संवेदना–सन्देशवाहक

  • जसको प्राथमिकतामा बजार होइन, सिर्जना

- गोकर्ण गौतम

गीत सुन्ने माध्यम हो तर जमाना कस्तो आएको छ भने भिडियो नबनाई गीत चल्दै–चल्दैन । तर, कहिलेकाहीँ यस्ता गीत पनि आउँछन्, जसले अडियो भर्सनमै तहल्का मच्चाउँछन् । जस्तो : 

सुन साइँली साइँली

परदेशबाट म आउँला

सुन साइँली साइँली

चालीस कटेसि रमाउँला...।

हेमन्त रानाको यो गीत बिनाभिडियो नेपालको यूट्युब ट्रेन्डिङमा एक नम्बरमा उक्लेको थियो, त्यो पनि अपलोड गरेको भोलिपल्टै । अनि, प्रत्येक दिन एक लाखजसो भ्युज । अडियोमै यतिविघ्न रुचाइएको गीत भिडियो आएपछि कति भाइरल होला ? सबैलाई चासो थियो । नभन्दै भिडियो सार्वजनिक भएको अढाई महिनामै यूट्युबमा यसले एक करोडभन्दा बढी भ्युज बटुल्यो । कभर र प्यारोडी गन्ती गरी साध्य छैन । यूट्युबमा ‘साइँली’ टाइप गर्दा ९६ हजारभन्दा बढी नतिजा देखाउँछ । यति भएपछि नि:सन्देह भन्न सकिन्न र– यस गीतले नेपाली संगीत मात्र होइन, समाजमै नयाँ आयाम थपेको छ । सँगै अर्को सुखद पक्षचाहिँ, दर्शक/श्रोतामाझ बिरानो भइसकेका गायक हेमन्त फेरि सबैको प्रिय बनेका छन् । संगीत क्षेत्रमा दरिलो कमब्याक मारेका छन् उनले । 

पाँच वर्ष भइसकेको थियो, हेमन्तले संगीतबाट ब्रेक लिएको । दुई वर्ष पहिले त अमेरिका नै हानिए । त्यसपछि त चलायमान संगीतवृत्तमा एक हिसाबले उनी गुमनामजस्तै भए । तर, चुपचाप रहन मन किन मान्थ्यो ? त्यसैले पुरानो साख फर्काउने अभिलाषा लिएर ६ महिनाअघि नेपाल फर्किए, हल्का नर्भसजस्तै भएर । किनभने, उनकै शब्दमा सुनिसकेको स्वर रिकल गर्न औधि मुस्किल हुन्छ । अमेरिकाबाट फर्कंदा हङकङमा ट्रान्जिट थियो, त्यहाँबाट एकै उडानमा परे, यो समयका हटकेक गायक/संगीतकार कालीप्रसाद बाँस्कोटा । पुराना मित्र कालीप्रसादलाई हेमन्तले राम्रो गीत गाउन चाहेको इच्छा व्यक्त त गरे तर खास गम्भीर कुराकानी भएन ।

यता आएपछि हेमन्त एल्बमको तयारीमा लागे । केही दिनपछि कालीप्रसादले स्टुडियोमा बोलाए । जहाँ उनी एउटा गीत कम्पोज गर्दै थिए । ‘कस्तो लाग्यो ?’ कम्पोज करिब सकिएपछि कालीप्रसादले सोधे । शब्द र ट्युनिङको तालमेल मिलेको उक्त गीतले हेमन्तको मन छोइसकेको थियो, त्यसैले क्षणभरमा जवाफ दिए, ‘अति मीठो ।’

‘ल त्यसो भए गीत तिमी गाऊ,’ कालीप्रसादले यसो भन्दा हेमन्तको खुसीको ठेगान भएन । भन्छन्, “त्यतिबेलै गीत सर्वप्रिय बन्छ भन्नेमा निश्चिन्त थिएँ नै, दिमागमा भिडियोको खाका पनि बनिसकेको थियो ।” यता, कालीप्रसाद पनि दंग । किनभने, कम्पोज गर्दा जस्तो परिणाम आउला भन्ने सोचेका थिए, हेमन्तको स्वरले गीतलाई अझ सशक्त बनाइदियो । 

भारतबाहेक नै ५० लाखभन्दा बढी युवा रोजगारीको खोजीमा परदेश भासिएका छन् । जवानीमा आफ्नो प्रियतमाबाट अलग हुनुको शारीरिक र मनोवैज्ञानिक पीडा कस्तो होला ? यही पीडा गीतमा पोखिएको छ अनि भिडियोमा ठ्याक्कै त्यही व्यथा । भिडियोको निर्देशन पनि हेमन्त स्वयंले नै गरेका हुन् । गौरव पहारी र मेनुका प्रधान अभीनित यो भिडियो काठमाडौँको मृगस्थलीदेखि दुबईसम्म खिचिएको छ । नतिजा सामुन्ने छ । हेमन्तको सदाबहार हिट गीत ‘लैजा रे...’को कम्पोजरसमेत रहेका कालीप्रसाद भन्छन्, “यो गीत गायकका रूपमा हेमन्त र संगीतकारका रूपमा ममा आएको रूपान्तरणको प्रतिफल हो ।”

संयोग हेमन्तको जीवनमा सधैँ अर्थपरक रूपमा आइदिन्छ । अहिले, ‘साइँली...’ मात्र होइन । हिजो, संगीतमै उनी संयोगले आइपुगेका थिए, योजनाले होइन । चाह पूरा हुन्थ्यो त, उसु खेलाडी हुन्थे । १४ वर्ष पहिले यही सपना बोकेर नेपालगन्जबाट काठमाडौँ छिरेका थिए । तर, सपनाको सहरले उनको त्यो सपना अधुरै राख्यो, बरू जीवनको लय बदलिदियो । गीत गाउनकै लागि २५ मुलुक पुगिसकेका हेमन्त मुस्कुराए, “खेलाडी बन्छु भनेर आएको, गायक भइयो । जबकि, गायन त मेरो कल्पनामा पनि थिएन । तर पनि अहिले पश्चात्ताप छैन ।” 

नेपालगन्जमा सात वर्ष उसु खेले तर सशस्त्र द्वन्द्व चर्केकाले प्रतियोगिता ठ्याम्मै हुन छोड्यो । त्यसपछि काठमाडौँ हानिए, यता पनि उही ताल । प्रतियोगिता हुन्नथ्यो । निराशाले च्याप्थ्यो । नच्यापोस् पनि कसरी, उसुबाहेक उनले जानेको र चाहेको अरू केही थिएन । यसो साथीभाइ भेटघाट हुँदा आक्कलझुक्कल गीत गाइदिन्थे । सबैले ‘वाह !’ भनिदिन्थे । तर, उनलाई चाहिँ फुक्र्याएजस्तो लाग्थ्यो, त्यसैले कहिल्यै गीततिर मनै डुलेन । काठमाडौँमा त्यत्तिकै भौँतारिइरहेका बेला एकदिन मित्र निरज शाक्यलाई हिन्दी गीत सुनाए । मोडलसमेत रहेका नीरजलाई उनको स्वर औधि मन परेछ । र, उनले म्युजिक कम्पनी सम्झना अडियो–भिडियो (स्याभ)का सञ्चालक रमनसिंह श्रेष्ठसँग चिनजान गराइदिए । 

गायन क्षमता पहिल्याउन माहिर रमनले हेमन्तको स्वर सुन्नासाथ पाँच वर्षको सम्झौता गरिहाले । जतिबेला उक्त कम्पनीसँग आस्था, कर्मा, सञ्जीव सिंहजस्ता लोकप्रिय ब्यान्ड तथा गायक आबद्ध थिए । स्याभसँग जोडिन पाएपछि सान्त्वना मिल्यो, उसुमा नभए पनि संगीतमा अगाडि बढ्ने भइयो भनेर । दुर्भाग्य † सम्झौताको केही समयमै रमन अमेरिका गए । फेरि अलपत्र परे उनी । तीन वर्षपछि बल्लतल्ल एल्बम निक्लियो तर प्रचारप्रसारलाई कम्पनीले प्राथमिकतामा राखेन । ‘पाप–पुन्य...’ संगीतवृत्तमा रुचाइयो तर आमदर्शक/श्रोतासम्म पुग्नै पाएन । अहिलेजस्तो यूट्युब र सामाजिक सञ्जाल प्रभावकारी माध्यमका रूपमा उदाएको पनि त थिएन । 

तर, एल्बम हिट नभए पनि हेमन्तले आफ्नो सांगीतिक क्षमतालाई भने नियाल्न पाए । गिटारिस्ट साथी विशाल पौडेलसँग मिलेर ब्यान्ड खोले, सिक्स्थ सेन्स । र, काठमाडौँको बार र लाउन्जमा गाउन थाले । सुफी शैलीका गीत गाउथे, सुन्ने सबैले तारिफ गर्ने । कमाइ पनि राम्रै थियो तर आफ्नै हिट गीत निक्लिरहेको थिएन । अभाव यही थियो मनमा । अनि, एक खेप म्युजिक कम्पनी चहारे । आफूसँग भएको गीत ‘लैजा रे...’ सुनाउँथे । तर, यस्तो गीत नचल्ने र मायाप्रेमको गीत गाउने भए मात्र एल्बम निकाल्ने जवाफ पाए उनले, जहाँ गए पनि  । तर, उनलाई लाग्थ्यो– के बिकिरा’छ भन्नेतिर लाग्यो भने सर्जक मर्छ । त्यसैले कलाकारले यस्तो सिर्जना निकाल्नुपर्छ, जुुन अरूले मन पराऊन् र बिकोस् पनि । तर, बजारको पछाडि दौडने कम्पनीलाई यसको के मतलब ? अति भएपछि युवा रेकर्ड्स चलाइरहेका साथी हाकिमकहाँ गएर व्यथा पोखे । हेमन्तले सुनाए, “त्यतिबेला हाकिमले साथी भएकै कारण एल्बम निकालिदिएको थियो, घाटा जाने डर भए पनि ।” तर, दर्शक/श्रोताले रुचाएपछि के लाग्छ, नयाँ ठाउँ जानुपर्दा आफ्नो आत्मीयताले भरिएको पुरानो ठाउँ छोड्नुपर्दाको पीडा पोखिएको यस गीतले त्यो वर्षको सबै अवार्ड जित्यो । कम्पनीलाई पनि फाइदा । हेमन्तलाई कन्सर्टको भ्याइनभ्याइ । 

दुई वर्षपछि ०६९ मा आकाश भन्ने एल्बम ल्याए । ‘रातकी रानी...’ र ‘सिक्का...’ रुचाइयो तर व्यावसायिक रूपमा हिट भएन । यसबीचमा उनले काठमाडौँका प्राय: सबै बार र लाउन्जमा आफ्नो स्वर घन्काइसकेका थिए । उस्तै दैनिकी, उल्लेख्य प्रगति पनि थिएन । त्यसपछि उनी अमेरिका हानिए । बीचमा आएका बेला ‘साइँली...’ रेकर्ड गराए । वैशाख पहिलो साता न्युयोर्कबाट ‘साइँली टुर’ सुरु भएको छ । अमेरिकाका एक दर्जन राज्यमा कार्यक्रम गरेपछि उनी क्यानाडा अनि बेलायत पुग्नेछन् । त्यसपछि युरोप, जापान, अस्ट्रेलिया, हङकङ हुँदै फागुनसम्मका लागि उनको कार्यक्रम तय भइसकेको छ ।

यसबीचमा उनी फिल्म निर्माताका रूपमा पनि देखापर्नेछन् । गौरव पहारी र उनी मिलेर खोलेको जीएच इन्टरटेन्मेन्टबाट सत्य घटनामा आधारित फिल्म बनाउने गृहकार्य अन्तिम चरणमा पुगेको छ । त्यसो त साइँली नामक फिल्मको घोषणा पनि गरिसकेका छन् । पल, बिदाइ, के यो माया होजस्ता फिल्ममा स्वर दिइसकेका हेमन्त भन्छन्, “तर, पैसा कमाउनका लागि ब्रान्ड बेच्दैनौँ । विषय बलियो भेटेपछि मात्र छायांकनमा जान्छौँ ।” 

यो एक दशकको सांगीतिक करिअरमा हेमन्तका जम्माजम्मी सय गीत रेकर्ड भएका छन् । संगीतको औपचारिक ज्ञान नलिएका हेमन्तको बुझाइमा कलाकारले सबभन्दा पहिले आफ्नो क्षमता चिन्न सक्नुपर्छ, अरूका पछाडि दौड्ने होइन । “विपुल क्षत्री चल्यो भनेर विपुल जस्तै गाउने । र्‍याप–लोकगीत चल्दा त्यस्तै गाउने गर्दिनँ,” हेमन्त भन्छन्, “आफ्नै मनले सुन्न चाहने र गीतको भित्री तहसम्म पुगेर स्वाभाविक ढंगले गाउने प्रयास गर्छु । यसो हुँदा दर्शक/श्रोताले आत्मसात् गर्छन् ।” सायद यही गुणले हुनुपर्छ, हेमन्तलाई आमभन्दा संवेदनशील र प्रिय गायक बनाएको छ । उनी यसो किन पनि भनिरहेका छन् भने ‘साइँली...’ हिट भएपछि उनलाई धेरैले यस्तै गीत गाउन सल्लाह दिएका छन् । तर, उनलाई लाग्छ– त्यस्तै गीत अब कहिल्यै गाइन्न/गाउनु हुन्न किनभने प्रत्येक गीतको आफ्नै भावना र विशेषता हुन्छ । उस्तै चाहिँ हुनुहुन्न । 

हेमन्तको बजारमा आउन लागेको गीत नै भन्छ : 

ऐना हेर्दिनँ

किनकि 

म बाहिरी सुन्दरतालाई मान्दिनँ । 

प्रकाशित: वैशाख २६, २०७४