भूकम्पपछि तस्करको निसानामा महिला

- नेपाल संवाददाता

दुई वर्षअघिको भूकम्पले गोरखाकी सीता कुमालको घर ध्वस्त पार्‍यो । कुमाल आफ्ना दुई छोराको स्कुल शुल्क तिर्दा र भूकम्पले घाइते बनाएका श्रीमान्को उपचार गर्दा लागेको झन्डै सात लाख रूपियाँ ऋणले थलिएकी थिइन् । पुन:निर्माणलाई त के पैसा पुगोस् ! दलालमार्फत उनी मासिक झन्डै ३० हजार कमाउने सपना बोकेर भारत हुँदै दुबई जाने भइन् । तर, उनी भारत, श्रीलंका र कुबेत हुँदै साउदी अरब पुगिन् । त्यसबीचमा उनले महिनौँ शारीरिक शोषण झेलिन्, मालिकले न राम्ररी खान दिन्थ्यो, न त तलब नै । उनीहरुले त दलालबाट कुमाललाई ‘किनेका’ रहेछन् ।

दिल्लीबाट श्रीलंका उड्ने बेला एयरपोर्टमा आफूलाई पर्यटक भन्न लगाइएको थियो उनलाई । अमेरिकी म्यागेजिन टाइमलाई बताए अनुसार त्यतिखेर उनीसँग ३० जना अन्य नेपाली महिला थिए । यूएईका लागि भिसामा समस्या भयो भन्दै उनलाई त्यहाँबाट कुबेत पुर्‍याइयो । काम गर्न थालेपछि मात्र उनले आफू साउदीमा रहेको पत्तो पाइछन् । नेपालले झेलिरहेको यो समस्या नयाँ होइन तर भूकम्पसँगै कुमालजस्ता थुप्रै महिला मानव तस्करका सहज सिकार बनिरहेका छन् । सरकारी अधिकारीहरुका भनाइमा आफू कहाँ काम गरिरहेको छु भन्नेसमेत थाहा नपाई थुप्रै महिला युद्धग्रस्त क्षेत्रमा काम गर्न विवश छन् ।

प्रकाशित: वैशाख २६, २०७४