अक्षरहरुको इन्द्रेणी

  • नवराज भूपीका उत्तराधिकारी नभएकै ठीक ।

- सिपी अर्याल

‘कविता कसैले लेख्नै जान्दैनन् । भूपीपछि नेपाली कविताको बिँडो थाम्ने मै मात्र हुँ ।’ पोहोर एउटा अनौपचारिक जमघटमा ठिक्कका कविता लेख्ने एक नेपाली कविले यस्तो हुँकार गरे । चकित नपर्न कसरी सकिन्थ्यो ! आफैँले आफैँलाई भूपीले जस्तै कविता लेख्छु भन्ने उनको आफ्नै परिचय कहाँ थियो ? जे लेख्नुपर्ने हो भूपीले लेखेर गइसके । अनि, त्यही कुरा ती कविले पनि लेख्नुको खास अर्थ के ? लाग्यो, हाम्रा कवि कविता लेख्छन् तर आफैँ भएर लेख्न सक्दैनन् । अर्कैको टाउको जोडिएको शरीर के शरीर ! त्यसैले होला बजारले भने त्यस्ता स्वनामधन्य कविलाई सधैँ ओठेजवाफ फर्काइ नै रहन्छ ।

नेपाली कविताको चरम सुक्खायाममा एक थान अर्का कवि सम्भावनासाथ देखिएका छन् । नवराज पराजुली नामधारी यी कविको पहिलो कवितासंग्रह सगरमाथाको गहिराइ पढ्दा थाहा हुन्छ, कविताको आकार–प्रकार कमजोर कविता लेख्ने कविले गर्दा बिग्रिएको थियो । यो कृतिसँगै उनले शक्तिशाली कविताको स्वाद पाठकलाई चखाएको मेसो मिल्नेछ । नवराज बिलकुल अग्र्यानिक गन्धका कविता लेख्छन् । ३६ थान कविता बरोबर दमदारचाहिँ छैनन् । धेरै कविता राम्रा छन्, केही औसत र बाँकी झूर । खैर, झूर कविता राखेकामा उनलाई दोषी ठहर गर्नुभन्दा सुन्दर कविता लेखिदिएकामा ‘धन्यवाद’ भन्नु मनासिब ठहर्छ । किनभने, कवि हुनु, कविता लेखिनु र कविताले बजार नपिट्नुको सुक्खायाममा नवराजका कविताले केही थोपा नै सही, सिँचाइ गर्ने ल्याकत राख्छन् । मरुभूमिमा एक बाल्टी पानीको कम्ता महत्त्व हुँदैन !

अग्र्यानिक नभई सुई रोपेर फुलिएका कवितामा दम हुँदैन । आँतमा सास नभएका कविता पढ्दा हृदयमा भूकम्प जाँदैन । सगरमाथाको गहिराइभित्र फुलेका हरफ पढ्दा थाहा हुन्छ– कविताको अग्र्यानिक सुगन्ध । किताबमा समावेश ‘ब्रह्माजीको रजस्वला’, ‘हेब्बी बड्डे’, ‘खोया’, ‘सगरमाथाको गहिराइ’, ‘रूख’, ‘सतीदेवीको गाण्डिव’, ‘ च्याउ’लगायतका थुप्रै थान कवितामा यस्तो शक्ति छ, जो पढिसिध्याउँदा मस्तिष्कमा लामै समयसम्म तरंगको बाछिटा बर्सिइरहन्छन् ।

सबै कविता पालैपिलो पढिसिध्याउँदा लाग्छ– केही थान कविता सुन्दर महाआख्यान हुन् भने केही पट्यारलाग्दा लघुकथा । ‘सेल्फी’, ‘हार’, ‘मोक्ष’ कविता आदि ती पट्यारलाग्दा खुराक हुन् भने ‘वामपन्थी लभ’जस्तो कविता हास्यचेत मिश्रित रमाइलो कविता हो । सामान्य भाव बोकेका सबैजसो कवितामा बारम्बार प्रयोग भएको सार अस्तित्ववाद हो । कवि नवराज हरेकजसो कवितामा फरक–फरक अस्तित्वसहित प्रस्तुत हुन्छन् । त्यसैले लाग्छ– उनलाई सबैभन्दा बढी विश्वास आफू हुनुमा छ । उनी कहिले आमा भएर प्रस्तुत हुन्छन्, कहिले घनघोर प्रेमी त कहिले विद्यार्थी अनि कहिले बिहेको दिन पर्खिएर बसेकी एउटी अधबैँसे युवती ।

कवि हुनुको सबैभन्दा महत्त्वपूर्ण पाटो विम्बसँग खेल्न सक्ने क्षमता हो । त्यो नवराजमा भरपूर देखिएको छ । कल्पनै नगरिएको विम्ब कविताका हरफमा अचानक यसरी प्रस्तुत गराइदिन्छन् कविले, पाठक केहीछिन त्यसको अर्थ खोज्न गम्भीर भएर लाग्नुपर्छ । मकै छोडाएर बनेको खाल्डाखुल्डी खोयालाई कविले यादहरूले बनाएको घाउ भनिदिन्छन्, अयोग्य घोषित लडाकूले बगाएको रगत र लालीगुराँसको रङलाई विम्बको एउटै कचौरामा राखी पनि दिन्छन्, सुकेको नरिवललाई बूढा बा मानिदिन्छन्, आमाका पोतेका दानाबाट छुट्टिएर हिँडेका पोते र घरबाट टाढिएका छोराछोरीलाई पनि एउटै विम्बको सिन्दूर लगाइदिन्छन् कवि ।

‘सतीदेवीको गाण्डिव’ कविता हाम्रो समाजमा जारी दाइजो नामक अपराधको सन्दर्भमा छ । ऊ बेला सतीदेवी जिउँदै जलेकी र अहिले पनि हाम्रा सतीदेवीहरू दाइजो नामको अधर्मको मट्टीतेल खन्याइएर जिउँदै जल्नुपरेकामा रिस पोखिरहेकी छन्, एउटी नारी । त्यसैगरी, एक (सायद अनपढ) आमाले आफ्नो छोरालाई जन्मदिनको शुभकामना दिँदै लेखिएको कविता हो, ‘हेब्बी बड्डे’ । पूर्वप्रकाशित यो कविता कवि नवराजको सुपर–हिट पिसमध्येको एउटा हो । यसमा कविले विम्बहरूसँग आश्चर्यजनक भावमा खेलेका छन् । छोराप्रति आमाको अटूट स्नेह र आमाप्रति छोराको ‘टुट्दै गएको’ प्रेमको धागोको लामो पाटो न्यारेट गरिएको छ कवितामा । अर्को शक्तिशाली कविता ‘च्याउ’ एक अविवाहित अधबैँसे नारीको आवरणमा लेखिएको हो । ४३ वर्षकी ती अविवाहित नारीले जब कविताको अन्तिममा कोही दृष्टिविहीन लोग्नेमान्छे नै किन नहोस्, उसैसँग बिहे गर्ने घोषणा गर्छिन्, तब पाठकको मनमा ती नारी पात्रप्रति करुणाको मूल फुट्छ । स्तब्ध हुन्छ ऊ, अक्षरको त्यस्तो आकार देखेर ।

‘सगरमाथाको गहिराइ’ शीर्षकको कवितामा बोलिरहेको छ एउटा नेपाली ठिटो, जो सन्तानको भोक निमिट्यान्न पार्न, आमाबाका लागि नयाँ छानो हालिदिने छिनोफानो गर्न अरब धाएको छ । कविताको वाचक अलमल्ल भएर भन्छ– ए देश †/मेरी आमाले बनाएको/सानो काठको बाकस भर्ने पैसा बोकेर/म अरबबाट घर फर्कें भने त ठीकै हो/तर/त्यसभन्दा ठूलो रातो काठको बाकसमा/म आफैँ भरिएर फर्कें भने ? यो प्रश्नको उत्तर हाम्रो राज्यका लागि तेस्र्याइएको हो । ‘रब’को खोजीमा अरब पुगेको ऊ आफू मर्नुअघिको इच्छा व्यक्त गर्छ, बूढो बाबुलाई कत्ति नदुखाईकन हातका नङ काटिदिने, आमाले पकाएको माली गाईको बिगौती चाख्ने र आँगनमा फलेको मेवा काटेर दूधे दाँत पलाएको काखे छोरोलाई चम्चीले खुवाउने । यी रहर नेपाली समाजका दु:खद रहर–कथा, कहर–कथा हुन्, जसलाई हामीले निचोरिएर पढ्नुपरेको छ, आफैँ पात्र भएर भोग्नुपरेको छ ।

‘ब्रह्माजीको रजस्वला’ संग्रहकै शक्तिशाली कविता हो । विज्ञान र धर्म, रीति र कुरीति, धर्म र अधर्मको पर्खालबीचको भेद मज्जाले व्याख्या गर्दै लेखिएको हो यो कविता । नेपाली समाजको उल्टो यथार्थलाई व्यंग्यसाथ वाचक प्रश्न गर्छ– यी देवीहरूको चाहिँ रजस्वला हुन्छ कि नाइँ ? 

सृष्टिको ढोका खुल्ने अवसर रजस्वलालाई हामी सेलिब्रेट गर्दैनौँ, घृणा गर्छौं । यहीँनिर व्यापक असन्तुष्टि र आक्रोश छ कविको ।

कवि हुन कोमल मन चाहिन्छ । जतिसुकै कोमल मनको भए पनि जब सामाजिक अव्यवस्थामाथि प्रहार गर्ने पालो आउँछ, कविसँग एकाएक कहाँकहाँबाट शक्ति आउँछ कुन्नि ! झूटको भकारी सधैँभरि भरिरहने नेताको घुच्चुकमै शक्तिशाली प्रहार गरेका छन् नवराजले ‘भाषण’मा । उनको वाचक भन्छ, नेताज्यू ! मैले हजुरको चुनाव चिह्नमा/औँठाले हैन निधारले छाप लगाएको थिएँ । उसको सन्तानलाई खाने कुराको अनिकाल परेको छ । नेताको निधारबाट बुरुरु भुइँमा खसेको अक्षताबाट आफ्नो छोराले भोक मेटिराखेको डरलाग्दो यथार्थ भन्छ कविताको अन्तिम हरफ, हजुरको खुट्टावरिपरिबाट तिनै अक्षता भेला गरेर/नपखालीकन कर्‍यामकर्‍याम चपाइरहेको छ/मेरो भोको छोरो ।

‘प्रहरी’ शीर्षकको कवितामा वाचक परदेश जान तम्तयार भएर जहाज चढ्न लम्कँदा उसको बाले उसले टेकेका पदचापको माटो जोगाउँछन् र त्यसको कारण पनि खुलाउँछन्– यो देशबाट तेरो छाप नउडाओस् भनेर/म त्यो एक पाइला माटोको सुरक्षा गर्छु । नागरिकको पीडा त्यतिमै सिध्याउँदैनन् कवि, यहाँ रहेका बूढा बाआमाले छोराको यादको तलतल मेट्न गरेको कहानी सुनाउँछन्, तँलाई एक बट्टा घिउ पठाउन/तेरी बूढी आमा/बूढो घाँटी घ्यार्र घ्यार्र गर्दै/बूढो ठेकी घ्वार्रघुर्र पार्छिन्/आफ्नै मनजस्तै जमेको दही/नौनी बन्यो कि बनेन भनेर ठेकीमा चियाउँछिन्/चियाउँदा आमाका आँखाबाट केही थोपा तँ झर्छस्/र दही नौनी बन्छ । कवितामा आउने बूढा बाआमासँगै आउँछन् फेसबुकका कुरा पनि । परदेशिएको छोरोपछि बाआमाको साथी फेसबुक भएको अमिलो यथार्थ पढ्दा पाठक चर्चरी चिरिन्छ, वैशाखे खडेरीले चिरेको खेतझैँ ।

बुद्धहरू ‘बनाउने’ आफ्ना बालाई बन्दुकधारीहरूले बाँधेर लगिसकेपछि वाचकले एउटा कवितामा प्रश्न गर्छ– हरेक दिन बुद्धहरू जन्माउने मेरो बाबा/कसरी आतंककारी हुन सक्नुहुन्छ ? बा घर नफर्केपछि हुर्किएको त्यही वाचक अझ अगाडि मुटु छेद्ने गरी रुन्छ– यो चौध वर्षमा/सबै रामहरू जंगलबाट घर फर्किए/तर हाम्रो दशरथ/अझै फर्कनुभएन । देशमा डेढ दशक मच्चिएको हिंसा र त्यसपछिको अवस्थालाई कवि पराजुलीले जस्तो सटीक एक वाक्यमा कसले भनेको थियो र ! उनी भन्छन्– यो चौध वर्षमा/यो देशमा/ठूलठूला आतंककारी भनिएका मान्छेहरू/सजिलै ठूलठूला नागरिक बने/तर सजिलै गरी मेरो भने नागरिकतासमेत बनेन । ‘बुद्धको टाउकाको मोल’ त्यसैले शक्तिशाली राजनीतिक कविता हो, जसले देशमा बगेको रगत र फुस्रो परिवर्तनमाथि कडा टिप्पणी गरेको छ । कवितामा वाचकको बाबु हराएको छ, त्यसैले उसले बहिनीसँग अलाप गरिरहेको छ । आतंककारीको टाउकाको मोल त हराउँछ तर बुद्ध बनाउनेको टाउको चाहिँ बेपत्ता भइरहन्छ । युद्धमा बेपत्ता पारिएकाहरूको प्रतिनिधि कविता हो यो ।

‘यसपालि यस्तै भयो’ शीर्षकको कविताचाहिँ प्रयोगात्मक नाट्य–कविताजस्तो छ । प्रशस्त परिश्रम खर्चिए पनि यो कविता जम्न सकेको छैन । त्यसैले लाग्छ– प्रयोग बित्थामा खेर गयो नवराजको । अलि असामान्य ढंगको यो कविताको भाव बुझ्न पाठकलाई हम्मे पर्छ । सरल भावमा प्रस्तुत कविले यहाँनिर चाहिँ पाठकलाई फलामको चिउरा चपाउन दिएकै हुन् ।

समकालीन प्रशासनमाथि व्यंग्यको तीक्ष्ण रकेट प्रहार गर्ने कविता हो ‘ लोकसेवा आयोग’ । जीवन धान्ने जागिर खुवाइरहने लोकसेवाका लागि वाचक चुनौती दिन्छ र भन्छ– मैले/पूर्णाङ्क तोड्ने गरी अङ्क ल्याउँछु भन्ने थाहा पाएर/लोकसेवा आयोगले/मलाई/तलका मध्ये कुनै पनि प्रश्न सोधेन । त्यसपछि सम्भावित प्रश्नका फलामे तारबार बिछ्याउँछ वाचक । परीक्षामा बेढंगी प्रश्न सोध्ने लोकसेवा आयोग र जिन्दगीको कहिल्यै तालमेल नमिलेको यथार्थ बताउँछ उक्त कविताले । र, चुनौती दिन्छ वाचक–कवि लोकसेवा आयोगलाई– यसरी हरेक वर्ष लोकसेवा आयोग फेल भइरहेछ ।

पहिल्यै सुनिएका/पढिएका र ‘भर्जिन’ केही थान कविता भएको यस संग्रहमा एउटा जबर्जस्त जीवनले किताबका पानाबाट चिहाइरहेको अनुभूति हुन्छ भने झूर कविताहरूमा चाहिँ सास जानै आँटेको प्राणी धुकुर–धुकुर भएर मृत्युको पर्खाइमा रहेको देखिन्छ । ती केही कविताको माया मारिदिएको भए पुस्तक हलुका भएर पनि ओजिलो हुन सक्ने थियो ।

यी सबै कविता पढिसक्दा थाहा हुन्छ– भूमिकामा नवराजले भनेको, ‘यी कविता मैले लेखेको होइन, मद्वारा लेखिएको हो ।’ साँच्चै नै सही हो । कवितामा व्यक्ति कवि होइन, पात्र हाबी हुँदा कविता सुन्दर बन्न सक्छ । सुन्दर कविताहरूमा आफूभित्र सम्बन्धित पात्रको हंस हुलेर लेखिएको छ । ती भिन्दाभिन्दै चरित्र किताबका पृष्ठमा यसरी अटाएका छन्, लाग्छ– कविताले जीवन बोकेका छन् ।  हरेक पृष्ठमा कवि एकनासे पनि छैनन् । फरक–फरक अवतार लिएर श्यामश्वेत आकारमा भरिने यात्रामा निस्किएका वाचकहरू अन्तत: इन्द्रेणी भएर छरिएका छन् । समाज आखिर इन्द्रेणी त हो । कविताको इन्द्रेणी कहिले श्यामश्वेत देखिन्छ, कहिले रंगीन ! त्यसैले किताब अक्षर हरूको इन्द्रेणीजस्तो लाग्छ ।

अन्तत: हाम्रा कविहरू भूपी शेरचनको उत्तराधिकारी हुने होडमा नलागेर आफैँ हुनुको यात्रामा निस्किए भने मात्रै पनि कविताको टौवा खुब अग्लो हुने थियो । हरेक पटक नयाँ कवितासंग्रह छापिँदा बजारले ओठेजवाफ फर्काउन सक्दैनथ्यो ।

नवराज पराजुलीहरू भूपीका उत्तराधिकारी नभएकै ठीक । 

सगरमाथाको गहिराइ 

लेखक    :    नवराज पराजुली 

विधा    :    कवितासंग्रह 

प्रकाशक    :    फाइनप्रिन्ट

पृष्ठ    :    १८५

मूल्य    :    ३४८ रुपियाँ

प्रकाशित: वैशाख २६, २०७४