आर्थिक सामथ्र्यका अघिल्तिर अरू सबै खाले क्षमता र इमानदारी काम नलाग्ने देखिनु नेपाली राजनीतिमा छाएको मूल्यहीनताको त्रासद चित्र हो । नयाँ भनिएको नेपालले यो चित्रमा आमूल परिवर्तन ल्याउन जरुरी थियो । तर, पुराना सबै रोगका साथमा नयाँ घाउका क्रोनिकको निरन्तरता नेपाली राजनीतिको भविष्य बन्ने देखिँदै छ । के निष्ठा र प्रतिबद्धता राजनीतिका मुख्य आधार हुन् भन्ने मान्यता पूर्णतया खण्डित भएकै हो ? चरिकोटको सन्देश सुखद छैन । 

प्रकाशित: वैशाख २६, २०७४